खोइ, कहाँबाट सुरु गरूँ? तिम्रो कथा पढेर मेरो हृदय भत्किएको घरजस्तै छियाछिया भयो। तिमीले लेखेका प्रत्येक शब्दले मेरा नशा-नशामा कम्पन पैदा गर्यो र कति चोट बोकिएको रहेछ भनेर फेरि सम्झाइदियो। खोइ तिमीले लेखेको त्यो लामो कथा पढेपछि केही क्षण त शब्द बनाउने शक्ति नै हराएछ। तिम्रो माया, तिम्रो पीडा, तिम्रो सम्झना यति कडा हृदयमा बज्यो कि म केही समय चुपचाप आँखा बन्द गरेर बसिरहेँ।
तिमी भन्थ्यौ— ‘प्रेम खोजिने होइन, आफैँले भेटिन्छ।’ त्यही प्रेमले नै तिमीलाई मेरो जीवनमा ल्याएको थियो। म आज स्वीकार गर्छु, तिमी आएपछि म पहिलो पटक कसैको मायामा आफैँलाई हराएको अनुभव गरेकी थिएँ। चोभारको घाम, पशुपतिको भीड, फोनका अनगिन्ती रातहरू— सबै मेरो आत्मामा कोरिएका छन्। तर तिमीलाई थाहा नहोस् भनेर धेरै कुरा मैले आफैँभित्र दबाएर राखेकी थिएँ।
तिमीलाई हिँडाइदिने ठाउँमा म आफैँ मझधारमा थिएँ— घर, परिवार, समाज, भविष्यका असंख्य चिन्ताहरू। म कमजोर थिएँ, हो मैले तिमीलाई कहिल्यै अप्रेम गरेको थिइनँ। तिमी भन्छौ—'तिमीले कसम खाएर भन, यो जुनीमा तपाईँको लागि स्थान छैन।' हो भनेँ। तर त्यो शब्द मेरो चाहनाबाट जन्मिएको होइन, परिस्थितिको हतियार थियो। म कसम खान बाध्य भएकी थिएँ, किनकि म तिमीलाई जितेँ भने म हार्थेँ— घरको नजरमा, समाजको आरोपमा, आफूभित्र बाँचेको नारीत्वको जटिल मूल्यमा।
तिमीलाई एक कुरा सायद मैले कहिल्यै स्पष्ट भन्न सकिनँ। म आफैँ पनि माया गरिरहेकी थिएँ तर म तिम्रो प्रेमसँग जति गहिराइले डुब्थेँ, त्यति नै मेरो सपना डुब्ने डर लागिरहन्थ्यो। म नर्सिङ पढ्दै थिएँ। जिम्मेवारी, पढाइ, ड्युटी, प्राक्टिकल, दिनभर बिरामी हेर्ने, रातभर किताब पढ्ने मेरो समय, मेरो ऊर्जा, मेरो दिमाग— सबै पढाइले कब्जा गरेको थियो।
र तिमीलाई थाहा छ? म सधैं डराउँथेँ— कहीँ म पढाइमा कमजोर भइदिऊँ कि, कहीँ तिमीलाई चाहिने समय नदिऊँ कि, कहीँ तिमीलाई आहत पारिदिऊँ कि किनकि तिमी मसँग रहन चाहन्थ्यौ र म तिमीसँग बाँच्न चाहन्थेँ।
तिमीले ‘जेल’ भनेर महसुस गर्यौ भनेको प्रेम मेरो लागि जेल थिएन तर दुवैतर्फको संघर्ष थियो। एकतर्फ तिमी— मलाई मनैदेखि माया गर्ने, सम्पूर्ण भावनासहित स्वीकार्ने मान्छे। अर्कोतर्फ— मेरा सपनाहरू, मेरो भविष्य र नर्सिङ पढाइको कठोरता। कहिलेकाँही त यस्तो लाग्थ्यो— तिमीले दिएको मायाको गहिराइ मलाई पलभरमा उचालिदिन्थ्यो। तर पढाइ, दायित्व र भविष्यको चर्को भार त्यही क्षण फेरि भुइँमा झारिदिन्थ्यो। मैले तिमीलाई छोड्न चाहेको होइन, म बाध्य भएकी थिएँ।
न त तिम्रो प्रेम थाकेको थियो, न मेरो मन बदलिएको थियो बस् मलाई समयले बदल्न बाध्य बनायो। तिमी भन्थ्यौ- ‘तिमीले माया कम गर्यौ।’ तर माया कम भएको थिएन, मेरो मन भने दुवै दिशामा च्यातिँदै थियो। एकातिर तिमी, अर्कोतिर सपनाहरू। दुवैलाई प्रेम गर्थेँ तर एक समय दुई दिशामा दौडन सकिनँ। तिमीले बुझेनौ होला र सायद बुझ्नु पनि गाह्रो थियो।
रातभरि तिम्रो तस्बिर हेर्दै तड्पिरहन्थेँ। फोन गर्ने हिम्मत थिएन। फोन उठाउन डराउँथेँ। किनकि मन फेरि तिमीमा डुबेर मेरो जीवनको लक्ष्य बिर्सन्थेँ कि भनेर। तिमीले लेखेको एउटा वाक्यले त मेरो हृदय छामिदियो— ‘म अब तिम्रो जिन्दगीको काँडा बनेर बिझ्न चाहन्नँ।’ तर तिमी कहिल्यै काँडा थिएनौ, तिमी त मेरो जीवनको त्यो फूल थियौ जसले मेरो हत्केला महकाएको थियो। बस्, त्यो फूल समाउन मेरो हात त्यतिबेला बलियो थिएन।
हामी अधूरा भयौँ, हो। तर त्यो अधूरोपनले नै हाम्रो प्रेमलाई वास्तविक बनायो। पूर्णता त सधैँ राम्रो हुँदैन— कहिलेकाहीँ अधूरा प्रेम नै मान्छेलाई पूरा बनाइदिन्छ। तिमी जहाँ रहे पनि, म नर्सिङको सेतो कोट लगाएर थकित आँखाले बिरामी हेर्दा पनि कहिलेकाहीँ तिमी सम्झिन्छु— त्यो कोमल मुस्कान, त्यो न्यानो शब्द, त्यो मायाले भरिएको आवाज, मैले कहिल्यै पूर्णतया बिर्सन सक्ने छैन। अनि सायद तिमीले पनि सक्दैनौ।
तर म बाँचिरहेकी छु— तिम्रो प्रेमलाई मनको सुरक्षित कुनामा राखेर र मेरो भविष्यलाई काँधमा बोकेर। सायद अर्को कुनै बिहान, कुनै अर्को जन्म, अथवा कुनै अर्को समयले हाम्रो प्रेमलाई त्यसको सही ठाउँमा पुर्याइदिओस्। त्यति बेलासम्म म यही भन्छु— तिमी अधूरा छौ तर मेरो लागि सधैँ मिठो रहन्छौ।
तिमीलाई लाग्यो म जेलजस्तो महसुस गर्न थालेकी थिएँ। तर सत्य त के थियो भने म तिम्रो मायामा सुरक्षित महसुस गर्थें तर बाहिरी दुनियाँको नजरले मलाई अपराधी बनाइदिएको थियो। तिमीले गलत ढंगले बाँध्न खोजेका होइनौ, म आफैँ डरले बाँधिरहेकी थिएँ। तिमी भन्छौ— ‘मैले पागलजस्तै तिम्रो माया मागिरहेँ।’ तर तिमीले थाहा पाउन सकेनौ, म तिम्रो प्रेमबाट होइन, आफ्नै डरबाट भागिरहेकी थिएँ। म आफूलाई पनि बुझ्न सकिनँ, तिमीलाई त झनै के बुझाउँथेँ र?
मेरो निर्णयले तिमीलाई भत्काएको छ तर तिमीलाई थाहा छ? म पनि भत्किएरै बाँचिरहेकी छु। म पनि हरेक रात तिमीले रोपेको प्रेमको बिरुवामा हात राखेर किन उखेल्न पर्यो भनेर आफैँलाई सोधिरहेकी छु।
म पनि हारेँ तर तिमीसँग होइन, परिस्थितिसँग। तिमीले भनेजस्तै हामी दुवै बीचको दूरी भौगोलिक होइन, भावनात्मक बनिसकेको छ। तर त्यो दूरी बनाउने काम सिर्फ तिम्रो छैन, म पनि दोषी छु— सायद बढी। आज तिमी गुनासो गर्छौ— ‘तिम्रो आकृति मुटुबाट उखेलिएको छ।’ म चाहन्छु तिमीले एकपटक मेरो मुटु सुन्न पाउँथ्यौ, त्यहाँ अझै पनि तिम्रो आवाज, तिम्रो हाँसो, तिम्रो अप्रतिनिधेय तस्बिरले ठाउँ ओगटेर बसेको छ।
सुगन्ध हराएपछि प्लास्टिकको फूल जस्तै कतै स्थिर जीवन रोजेकी हुँ होला तर त्यसमा ‘तिमी’ भन्ने परफ्यूम कहिल्यै हुनेछैन। तिमीले अन्त्यमा लेख्यौ— ‘तिमी जहाँ भए पनि, मेरो मुटुमा रहनेछौ।’ म पनि यसै भन्न चाहन्थेँ तर भन्न डर लाग्यो। किनकि तिम्रो मन फेरि बाँधिन सक्छ कि भनेर। तिमी स्वतन्त्र भएर बाँचो भन्ने मेरो अन्तिम इच्छा हो।
तिमीले तिम्रो बिहेको अघिल्लो रातमा मलाई फोन गरेका थियौ। हो, आज पनि त्यो रात झलझली याद छ। तिम्रो बिहेअगाडिको अन्तिम साँझ, जसले मलाई टुक्रा–टुक्रा बनाएर छाड्यो। संसारले सायद नदेखेको तर मेरो हृदयले सबैभन्दा गहिरो चोट बुझेको रात। त्यो दिन म दिनभर नर्सिङको प्राक्टिकलमा थिएँ। बाहिरबाट त म सामान्य देखिन्थेँ— सेतो कोट लगाएर बिरामीलाई मुस्कुराउँदै ‘ठिक हुन्छ’ भन्दिरहेकी। तर भित्र? भित्र मैले तिमीलाई गुमाइसकेको पीडा ज्वालामुखीजस्तो बगिरहेको थियो।
साँझपख जब तिम्रो बिहेको बारे फेरि–फेरि सुनिरहेँ, मेरो शरीर कमजोर भयो, मुस्कान सकियो अनि अन्तिमपटक तिम्रो नाम लेखेको नम्बर हेरेर फोन उठाएँ। मलाई थाहा छ, त्यो रात म भक्कानिदै रोएँ किनकि मैले दिनभर रोकिन लागेको आँसु अन्तिम पटक तिम्रै आवाजमा बगाइदिएँ।
तिमीले ‘के भयो?’ भनेर सोध्नेबित्तिकै मैले रोकिराखेको संसार भत्कियो। मेरो आवाज काँपिरहेको थियो, मस्तिष्कमा हजारौँ कुरा तरंगझैँ चलिरहेका थिए तर जिब्रो सुन्नियो— शब्दहरू निस्किएनन्। मैले भने— ‘तिमी… सायद आजपछि मेरो हुँदैनौ…।’ त्यो वाक्य निक्लिँदा भित्री मनले चिच्याएर रोकेको थियो— ‘थामिदेऊ, रोकिदेऊ मलाई, एकचोटि मात्रै भनिदेऊ— बस् एक दिन पर्ख!’
तर तिमीले त्यो रात पनि मलाई मजबुत बनाउन खोज्यौ, मलाई बुझ्न खोज्यौ। तर म आफैँसँगै जुध्दै थिएँ— तिम्रो प्रेम र मेरो परिस्थितिबीच। त्यस रात मैले तिमीलाई धेरै कुरा भन्न चाहिनँ। हो, म भन्न चाहन्थेँ— ‘तिमीलाई माया गर्छु, अझै पनि गर्छु। तिमी बिना म पनि अधूरै छु। मेरो परिस्थितिले बाध्य पार्यो, मनले होइन। यदि क्षमता भएको भए, तिमीलाई नहारेकी हुन्थेँ।’ तर म बोलेँ— ‘अब तिमी आफ्नो जीवन बाँच।’ किनकि म तिम्रो खुसीयालीमा बाधा बन्न चाहिनँ।
तिमीले नयाँ यात्रा सुरु गर्न लागेको क्षण मैले तिमीलाई रोकेर तिम्रो जीवन डगमगाउन चाहिनँ। त्यो रात म रोएकी थिएँ तर त्यो केवल एक युवतीको रोदन थिएन— त्यो त एउटा प्रेमिकाको अन्तिम बिदाइ थियो। म स्वार्थी भएर तिमीलाई रोक्न सक्थेँ तर तिम्रा सपनाको बाटोमै म काँडा बन्न चाहिनँ।
फोन काटेपछि म धरासायी भएर ढलेँ। आकाश हेरेँ— तिमीले आफूलाई सम्हालिरहेछौ भनेर सोचेँ तर आँसुलाई भने रोक्न सकिनँ। त्यो रात मलाई त्यति बेला थाहा भयो— मान्छे कहिलेकाहीँ रोएर बाँच्छ तर केही रोदनहरूले जीवनभर दुखिरहन्छ। आज पनि त्यो रात मनको कोठामा झल्किरहन्छ— तिम्रो चुपचाप आवाज, मेरो अधूरो वाक्य, अनि बिसाउँदै गरेको प्रेम।
तिमी भन्छौ— ‘झलझली याद आउँछ।’
म भन्छु— ‘म त त्यो रातबाट कहिल्यै बाहिर ननिस्केकी, त्यही रातले नै तिमीलाई मभित्र सदासर्वदा बसाइदिएको छ। हामी पूरा नभएका प्रेम जस्तै अधूरा वाक्यहरू, अधूरा वाचा, अधूरै सपना बोक्दै आफ्नै-आफ्नै यात्रामा हिँड्नु पर्नेछ। तर एक कुरा सत्य हो— म तिमीलाई बिर्सिन सक्दिनँ। बिर्सन चाहेर पनि सक्दिनँ। तिम्रो माया कफीमा घोलिएको चिनी जस्तै थियो— भलै चिनी देखिँदैन तर स्वादमा तिम्रो उपस्थिति कहिल्यै हराउँदैन। सायद, अगाडि कुनै अर्को जुनीले हामीलाई फेरि भेटाइदिओस्। सायद त्यो जुनीमा हामी न भाग्नेछौँ, न हार्नेछौँ। हामी पूरा हुनेछौँ। त्यतिबेला न तिमी मेरो सपना हुनेछौ, न म तिम्रो सम्झना। हामी एकअर्काको वास्तविकता हुनेछौँ। त्यसअगाडि बस यस्तो मान्दै बाँचिदिऊँ कि हाम्रो अधूरो प्रेमले नै हामीलाई सम्पूर्ण बनाइरहेको छ।’