दिनहुँ प्रोफाइल हेर्ने गर्छ
कनीकुथी स्ट्याटस पनि पढ्छ
न त अगाडि पर्छ न फोन गर्छ
लुकी-लुकी सबै चियो गर्छ
छुच्चो मान्छे!
अरूका अगाडि चेपारे पार्छ
एक्लै हुँदा धारे हात लाउँछ
भित्रभित्रै डाहाले जल्छ
मासमा भेट्दा हाँसेझैँ गर्छ
छुच्चो मान्छे!
स्वार्थ बोकेर घरी-घरी धाउँछ
दुनो सोझिएपछि अलि पर भाग्छ
दुनियाँका अगाडि लपक्क पार्छ
व्यवहारले भने भुतुक्कै मार्छ
छुच्चो मान्छे!
यता पनि चुच्चो मिलाउँछ
उता पनि चुच्चो मिलाउँछ
मल्हम पट्टी लाएझैँ गर्छ
तर घाउमा नुन मात्र छर्छ
छुच्चो मान्छे!
आफूलाई सधैँ ठुलो ठान्ने
अनि गन्ने मान्ने साह्रै जान्ने
चिल्लो घस्न राम्रै जान्ने
कुराकारिताको भण्डारै ठान्ने
छुच्चो मान्छे!
घर बिगार्ने, थर बिगार्ने
भेष बिगार्ने, देश बिगार्ने
हे गणपति, विघ्न विधाता
तिनको मति कहिले सपार्ने?