नरोपिनु पर्ने बिउ पनि उम्रन्छ
ज्याद्रा र कुटिल मानिसका मनमा
ईर्ष्या र द्वेष बनेर फल्दछ
काला पर्दा र अन्धकारले बारिएको
कठोर हृदयका टनेलहरूमा।
ईर्ष्याले रङ उडाइदिन्छ मित्रताको फूलको
मदिराले निद्रा उडाएसरि
द्वेषले काटिएको मनको अर्बुद घाउमा
चुक र नुनले तामाको बर्तन माझे झैँ माझ्दछ
आत्मीय ठानिने तर आत्मामा चिरिएका चोट बोकेकाहरू
मायाभन्दा ठुलो प्रतिस्पर्धाको बोझ बोक्दछन्।
ईर्ष्या आगो हो
द्वेष आफ्नै बाहुमा जल्ने कोइला हो
निस्वार्थ प्रेम त त्यही हो
जहाँ अर्काको टुकी बल्दा
आफ्नै हृदय धपधपी उज्यालिन्छ
कठोरता नौनी बनेर पग्लिन्छ
वैदिक संस्कारको होममा धूप झैँ!
सायद मन ठुलो हुँदो हो त
माया नै माया टुसाएको सुहाउँथ्यो
अफसोस,
लुकेको हाँसोभित्र काँडाजस्तो पीडा
अनि
सुनगाभा फुल्ने मनको बगैँचामा देख्छन् झरीको बादल
खुसी र मुस्कान आँखामा धुमिल धुवाँ बन्दछ
कानमा काँप्ने शूल बन्दछन् सफलता कर्महरू।
मनमा तिखा पलाएका काँडाहरू
आँखामा ईर्ष्या र द्वेषका तिखा हाँगाहरू
आत्माको बगैँचामा खिल बनी अड्किएका हुन्छन्।
तर
क्षमा नामको जलले सेचन गर्दा
ती सबै बिस्तारै गल्थे होलान्
अर्काको खुसीलाई आफ्नो उज्यालो ठानेर
प्रेमको फूल फुलाउँदा
द्वेषको अन्धकार आफैँ पग्लिन्थ्यो होला।
कपास मन लिएर
उड्थ्यौ होला चङ्गा बनी
दूर-दूर निलो मनका गगनमा
प्रेमको अमृत प्याला बोकेर!