जिन्दगीलाई अक्षरमा अनुवाद गरेर
लेख्न मन थियो
गुलाफले ओठभरी काउकुती फुलाएको कथा
फूलले कोसेली पठाएको
सुवासहरु बटुलेर बनाएको
ढोका
झ्याल
छानो
भित्ता
एउटा सुन्दर सपनाको घर
त्यहि घरको भित्रबाहिर खेल्दै
बिताउन मन थियो सिंगै जिन्दगी
तर देख्छु
आमाको आँशु बेचेर पानी किनिरहेको शहर
भोकाएका अनुहार र भोकका नाराहरु
बेदनामा छट्पटाइ रहेको देश
स्वर्णीम ट्रेलरभित्र
निस्प्राण कहानी लुकेको चलचित्र
अबोध बालकको मुहारमा
कलिला अक्षरहरु पढ्न छाडेर
कसरी लेखुँ शुनकेशरी रानीको कथा
जलपरीको गीत?
कसरी लगाउँ निजी सपनाको बिस्कुन?
कसरी भाचुँ मेरो कलमले लगाएको
देशको घडीको सुई?
ए कलम
यो परिवेशमा भन्नैपर्छ तैंले
तेरो स्खलनबाट छरपष्ट भएका अक्षरहरुमा
म आगोको खेती गरुँ या फूलहरुको?