ए साँझ—
मेरो लागि त्यो जून चोरेर ल्याइदेऊ न
म त बलिरहेको चितामा हराएको मान्छे
काँडै–काँडाको बिचमा
जकडिँदै बाँचिरहेको मान्छे
हिलाम्मे तालमा सुगन्धित फूल फुल्न खोज्दा
आफ्नैहरूबाट कुल्चेर सक्किएको मान्छे।
कोही भएर पनि नभए जस्तो
कोही नभएर पनि भए जस्तैको
बिचमा समेटिन खोज्दा खोज्दै
अँगालोमै पोखिएको मान्छे!
कसैबाट हेपिएको मान्छे
कसैबाट थिचिएको मान्छे
कसैबाट दबिएको मान्छे
कसैबाट फालिएको मान्छे
दुख–पीडाको संगममा
आफैँ भेटिएको मान्छे।
सायद जीवन थकित भएर होला
सायद जीवन कुण्ठित भएर होला
पन्छ्याउँदै गरेको गन्तव्यले पनि भुल्न खोज्छ
यो मन पनि यत्रतत्र छरिएर पोखिन खोज्छ
भो अब—
म छरिएर पोखिनु छैन
बलिरहेको चितामा हराउनु छैन!