काठमाडौँको बिहानैको चिसो हावा ग्रामीण आदर्श बहुमुखी क्याम्पसको गेटअगाडि पीपलको पात हल्लाउँदै थियो।
बिहानको सूर्य अझै कोमल थियो र सडकमा देखिने धुलो, भीड र गाडीको आवाजबिच पनि त्यो पीपलको बोट शान्त र स्थिर उभिएको थियो। मानौँ यो बोटले धेरै वर्षदेखि नयाँ-नयाँ विद्यार्थीहरूको आगमन र बिदाइ नियालिरहेको होस्।
विद्यालय जीवनमै काठमाडौँको गल्ली–गल्ली चिनेको भए पनि कलेज जीवनको पहिलो दिन भने मेरो लागि नयाँ र उत्साहित क्षण थियो। क्याम्पसको गेटबाट भित्र पस्दा कोही नोट पल्टाइरहेका थिए, कोही गफ गर्दै हाँसिरहेका थिए, कोही भने टाउको झुकाएर मोबाइलमा व्यस्त। म भने शान्त भएर वरिपरि नियालिरहेको थिएँ यी नै मध्ये कोही मेरो भविष्यका साथी बन्नेछन् भन्ने सोच्दै थिएँ।
कक्षा सुरु भयो, सुरु–सुरुमा त बस्ने ठाउँ, किताबमा ध्यान गयो। तर बिस्तारै मित्रताको बीउ उम्रिन थाल्यो। खास गरी ब्रेक टाइममा धेरै साथीसँग चिनजान भयो। चिया पसलमा सँगै जाने, एक कप चिया र केही गफमा आधा घण्टा बित्ने, कहिलेकाहीँ चियाभन्दा पनि गफ नै लामो हुने, यही क्रममा धेरै साथी बने, हाँसो–ठट्टा र पढाइ, यिनै कुरामा समय बित्दै जान्थ्यो।
साँचो मित्रता कलेजको चिया पसलमा जन्मिन्छ र जीवनभर मनमा बस्छ।
एक वर्ष त्यस्तै रमाइलो गर्दै बित्यो। कहिलेकाहीँ त लाग्थ्यो, यो दिन कहिल्यै सकिँदैन। तर समय भने आफ्नो गतिमा अगाडि बढिरह्यो।
दोस्रो वर्ष सुरु हुँदा मेरो जीवनमा तीन विशेष पात्र जोडिए; मनिष, सुमित र प्रेम। सुरुमा त उनीहरूसँगको मित्रता सामान्य थियो। दुई चार दिनमै नमस्ते, खाना खाइस्? आज क्लास रमाइलो भयो है जस्ता हल्का कुरा हुँदै गयो। तर थोरै समयमै त्यो सामान्य परिचय असाधारण सम्बन्धमा बदलियो।
हामी चार जनाको टोली मानौँ एकअर्काको वरिपरि घुम्ने ग्रहजस्तो जति सँगै हुँदा पनि नअक्राएर बस्न नसक्ने क्लासमा सँगै बस्ने, ब्रेकमा सँगै निस्कने, असाइनमेन्ट गर्दा सल्लाह दिने अनि कहिलेकाहीँ त सानो गल्तीका लागि एकअर्कालाई जिस्काउने।
प्रेम हाम्रो टोलीको ‘कमेडी किङ’ थियो। उसको बोल्ने शैली, मजाक गर्ने तरिका र सानो कुरा पनि रमाइलोमा बदल्ने क्षमता थियो, त्यसैले हामी धेरै तनाव भएको बेला पनि हाँस्ने मौका पाउँथ्यौँ।
सुमित अलिकति सोझो स्वभावको थियो तर स्टाइल गर्ने चाह भने उसको छुट्टै स्तरको थियो। उसको हिँड्ने ढंग, कपालको स्टाइल, र फोटो खिचाउने पोज मानौँ कुनै म्युजिक भिडियोको हिरो हो।
मनिष भने हामीमध्ये सबैभन्दा अग्लो, गम्भीर तर नजिकिँदा निकै आत्मीय स्वभावको थियो। ऊसँग म अलि बढी कुरा शेयर गर्थेँ। पढाइ मात्र होइन, व्यक्तिगत कुरा, मनका कुरा, कहिलेकाहीँ त पीडासम्म पनि साटासाट हुन्थ्यो।
कसैसँगको मित्रता यति गहिरो हुन्छ कि जीवनका सबै ऋतुहरू उनीहरूकै संगतमा सुन्दर देखिन्छन्।
हामी चार जनाले कलेज जीवनको हरेक क्षणलाई विशेष बनायौँ। कहिले कक्षा सकेर बाइसधारातिर घुम्न निस्कन्थ्यौँ, कहिले चिया पसलमा बसेर भविष्यका सपनाबारे कुरा गर्थ्यौँ। हाम्रो कलेज नजिकै सिनेमा हल थियो कहिलेकाहीँ चलचित्र हेर्नको लागि हलसम्म पुग्ने गर्थ्यौँ अनि कहिलेकाहीँ त कलेजको आँगनमै बसेर घाम ताप्दै रमाइलो गर्थ्यौँ।
हामी चार जना केवल साथी मात्र होइन, कलेज जीवनका सहयात्री थियौँ। एक अर्काको हाँसो, रहस्य र साना–ठुला सपना हामीले साझा गरेका थियौँ। कलेजको क्यान्टिनमा सानो टेबल हाम्रो ‘आधिकारिक बैठक कोठा’ जस्तै थियो। त्यहीँ बसेर हामी कहिले चिया, कहिले समोसा, कहिले त केवल पानीमै संसारका सबै समस्याको समाधान खोज्थ्यौँ।
परीक्षा नजिकिँदा पनि हाम्रो रुटिन खासै बदलिँदैनथ्यो। कहिले एकअर्कालाई पढाइको बहानामा भेटेर अन्त्यमा चिया पसलमा पुर्याइदिने बानी हामीमा पक्कै सुधारिएको थिएन।
एक पटक कलेजको सांस्कृतिक कार्यक्रममा हामी चारै जना सहभागी भयौँ— कसैले गीत गायो, कसैले कविता सुनायो, कसैले नाच्यो र कसैले सबैको भिडिओ खिच्यो। त्यो दिनको रमाइलो अझै पनि हाँसोले याद आउँछ।
हामीलाई थाहा थियो, यो समय फेरि फर्किँदैन। त्यसैले हामी हरेक क्षणलाई चित्रजस्तो मनमा कोर्दै गयौँ।
कलेज सकिएको धेरै वर्ष भइसक्यो तर हाम्रो मित्रताको डोर अझै पनि अटुट छ। अब हामी नेपालमा सँगै भेटिने मौका कम भए पनि मोबाइलको सानो पर्दाले हामीलाई टाढा हुन दिँदैन। साथीहरू अध्ययन र घरायसी समस्या भएकाले देश बाहिर रहेका छन् तर त्यो दूरीले हाम्रो मनलाई कहिल्यै टाढा बनाउन सकेको छैन।
संसारका फरक–फरक ठाउँमा भए पनि हामी एक अर्कासँग सम्पर्कमा रहन्छौँ, फोन र भिडियो कलबाट हाँसो, खुसी अनि कहिलेकाहीँ जीवनका चुनौतीहरू साझा गर्छौँ। त्यसैले जीवनका व्यस्तताले पनि हाम्रो मित्रताको मिठास घट्न सक्दैन।
कहिले भिडियो कलमा सबैको हाँसो गुन्जिन्छ, कहिले केवल आवाजमै एकअर्काको मन बुझिन्छ। जीवनको चाप, कामको व्यस्तता र परिवारका जिम्मेवारीबिच पनि हामी समय निकालेर दुःख–सुख साटासाट गर्छौँ। कसैलाई समस्या पर्दा अर्कोले अडेस दिन्छ, कसैको खुसीमा सबैले उत्सव मनाउँछ।
जसरी कलेजको आँगनमा घाम ताप्दै बस्दा मन हल्का हुन्थ्यो, आज पनि एक–अर्कासँगको कुरा सुन्दा मन शान्त हुन्छ। दूरीले केवल शरीर टाढा पारेको हो, मन भने अझै पनि त्यही पुरानै टेबलमा बसेर चिया पिइरहेको छ।
हाम्रो मित्रता न सकिएको हो, न त कमजोर भएको तर परिस्थिति र जीवनको यात्राले हामीलाई सधैँ सँगै रहन दिँदैन। समय र अवसरले सबैलाई फरक बाटोमा लग्यो र धेरै साथीहरू उच्च अध्ययनका लागि बिदेसिन बाध्य भए। तर त्यो दूरीलाई हाम्रो मनले कहिल्यै स्वीकार गरेको छैन। अझै पनि दिनहुँ जसो फोन वा भिडियो कलमा हामी भेटिन्छौँ, हाँसो र सम्झनाहरू बाँड्छौँ, र पुराना दिनको स्वाद फेरि अनुभव गर्छौँ।
दूरीले शरीर टाढा पार्न सक्छ तर हाम्रो मनको मित्रता कहिल्यै टाढा हुन्न।