वृद्धभत्ता बुझेको दिन छोरो औधी जाति
फिक्दानी लिई आफै आउँछ ‘ख्वाक्क’ भए राति
छोरो जाति भा’को बेला बुहारी नि ज्ञानी
चिया मागे चिया दिने, पानी मागे पानी
झर्को फर्को, रिस राग कता जान्छ जान्छ
फाट्या गन्जी, मैलो तन्ना कसले लान्छ लान्छ
नाति भन्छ— ‘म हजुरको काखमा बस्न जान्छु
हजुरसँगै सुत्छु म त, हजुरसँगै खान्छु’
छोरी आउँछे घरबाट, ज्वाइँ पनि आउँछन्
आँगनमा केटाकेटी नाच्छन्, गीत गाउँछन्
‘तेरो होइन, मेरो बाजे’ भन्दै लडाइँ चल्ने
जित्ने नजिक नजिक आउने, हार्ने चाहिँ जल्ने
लट्ठी, छाता, चस्मा, जुत्ता कसले चलाउँछ र
मोबाइल र हेयरिङ एड कसले खेलाउँछ र
टिभी खोल्यो, च्यानल छान्यो, रिमोट आफैसँग
वृद्धभत्ता बुझेको दिन म त आफै द
भोलिदेखि बुढाबुढी कसले हेर्ने हो र
रोई कराई गरे पनि कसले टेर्ने हो र
न भोकमा खोले फाँडो न तिर्खामा पानी
घरी घुर्की सुन्नुपर्ने, घरी छेडखानी।