‘यसपालि त चन्द्रविक्रमले जित्ला जस्तो छ। रामविक्रमको आन्तरिकमा पनि अलि कम नम्बर छ। पोहोर त रामविक्रमले स्टाइपेन खाएको हो क्यारे। हामी त अरूका कुरा गर्ने मात्र भयौँ। सकिएन केही गर्न!’ हात्तीसार क्याम्पसको चौरमा बसेर केही विद्यार्थी गफ गर्दै थिए। त्यही बेलामा चन्द्रविक्रम नमस्कार भन्दै बदाम खान समूहमा मिसियो। रामविक्रम चाहिँ समूहतिर हेर्दै नहेरी कोठातिर लाग्यो।
विज्ञान पढ्ने यी दुई विद्यार्थीमा अचम्मको प्रतिस्पर्धा थियो। दुवै क्याम्पसको होस्टेलमा एउटै कोठामा बस्थे। चन्द्रविक्रम कर्णाली प्रदेशको र रामविक्रम पूर्वतिरको। क्याम्पसमा खाइलाग्दो नवयुवक आएको र पश्चिमी बोलाइ पनि रमाइलो लागेकाले रामविक्रमले नै होस्टेलमा दुई जना सँगै बस्न प्रस्ताव गरेको थियो।
पहिलो वर्षको पढाइमा उनीहरू दुवैले खुब मिहिनेत गरे तर एसएलसीको प्रतिशत अलिकति बढी भएकाले क्याम्पसले रामविक्रमलाई स्टाइपेन दियो। चन्द्रविक्रमलाई आर्थिक सहयोग त चाहिएको थियो तर परिस्थितिले साथ दिएन।
सुरुमा जता जाँदा पनि यी दुवै सँगै हुन्थे। कहिले भेडेटार पुगेका हुन्थे, कहिले चतरामा देखिन्थे। कोठामा बस्दा पनि यिनका हातमा पुस्तक नै हुन्थे। अधिकांश समय पढाइ लेखाइकै कुरामा केन्द्रित हुन्थे। चन्द्रविक्रमलाई सबैलाई जितेर आफ्नो परिवारको सान राख्नु थियो। ऊ यसकै लागि त्यति टाढाबाट धरान आइपुगेको थियो। रामविक्रम त्यसै पनि जान्ने थियो। स्टाइपेन पाएको विद्यार्थी भएकाले प्रवीणता प्रमाण पत्र तहका दुवै वर्षमा जितेर ऊ क्याम्पसको हिरो बन्न चाहन्थ्यो।
एक दिन केही साथी सँगै बसेर चिया खाँदै थिए, उनीहरू त्यति बेलाको राजनीति र सामाजिक संस्कारका विषयमा कुरा गर्न थाले। एक साथीले कुरा गर्यो, ‘हेर न अहिले त देशमा वामपन्थी पनि उदाए। यिनले त समाजका सानाठुला सबै जातलाई समान ठान्छन् रे, विखण्डन ल्याउँदैन यसले? कोही जुत्ता बनाउँछन्, कोही पुरेत्याइँ गर्छन्। यिनका बिचमा कसरी समानता आउँछ?’ यो सुनेर चन्द्रविक्रम केही बोलेन तर रामविक्रमले भन्यो, ‘यही हो समाज परिवर्तनको आधार। अब पनि जातभात, छुवाछुतको कुरा गर्नु भनेको हामी ढुङ्गे युगतिर लाग्नु हो। विज्ञान पढेको छ, अग्रगामी विचार समर्थन गरेको छ, यस्ता कुरा गर्न सहाउँछ।’
उसले चिया पियो र अलिक कडासाथ टेबलमा गिलास राख्यो। सायद ऊ पनि अग्रगामी विचारकै थियो तर सामाजिक संस्कारमा ऊ उच्च परिवारकै थियो। काजी खलकको उसको गाउँको घरमा सधैँ घुमाउने तीन थाङ्ग्रा मकै हुन्थे। बाइस मुरी धान भित्रिन्थ्यो।
चिया खाइसकेपछि सबै छुट्टिए। रामविक्रम र चन्द्रविक्रम पनि कोठातिर लागे। कोठामा पुगेपछि रामविक्रम खाटमा पल्टेर एउटा नयाँ पत्रिका पढ्न थाल्यो। चन्द्रविक्रम जुठा गिलास माझ्न थाल्यो। यतिकैमा रामविक्रमले एउटा समाचार देखाउँदै भन्यो, ‘ए साथी, हेर् न, यो तिमीहरूकै ठाउँको समाचार होइन, दलितले मन्दिरमा पसेर पूजा गर्यो भनेर सबै गाउँले मिलेर कुटेछन्। हैन, कस्ता मानिस बसेका छन् हँ त्यहाँ?’
चन्द्रविक्रमले यसो हेर्यो, आफ्नै छिमेकी गाउँको समाचार रहेछ। विश्वकर्मा, मंग्राती र अन्य दलित बाहुल्य भएको त्यस गाउँमा माथिल्ला जातबाट सधैँ जसो दमन भइरहन्थ्यो। दमन सहन नसकेरै चन्द्रविक्रमका बाबुआमा बसाइँ सरेका थिए। समाचारमा आफ्नो थर पनि उल्लेख भएकाले चन्द्रविक्रम एक पटक झस्क्यो। रामविक्रमले समाचार पढिसकेर फ्यात्त फाल्यो र कोठाबाट बाहिर निस्केर चउरमा घाम ताप्न गयो।
बेलुका खाना खाइसकेपछि रामविक्रम घोरियो। चन्द्रविक्रम पढिरहेकै थियो।
‘हैन यो चन्द्रेले यसपालि मलाई जित्छ कि क्या हो? आन्तरिकमा जित्यो। जित्यो भने त मेरो सपना सब चकनाचुर हुन्छ। गाउँमा हाम्रो त्यत्रो इज्जत छ। फेरि यो मान्छे पनि दलित त हैन? समाचारमा घटना भएको गाउँमा बस्नेको नामथरमा यसको पनि थर छ। हैन होला... हाम्रा गाउँमा पनि त सबै जाति बसेकै छन्। यो हेर्दा त्यति फरक देखिँदैन। हाम्रातिर यस्तो थरका मानिस छैनन्। केही बुझिएन। भोलि त्यो चण्डिका नेपालीलाई सोध्नुपर्ला!’
बिहान क्याम्पसमा चण्डिकासँग भेट हुनासाथ रामविक्रमले सोध्यो, ‘ए चण्डिका, तिमी त हाम्रै विचारकी मान्छे। बोलक्कड छौ। दलित सङ्घकी नेता पनि हौ। मलाई भन न दलितका थर के के हुन्छन्?’
‘किन चाहियो तपाईँलाई? त्यत्रो बहस गर्नुहुन्छ। कोठामा तपाईँकै साथीलाई सोधे भइहाल्छ नि? कि मसँग बिहे गर्ने विचार छ? मसँग बिहे गरे तपाईँको थर पनि थपिन्छ क्यारे!’ चण्डिकाले बडो कूटनीतिक जवाफ दिई।
कोठामा तपाईँकै साथीलाई सोधे भइहाल्छ नि भन्ने वाक्यले रामविक्रमको मनमा शङ्का उब्जायो।
रामविक्रम कोठामा आयो। आज पनि कोठामा चन्द्रविक्रमले नै खाना पकायो। चन्द्रविक्रम खाना बनाउन सिपालु थियो। आज उनीहरूले मासुभात खाए। रामविक्रमलाई आज खै के भयो, उसले चन्द्रविक्रमको खाना खाँदाको तरिका, गफको शैली, रूपाकृति सबैमा अरू नै केही देख्न थाल्यो। उसलाई भित्रभित्र छटपटी भयो तर अग्रगामी विचारको पक्षपोषणले केही बोल्न दिएन।
उनीहरू नियमित पढाइमा लागे। यस बेला क्याम्पसमा खाना खाने व्यवस्था थिएन। विद्यार्थीहरू कि त कोठामै खाना बनाएर खान्थे, कि त बाहिर गएर खान्थे। रामविक्रम कहिले मामाको घर जान्छु भनेर इटहरीतिर बस्न थाल्यो। कहिले दिदीको घर जान्छु भनेर भेडेटारबाट क्याम्पस आउन थाल्यो। कोठामा बस्दा पनि कहिले खाना बाहिर गएर खान्थ्यो। कहिले पाउरोटी आदि ल्याएर खान्थ्यो। चन्द्रविक्रम भने कोठामै खाना बनाएर खान मन पराउँथ्यो।
परीक्षा आउन तीन महिना मात्र बाँकी थियो। दुवैमा परीक्षाको छटपटी बढेको थियो। एक दिन बेलुका रामविक्रमले भन्यो, ‘ए चन्द्र, मेरो फिजिक्सको नोट खै? यहाँ राख्या थियो, छैन त? लुकाएको हो कि क्या हो? हैन मलाई जितेर के गर्ने विचार छ?’
‘मैले किन लुकाउनु नि? अस्ति दिदीकहाँ जाँदा लिएर गएका थियौ त। उतै छाड्यौ कि? त्यसपछि मैले देखेको पनि छैन। जित्न त तिमीले जितिरहेकै छौ त!’ चन्द्रविक्रमले पनि आफ्ना कुरा राख्यो।
यसपछि रामविक्रमले धेरै कुरा फलाक्यो। आफूसँगै बसेको साथीसँग झगडा पर्ला भनेर चन्द्रविक्रम नबोली बस्यो। रामविक्रमले तथानाम फलाक्यो र सिरकले मुख छोपेर सुत्यो।
दिन बितिरहे। परीक्षा सुरु हुने तीन दिन अघि हुलाकीले उनीहरूकै कोठामा एउटा चिठी लिएर आयो। खाम सेतो धागाले बाँधिएको थियो र खाममा लेखिएको थियो, चन्द्रविक्रम मंग्राती, हात्तीसार क्याम्पस, धरान।
चन्द्रविक्रमले चिठी खोल्यो। अलिकति पढ्नासाथ ऊ भक्कानियो। चिठीमा लेखिएको थियो- ‘आमाको अन्तिम अवस्था भएकाले आजै हिँडिहाल्नू।’
रामविक्रमले पनि चिठी पढ्यो र मैत्री भावमा सामान तयार पार्न सघायो। उसले नै बस स्टपसम्म पुर्याएर बस चढायो अनि 'दुःख पर्यो, आमाभन्दा ठुलो परीक्षा होइन, सहानुभूति छ है साथी' भनी बिदाइ गर्यो।
भोलि पल्ट बेलुका चन्द्रविक्रम घर पुग्यो। छरछिमेकमा चकमन्न थियो। उसले भारी मनले घरको आँगन नियाल्यो। आमा बाख्रालाई खोरमा थुन्दै हुनुहुन्थ्यो। उसले चिठी झिकेर हेर्यो, परिचित अक्षर मुस्काइरहेका थिए।