तिम्रो सुसेलीमा पल्लवित मेरा उत्कण्ठाहरू
तिम्रो गोरेटोमा हुर्किएका मेरा सपनाहरू
खोजिरहन्छन् तिम्रो आकृतिलाई
पछ्याइरहन्छन् तिम्रो परिधिलाई
खै कसरी भेटौँ त्यो विराट स्वरूपलाई
सभ्यता र संस्कृतिको सिंहासनलाई
अनेकौँ षडयन्त्रको चक्रव्यूहबाट
म कराइरहेछु
प्रिय डोटी तिमी कहाँ छौ?
बसाइसराइ रूपी आर्तनाद भित्र
तिमी चहर्याइरहेको देखेँ
राजधानीको सपनाभित्र तिमी हराइरहेको देखेँ
तिमी कहिले भेलछडा बनेर आउँछौ
कहिले पश्चिम सेती बनेर आउँछौ
द्रुत मार्गको इन्द्रजाल भित्र
मिठो सपनी बनेर आउँछौ
खै कसरी हेरौँ ती उजाड बस्तीहरू
नाङ्गा पैतालाहरू र भोका पेटहरू
नियालिरहेँ
तिम्रो मुर्झाउँदै गएको व्यापकता
खिइँदै गएको आयतन
म फेरि चिच्याइरहेँ
प्रिय डोटी तिमी कहाँ छौ?
तिमी थियौ विशाल छवि र सुन्दर गीतहरूमा
बढीकेदार हुँदै खप्तड सम्मका प्रीतहरूमा
म सम्झन्छु, तिम्रो गौरवशाली इतिहास
सुन्दर सिलगढी र दिव्य दिपायलको विरासत
देवाटवी र विचार विज्ञानको समकोण
सुन्दर पश्चिमको भीमकाय स्वरूप
तर अपसोस!
वर्तमानको भयानक सन्नाटा भित्र
म निरन्तर खोजिरहेछु
प्रिय डोटी तिमी कहाँ छौ?