त्यो सहर, जहाँ एउटै आकाश, एउटै सडक, एउटै घाम उदाउँछ र एउटै जून छाउँछ। तर पनि जीवनका बाटाहरू बिछट्टै बेग्लै छन्। बिहानको शान्त हावासँगै उषाका किरणहरूले लाली छर्दै थिए। सडकमा स्कुले बस, अफिस जाने कर्मचारीहरूका बाइक स्कुटरका लामा लस्कर थिए। जसले सडक किनारासम्मै ढपक्कै छोपेको थियो। त्यसैले म एक हातमा छोरीको स्कुल ब्याग र अर्को हातले उनको हात समाउँदै भित्री गल्ली हुँदै स्कुल पुर्याउन हिँडेँ।
त्यही भित्री बाटोमा पनि कतै १५ वर्षका बालकको हात समाउँदै उनीहरूको स्कुलको ब्यागको भरिया बनी अगाडि बच्चा लगाएर स्कुल स्कुल पुर्याउन थुप्रै आमाबाबु हिँडिरहेका थिए। कोही बच्चा लड्दा, ‘ल तिमीलाई चोट लाग्यो कि कतै? दुख्यो कि कतै?’ भन्दै हतारिँदै आमाले उठाएर धुलो झार्थिन्।
त्यही सहरको सोही गल्लीमा अर्कोतिर एक सानी नानी एक्लै हिँडिरहेकी थिइन्। तर उनी लड्दा चुपचाप आफै उठ्थिन्। यसरी मेरो मनले स्वयम्लाई प्रश्न गर्थ्यो! किन एउटै सडकमा पनि यति गहिरो असमानताको खाडल?
यत्तिकैमा एक्कासि मेरा नयनहरू आकाशे रङको कमिज र कालो स्कर्ट लगाएकी सानी नानीतिर अडिए। अनि म आश्चर्य चकित हुँदै प्रश्न गरेँ, ‘नानी, तिमी स्कुले ड्रेसमा छौ तर तिम्रो ब्याग खै? कतै बिर्सियौ कि?'
उनले मुस्कानसहित जवाफ दिइन्, ‘म त अघि नै ९ नबज्दै ब्याग स्कुलको कक्षाकोठामा राखेर अहिले साथी लिन हिँडेकी।’
मैलै फेरि अचम्मित र उत्साहित हुँदै प्रश्न गरेँ, ‘तिमी कति छिटो स्कुल पुगेर पनि साथी लिन आएकी? तिमीलाई स्कुल जान यति छिट्टै कसले रेडी गराउनु हुन्छ? स्कुल पुर्याउन को आउनु हुन्छ?’
यसको जवाफमा उनी केही मलिन मुहार पार्दै भनिन्, ‘त्यो सब म स्वयम् गर्छु।’
मैले अझै प्रश्न गरेँ, ‘तिमी कति कक्षामा पढ्छौ?’
उनले कक्षा ४ मा भनिन्। त्यतिमै म उनलाई ‘ल नानी तिमीलाई म यही बाटो कुरी बस्नेछु, स्कुल टाइमपछि भेटौँला’ भनेर हामी त्यही छुटियौँ। तर मेरो मन त्यसपछि मसँग रहेन उनी तिरै गयो। म झनै भित्रभित्रै भ्रमित र अचम्म मान्दै घर फर्किएँ।
यही सहरमा कोही स्वयम् घरधन्दा सकेर आफै स्कुल आउने अनि यही सहरमै कोही आफ्नो ब्याग पनि बाआमालाई बोकाएर उहाँहरूकै सहायतामा स्कुल धाउने! यो सब के हो? के यो ‘हुँदा खाने र हुनेखाने’ बिचको दरार हो? यस्तै यस्तै सोच्दै कति बेला ४ बज्ला र ती सानी नानी भेटूँ भनी मनमा उत्साहको ज्वाला बलिरहेको थियो।
त्यसैले सोही ठाउँमा उनको बाटो हेरी बसेँ तर उनी आइनन्। फेरि निराशाले सन्नाटा छायो। उत्सुकताको उत्कर्षले चरम सीमा पार गरिसकेको थियो। तर त्यो दिन त्यत्तिकै भयो। फेरि ८/१० दिनपछि छोरीको स्कुल सकाएर घर फर्किँदै गर्दा अलि पर कोही आरु बेच्दै हिँडेको देखेँ। निलो कमिज लगाएकी सानी नानी!
झन्-झन् नजिक पुग्दै गर्दा पत्ता लाग्यो उनी अरू कोही नभएर उनै मैले पहिलो दिन भेटेकी सानी नानी थिइन्। थ्याङ्क गड आज बाटोमै मिलाइदिनु भो भनी मनमनै कृतज्ञता प्रकट गरेँ।
‘नानी तिमीलाई कति भेट्ने मन गरेँ तर बल्ल आज भगवान्ले हाम्रो भेट जुराइदिनुभयो। आऊ एकछिन बस न नानी’ भनेर बसाएँ।
उनका पोल्टाभरि आरु थिए। सोधेँ, ‘कहाँबाट लिएकी यी आरु? कति पैसा हो?’
उनले खिरिलो स्वरमा भनिन्, ‘दिदी, यो स्कुलबाट लिएको हो। स्कुलको पछाडि ठुलो रुख छ। भुइँभर खसेका थिए त्यसैले त्यहाँ हेरचाह गर्ने दिदीले हुन्छ लैजाऊ भनेर सोधेर लिएकी।’
‘यो सबै म किन्छु भन कति पैसा हो नानी?’
उनले मुस्कुराउँदै भनिन्, ‘५० रुपियाँ।’
‘ठिक छ लिऊ यो १०० रुपैयाँ, ५० को तिमी खाजा खानू’ भनेँ। तर उनले पटक्कै मानिनन्। नजिकको पसल गएर साटेरै भए पनि मलाई ५० फिर्ता गरिन्। म उनको त्यो इमानदारी देखेर झनै चकित परेँ।
यसरी मेरो विचारमै ज्वालामुखी ल्याउने उनै थिइन्, प्रेरणा घलान (परिवर्तन नाम)। ९ वर्ष उमेरमा हुर्किँदै गरेकी सानी नानी। करिब २ घण्टाको बसाइँमा कुन-कुन परिबन्दमा परी समयले उनलाई पाको बनायो सबै बताइन्।
आमाको दुखबाट जन्मिएको मेरो जीवनको रामकहानी यो सहरमा जिउने मेरै उमेरका बालबालिकाको भन्दा बेग्लै छ भनी उनी भन्थिन्।
उनको जन्मपश्चात् बाबाले एक्लै छोडेर गएपछि सुरु भएका उनका आमाका दुखका दिनमा आफू आमाको सहयात्री बनेको उनी सुनाउँथिन्। अरूको घरमा भाँडा माझ्ने, घर सफा गर्ने उनको आमाको दैनिकी थियो। त्यही कामबाट छोरीको स्कुल फी, घरभाडा सबै सकी नसकी आमाले गुजारा चलाएको उनी भन्थिन्। ९ वर्षको उमेरमा पनि न त खेलौनाको मोह, न त बालसखाको लहलहै!
बिहानै ५ बजे आमासँग उठेर आफू चुलोमा व्यस्त बन्ने उनी सुनाउँथिन्। आमाको दुखले उनको दिल दुखेपछि आमाको काममा केही सघाउन सक्छु कि भनेर लागी परिन्। बिहान हरेक दिन सँगै उठेर आमा काममा जाने, उनी खाना पकाउने गर्थिन्। उनका हातमा उठ्नासाथ खेलौना, मोबाइल हैन, झाडु र पन्यु हुन्थ्यो। उनको बालापनको खेलमैदान स्कुलपश्चात् कोठाको किचेन थियो। उनका बाल्यकालका भाडाकुटी खेलौना किचनका कालो कराई र जुठाभाँडा थिए। यसरी जीवनोपयोगी असली भाडाकुटीसँग बाध्यतावश खेल्न पुगिन्।
त्यसै गरी अन्य साथीको टिफिनमा आमाले पकाएको पकवान जस्तो उनको टिफिन कहिले भएन। बिहान स्वयमले पकाएको त्यही खाना एउटा टिफिनमा राखेर दिवा खाजाको लागि स्कुलतिर लाग्थिन्। यसरी सहरका ठुला घरभित्रका बच्चाहरू सवारी साधनमा स्कुल पुग्दा, ती नानीले घाम, धुलो र पसिना पार गर्दै आफ्नो बाटो तय गर्थिन्। उनी आमाको दुखबाट यो जानेकी थिइन् कि सपना हिँडेर पुगिन्छ, अरूको सहाराले होइन आफ्नै हिम्मतले हो।
टोखाको एउटा सरकारी स्कुलको कक्षा ४ मा पढ्ने यति सानी नानीको जिम्मेवारी देख्दा र सुन्दा मेरो मन मात्र छोएन, मथिंगल नमज्जाले हल्लियो। उनको उमेरको हिसाबले त उनी गट्टा खेलेर बस्ने थिइन् तर उनको टाउकोमा त्यही गट्टाभन्दा गह्रुंगो भारी थियो। उनी यो सबभन्दा आफ्नो परिचय मात्र मलाई बताइरहेकी थिइनन्, उनी त्यहीँ बोलीमा नजानिँदो पाराले आमा र आफ्ना वेदनाका नमिठा भोगाइहरूका मिसाइलहरू पनि मिसाएकी थिइन्।
भाडा समयमा तिर्न नसक्दा घरबेटीले निकालेका नमिठा पल, बाबाले छोडेर गएपश्चात् कयौँ रात बिस्कुट र पानीमा कटाएका भोका पल पनि उनी सुनाउँथिन्। यति सानो उमेरमा त्यो बाल मस्तिष्कमा भयङ्कर घटनाहरूको चाङ रहेको सुन्दा भित्रभित्रै म भावविह्वल बनेँ। उनी यो सब बताउँदा पनि छिनमै मुसुक्क मुस्कुराउँदै भन्थिन्। आजका आमाका यी दुखका किस्ताहरू पछि राम्रोसँग पढेर केही बन्छु र चुक्ता गर्छु भन्दै दृढता देखाउँथिन्। यसरी उनका आँखामा प्रस्ट सपना देखिन्थे, आमाको हाँसो फर्काउने।
मलाई उनका कुरा सुन्दा यस्तो लाग्थ्यो, उनी धुलोमा खेल्दा धुलोमै लेख्दा अक्षर मात्र होइन; जीवन र जगतको साँचो अर्थ पनि सिकिन् होला। उनी अलिअलि फिका हाँस्दै भन्थिन्, ‘आमाको पसिनाको थोपा-थोपामा मेरो सपना पलाएको छ।’
यसरी कुन बाध्यताले सानोमै उनलाई संघर्ष गर्न सिकायो। आमाको दुख र पीडाले कसरी उनको मन बेचैन बनायो र यसरी उमेरभन्दा पहिल्यै पाकी भइन् भन्ने कुराले उनको मनमा मञ्जिल खडा रहेको उनी बताउँथिन्। यसरी उनी अवस्थित रहेको सहरका केटाकेटी हेर्दा र उनको उमेर र जिम्मेवारी बिच धर्ती आकाश समान अन्तर देखिन्थ्यो।
उनी भन्थिन्, ‘स्कुलमा साथीहरू रमाइरहेका हुन्छन्; कोही नयाँ पेन्सिल देखाउँदै, कोही खानेकुरा देखाउँदै!’ तर यति भन्दा पनि उनी शान्त मुस्कुराइरहेकी हुन्थिन्। किनकि उनले बुझिसकेकी थिइन्, वस्त्र होइन मानिस बानी र ज्ञानले सुन्दर हुन्छ। त्यसै गरी उनी स्कुलका पुस्तकका अक्षरहरूमा भविष्यको ढोका खोज्थिन्, शिक्षकका आवाजमा सपना सुन्थिन्! लाग्थ्यो मलाई यसरी उनले बाल्यकालको मोज गुमाए पनि भविष्यको उज्यालो कमाएकी छन्।
यसरी दुख र अभावको कारण अरू बच्चा सरह स्वतन्त्र हुने छुट उनलाई पटक्कै थिएन। मैले बिच-बिचमा प्रश्न गर्थेँ, ‘तिमीलाई पनि यी अरू बच्चा जस्तै बोर्डिङ स्कुल जाने मन छ? तिमीलाई पनि यी यसै गरी मेरो ब्याग बोकी स्कुलको गेटसम्म आमाबाबा पुर्याउन आए हुन्थ्यो भन्ने लाग्छ? तिमीलाई पनि छुट्टीको दिन फनपार्क महल चिडियाखाना, फिल्महल र राम्रो-राम्रो रेस्टुरेन्ट जान मन लाग्छ?’
यी सबै प्रश्नको उनी जवाफ दिन्थिन्, ‘लाग्छ नि लाग्न त। तर मेरो यो बाल्यकाल च्यासिन्टोल र टोखाको स्कुल सेरोफेरोमा मात्र सीमित छ। त्योभन्दा परको संसार अनुभव गर्न पाएकी छैन। मेरो यो सानो दुखको संसारभन्दा पनि बाहिर कतै बेग्लै सुखको ठुलो संसार छ र?’
उनी मलिन मुहारमा मलाई प्रतिप्रश्न गर्थिन्।
तर म निःशब्द हुन्थेँ। मानिस ठूल्ठूला उपलब्धि र सम्पत्तिमा खुसी खोज्छ तर उनी यही दिनचर्यामा पनि मुसुक्क मिठो मुस्कान प्रवाह गरिरहेकी थिइन्, इमानदार उत्तिकै थिइन्, जिम्मेवार उत्तिकै, असल उत्तिकै। त्यसैले उनको जीवनबाट पनि मलाई प्रेरणा मिल्यो कि मान्छे महँगो स्कुल कलेज नपढेर, व्यवस्थित सुविधा सम्पन्न महलमा नबसेर, बच्चैमा हरेक हन्डर भोगेर पनि हिरा बनेर निस्कँदो रहेछ।
स्कुलको गेटसम्म जोड बलले नानी हिँड भन्दै जबरजस्त आफै भरिया बनेर महँगा स्कुल पढेका कोही यदाकदा उन्माद केटाकेटी देख्दा ती सानी नानी साँच्चीकै स्वर्गबाट झरेकी सर्वगुण सम्पन्न परी लाग्थ्यो। ती नानीले बाल्यकालमै यति धेरै बुझेको देख्दा, उनको संघर्षको कथा सुन्दा मेरा आँखा रसाए तर यो रसाइमा छुट्टै गर्व मिसिएको छ।
यसरी मेरो जीवनमा एक बिहानै सुनौलो बिहानी बनेर भेटिएकी नानीले सोच नै बदलिदिइन् र यस्तो शिक्षा दिइन् कि संसारमा कोही सानो ठुलो उमेरले होइन कि मनको हिम्मत साहस र आमाको माया, प्रेरणा र करुणाले ठुलो हुन्छ। यसरी नाम मात्र प्रेरणा नभई उनको बचपनमै प्रेरणा प्रदान गर्ने काम पनि प्रेरणादायी थियो।
त्यसैले ती सानी नानी एक मात्र बच्ची होइनन्, हजारौँ उनी जस्तै बालखैमा संघर्ष गरेर भए पनि पढाइलाई अगाडि बढाउँदै लगेका सन्तानहरूको प्रतिनिधि हुन्। जसले सानो उमेरमै ठुलो कठोरता भोगे तर हिम्मत हारेनन्। आशाको एक त्यान्द्रो सपना बोकेर आमाको हातमा हात अनि काँधमा काँध मिलाउँदै अगाडि बढे।
ती नानीको यो कहानी मात्र होइन, उनको नाम जत्तिकै प्रेरणा हो। उनले देखाएको मार्ग हरेक बालबालिकाले अनुसरण गरेमा उज्यालो भविष्यको बिम्ब झल्किन्छ। यसरी उनको जीवनले सिकाउँछ सपना बुन, मेहनत गर तर कहिल्यै हार नमान।