तिमीले कहिल्यै सोचेका छौ?
यो रगत, यो वेदना र यो पर्खाइ
कति धैर्यको गुनासो बोकेर आउँछ
कति आत्माको राग भरेर बग्दछ
र पनि म हाँसेकी हुन्छु
किनकि
प्रत्येक पीडाको गर्भमा लुकेका हुन्छन्
सृष्टिका दीर्घ श्वास
जीवनका नयाँ कविता
र
आकाशजस्तै नीला सपनाहरू।
त्यही तिमीले भन्दै आएको
तिमीबाट हेपिँदै आएको
मेरो रजचक्रको त्यो पीडादायी क्षण
जुन पीडामा म जेलिएर
तिमीलाई सुम्पिन्छु
तिम्रो ओठमा खुसीको संसार
र तिम्रो काखमा
बिहानीको उदाउँदो सूर्य
किनकि
सृष्टि त मेरो रगतको चक्रीय अनुशासनमा पलाउँछ
र
मेरै भरभराउँदो यौवन र मातृत्वमा हुर्कन्छ।
एकैछिन खल्तीमै राख
पुरुषार्थका तिम्रा आडम्बर
जसले तिम्रो ब्रह्ममा लगाइदिएको छ बिर्को
सुन
जब तिम्रा अधीर शुक्रकीटहरूले
मेरा विनयी डिम्बको ओत पाउनेछन्
तब मात्र फनन्न घुम्नेछ ब्रह्माको चक्र
सुनिन थाल्नेछन्
धड्कनको लयात्मक आवृत्ति
अनि
झुल्किन थाल्नेछन्
अँध्यारोको बिचबाट रापिलो चिराग
र मुस्कुराउँदै
गुड्नेछन् तिम्रो वंशको रथ
साँघुरो घाँटीबाट विशाल आयतन तर्फ।
त्यसैले,
मलाई अब नआँक
र यस्तो नसम्झ
म मात्र खलियानको निष्प्राण बुख्याचा हुँ
म त सृष्टिको अस्तित्व बोध पो हुँ
म त त्यो अनन्त लय पो हुँ
जसले अविच्छिन्न गाउँछ सृजनाको मधुर कलरव
र
पाउँछ जीवनले मिठासपूर्ण लय।