सामान्य नै त छ
ऊ बाँच्ने आँट गर्छ जीवनमा
आफ्नो बिरानो मुहार लिएर
आफूलाई थाहा नपाएर
नजानेर
आँखालाई छलेर
अर्थहीन कविता लेखेर
खुब खुसी छ ऊ
आफ्नो मस्तिष्कलाई
जथाभाबी अल्झिन दिएर
उसलाई र धोबी खोलाको बेगुनबेलीलाई
किन कहिल्यै रोग लाग्दैन?
किन अनभिज्ञ छन् तिनीहरू
आफूले टेकेको धर्ती माथि?
कस्तो अर्थहीन जिजीविषा
मानौँ सास फेर्नु नै उसको धर्म
कस्तो डरलाग्दो जिजीविषा
मानौँ फुल्नु नै यसको धर्म
उसका पनि त कयौँ नरम भागहरू होलान्
कसरी हेर्छ ती भागहरूलाई?
सायद ती भागहरूलाई मौनता बाहिर कहिल्यै ल्याउँदैन
उसलाई पनि त झस्काउँछ होला
मृत्यु बोधले कहिलेकाहीँ
तर पनि ऊ बाँच्ने आट गर्छ
आफ्ना अभ्यस्त औलाहरूलाई
गितारमा डुलाएर
केही जीवन्त फोटा खिचेर
केही कृत्रिम रङहरू पोतेर
आफ्नो हृदयको केन्द्र भागमा
अरू कसैलाई राखेर
यसरी बाँच्छ ऊ
आफ्नो कलिलो भावनालाई
बजारमा विज्ञापन गरेर
कहाँ जान्छन् बगेर उसका दुःखका खोलाहरू?
कहाँ होला त्यसको निकास?
सायद ती बग्दै बग्दै
धोबी खोला पुग्छन्
र त्यही फुल्छ
जिजीविषाको एक त्यान्द्रो
बेगुनबेलीको फूल
सामान्य युगको
ऊ सामान्य मानिस
कुनै पनि वादले बिटुलो
नपारेको उसको मस्तिष्क
यस्तो लाग्छ
मानौँ उसको आफ्नै एउटा वाद छ
कति चोखो छ ऊ
हरेक दिन जीवनको
नयाँ परिभाषा केलाउँछ
उसले पनि त सपना देखेको होला
पुँजीवादको देशमा बाँचेर
रुमानी कल्पना बुनेको होला
उसलाई विश्वास छ
उसले देखेको बिम्बआकाश
साँचो छ
हुनै पर्छ
यी सबै कुरा
हकिकत त हुन सक्दैन
कहिलेकाहीँ सोच्छु
कुनै रोग लागिजाओस् उसलाई
मुर्झाइजाऊन् ऊ भित्रको जिजीविषा
एउटा वादले उसलाई बिटुलो बनाइदिम
उसले जीवन्त मानेका हर कुरा
मरेर जाऊन्
तर फेरी सम्झिन्छु
यो दुनियाँ
मेरो मात्र पनि त होइन
म उसलाई हेर्छु
ईर्ष्या गर्छु
कति खुसी हुन सक्छ मान्छे
अनभिज्ञतामा
कसले भनिदिने बरै तिमीलाई
यो दुनियाँदारी बारे
यो खोक्रो मानवता बारे
यो अर्थहीन जीवन बारे
तिमीले आफ्नो मानेका
बिराना आँखाहरू बारे
कसले भनिदिने बरै तिमीलाई
तिमी त एउटा मिठो सपना जस्तो छौ
कसले तिमीलाई मिठो सपना जस्तै चुँडेर लान्छ
पत्तै हुँदैन
कुन दिन तिमीलाई
तिम्रै देशले सुटुक्क
बेचिदिन्छ
पत्तै हुँदैन।