बहुत खतरनाक लाग्छ मलाई
लाटो हावाको इशारामा पनि
आफ्नो भूगोल छाड्न तायार हुने सुकेका पत्करहरु
ख्याल गर्नु तिमीले पनि-
कतै तिम्रो स्मृतीको ढोकाबाट छिरेर
थुप्रिइदेला मनको हरियो चौबन्दीमा,
कतै तिम्रो कौतुहलको बिछ्यौनामा बतासिँदै आएर
पुरिदेला यौवनको लालपुर्जा र तमसुक,
कतै तिम्रो सपनाको पोखरीमा मिसिएर विस्तारै ...
मेटाइदेला जिन्दगीको प्रतिबिम्बहरु।
हाँस्न बिर्सेका यिनीहरुले यदि हाँसिहालेमा ख्याल गर्नु
ढुङ्गामाथि बसेर चिथोर्नेछन् कलिलो मुटुको ओठहरु,
रुन बिर्सेका यिनीहरुले यदि रोइहालेमा ख्याल गर्नु
आँसुको नारायणीमा सिकार गर्न लागेका छन् जुनकिरीहरुको,
बोल्न बिर्सेका यिनीहरुले यदि बोलिहालेमा ख्याल गर्नु
आवाजहरु बन्द हुन लागेका छन् भूगोलको एउटा कुरुप कुनामा।
यिनीहरु डालीको धरातलबाट उछिट्टिएकाहरुलाई
लाज हुन्न कोपिलाको सौन्दर्य छोपिदिन,
यिनीहरु शिशिरले जबर्जस्ती सत्ताच्युत गरेकाहरुलाई
अप्ठ्यारो हुन्न फुटपाथमा खुट्टाहरु बजार्न,
यिनीहरु झरीको एकोहोरो कोर्रा थापेकाहरुलाई
गाह्रो हुन्न गोबरहरुसँग भकारोमा कुहिन।
सल्किन सक्छन् सानो आगोको चलखेलमा पनि
र डढाउन सक्छन् मौन पहाडको अनुहार,
उभ्याउन सक्छन् खुड्किलाहरुमा काँडैकाँडा
र रोक्न सक्छन् क्षितिज भेट्न दगुरिरहेको पैतालाहरु।
लुकाउन सक्छन् बलात्कृत गुलाफको शरीर
र छुपाउन सक्छन् च्यातिएको सुरुवाल र रगतका छिटाहरु।
यसै पनि आफ्नै मृगौला बेचेर जुवा खेलेका यिनीहरुले-
चुस्न दिँदैनन् माटोको स्तन - कलिलो सूर्यलाई
हेर्न दिँदैनन् धरतीको मुस्कान - परदेशी आकाशलाई
र नाप्न दिँदैनन् गल्छीहरुलाई - हिमनदीको गहिराइ
र त बहुत खतरनाक लाग्छ मलाई
एउटै लाटो हावाको इशारामा पनि जीवनको रङ बेचेर
आफ्नो भूगोल छाड्न तयार हुने सुकेका पत्करहरु।