वैशाखका बिहानीहरूमा
वैशाखका बेलुकीहरूमा
आकाश सफा र खुला हुन्छ
प्रकृति मुस्कुराइरहेको हुन्छ
न चर्को धूपले सताउँछ
न ठन्डी सिरेटोले कपाउँछ
शीतल बतासका स्वच्छ झोक्काहरू
स्पर्श गर्दै तन मनसम्म पुग्छन्
जति नै पीडाहरू भए पनि
मन आनन्दले भरिदिन्छ
मन चंगा बनेर उडिदिन्छ।
लेकका मुलायम पाटनहरू
बेँसीका समतल फाँटहरू
पल्लवित हराभरा वृक्षहरू
सुवासित नौरङ्गी फूलहरू
प्रकृतिका सुमधुर धुनहरू
कोइलीका मधुर भाकाहरू
क्षितिजमा डुब्दै गरेको सूर्य
गोधूलिका सुनौला किरण
फुलैफूलको अनन्त बाटो
हामी दुईको अनवरत यात्रा।
तिम्रो आगमनले सार्थक भयो जीवन
तिम्रो साथले प्रफुल्लित हुन्छ यो मन
तिमीले प्रेमको सुवास छरिदियौ
मेरा हरेक पल खुसीले भरिदियौ
बताससरि बह्यौ चर्को धूपमा आफू
मलाई शीतलताको स्पर्श गराइरह्यौ
मेरो उजाड दुनियाँमा तिमी
नयाँ पालुवा भई पलायौ
मेरो अवसाद जीवनमा तिमी
नयाँ उमंग ल्याई आयौ
तिमी वैशाखमा आयौ यो धर्तीमा
तिमी वसन्तमा आयौ
मेरो वैशाख बनेर आयौ तिमी
मेरो वसन्त बनेर आयौँ।