पुरानो दुई तले घरको छिँडीमा एउटा सानो पसल थियो– आसा दिदीको चुरा पसल। पसलको भित्र-बाहिर रातो, हरियो र सुनौलो चुराको झिलिमिली संसार थियो। जो कोही महिला त्यहाँ पस्दा जति नै उमेर भए पनि, ‘आसा दिदी!’ भन्दै बोलाउँथिन्। आसा साँच्चिकै दिदी थिइन्– सजाउन जान्ने, माया दिन जान्ने र सहन जान्ने।
‘आसा! ऐ आसा... माथि आऊ त।’
माथि चोटाबाट सासूको मसिनो आवाज ओर्लियो। त्यो बेला आसा कुनै नवदुलहीको हात च्याप समातेर नाडीमा चुरा घुसार्ने लागेकी थिइन्।
‘पख है नानु, म एक क्षणमा आएर चुरा लगाइदिउँला’ भन्दै आसा माथि कोठा जाने भर्याङ उक्लिइन्।
‘म साँझको कीर्तनको लागि एकछिन बाहिर जाँदै छु। विनयलाई हेर्नू है।’
‘तल नानीलाई चुरा लगाउँदै छु।’
‘अरूको चुराको मात्र होइन, कहिलेकाहीँ आफ्नो चुराको पनि ख्याल गर्नू,’ सासू बरबराउँदै भर्याङ ओर्लिइन्।
सासूको कुराले आसाको आँखा सजल भयो। भरिएकै नजरले विनयलाई पुलुक्क हेरिन्। विनयको हलचल गर्न नसक्ने शरीर खाटमा लडेको थियो। करुण दुई आँखा उचालेर विनयले पनि आसालाई मायालु नजरले हेर्यो। उनको सिउँदोमा सिन्दूरको लामो धर्को देखेर उसको आँसु पनि परेलीबाट गालासम्म तन्कियो।
‘तल कृष्णा नानी पर्खिरहेकी छे। ती एक जनालाई चुरा लगाएर म पसल बन्द गरी आउँछु,’ चिसो आवाजले बोलेर, आसा पसलतिर ओर्लिइन्।
आसा गएपछि कोठामा शून्यता छायो। साँझले बाटो अँध्यारो भएर होला, पर आकाशमा चराहरू बथानका बथान हतारमा घर फर्किरहेका थिए। कुनै समय उसले पनि यो सहर बाँचेको थियो, ओढेको थियो समाजलाई। आकाशको चरा जस्तो पलभरमै एक सहरबाट अर्को सहर पुग्थ्यो। जीवनमा केही चिजको कमी थिएन। गोजी भरिलो थियो र मान्छेहरू विभिन्न बहानामा सम्बन्ध जोड्न आउँथे।
गोजी रित्तिएसँगै रित्तिए ती सबै सम्बन्धहरू। क्यान्सरले उठ्नै नसक्ने गरी खाटमा लडाएपछि आफै जोडिएर आएका सम्बन्धहरू आफै फाटिँदै गए। जीवन काठको मुढा भएपछि मात्रै उसले जीवनलाई चिन्यो तर ढिलो चिन्यो। आजभोलि फेरिँदै गएको सम्बन्धको हरेक तस्बिरलाई ऊ झ्यालभित्रको संसारमा बसेर टुलुटुलु हेरिरहन्छ।
हठात् उसको ध्यान झ्यालबाट कोठामा प्रवेश गरेर फैलिएको अँध्यारोतिर गयो। दुई हात पर रहेको स्विच थिचेर उसले त्यो अँध्यारो मेट्न सकेन। फैलिँदै गएको त्यो अँध्यारोमा उसलाई लाग्यो, अचेल श्रीमतीले पनि उसको मुढो शरीरभन्दा काँचको चुरालाई माया गर्छिन्। झ्याल बन्द गरेर कोठामा बत्ती बाल्न नपाएको उदास साँझ उसको आँखाभरि विगतका चित्र लडिबुडिन आउँथे।
सानोमा बुबाले उसलाई पशुपतिनाथ दर्शनको लागि लग्नु भएको थियो। मन्दिरको भिडमा ऊ हरायो। बुबालाई खोज्दै जाँदा ऊ आर्यघाटमा पुग्यो। तेह्र वटा लासलाई सँगसँगै राखेर जलाएको देख्दा उसलाई आश्चर्य लागेको थियो। ऊ घण्टौँ त्यहाँ बसेर लास जलाएको हेरिरहेको थियो। पछि बुबा उसलाई खोज्दै त्यहीँ आउनु भयो।
बुबालाई उसले सोध्यो, ‘यी मान्छेहरूलाई किन जलाएको बुबा? यी त मान्छे पो हुन्, दाउरा हुन् र?’
बुबाले भन्नु भएको थियो, ‘मान्छेको यो शरीर छ नि, एक दिन दाउरामा बदलिन्छ।’
त्यो बेला उसलाई लागेको थियो, मानिसको शरीर मरेपछि दाउरामा फेरिन्छ। पछि थाहा पायो, शरीर दाउरामा बदलिने होइन, बरु दाउरासँगै जलेर खरानीमा एकाकार हुँदो रहेछ।
एक दिन आसा ऐना हेरेर ओठमा लाली लगाउँदै थिइन्। विनय खाटमै लडेर आसालाई टोलाएर हेर्दै थियो। सजावटमा व्यस्त आसाले विनयको हेराइ चाल पाइनन्। यति नै बेला विनय आत्तिएर करायो– ‘झ्याल बन्द गर, झ्याल।’ परबाट मान्छे मरेर मलामी आएको शङ्ख उसको कानमा बजेको रहेछ।
आसाले झ्याल हतपत बन्द गरिन्।
‘कति मर्छन् मान्छेहरू पनि,’ ऊ बरबराउँछ, ‘सानैदेखि मान्छेहरू मरिरहेका छन्। आज म आफै चालीस उमेर भएँ, मान्छेहरू मर्न छोडेका छैनन्।’
‘यो झ्याल बन्द गरेर घाटमा लास नजल्ने होइन क्यारे,’ आसा झर्केर कराउँछिन्।
‘कर्ममा जे लेखिएको छ, त्यही हुन्छ।’
जीवनको आयुलाई लिएर श्रीमतीले कर्मको कुरा गरिन्। उसको आँखा चिसो हुँदै गयो। सायद ओछ्यानमा जिउँदो लासलाई कुर्दा कुर्दा उनी पनि थाकिसकेकी हुन्।
त्यही श्रीमती जसले उसलाई कुनै समय असाध्यै प्रेम गर्थिन्। आफ्नो जीउमा विनयको तातो नपरुन्जेल उनी निदाउँदै सक्दिन थिइन्। विनयको हात तानेर भए पनि आफ्नो जीउमा ओढाउँथिन्। रातभरि हातको तातो लिएर सुत्ने श्रीमतीले आजभोलि उसको हात छोएको पनि घिन माने जस्तो छुने गर्छिन्। एक दुई गाँस खाना पनि चम्चाले घिन माने जस्तो खुवाउँथिन्। दुलहीहरूका सुन्दर हात छुन अभ्यस्त हातलाई, यी सुकेर ओइलाएका हाँगा तुल्य रोगी हातमा के मोह हुनु? विनयले आफ्नै मन बुझायो।
वास्तवमा भन्ने हो भने उसको कोठा आजभोलि उसको जीउ जस्तै सुक्दै गएको छ। नसुक्नु पनि कसरी? उसले आफ्नो सुन्दर कोठाको एक एक सामान आफैले हटाउन लगाएको थियो। पहिला टेबलमा सजाइएको फूलदानी हटाउन लगायो। त्यसपछि एक्वारियममा माछाहरूको सजीवताले ईर्ष्या भयो। एक्वारियमको पानीभित्र तल भएको माछा एकै छिनमा माथि हुने, माथिका तल, आकर्षक सजीवता थियो।
रंगीचंगी जीवनको त्यो उतारचढाव पनि उसको लागि प्रिय भएन। सुन्दर कुराले जीवनप्रतिको मोह बढाइदिन्छ भन्ने कुरा उसलाई प्रस्ट थाहा थियो। उसले आजभोलि छिमेकीको कौसीको गमलामा सजाइएको फूलको खुसी पनि हेर्न सकिरहेको छैन, फूलले खुसी मनायो कि निर्मम भएर आँखा चिम्लन थालेको छ।
आज हस्पिटल लगियो। ‘भो हस्पिटलमा राख्नु पर्दैन, घरमै लैजाऊ, अब बढी बाँचे पन्ध्र/बिस दिन हो’ भनेर विनयको निर्जीव शरीरलाई घरमै फर्काइयो। केही सपना भए पूरा गरिदिनु पनि भनेका रहेछन्। जीवनको आयु वर्षबाट महिना र महिनापछि दिनमा खुम्चिएपछि श्रीमतीका आँखामा माया फैलिन थाल्यो। उनले चुरा लाउन आउनेहरूले आसा दिदी भनेर बोलाए पनि हजुर भन्न छोडेकी थिइन्। आमा, श्रीमती र छोराको उपस्थिति कोठामा झुमिन थाल्यो।
आज विनयको वरिपरि तीनै प्रियजन घेरेर बसेका छन्। विनय रोएको देखेर हो कि वा डाक्टरले बोलेको जीवनको आयुलाई सम्झेर, आज कोठामा भएका तीनै जनाका आँखामा विरह छचल्किरहेका थिए। आँसुले भारी भएको आँखा उचालेर उसले तीनै जनालाई एक पटक फेरि सरसर्ती हेर्यो।
बाह्र वर्षको छोरालाई हेर्यो। कलिलो हातलाई देखेर सोच्यो, त्यो कलिलो हातले दागबत्ती पनि पनि उचाल्न सक्छ कि सक्दैन? ३२ वर्षकी श्रीमतीलाई करुण नजरले यसो हेर्यो। हेर्दाहेर्दै उसको नजर श्रीमतीको सिउँदोमा कोरिएको सिन्दूरको लामो धर्कोमा अड्कियो। आमालाई हेर्ने बेलामा भने देखिएको थोरै चित्र पनि आँसुको पर्दा लागेर अस्पष्ट भयो। संसारका तीन प्रिय मानिसलाई पालैपालो हेरे पछि उसलाई असहाय भएर आयो।
ओछ्यानमा लडेर समाजलाई हेर्दा नै समाजको वास्तविक तस्बिर देखिँदो रहेछ। उसको संसार यही हो अब। चार भित्तामा आएर उसको संसार खुम्चिएको छ। वास्तवमा भन्ने हो भने आफ्नी आमा, श्रीमती र छोराबाहेक अरूलाई नदेखेको वर्षौँ भइसकेको थियो। आफन्तहरू घरमा आउनै छोडिसकेका थिए। हस्पिटलले अब बाँच्दैन भनेर फिर्ता गरिसकेको बोझिलो शरीर, चुरोटको ठुटो एष्ट्रेमा लडे जस्तो ओछ्यानमा लडिरहेको पनि छ महिना भइसक्यो। अब त दिनमै गिन्ती सुरु भएको छ।
हप्तामा एकचोटि भित्तामा सिरानी लाएर ऊ किताब पढ्ने गर्दथ्यो। अरू बेला जस्तो आज नि गाह्रो अवस्थामा पनि छोरालाई ‘जाऊ, बाबालाई एउटा किताब लिएर आऊ’ भन्दा आज्ञाकारी छोराले एउटा किताब ल्याएर दियो। दुखेको शरीरको पीडा ऊ किताब पढेर निको गर्न खोज्यो।
आज छोराले दिएको किताब पल्टाउने क्रममा किताबको एक पन्नाबाट एउटा परपुरुषको फोटो खस्यो। उसलाई त्यो फोटो देखेर भित्र-भित्र ईर्ष्या भयो। उसले फोटोलाई ओल्टाई पल्टाइ हेर्यो। आसाको त्यही बेला कोठामा प्रवेश भयो। उसले त्यो तस्बिर लुकाएन।
उसले तस्बिर देखाउँदै सोध्यो, ‘यो तस्बिर कसको हो?’
‘ए... त्यो मेरो कलेजको साथी अरुणको हो। कसरी आयो त यो किताबमा!’
‘तिमीले कलेज पढेको त चौध वर्ष भयो। यत्रो वर्ष किन यो तस्बिरलाई लुकाएको? उहिले नै मलाई देखाएको भए पनि हुन्थ्यो नि,’ यति बोल्दै गर्दा उसका आँखा रसाएर आए।
‘आसा, ३२ वर्षकी नारीभित्रको ३२ वटा चाहना म बुझ्न सक्छु। म मरेपछि तिमी पुनर्विवाह गर्न सक्छ्यौ तर छोरालाई बिर्सनु भएन। तिम्रो चाहनाको लागि उसका चाहनाहरूलाई कुल्चिनु भएन।’
यति बोल्दै गर्दा श्रीमतीको आँखाबाट आँसु तरर चुहिएको देख्यो।
आजभोलि उसको खाटमै लडिराख्ने शरीरलाई हेरेर रुनै छोडिसकेकी श्रीमतीले पुनर्विवाहको कुरा उठाउँदा आँसु तरक्क चुहायो।
हिकहिकाउँदै बोलिन्, ‘छोरा र आमालाई अलपत्र पारेर जाउँला जस्तो लाग्छ र? यही घरमा चुरा बेचेरै पालुँला तिनीहरूलाई। त्यो किताब र फोटो दुवै चौध वर्ष पुरानो हो। आज मलाई अरुण कहाँ छ पनि थाहा छैन। देऊ त्यो फोटो यता।’
आसाले विनयको हातबाट त्यो फोटो थुतेर उसकै आँखासामु टुक्रा-टुक्रा गरी च्यातिदिइन्। आफ्नै अगाडि श्रीमतीले परपुरुषको तस्बिर टुक्रा-टुक्रा पारेपछि विनयले पुलुक्क छोरातिर हेर्यो। छोराले पछ्यौराको सप्को समातेर विनयलाई नै टुलुटुलु हेरिरहेको थियो। आसाले पनि छोरालाई अँगालो मारी।
यो दृश्य देखेर विनयले चैनको सास फेर्दै बोल्यो– ‘लासमा दाजुभाइ र आफन्त भनेर कुर्नु पर्दैन। जति सम्झेर आए, उनीहरूलाई मात्र मलामी बनाउनू।’
आज बिहानदेखि विनयको हाउभाउ अलि फरक थियो। उसले आज राति देखेको सपनाले उसलाई सचेत बनाइसकेको थियो। एक सास फालेर तान्न पनि उसलाई मुस्किल भइरहेको थियो। उसले आफ्नो छेवै बसेकी आसालाई बोलाउँदै भन्यो– ‘आऊ, छेउमा बस।’
श्रीमती खाटमा उसको नजिकै आएर बसिन्।
‘कति कोमल तिम्रा हातहरू, सायद तिमी नभएको भए यो गाउँमा कैयन दुलही हातहरू रित्तै होलान्। जुन हातले आफ्नो जीवन नै चुरालाई सुम्पियौ, आज चुरालाई त्यही हात मन परेन।’
‘तपाईं यो के बोल्दै हुनुहुन्छ?’ आसाले पनि आत्तिँदै सोधिन्।
‘तिमी उता फर्क आसा।’
‘किन मैले हजुरलाई हेर्न सक्दिनँ र?’ आसाले प्रश्न गरिन्।
‘म तिम्रो यो लामो सिउँदो र सिन्दूरलाई हेर्न सक्दिनँ। मलाई पीडा हुन्छ। एकछिनमा फर्केर हेर मलाई अनि धित मरुन्जेल हेर,’ यति भन्दै विनय गाँठो परेको सास फेर्दै मुसुक्क हाँस्यो।
विनयको हाँसेको अनुहार हेरी आसाले उसको हातलाई च्याप समातिन् र भित्तातिर मुख फर्काइन्। एक मिनेटसम्म विनयको हात आसाको हातमा स्थिर रह्यो। आसाले सम्भावित भयले फर्केर हेर्दा विनयले प्राण त्यागिसकेको थियो। विनय भन्दै आसा चारै भित्ता थर्किने गरी चिच्याइन्। उसको छातीमा आफ्नो टाउको टेकेर आसा ठूलो-ठूलो स्वरमा रोइन्। प्राण त्याग्दा पनि उसको अनुहार मुस्कुराइरहेको थियो।
जीवन भोग्ने धेरैजसो मानिसको जीवन रुँदै सुरु भएर रोएरै अस्त हुन्छ। मुस्कुराउँदै जीवन त्याग्न सक्ने कमै मानिस हुन्छन्। एक थान जीवन त्याग्नु भन्दा, जीवनसँग टाँसिएका हजार थान सपनाहरू बिर्सन गाह्रो हो। आँखामा टाँसिएका सपनाहरू त अन्तिम आँसुको बुँदमा पनि खस्दैनन् भन्छन्। तर विनयले जीवनको अन्तिम पलमा सबै सपनालाई हाँसोसँगै खसाल्यो।
सपना त्यागेपछि जीवन पनि त्याग गर्न सहज भयो। १२ वर्षको छोरा, ३२ वर्षकी श्रीमती र ६० वर्षकी बुढी आमालाई संसारमा छोडेर सधैँका लागि हाँसी-हाँसी आँखा बन्द गर्नु सजिलो कहाँ छ र?
विनयले आज कठोर भएर बिर्स्यो, आफ्नो जीवनभन्दा लामो श्रीमतीको सिउँदोको सिन्दूरको धर्कोलाई, दागबत्तीभन्दा छोटा-छोटा १२ वर्षको कलिलो छोराका हातलाई र अनन्तको लागि टाढै जान लाग्दा पनि एक दिन कतै जाँदा बिदाइमा आँसु झार्ने आमाको विरही आँखालाई। सायद त्यो शक्ति ईश्वर प्रदत्त थियो कि के थियो उसले हाँसेरै मृत्यु स्वीकार्यो। लासको अन्तिम यात्रामा पनि आफ्नो ओठमा मुस्कान टाँसेरै हिँड्यो। अन्तिममा चितामा पानी खाँदा पनि उसले हाँसेर पानीको घुट्को लियो रे।
विनयको मलामी उसले सोचेको जस्तो पातलो भएन। अनेक सम्बन्ध खोतल्दै मानिसहरू उसको लासको भीडमा समेटिए। त्यही भीडले अन्त्यमा समाजको रूप लियो र आसाको हातको सबै चुरा फुटाइदियो, पोते छिनायो र सिउँदोको लामो सिन्दूर पुछ्यो। उनको जीवनको प्रिय रातो रंग सधैँको लागि अस्तायो।
श्रीमानको मृत्युपछि तेह्र दिन उनले दराज खोलिनन् तर खोलेको दिन उनको नजर पाँच/छ झुप्पा रातो चुरामा गयो। दराजको पारदर्शी ऐनामा आफ्नो खाली नाडी हेर्दै सोचिन्– यो सानो दराजमा पनि सयौँ चुरा अटायो तर उनको नाडीमा दस/बाह्र वटा चुरा अटाएन।
श्रीमानको मृत्यु भएपछि उनको पसलमा चुरा लगाउन आउनेहरू आएनन्। उनको चुरा बिक्दै बिकेन। अन्त्यमा, उनले चुरा सबै बेच्नुपर्यो। चार महिना उनको पसल खुलेन। चार महिनापछि सानी भाउजूकी छोरी प्रतिमा उनको पसलमा चुरा लगाउन आइन्। प्रतिमाले घर बाहिरबाट बोलाइन्- ‘आसा दिदी, ऐ आसा दिदी! घरमा को हुनुहुन्छ?’
आसाले झ्यालबाट यसो टाउको निकालेर हेरिन्। ‘ए प्रतिमा पो!’ यति भन्दै तल आइन्।
‘दिदी चुरा लगाउन आएको,’ प्रतिमाले भनिन्।
‘मैले सबै चुरा बेचिसकेँ नि नानी।’
‘किन र आसा दिदी?’
‘यी चुरा फुटेका हातले तिमीलाई चुरा कसरी बेचुँ?’
‘अनि बालबच्चा त पाल्नु पर्यो नि।’
‘मैले नयाँ काम सुरु गरेको छु।’
‘के नि?’
‘लुगा सिलाउने। ल लुगा सिलाउनु पर्यो भने सम्झिनु है नानी। यो लुगा मैले आफैले सिलाएको हो,’ आसाले आफूले लगाएको सेतो कुर्ता सलवाल प्रतिमालाई देखाउँदै बोलिन्, ‘कस्तो छ नानी, राम्रो छ नि?’
सिउँदोको सिन्दूर पुछिए पनि सियो र धागोको साथमा आसा दिदीले जीवन बुनिरहेकी रहेछिन् भनेर प्रतिमालाई लाग्यो। उसले करुण आँखाले पसलको साइनबोर्डतिर आँखा उचालेर हेरी, जहाँ लेखिएको थियो– ‘आसा दिदीको सिलाइ पसल।’