नर्सका कुरा नबुझेपछि बिरामी कुरूवा महिलाले छेउमा उभिएको मतिर हेर्दै सोधिन्, ‘ऊ कि कहल्कै?’
मैथिली भाषा बोल्न खासै जान्दिनँ। तर बुझ्न चाहिँ अलिअलि बुझ्छु। उनको न्याउरो अनुहारको भाषा भने सजिलै बुझेँ मैले। अनि जानी नजानी जबाफ फर्काएँ, ‘नर्स कहल्कैय यी दबाई लगेबै त दुखाइ कम होतै।’ ती महिलाको अनुहार एकाएक उज्यालो भयो।
सिभिल अस्पतालको नेफ्रो वार्ड। अर्थात् मिर्गौला रोगसम्बन्धी उपचार हुने कक्ष। पाँच वटै बेडमा बिरामी छन्। केही नयाँ, केही पुराना। पुरानाहरू डायलासिसका लागि आएका। डायलासिसपछि, केही हप्ताका लागि उनीहरूको ज्यानमा परान् भरिन्छ। अनि आफन्तहरूको मुहारमा थोरै भए पनि देखिन्छ, मुस्कान। यो सिलसिला चलिरहन्छ, हप्तौँ, महिनौँ र वर्षौं पनि। मिर्गौला रोगको उपचार बिरामीको गच्छे र भाग्यमा भर पर्ने रहेछ।
थरीथरीका दुखाइ। थरीथरीका सुस्केरा। सायद ज्यान दुखेर होला, कोल्टे फेरिरहन्छन् बिरामीहरू। जब साँझ पर्दै जान्छ, उनीहरू गल्दै जाने रहेछन्। दिन ढल्दै जाँदा, मनमा लाग्दो, जीवन पनि ढलिरहेछ। जब बिहान हुन्छ, बिरामीहरू मुस्कुराएको देख्छु। उनीहरूलाई लाग्दो हो, घाम जस्तै फेरि झुल्किने छ, जीवन। बस्, शरीरका लागि रोग एउटा रात जस्तै बनिदेओस्। त्यस्तो रात जसले आशा सहितको बिहानी लिएर आउँछ।
यहाँ, हरेक बिरामीका एक/एक जना कुरूवा छन्। हालका लागि मलाई पनि कुरूवा सम्झिनु होला।
बेड नम्बर १३३ को बिरामी कुरूवा।
बास्तवमा मान्छेहरू, अस्पताल किन आउँछन्? जीवन खोज्न कि रोग खोज्न? अस्पताल बसाइँको पाँचौं दिनसम्म मैले जबाफ भेट्टाएको छैन। तर यो चाहिँ पक्का हो, नयाँ बिरामी रोगको पहिचानका लागि अस्पताल आइपुग्छन्। आफूलाई लागेको रोग खोज्दै अस्पताल आइपुगेका बिरामी हुन्, सुलिन्द्र महरा। उमेर, ३९ वर्ष। घर, नगराईन् नगरपालिका–५ धनुषा। उनी वैदेशिक रोजगारीबाट फर्किएको दुई महिना भयो। विभिन्न देशमा रोजगारी गर्दै १७ वर्ष बिताए उनले। बिरामी परेर घर फर्किनु अघि दुबईमा थिए।
बेड नम्बर १३४।
पातलो शरीर। फुङ्ग उडेको अनुहार। आधाउधी कपाल झरेर, बढ्दै गएको निधार। ठूलो निधार देखेर कतिपयले त, भाग्यमानी पनि भन्दा हुन्। तर भाग्यले उनलाई १७ वर्ष रेगिस्तानमा घुमायो। दुई महिना यता विभिन्न अस्पताल घुमाइरहेछ। अझै कहाँ कहाँ घुमाउने हो, थाहा छैन।
उनको देब्रे खुट्टामा क्यानुला लगाइएको छ। जहाँबाट बेला बेलामा दिइन्छ, दुखाइ कम गर्ने औषधि। सेकेन्ड, मिनेट र घन्टाहरू बित्दै जान्छन्। औषधिले छोड्दै जान्छ। अनि दुखाइ बढ्दै जान्छ। दुखाइले बढाउँछ, सुलिन्द्रको छट्पटी। उनी कराउँछन्, रून्छन्। उनको छेउमै बसेकी श्रीमती इन्द्रकला देवी पनि पिल्पिलाउँछिन्। आँसु पुछ्दै, सुलिन्द्रका खुट्टाहरू दबाउँछिन्। उनलाई लाग्दो हो, आफ्ना औँलाहरूले छोए श्रीमानको दुखाइ कम हुन्छ। र शान्ति मिल्छ।
सुलिन्द्रको छट्पटी देखेपछि मैले नर्स बोलाइदिएँ। नर्स आएर औषधि लगाइदिइन्। औषधिले छोएर हुनुपर्छ, झन्डै २० मिनेटपछि सुलिन्द्र निदाए। इन्द्रकला पनि बेडबाट ओर्लिइन् र बसिन् कुरूवा बस्ने कुर्सीमा।
प्याजी रङको चोलो। हरियो रङको सारी। सारीको एक छेउ, घुम्टो बनेर ओढिएको छ, शिरमा। गलामा एक लुम रातो पोते। नाडीमा राता पहेँला चुरा। ३८ वर्षकी इन्द्रकलाको हालको हुलिया यस्तै छ। गहभरी आँसु। फुङ्ग उडेको अनुहार। कलेँटी परेको ओठ। हेर्दा लाग्छ, कयौँ दिनदेखि भोकै छिन्, उनी। न त प्यास लाग्छ उनलाई। कयौँ रात भइसक्यो, निन्द्रा हराएको। भित्र कतै, अशान्ति मच्चिएको छ। पीरको बादलले ढपक्कै ढाकेको छ, मनको आकाश। न टेक्ने ठाउँ, न समाउने ठाउँ। बिरामी परेर जीवन सारथी ढलेपछि, इन्द्रकलाको भरोसा ढलेको छ। अब उनका सपनाहरूमा टेको कसले लगाइने? रहरहरूमा थाङ्क्रो कसले हालिदिने? कसले सुनिदिने उनका बेदना? कसले बुझिदिने सुस्केराहरू?
इन्द्रकलासँग सामान्य परिचय सुरूमै भएको थियो। नर्ससँग कुराकानी गर्न सघाएको थिएँ मैले। इन्द्रकला मैथिली बाहेक बोल्न नजान्ने। नर्स, चाहिँ मैथिली नबुझ्ने। कनिकुथी दोभाषेको काम गरिदिएको थिएँ। सुलिन्द्रको छट्पटी बढ्दा गहभरी आँसु पारेर इन्द्रकला मलाई हेर्थिन्। उता नर्सहरूले पनि औषधिको लिस्ट, मलाई हेर्दै सुनाउँथे।
सुलिन्द्र र इन्द्रकलाले बिहेपछिका १७ वटा बसन्तहरू, नदीको दुई भङ्गालो भएर बिताए। इन्द्रकला मधेसको माटोमा आँसु बनेर बगिन्। उनका श्रीमान रेगिस्तानको बालुवामा पसिना र रगत बनेर बगे। पसिनासँग पैसा साटेर सुलिन्द्र जब फर्किन्थे, इन्द्रकलाको संसारै फर्किन्थ्यो। तर अभावै अभावले भरिएको सानो झुपडीमा, न धेरै दिन पैसा टिक्थ्यो न त खुसी नै। दलाललाई पासपोर्ट र पैसा बुझाएर, सुलिन्द्र फेरि पुग्थे रेगिस्तानी बस्तीहरूमा। यो सिलसिला पटक पटक चल्यो। तर सुबिस्ताले घर कहिलै चलेन। दुई छोरा र एक छोरी हुर्किँदै गए। खर्च बढ्दै गयो। अनि थपिँदै गयो, सुलिन्द्रको थाप्लोमा ऋणको भारी। थपिँदै गयो, इन्द्रकलाको मनमा पीरको भारी।
चैतको महिना। बढ्दो गर्मीले सुलिन्द्रको जिना हराम बनाएको छ। आकाशतिर हेर्दा, दुबई सहरमा उभिएको संसारकै अग्लो भवन बुर्ज खलिफाले घामलाई छोला जस्तै देखिन्छ। भवन अग्लिएको, कि घाम ओर्लिएको? मध्य दिउँसो आउटडोर काममा खटिएका सुलिन्द्र घामै ओर्लिएको अनुमान लगाउँछन्। इन्द्रकलाले किनिदिएको गम्छाले पसिना पुछेर फेरि खटिन्छन्, काममै। पसिना बगिरहन्छ। मुख सुकिरहन्छ। भनेकै बेलामा पानी पिउने मेसो मिल्दैन। तिर्खा लाग्यो? भनेर सोधिरहन, नजिकै इन्द्रकला पनि त छैनन्। बेवास्ता भनौं कि बाध्यता, सुलिन्द्रलाई ज्यानभन्दा काम प्यारो छ। उनले सुनेका थिए, कामलाई माया गनुपर्छ। बदलामा सुख पाइन्छ। खुसी पाइन्छ। त्यही भएर उनले कामका लागि आफ्नै ज्यानलाई बिर्सिए। तर, ज्यानले बिरामी परेपछि सुलिन्द्रलाई सम्झियो।
पेट दुख्न थाल्यो। झम्झमाउने थाले, खुट्टाहरू। उठ्न बस्न नमिल्ने गरी दुख्थे दुबै घुँडा। कम्पनीले सुलिन्द्रलाई एक जना सहयोगीका साथमा अस्पताल पठायो। अस्पतालले खासै जाचेन। बरू, दुखाइ कम गर्ने औषधि दिएर फर्काइदियो। औषधि खाउन्जेल सुलिन्द्र तगडा हुन्थे। औषधि छोड्यो कि फर्किहाल्थ्यो, दुखाइ। झन्डै १५ दिन यस्तै चलिरह्यो। के ठान्यो कुन्नी कम्पनीले सुलिन्द्रलाई जहाजको टिकट काटेर नेपाल फर्काइदियो। दुबई पुगेको दश महिनामै बिरामी शरीर लिएर, उनी फर्किए आफ्नै देश।
इन्द्रकला, श्रीमान सुलिन्द्रको कथा सुनाउँदै छिन्। उनी अझै ब्युँझिएका छैनन्। घरिघरि हेरिरहन्छिन् श्रीमानलाई। उनलाई लाग्छ रे, ‘कतै निदाएको निदाइ भए भने!’
पीर पनि अचम्मको हुँदो रहेछ। एकछिन अघिसम्म श्रीमान निदाएनन् भन्ने पीर। उनलाई दुख्यो भन्ने पीर। जब सुलिन्द्र निदाए, तब फेरि उठ्दैनन् कि भन्ने पीर। एकछिनलाई अहिलेको पीर भुलेर पीरकै कथा सुनाउन थालिन्, इन्द्रकला।
काठमाडौं ओर्लिएकै दिन, बस चढेर धनुषा पुगे सुलिन्द्र। घर पुग्दा रातको ११ बजेको थियो। टोल पडोस सबैतिर चकमन्न थियो। परपर सुनिन्थ्यो, कुकुर भुकेको। धेरै जसो घरमा निभिसकेको थियो, बत्ती। सायद वरपरको बस्ती निदाइसकेको हुँदो हो। तर दस र बाह्र वर्षका दुई छोरा र इन्द्रकला निदाएका थिएनन्। सुलिन्द्रलाई मन पर्ने भिन्डीको तरकारी र रोटीसहित पर्खिएर बसेका थिए। दुई छोराले खुसी हुँदै बुबाको स्वागत गरे। दङ्ग परे। अङ्कमाल गरे। अनि रमाइलो मान्दै, उफ्रिए पनि। बुबा बिरामी परेर फर्किएको कुरा उनीहरूलाई थाहै थिएन। सायद, बुवासँगै कोसेलीको पर्खाइमा थिए। हतार हतार झोला खोल्न थाले। एकछिन् त झोला कस्ले खोल्ने भनेर दुई छोराबीच हानथाप नै चल्यो। बुबा सुलिन्द्र भनिरहेका थिए, ‘झोलामे किछो नै है’। तर उनीहरूले बुबाको कुरा के सुन्थे, तानातान गर्दागर्दै खोलेरै छाडे। झोलामा पुराना लुगा र कागजपत्र बाहेक अरू केही थिएन। एक हिसाबले रित्तै थियो, झोला। बरू भरिएको थियो, सुलिन्द्रको मन। पीरै पीरले। तनावै तनावले। डरै डरले। झोला रित्तै देखेर छोराहरू न्याउरो अनुहार बनाउँदै ओछ्यानतिर लागे। के सोचिन् कुन्नी, आँखाभरी आँसु बनाउँदै इन्द्रकला लागिन् भान्सातिर। अनि सुलिन्द्र चाँही आँगनमा भएको कलतिर।
मधेसका बस्तीहरूमा यसै पनि घाम ढिलै झर्छन्। बिहानैदेखि धुम्मिएको छ, आकाश। नौ बजिसक्दा पनि घामले अनुहार देखाएको छैन। सुलिन्द्र अबेरसम्म सुतिरहे। सायद थाकेका हुँदा हुन्। या त, महिनौंपछि आफ्नै घरमा सुत्न पाएर सुकून् मिलेको हुँदो हो। तर इन्द्रकलालाई हतारो थियो, घरधन्दा सक्ने। खाना पकाउने। छोराहरूलाई स्कुल पठाउने। त्यो, भन्दा पनि हतारो अर्कै कुराको थियो, श्रीमानलाई अस्पताल लैजाने।
इन्द्रकला र सुलिन्द्र जनकपुर न्युरो अस्पताल तथा रिसर्च सेन्टरमा पुगे। दुबईको मेडिकलले नसाको समस्या भनेको थियो। त्यही भएर उनीहरू, पुगेका थिए न्युरो अस्पताल। हप्ता दिन धाउँदा पनि रोग पत्ता लागेन। उल्टै, चालिस हजार सकियो। बढिरहेकै थियो, दुखाइ। ठीक उल्टो, साहुसँग काढेर ल्याएको पैसा भने घटिरहेको थियो। जनकपुरको अस्पतालले बीसको उन्नाईस बनाएन।
त्यही बीचमा सुलिन्द्रलाई कसैले सुनायो, ‘पटनामे बनियाँ इलाज होइ है, आँहाँ ओतही जाउ।’ नभन्दै उनीहरू पटना पुगे।
चेकअपपछि डाक्टरले भने, ‘घुँडामा समस्या छ, औषधि खाएपछि ठीक हुन्छ।’ इन्द्रकला र सुलिन्द्र, एक झोला औषधि बोकेर तीन दिनपछि फर्किए। फर्किँदा झोलामा औषधि मात्रै थिएन, अब सन्चो हुने आशा मनभरी थियो।
पन्ध्र दिनको औषधि सकियो। तर पनि दुखाइ घटेन। थकाइ घटेन। बरू अर्को समस्या थपियो, ज्वरो। त्यसपछि उनीहरू प्रादेशिक अस्पताल जनकपुर पुगे। लक्षण र यसअघि भएका उपचारबारे सोधिखोजी गरेर त्यहाँका डाक्टरले काठमाडौं पठाइदिए। दुबईबाट फर्किएको ठीक दुई महिनापछि सुलिन्द्र आइपुगे, काठमाडौँको सिभिल अस्पताल।
अस्पताल बसाइँको तेस्रो दिन। डायलासिसका लागि नेफ्रो वार्डमा ल्याइएको थियो, सुलिन्द्रलाई। उनका दुवै मिर्गौला सामान्यभन्दा तीन गुणा धेरै सुन्निएका थिए। काम गर्न सक्ने अवस्थामा थिएनन्। सिधै भन्दा दुवै मिर्गौला फेल भएका थिए। दिउँसोतिर रगत जाँचको रिपोर्ट आयो। डाक्टरले इन्द्रकलालाई नर्सिङ स्टेसनमा बोलाए। अनि इन्द्रकलाले मलाई बोलाइन्। मैले, दोभासेको काम गरिदिन्छु भन्ने आशा राखेर।
पौडेल थरका डाक्टरको नेतृत्वमा चलिरहेको थियो, सुलिन्द्रको उपचार। नेफ्रो वार्डको ठीक बाहिरपट्टि रहेको नर्सिङ स्टेसनमा पुग्यौँ, इन्द्रकला र म। डा. पौडेलले मतिर हेर्दै सोधे, ‘तपाईं पनि बिरामीको आफन्त?’
मैले जबाफ नर्फकाउँदै इन्द्रकला बोलिन्, ‘यि हमर भाइ है।’
त्यसपछि डाक्टरले रिपोर्टबारे सुनाए। सुलिन्द्रलाई ब्लड क्यान्सरको आशङ्का गरिएको छ। आशङ्का भन्दा पनि पक्का जस्तै हो। तर थप कन्फर्मेसनका लागि केही टेस्टहरू गर्नुपर्छ। त्यसका लागि तत्काल ५० हजार जति चाहिन्छ। इन्द्रकलाले ब्लड क्यान्सरबारे कति बुझिन्, के बुझिनन्, थाहा छैन। मैले डाक्टरका कुरा मैथिलीमा सुनाउन पाएकै थिइनँ। इन्द्रकला बोलिन्, ‘हम्रा ल पचास हजार रुपैयाँ नै है।’
डाक्टर पौडेललाई बिरामीको आर्थिक अवस्थाबारे मैले बताइदिएँ। धेरै हदसम्म उनी जानकार रहेछन्। त्यही भएर नि:शुल्क रूपमा डायलासिस हुने व्यवस्था मिलाइदिएका रहेछन्। उनले भने, ‘अस्पतालले दिन मिल्नेसम्मको छुट गरिदिन्छु, तर बोनम्यारोको जाँच यहाँ हुँदैन। कुनै निजी अस्पतालमा लैजानुपर्छ। त्यसका लागि चाहिने रकमको जोहो तपाईंहरूले गर्नैपर्छ।’
ब्लड क्यान्सर भन्ने बित्तिकै, मनमा केही प्रश्नहरू थिए। ‘कुन चरणको? निको हुने सम्भावना कति? अनि समग्र खर्च कति लाग्छ? उपचार यहीँ सम्भव हुन्छ कि बाहिर लैजानुपर्छ?’ मैले एकैपटकमा सोधेँ, डाक्टर पौडेललाई।
‘उपचार नेपालमै सम्भव छ, त्यो पनि सिभिल अस्पतालमै। खर्च अहिले नै भन्न सकिन्न। जे होस्, पन्ध्र बीस लाख लाग्न सक्छ। खर्च बढ्ने वा घट्ने उपचारमा भर पर्छ। अझै केही टेस्टहरू बाँकी नै छन्। त्यसपछि मात्रै थाहा हुन्छ, कुन चरणको र कस्तो क्यान्सर भनेर। जे जस्तो भए पनि उपचार चाहिँ थालिहाल्नुपर्छ। बरू पैसाको प्रबन्ध मिलाइहाल्नुस्।’ डाक्टरले एकै पटकमा सबैकुरा भनिदिए।
हामी नेफ्रो वार्डमा फर्कियौँ। निदाईरहेका सुलिन्द्रको छेउमा बसिन्, इन्द्रकला। अनि जिज्ञासु आँखाले मलाई हेरिन्। मैले डाक्टरले भनेका कुरा कनिकुथी मैथिलीमा बुझाइदिएँ। इन्द्रकला त रून पो थालिन्।
म सम्झाउन थालेँ।
‘नरूनुस्, म छु। सकेको सहयोग गर्छु। डाक्टरले भनेका छन्, निको हुन्छ रोग। आँत्तिनु हुँदैन। तपाईंले आफूलाई दरिलो बनाउनुपर्छ। तपाईं हाँसे मात्रै पनि श्रीमानलाई आधा सन्चो हुन्छ।’
इन्द्रकलाले आँसु पुछिन्। सायद, मेरो अन्तिम वाक्यले छोएको हुनुपर्छ। उनका आँखा भनिरहेका थिए, श्रीमानलाई पूरै सन्चो हुने भए म चौबिसै घन्टा हाँसिदिन्थेँ।
सुलिन्द्रलाई डायलासिसका लागि अर्कै कोठामा लगियो। इन्द्रकला पनि पछ्याउँदै गइन्। नर्सहरू भन्दै थिए, डायलासिसको प्रोसेस चार पाँच घन्टाको हुन्छ। त्यो बीचमा मैले केही साथीहरूलाई फोन लगाएँ र भनेँ, एक जना बिरामीको स्टोरी गर्नुपर्ने भयो। म त्यसको बन्दोबस्त मिलाउँदै छु। भरेभोलि खबर गर्छु। फोन उठाएका साथीहरूबाट राम्रै प्रतिक्रिया आयो। तर सुलिन्द्रका दाइका छोरा रन्जितले समाचार छाप्ने कुरा मानेनन्। उनी केही पिन्ट रगत लिएर भर्खरै आइपुगेका थिए। उनले भने, ‘समाचारमा नदिने।’
झा थरका एकजना डाक्टरले पनि सम्झाए। ‘बिरामीलाई बचाउन सकिन्छ, तर पैसा चाहिन्छ। पैसाका लागि मिडियामा जाऊ।’ मतिर हेर्दै उनले थपे, ‘झन् उहाँ त पत्रकार हुनुहुँदो रैछ, उहाँकै सहयोग लिएर फेसबुकतिर पनि हल्लाखल्ला गर। पैसा जुटिहाल्छ।’
रन्जितले फेरि पनि अडान लिए, ‘घरमा सोध्नु पर्छ।’
बेड नम्बर १३३ का बिरामी, जसको कुरूवा थिएँ, म। डाक्टरले रिपोर्ट हेर्दै, भने, तपाईंहरू आजै घर जान सक्नुहुन्छ। मतलब म डिस्चार्ज गरिदिन्छु। साँझको झन्डै सात बजेको हुँदो हो, हामी घर फर्कियौँ।
चिन्ता इन्द्रकलाको थियो। उनलाई अपेक्षा थियो, मसँग। जसले अपेक्षा राख्छ, उसको चिन्ता हुनु स्वाभाविकै हो। अर्को कुरा, जान्छु पनि नभनी हिँडेको थिएँ, म। डायलासिस भइरहेको कोठामा मलाई पस्ने अनुमति थिएन। त्यही भएर पनि हिँड्ने बेलामा हाम्रो भेट भएन। रातभर छट्टपटी भयो। इन्द्रकला र सुलिन्द्रको सम्झनाले राम्रोसँग निदाउन दिएन। उनीहरूलाई कसरी सहयोग गर्न सकिएला? कसरी जुटाउन सकिएला पैसा? कसरी लिन सकिएला सञ्चारर माध्यमको सहयोग? सरकारले कति गर्ला सहयोग? विपन्नका लागि सरकारी ढुकुटी किन खुल्दैन होला? झकाउनुअघि यस्तै यस्तै तर्कना खेलिरह्यो मनमा।
बिहानको ११ बजे। म हतारिँदै अस्पताल पुगेँ। सिधै गएँ, नेफ्रो वार्डको बेड नम्बर १३४ मा। त्यहाँ सुलिन्द्र थिएनन्। इन्द्रकला पनि थिइनन्। बरू नयाँ बिरामी राखिएको थियो। लाग्यो, ब्लड क्यान्सरको उपचारका लागि अर्कै वार्डमा सारियो होला। हान्निँदै, दोस्रो भवनको पहिलो तलामा पुगेँ। जहाँ, हेमाटोलोजी अर्थात्, रगत सम्बन्धी रोगको उपचार हुने कक्ष थियो। सोधीखोजी गर्दा, त्यहाँ पनि भेटिएनन् सुलिन्द्र र इन्द्रकला। फेरि फर्किएँ, नेफ्रोको नर्सिङ स्टेसनमा।
फाइल पल्टाउँदै एक जनाले नर्सले भनिन्, उहाँहरू त लामामा जानुभयो। लामा अर्थात्, लिभ एगेन्ट्स् मेडिकल एड्भाइज्। उनीहरूले आज बिहान मात्रै अस्पताल छोडेका रहेछन्। खबर सुनेर एकदमै नराम्रो लाग्यो, मलाई। झलझली सम्झनामा आए, इन्द्रकलाको न्याउरो अनुहार। अनि सुलिन्द्रको आशावादी आँखाहरू।
नर्सहरूले फोन नम्बर दिएका थिए। त्यो नम्बर रहेछ, रन्जितको। अस्पतालबाट निस्किएर फोन गरेँ। उनले उठाए। मैले आफ्नो परिचय दिएँ र सोधेँ, ‘किन हिँड्नुभएको ?’
एकै श्वासमा जबाफ थियो, ‘अंकललाई सन्चो भइसक्यो। हामी फर्किसक्यौँ। समाचार नबनाइदिनुस्।’ यति भनेर फोन काटियो। मैले पटक पटक डायल गरेँ, तर उठ्दै उठेन।
केही दिन यत्तिकै बित्यो। मेरो नम्बर चिनेर होला, रन्जितले पटक्कै उठाएनन् फोन। एक हप्तापछि मैले अर्कै नम्बरबाट फोन गरेँ। यसपटक उठ्यो। आवाज उनै रन्जितको थियो।
‘मेरो फोन किन नउठाएको?’ मैले परिचय दिएर सोधेँ।
उताबाट जबाफ आयो, ‘अङ्कललाई सन्चो भइसक्यो। उहाँलाई घर गोसाइँ लागेको थियो। गोसाइँको पूजा गरेपछि सन्चो भइहाल्यो।’ यति भनेर फोन काटियो। त्यसपछि उही पुरानै कथा दोहोरियो, फोन नउठ्ने।
गोसाइँ जसको अर्थ हुँदो रहेछ कुल देवता। उनीहरू अस्पताल नआएका पनि होइनन्। डाक्टरलाई नभेटेका पनि होइनन्। रोग पत्ता नलागेको पनि होइन। तर उपचार सुरू हुनै पाएन। उपचारका लागि अस्पतालले जे खोज्यो, उनीहरूसँग त्यही थिएन। अर्थात् इन्द्रकला र सुलिन्द्रसँग पैसा थिएन। खल्तीमा हजार बोकेर आएका उनीहरू कसरी जुटाउन सक्थे एकैछिनमा लाख? जग्गा बेच्न जग्गा थिएन। घर बेच्न घर थिएन। आँसु बेच्न खै के ले दिएन। कतिपयले डाक्टरलाई देवता भनेको सुन्छु। तर लागिरह्यो, पैसा हुनेका लागि मात्रै देवता रहेछन्, डाक्टर। पैसा हुनेका लागि मात्रै मन्दिर रहेछ, अस्पताल। नत्र ३९ वर्षको युवा, अस्पताल छोडेर किन पुग्थे गोसाइँको शरणमा।