कुरा २०८२ साल वैशाख ३१ गते बुधवारको हो। मन्त्रालयको आयोजनामा भएको पाल्पा र गुल्मीको कार्यक्रम सम्पन्नपश्चात् घर पुगी आएको थिएँ। ड्युटी त बिहीबारदेखि थियो तर टाढा भएकोले बुधवार नै फर्केको थिएँ।
पाल्पा बुटवल चल्ने लोकल बस त्यसमा पनि पुरानो गाडी, अप्ठेरो र बिग्रिएको बाटोमा धुवाँ र धुलो उडाउँदै कछुवाको गतिमा ३ बजे बुटवलको पुष्पलाल चोकमा पुगेँ। तराइको उखरमाउलो गर्मीमा पसिना चुहाउँदै कुनै वैदेशिक यात्राको प्लेन छुट्न लागेजस्तै गरी हतारिएर पुरानो बसपार्क हुँदै तिनाउ पुलतिर लागे। जहाँ नारायणगढ-बुटवल-दाङ-तुलसीपुर लेखिएको बस नेपालगञ्ज रोडको तिनाउ पुलमा यात्रुको प्रतीक्षामा थियो।
म पनि त्यही बसमा ०३:२५ बजे दाङको लागि चढेँ। गाडीमा प्रवेशसँगै एक्कासि एउटी साह्रै राम्री महिलातिर मेरो नजर गयो। उमेरमा त्यस्तै ३०-३५ वर्षकी जस्ती देखिन्थिन्। हेर्दा लाहुरे वा कुनै सम्पन्नशाली परिवारकी सदस्य जस्तो लाग्थ्यो। वास्तवमा त्यत्तिकी राम्री मान्छे आजसम्म मैले कहिल्यै देखेको थिइनँ।
हेर्दा मंगोलियन मूलको जस्ती लाग्ने। हाइट, रूप, जीउडाल सबै मिलेका ३२ लक्षणकी नभएर १०० लक्षणले सुसज्जित थिइन्। औधी राम्री मानौँ स्वर्गकी अप्सरा र धरतीको परी (रानी) जस्ती। साइड बि को ६ नं. सिटमा उनी बसेकी थिइन् भने साइड ए को ४ नं. सिटमा म बसेको थिएँ।
मसँग घोराहीका दिनेश बस्नेत भाइ बसेका थिए। कामका सिलसिलामा बुटवल गएर फर्केका रहेछन्। उनले पनि गाडीमा रहुन्जेल तिनीको निकै प्रशंसा गरे साथै अन्य यात्रुहरूको नजर पनि उनीमा खुबै थियो। सायद त्यो दिनको बहुमूल्य हिरा थिइन् उनी। फूलले सुगन्ध छरेजस्तै छरिरहेकी थिइन्। फूलको सुवासमा भमराहरूको आकर्षण हुनु स्वाभाविकै थियो।
मरुभूमिको लाभा भरिएको तातो जमिनमा एउटा सानो बिरुवाको आसजस्तै थिइन् उनी। उनको उपस्थितिले मात्र पनि जस्तोसुकै कठिन परिस्थितिसँग लड्न सिकाउने साहस दिलाउँथ्यो। कहाँकी हुन् र कहाँ जाने हुन् त्यो त थाहा थिएन तर उनीले मेरो मात्र नभएर सबैको सम्पूर्ण ध्यान खिचिन्। उनीसँगै अन्दाजी ६०/६५ वर्षकी एउटी महिला बसेकी थिइन्। मेरो अनुमानमा सायद उनीको आमा थिइन् होला।
बिच-बिचमा गाडी रोक्दा कुनै बहाना बनाएर परिचय गरौँ जस्तो लाग्थ्यो तर कसरी बोलाउनु! मेरो हिम्मत र साहस जुटेन। मौका छोपी उनीलाई झुल्क्याउनु बाहेक मसँग कुनै विकल्प थिएन। एक पटक भने कसो गर्दा हाम्रो नजर जुधेको थियो। एकछिन तिनका लोलाएका आँखामा हराएँ अनि शब्दको माध्यमद्वारा मैले आफ्नो शाश्वत प्रेम पस्कने चेष्टा गरिरहेको थिएँ तर सकिनँ।
उमेरसँगै सौन्दर्य सधैँ उस्तै रहँदैन, यो ध्रुव सत्य हो। यही यथार्थ बोध गरेर उनीले आफूमा आन्तरिक सौन्दर्य विकसित गरेकी थिइन् होला। तिनको प्रशंसा जति गरे पनि कम हुन्छ। बेला-बेलामा आमासँग कुरा गर्दा उनको मुहारमा पोखिएको प्रेम र सन्तोषको आभा नजिकैबाट देख्न पाएको थिएँ। यात्रामा म उनीलाई देखेर नतमस्तक थिएँ, कहिलेकाहीँ के-के सम्झेर कल्पनामा हराउँथेँ र भावनामा डुब्थेँ। फेरि झल्याँस्स ब्युँझिएर आफै समालिन्थेँ।
गाडीमा गायक राजु लामाको ‘पर्खाइमा भिज्यो सिरानी’ भन्ने गीत मन्द स्वरमा बजिरहेको थियो जसले मेरो मनलाई थप दबाब दिन्थ्यो। सायद उनीसँग मेरो एकतर्फी प्रेम बसेछ क्यारे! त्यसैले तिनका आँखामा प्रेम छल्किएको देख्छु र धन्य हुन्छु। मानिसहरू फरक आस्था र विचारका कारण विभाजित छन्, केवल प्रेमले सबैलाई जोडेको हुन्छ। तर म उनीलाई देखेपछि आफैसँग रमाएको छु र भिडभित्रको एकान्तमा मुस्कुराएको छु।
घरको छतमा एक्लै बस्दा निलो आकाशमा ताराहरूलाई आपसमा जोडेर उनको आकृति बनाएको छु र आकृतिमा मैले जूनबाट भन्दा बढी शीतलता पाएको छु। आजभोलि मलाई डायरीका हरेक अक्षर उनी जति नै खास लाग्छन्।
गाडीमा यात्रा गर्दा प्रायः टाउको दुखेर साह्रै तनाव हुन्थ्यो। बाइक नलगेर धेरै समस्या भयो, एक ठाउँबाट अर्को ठाउँमा जान नपाउनु, बस र जिप कुर्दा २/३ घण्टा व्यर्थमा समय खर्च हुनु। जति टाढा भए पनि प्रायः बाइकमा यात्रा गर्न रुचाउने म यसपालि भने बसको यात्रा गर्ने निधो गरेँ। सायद उनीलाई भेट्न रहेछ क्यारे।
यात्रा गर्दा १ घण्टाको बाटो नि ५ घण्टाजस्तो लाग्ने मलाई त्यो दिन ४ घण्टाको समय केही पल जस्तो लाग्यो। धेरै फरासिला सवारी चालक हेमन्त पोखरेल र उत्तिकै टाठा र बाठा सहचालक सन्तोष यादव थिए। गाडीले गति बढाइरहेको छ, सदा बाहिरको प्रकृतिमा हराउने मान्छे आज भित्रै हराइरहेको र रमाइरहेको छु।
यात्रामा मैले आफूलाई विश्वास नलाग्ने भगवानको पूजा र प्रार्थना गरेको थिएँ। किन थाहा छ? उनी मभन्दा पहिला गाडीबाट नओर्लिउन् भनेर। संयोगले उनीभन्दा पहिला नै म ओर्लिएँ। प्रदेश राजधानी परिसरमा ०७:१५ मा पुगेको थाहै पाइएन। आजसम्म पनि मलाई एउटा प्रश्नले कौतुहलता जन्माइरहन्छ। उनी लमही, घोराही, तुलसीपुर कहाँ झरिन् होला भनेर।
खासमा तिमीले मलाई सम्झिनु पर्ने कुनै कारण छैन। हाम्रो न कर्म चल्छ, न धर्म। न चुल्हो बल्छ, न घर चल्छ। तर पनि तिमीले मेरो मन जित्यौँ। आज तिमी मेरो बारेमा के सोचिरहेको छ्यौ, त्यो त मलाई थाहा छैन। तर एउटा कुरा भने पक्का छ, तिम्रा सुन्दर आकृति मसँग जोडिएका छन्। कता-कता तिमी मभित्र हराएकी छ्यौ।
कविता र जिन्दगी फरक विषय हुन्। गजल र जीवन अलग चिज हुन्। तर तिमीलाई सम्झेर एकान्तमा कविता र गजल कोर्न मल लाग्छ अनि गीत गुनगुनाउन रहर जाग्छ। उज्यालो तिम्रा अनुहारभित्र लुकेको पीडा त धेरै हुन सक्छन्। मान्छेको भित्री संसार सोचेभन्दा धेरै फरक हुन्छ। आखिर मान्छे मनको कैदी न रहेछ। म त एउटा यात्री मात्र हुँ जिन्दगीको। एउटा निरीह पात्र, जो आज कर्म र विश्वास भन्दा पनि वर्ग र मानको अभिमानमा रुमल्लिएको छु।
आफ्नै मनभित्र उब्जिएका अनगिन्ती प्रश्नहरू बिच घोत्लिइरहेको हुन्छु। कहिलेकाहीँ बहुतै दुःख लाग्छ कि हामी बाँचुन्जेल घृणा गर्ने र मरेपछि गुणगान गाउने समाजमा जन्मेका रहेछौँ। मेरो जिन्दगीबाट तिम्रा यादहरू कहिले हराउने छैनन्। आफ्नो मनको सन्दुकमा जतन गरेर राखेको छु। मेरो मनमा तिम्रा यादहरूले डेरा जमाएर बसेका छन्, जो जीवनभर बसिरहने छन्।
जिन्दगीको चौतारीमा सुस्ताउँदै गर्दा त्यो तिम्रो भेटले प्रेम, प्रेरणा र समर्पणको पक्ष मजबुत बनाइदिएको छ। प्रिय, तिम्रा सुन्दर नयनले यो लेखमा नजर नलगाउन सक्छन्, संयोगले यदि पढ्ने अवसर मिल्यो भने मेरो गुञ्जायसलाई कुनै प्रेम प्रस्ताव नठान।
हो, मलाई राम्रोसँग थाहा छ अब हामी चाहेर पनि मुनामदन, लैलामजनु, मुकुन्द इन्दिरा, रोमियो जुलियट र सारमालिनी बबीको जस्तो जोडी बन्न सक्दैनौँ। किनकि हामी एक अर्काको लागि बनेकै थिएनौँ, हाम्रो आ-आफ्नै बेग्लै संसार, बाध्यता र परिबन्दहरू छन्। त्यसैले मैले केवल आफ्नो मनको उद्वेलन पोखेको मात्र हुँ। यो जुनीमा नभए पनि अर्को जुनीमा तिम्रो प्रेममा मद्होस भएर तिमीसँगै प्रेमिल पाइला पछ्याउँदै हिँड्न पाऊँ।