आखिर हामी नेपाली
जनता के चाहन्छौ?
हामी चाहन्छौँ
शिक्षामन्त्रीले हाम्रो सट्टा पढी दिओस्
नानीबाबुका होमवर्क पनि गरी दिओस्
अर्थमन्त्रीले पैसा तिरी दिओस्
ऊर्जामन्त्रीले दाउरा चिरी दिओस्
वन मन्त्रीले घाँस काटी दिओस्
पशुपन्छी मन्त्रीले कुखुरा हेरी दिओस्
मेयर सापले भकारो सोरी दिओस्।
गृहमन्त्री त झनै
सहोदर दाजु सरह
मेरा बैरीहरूलाई
थला पर्ने गरी ठटाइदिए हुने।
प्रधानमन्त्री हाम्री
साक्षात् आमा जस्ती
सेलरोटी तारेर एक डालो
घर-घर पठाइदिए हुने।
बाँकी मन्त्रीहरूले
हामी सकल जन कन
गच्छेले सकेको र जानेको गर।
हामी त यो हिउँदमा
जीउमा घिउ दलेर
घाममा सेकाउने हो।