राजमार्ग छेउमा उभिएको छ
युगौँदेखि एउटा चौतारी
उसको छातीमा गाडिएको छ
अलिखित इतिहासको गहिरो घाउहरू
जुन घाउका पाप्राभित्र छन् वारिका कथाहरू
जुन घाउका डोबभित्र छन् पारिका व्यथाहरू
ती घाउबाट बगेको पीपहरूमा तैरिरहेछन्
व्यवस्था परिवर्तनको लागि लडेको
भूमिगत योद्धाहरूको मृत शरीरहरू
जुन शरीरलाई सरकारले त चिन्दैन नै
क्रान्तिको नाइकेले समेत चिन्दैन।
राजमार्ग छेउमा उभिएको छ
युगौँदेखि एउटा चौतारी
उसको खुला आँखामा मञ्चन भएको छ
अनेकन् नाटकहरू जिन्दगीका
जहाँ प्रसव पीडामा छटपटिँदै
जान्छे एउटी महिला
हातमा शिशु बोकी फर्किन्छे एउटी आमा
हजुरबुबाको चोर औँला पक्डिएर
ताते गर्छ एउटा बालक
दायित्व बोक्ने काँध तयार गर्न
झोलाभरि ज्ञानका ठेली बोक्छ एउटा किशोर
हावाभन्दा बडी वेगमा
मोटरसाइकलमा हुइँकिन्छ एउटा युवा
प्रेसर र डायबिटिजको गोली बोकी
फर्किँदै गरेको हुन्छ एउटा वयस्क
जीवनको भारी बोकेर थकानले
भारी बिसाउन खोजिरहेको एउटा वृद्ध
जिन्दगीको जिजीविषामा तड्पिरहेको पात्रहरू।
राजमार्ग छेउमा उभिएको छ
युगौँदेखि एउटा चौतारी
जो हिउँको चिसोसँगै कक्रिएको छ कहिले
जसरी कक्रिएको छ देशको अर्थतन्त्र
जो वर्षाको झरीसँगै रुझेर बगेको छ कहिले
जसरी बगेको छ अर्थतन्त्र भ्रष्टाचारको झरीमा
जसले अनुभव गरेको छ तेज बतास कहिले
जो देशको स्रोत उडाउन आतुर रहन्छ जहिले।
राजमार्ग छेउमा उभिएको छ
युगौँदेखि एउटा चौतारी
जसको निधारमा लेखिएको छ
देशभक्त नेपालीहरूले देश बनाएका कविताहरू
जसको मौन मुस्कानमा कोरिएको छ
अनेक रङको एउटै नेपाली पोट्रेट।