मान्छेको जीवनमा हरेक पल नयाँ–नयाँ क्षणहरू आउने गर्छन्। कतिपय पल त अपेक्षितभन्दा पनि सुन्दर हुन्छन् र जीवनलाई नयाँ आयाम, नयाँ उद्देश्य दिन पुग्छन्। ठिक त्यस्तै केही मेरो साथमा पनि भयो, जुन दिन मैले उनलाई पहिलो पटक देखेँ।
सिमसिम पानी परिरहेको थियो। केही कामले म बजार जानु पर्ने भयो। बाहिर मौसम खासै राम्रो नभए पनि म जाने निर्णय गरेर हिँडेँ।
अचानक पानी तीव्र रूपमा पर्यो र हावा पनि चल्न थाल्यो। म एकछिन ओत लाग्ने सोचेर नजिकैको रुखको छायामा गएँ। त्यति मै नजिकैबाट कसैको हतार–हतार भाग्दै गरेको पाइला मेरोतिर आइपुग्यो।
उनी आफैँलाई पानीबाट जोगाउन झोलाले टाउको छोपेर आइरहेकी थिइन्। छायामा आइपुग्ने बित्तिकै उनले झोला टाउकोबाट हटाइन्, भिजेका कपालहरू पछाडि सारिन् र मेरोतर्फ फर्केर केही भन्न खोजिन्।
मैले उनीलाई देख्दा एकाएक एकोहोरो भएँ। मुसलधारे पानी झरिरहेको अवस्थामा पनि मेरो अनुहारमा नयाँ चमक आयो र मन एकाएक न्यानो भयो। हावा चलिरहे पनि मेरो मन र मस्तिष्कमा विचित्रको शान्ति र स्थिरता छायो।
म त उनलाई नै हेरेर टोलाइरहेछु, उनले भनेका कुरामध्ये केही पनि बुझेनछु। उनले एक्कासि तेज स्वरमा, ‘हेलो!’ भनिन्। त्यसपछि मात्र म त्यो सुन्दर अनुभूति, त्यो क्षणको स्वर्गीय असरबाट बाहिर निस्केँ।
उनले भनिन्, ‘कति ठुलो पानी परेको है!’
मैले मनमनै सोचेँ— कति मृदु आवाज, कति मिठो बोली!
मैले उत्तर दिँदै भनेँ, ‘हो त, हेर्नु न, म पनि बजार जान भनेर हिँडेको, यस्तो भयो।’
उनी ‘हजुर ए…’ भनेर मुस्कुराइन् अनि फेरि त्यहीँ सन्नाटा छायो।
मलाई उनलाई धेरै कुरा सोध्ने इच्छा थियो— तपाईंको नाम के हो? घर कता हो? कहाँसम्म जान लाग्नु भएको हो? तर ती सबै प्रश्नहरूको लागि हिम्मत जुटाउन सकिनँ।
त्यत्तिकैमा पानी अलि कम हुँदै गयो। उनले भनिन्, ‘वर्षा कम होला जस्तो छ, अब हिँड्दा ठिक हुन्छ, पछि फेरि झन् ठुलो पानी पर्यो भने गाह्रो हुन्छ।’
पहिलो पटक देख्दा न चिनजान, न शब्द— मलाई अरू केही भन्न नै आएन र ‘ठिकै भन्नु भयो तपाईंले, अलि काम भएपछि हिँड्नु पर्छ’ भनेँ।
तर त्यो दिन प्रकृति पनि मानौँ मेरो पक्षमा थियो। उनले बिदा हौँ भनेको बेला फेरि पानी पर्न सुरु गर्यो। मलाई भित्रभित्र खुसी लाग्यो कि अब केही समय अझै उनीसँग उभिन पाइने भयो।
तर उनको अनुहारमा भने चिन्ता झनै गहिरिँदै गयो। पहिल्यै अपनत्वको भाव बोकेर बसेको मेरो मनले उनको चिन्ता देखेर बसिरहन सकेन।
मैले सोधेँ— ‘के भयो तपाईंलाई? चिन्तित देखिनुहुन्छ नि?’
उनले बिस्तारै भनिन्, ‘हेर्नु न, म मम्मीलाई लिन बजार जानुपर्ने, यहीँ यस्तो भयो। छाता ल्याएर हिँड्नुपर्ने रहेछ। यो पानी एक्कासि परेपछि कति गाह्रो भयो।’
मलाई मनमनै लाग्यो—काश! यो पानी रोक्न सक्थेँ।
मैले निर्णय गरेर भनेँ— ‘यदि त्यस्तो हो भने, यो छाता लिनुस्। तपाईंको मम्मी त बजारमै हुनुहुन्छ। बजारको चोक नजिकैको चिया पसलमा राखिदिनुस्, म गएर लिन्छु।’
उनले सोधिन्, ‘अनि तपाईं?’
मैले मुस्कुराउँदै जवाफ दिएँ— ‘मेरो चिन्ता नगर्नुस्, म पानी रोकिएपछि फर्किन्छु। तपाईं ढिला हुनुभयो भने तपाईंको मम्मीले चिन्ता गर्नुहोला।’
सुरुमा उनी मान्न चाहिनन्। धेरै आग्रह गरेपछि मात्र उनले छाता लिइन्।
‘धन्यवाद’ भन्दै उनी बजारतर्फ हिँडिन्।
म भने उनको पैताला मबाट टाढा हुँदै गएको टोलाएर हेरेर बसेँ। भर्खर भेटेको मान्छे पर–पर जाँदा पनि मनको धागोमा गाँसिएको चङ्गा चुँडिएर गएको जस्तै अनुभूति भयो।
उनका ती सुन्दर नयन, पानीले सिँगार पखालेर झनै चम्किएको अनुहार, त्यो कोकिल कण्ठको सुरिलो आवाज, आह! के गरूँ? म पूर्ण रूपमा सम्मोहित भएँ।
उनीसँगको त्यो छोटो भेट नै मेरो जीवनको वर्षौँ सम्झन लायक पल बन्यो।
आजसम्म पनि उनी फेरि भेटिन्छिन् कि भनेर सोचिरहेछु। सायद भगवानले सुन्नुहुन्छ र छिट्टै नै हाम्रो भेट हुन्छ होला।
यस पटक त पक्कै भन्छु—दिलको कुरा, मनको कुरा।
त्यो दिनको एक मात्र पछुतो रह्यो— छाता त दिएँ तर न आफ्नै नाम सुनाएँ, न उनको नाम सोधेँ। साँच्चै, त्यो क्षणमा मेरा मन–मस्तिष्क प्रेमको चक्रव्यूहमा परेको थियो।
काश! हामी चाँडै फेरि भेट हुन पाऊँ त्या…