मलाई 'शाशाकी'ले नढाँटी भनेकी थिई।
'हिरोसिमामा युद्धका हजारौँ घाउका खतहरू बाँकी नै छन्। ती खतहरू अहिलेसम्म नै चराइरहन्छन्। जस्तै- हिरोसिमामा जन्मिएकै कारण मैले 'ब्वाइफ्रेन्ड' पाइनँ। अरू त अरू, मलाई कोरियन र चाइनिज केटाहरूले समेत बेवास्ता गरिदिए। हिरोसिमाका केटाहरू समेत हिरोसिमाका केटीहरू सहजै स्विकार्दैनन्। अन्त कतै नपाएपछि मात्रै हिरोसिमाका केटीहरूसँग प्रेमको नाटक गरिरहन्छन्।’
शाशाकीले हिरोसिमामा दोस्रो विश्व युद्ध समयका सयौँ वास्तविक किस्साहरू सुनाएकी थिई।
हिरोसिमामा ६ अगस्ट १९४५ अर्थात् अमेरिकी शक्तिशाली एटोमिक बम 'लिटिल ब्वाई' हिरोसिमामा बज्रिएपछि उसका हजुरबा र हजुरआमा हिरोसिमा सहरसँगै जलेका थिए।
यी सबै युद्ध कहानी संयोगले बाँच्न पुगेकी उसकी छिमेकी हजुरआमाले सुनाएकी थिइन्। शाशाकीले यी सबै कहानी हिरोसिमाको 'ओताके' सहर नजिकैको पार्कमा मलाई सुनाएकी थिई।
म विद्यार्थी भिसा बोकेर जापानको हिरोसिमा सहर पुगेको थिएँ। तर तीन महिना नाघिसक्दा पनि मैले पार्ट-टाइम 'जब' पाउन सकिरहेको थिइनँ। पार्ट-टाइम कामहरू छ्यासछ्यासी भेटिन्थे। म अन्तरवार्ता पनि दिन्थेँ तर जापनिज भाषा पुगेन भन्ने जवाफ आउँथ्यो। म निराश हुन्थेँ।
त्यो समय अर्थात् सन् २००७ तिर जपाएको हिरोसिमा नगरीमा फाट्टफुट्ट नेपाली देखिन्थे/भेटिन्थे। म पार्कमा असह्य पीडा सहन नसकेर रोइरहेको थिएँ। खल्तीमा बाँकी एक 'मान येन’को पत्तोले हिरोसिमामा नटिकिने पक्कापक्की थियो।
त्यही शाशाकी भेटिई। हामी दुवै रुन्चे प्राणी थियौँ। शाशाकीले एक हप्तामै मलाई पार्ट-टाइम काम मिलाइदिई। दोस्रो हप्तामा म उसको अपार्टमेन्टमा सरेँ। हामी दुवै खुसी खुसी जिन्दगी जिइरहेका थियौँ। शाशाकी छिमेकी हजुरआमाको युद्ध कहानीलाई मूल मुद्दा बनाएर 'किताब' लेख्ने सरसामान जुटाउन थाली। हिरोसिमा बैंकको आकर्षक जागिर चटक्कै छोडिदिई। मैले पनि भाषा स्कुल सक्काएर विश्वविद्यालय पढ्न टोकियो जाने रहर लागेको कुरा शाशाकीलाई बताएँ।
तर त्यत्ति कारणले शाशाकीले मलाई माया मारी। हुँदा हुँदा मेरो अनुहार नहेर्ने भनेर अड्डी कसी। रिसको झोकमा बाउनले वेद पढ्दैन भने झैँ मैले पनि 'साइको केटी' भनिदिएँ।
तर टोकियो जाँदाजाँदै मैले शाशाकीलाई खुब मिस गरेँ। टोकियोमा सहयोग गर्छौँ भन्ने साथीहरूले फोन उठाएनन्।
भाषा स्कुलको पढाइ र शाशाकीको संगतले म 'ए-वान’जापनिज भाषा बोल्ने र लेख्न सक्ने भइसकेको थिएँ। दुःखसुख म टोकियोमा बाँचिरहेको थिएँ।
विश्वविद्यालयमा लगालग तीन दिन गएर आफ्नो कोर्स सक्थेँ। हप्ताका बाँकी चार दिन म साउनको गोरु जसरी फेमेली मार्टमा घोटिन्थेँ।
म टोकियोमा झन् एक्लो भएँ। शाशाकीका यादहरू दिमागभरि अटसमटस भरिएका थिए। म ऊसँग पुनः मिल्न चाहन्थेँ। उसै गरी हिरोसिमाको जीवन टोकियोमा पनि फर्काउन चाहन्थेँ।
मेरा सबै दुःखहरू दर्साएर शाशाकीलाई एक पटक माफी दिन भनी लेखेको चिठीको जवाफले म थप दुःखी भएँ। चिठी अति छोटो र मलाई भरपुर पीडा थपिदिने मुख्य कारक बनिदियो।
प्रिय नेपाली,
टोकियोमा विश्वविद्यालय पढिरहेका रहेछौ। शाशाकी को थिई र तिम्रो लागि? मदमस्त जवानी मनमौजी दुई वर्ष लुटेपछि तिमीले पनि मलाई 'साइको' देख्यौ। हिजोआज म मर्ने दिनहरू कुर्दै छु। तिमी मेरो देशमा सयौँ वर्ष बाँचिरहनु। मलाई अबबाट पत्राचार नगर्नू।
(शाशाकीले मेरो नाम सम्बोधन नगरी 'प्रिय नेपाली' लेख्दा मेरो नामलाई घोर घृणा गरेकी थिई।)
म चाँडै टोकियो जाँदै छु।
सायद अब बाँच्दिनँ होला।
उही तिम्री साइको,
शाशाकी।
अरू लाइनहरूले भन्दा 'तिमी मेरो देशमा सयौँ वर्ष बाँचिरहनु' भन्ने वाक्यले अति मन दुख्यो।
मलाई हिरोसिमा सहरमा 'म' बनाउने शाशाकी थिई। त्यो हिरोसिमा सहर, ओताकेको त्यो पार्क, त्यो दिन र शाशाकीले मलाई टोकियोमा सधैँ झकझकाइरहे।
फेरि चिठी लेखी पठाएँ। सयौँ चिठी पठाएपछि जवाफ आयो।
अपरिचित मित्र,
तपाईंकी शाशाकीले यो अपार्टमेन्ट छोडिसकिन्।
सायोनारा।
शाशाकीका यादका गाँठाहरू जब्बर बनेर मन र मस्तिष्कबाट बाहिर निक्लन मान्दै मानेनन्। विश्वविद्यालयमा संगत भएका तीन जना विदेशी केटीहरूले मेरो प्रेम प्रस्तावलाई अस्वीकृत गरिदिए। भियतनामकी मित्र 'थे सान'ले भने एक वर्षपछि तिम्रो प्रस्ताव बिचार गर्ने बताई। म्यानमारकी र इटालीका साथीहरूले 'सरी ध्रुवतारा' भनिदिए।
म 'लोहा' लाई लोहाले नै काट्न चाहन्थेँ तर शाशाकीलाई बिर्साउने गरी कुनै प्रेमिका भेट्टाइनँ। निराश मनलाई 'साके' र 'ताबाको'का सर्काहरूले भुलाउन सकेनन्। सक्दै सकेनन्।
हिरोसिमाकी शाशाकी हराई।
मैले ऊसँग बिताएका पलहरू जहिल्यै दुई आँखा अगाडि घुमिरहे। शाशाकी भेटिन्न थिई भने म टोकियोमा टिक्दिन थिएँ। म सिकरकटेरीमै हल्लिरहेको हुने थिएँ।
शाशाकीलाई 'साइको' भनेकोमा पछुताउने सीमाभन्दा पछुताएँ।
'लभ कपल'हरू भन्छन् नि- तिमीसँगको साइनो सगरमाथाभन्दा अग्लो, रगतभन्दा रातो, प्रशान्त महासागरभन्दा गहिरो अनि 'नाइल' नदीभन्दा लामो छ। हो, यस्तै भावनात्मक साइनो बसिसकेको रहेछ, शाशाकीसँग।
टोकियोजस्तो ठुलो 'स्मार्ट सिटी' मा म एक्लै थिएँ। बेलाबेलामा आफूले आफैँलाई सोधिबस्थेँ- 'ध्रुवतारा, तँ ठिक त छस् केटा?'
श्रीलङ्काली साथी 'वसुन्धरा'ले फेसबुकबाटै पुराना साथीहरूसँग कुरा हुने गरेको बताएपछि 'मार्क जुकरवर्ग'ले सन् २००४ बाट सञ्चालनमा ल्याएको फेसबुक एप्स मैले पनि डाउनलोड गरेँ।
आठ/दश जना साथीहरू बने। अहिलेको जस्तो सबैको पहुँचमा वाइफाई थिएन। 'पिपुल यु मे नो' मा गएर नचिनेका केटी साथीहरूलाई मित्रताको हात बढाएँ। पाँच/सात जना साथी बनी टोपले। तर 'हाई'को रिप्लाई दिँदै दिएनन्।
शाशाकीको यादमा डुबेको मन अशान्त मात्रै होइन, आक्रान्त भइरह्यो।
जूनतारा बराल को नामबाट 'फ्रेन्ड रिक्वेस्ट' आयो।
कस्तो अचम्म! म ध्रुवतारा अनि साथी बन्न प्रस्ताव गर्ने जूनतारा! आफैसँग आफैँ हाँसेँ। जूनताराले फेसबुक वालमा अहिलेसम्म तीन वटा सुन्दर तस्बिर करिब ६/६ महिनाको अन्तरमा पोस्ट्याएकी थिई।
साथी पठाए पनि, हामी अपरिचित साथी बने पनि तीन महिनासम्म जूनतारा बोलिन। मैले 'म ध्रुवतारा तपाईं जूनतारा' भनेर मेसेज पठाएको थिएँ।
‘तिमी र म सिन्धुलीमाढीबाट नुन र मट्टितेल बोकेर आएको बिर्सियौ होला। तिमी सम्झ त एक रात हाम्रो घर खुर्कोट बसेर भोलिपल्ट तिमी सबेरै सिकरकटेरी हिँडेका थियौ। तिमी सिकरकटेरीकै ध्रुवतारा होइनौ र?’
दिमाग भित्रका स्मरण तन्तुहरू एक्कासि लामो अतीत अर्थात् एक दशक अगाडि फर्कन बाध्य भएँ।
एसएलसी दिएर बसेको थिएँ। फेल हुने कुरा थिएन। फेल हुन्छु भन्ने ग्यारेन्टी हुन्थ्यो भने कि 'काठमाडौँ' छिर्थेँ कि 'मुगलान' पस्थेँ।
‘तैँले पढ्नुपर्छ। दुखै गरेर पढ्नु पर्छ। पढेर विद्वान हुनु जस्तो ठुलो कर्म अरू के हुन्छ र?’ मलाई यी भाष्यहरूले थिच्थे। घरमा भने मलाई पढ्नुपर्छ, अझै पढ्नुपर्छ भन्दैन थिए।
कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा म फर्स्ट हुँदा पिताजीले भनेका थिए रे- '८ किलासमा फर्स्ट हुनु कुनै बहादुरी होइन, त्यो विद्यार्थी जसले एसएलसीको बोर्डमा धक्का दिन सक्छ, त्यो बहादुर हो। कक्षा ८ मै के फुइँ लाउनु? झिँगाले पनि डिँगा खाए भन्थ्यो रे।'
‘बाउ बुढा भइसके। तँ पनि तीन तिघ्रे भइसकिस् बाबै। भोली 'केरऊफुले' सिन्धुली जान्छन् रे पाँच लिटर मट्टितेल र पाँच पाथी नुन ल्याउनू।’
बाको अनुहार चाउरी परिसकेको थियो। अगाडिका दाँत झरिसकेका थिए। नियमित बिँडी पिएर होला बुढाउ खोकिरहन्थे। केरऊफुले दाइ सबेरै आए। झोलामा आमोईले सातु र भुटेको मकै हालिदिइन्। वर्ष २५ लागेका केरऊफुले आफ्नो मात्रै होइन,गाउँका धनाढ्यहरूको 'नुन मट्टितेल' बोक्थे। उनलाई सबै गाउँलेहरूले केरऊफुले नाउले बोलाएकोमा घोर आपत्ति थियो।
उनले साङबालेको एउटा झुप्रोमा तीन 'बटुको' छ्याङ धोकेपछि भने- 'ध्रुवतारा भाइ, साला 'भास्टर्ड'हरूले मलाई मिस्टर मंगलमान विक नाउँले कहिल्यै बोलाएनन्। हेपे भाइ, हेपे। यिनीहरूले मेरा हजुरबालाई हेपे। बालाई हेपे। मलाई हेप्दै छन्। माफ गर्नोस् ध्रुव भाइ, यो पटक म सिकरकटेरी फर्किन्नँ। बरु हिँड्नुस् दिल्ली। तपाईंलाई खर्च बेहोरेर दिल्ली पुऱ्याउँछु।’
यस्तै गनगन केरऊफुले दाइले साङबालेको छाप्रोमा गरिरहे। छ्याङको तालमा सिकरकटेरी फर्कन्न भने होलान् भन्या होइन रहेछ। मैले नुन र मट्टितेल किनेँ। जान त केरऊफुले दाइसँग दिल्ली जाने उत्कट अभिलाषा थियो। तर वृद्ध बाआमाको अनुहारले मलाई सताउँथ्यो। म केरऊफुले दाइसँग दिल्ली जान सकिनँ। खुर्कोटसम्म पुग्ने साथी भेटाइदिएर केराऊफुलेले बिदाइका जोडी हात हल्लाए।
जूनतारा गाउँले दाइसँग नुन किन्न आएकी रहिछिन्। सिन्धुलीगढी पुग्नुभन्दा अगाडि तल्लो आडाबाटै गाउँले दाइले जूनतारालाई छोडिदिए।म त एक्लै थिएँ नै। तर हिम्मतिली जूनताराले भनिन्- 'नडराउनुस् है, यो बाटो मलाई पानी पँधेरो समान हो।'
जूनताराले पनि यसै साल एसएलसी दिएकी रहिछ। हामीले एसएलसीमा आएका प्रश्नपत्रहरू बारे छलफल गर्यौँ। 'अप्सनल म्याथ' का अप्ठ्यारा 'ट्रिगोनोमेट्री'का प्रब्लमहरू सम्झियौँ। जूनताराले यो भ्याकेसनमा विदेशी लेखकका किताबहरू समेत पढ्ने गरेको बताई। मैले घरबाट ल्याएको मकै भटमासमा जूनताराले ल्याएकी गुन्द्रुकको अचारसँग खुब मिठोसँग खायौँ।
‘केटी भएको भए म मित लाउँथेँ। तपाईं केटा पर्नु भयो,’ ऊ किचिक्क हाँसी।
म मन्द मुस्कान हाँसेँ। मलाई प्रेम प्रस्ताव राख्ने हिम्मत आएन। मेरो मट्टितेलको ग्यालिन जूनताराले बोकिदिई। हामी राती अबेर जूनताराको घर पुग्यौँ। खुर्कोट नपुग्दै उसको घर आइपुग्यो। घरमा उसका बाआमा र एउटी बहिनी थिई। निबुवाको अचारसँग भात थपी थपी खाएँ। राति गोठको माथिल्लो तलामा ओछ्यान लगाइदिई जूनताराले। म भुसुक्कै निदाएछु।
बिहानै भालेहरू बास्न थाले। म खुसुक्क उठेँ। भारी गह्रुङ्गो लाग्यो। आजको खुर्कोट त्यति बेला खोलाको बगर थियो। म सुनकोसीको किनारै किनार लुरुलुरु एक्लै हिँडिरहेँ। मनमा डर भए पनि डराएर बसिरहने अवस्था थिएन। कानढुंग्रीको वनमा आक्कलझुक्कल मान्छे भेटिए। जूनताराको 'एक्ज्याक्ट' ठेगाना सोध्न बिर्सिएँ। तर घर पत्ता लगाउन भने सक्थेँ।
‘सरी है जूनतारा, तिमीलाई भुसुक्कै बिर्सेछु। तर मनमा तिमीलाई सजाउँछु भन्दाभन्दै बिर्सन पुगेछु।’
तर जूनताराले जवाफ फर्काइन। म टोकियोबाट सिकरकटेरी आएँ। विश्वविद्यालय बिदा थियो। जापानभरि साकुरा र ज्याकारण्डा फुल्दै थिए। रेलमा मान्छेहरू उसै गरी ठेलमठेल चढ्दै थिए। म घर जानु अगाडि बिचार शून्य भएको थिएँ।
वृद्ध बाआमा र जूनताराबाहेक प्लेनमा कसैको याद आएन। शाशाकी अब दूर भइसकेकी थिई।
देशको माटोसँग स्पर्श भयो।
मलाई जूनतारा खोज्नु थियो। म दरबारमार्ग पुगेँ। साइबर छिरेँ। जूनताराको लेखेकी थिई- 'आई लभ यु, ध्रुवतारा। प्रेमको मामिलामा तिमी निम्सरो छौ। आई लभ यु जूनतारा भन्नै सक्दैनौ। म विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अंग्रेजी साहित्य पढिरहेको छु।’
‘म काठमाडौँ मै आइपुगेको छु। तिमीले कसैगरी सम्पर्क नम्बर सेन्ड गर्नु ल।’
तर दुई दिन बाटो कुर्दा समेत जूनताराले मेसेज गरिन।
म सिकरकटेरी हिँडेँ।
सिकरकटेरीमा मन अडेन। फेरि काठमाडौँ आएँ।
जूनताराले क्याम्पस परिसर कीर्तिपुरमै बोलाई। त्यो मेरो नुन बोकिदिने जूनतारा कति क्युट र सुन्दरी देखिएकी थिई। म शब्दमा वर्णन गर्न सक्दिनँ।
मसँग भौतिक रूपमा जूनतारा भेटिएपछि बोल्ने शब्दहरूको खाँचो परेको थियो।
मैले यसै पटक बिहे गर्ने प्रस्ताव राखेँ।
‘लौ छायाफायाँ मिलाउनुस्। म त रेडी छु,’ उसले भनी।
मसँग फेरि पनि बोल्ने शब्दहरूको कमी भयो।
जूनताराले मेरो हात समाती। म लाजले भुतुक्कै भएँ। मैले जूनतारा त भेट्टाएँ। तर जूनतारा भेट्टाइदिने केरऊफुले उर्फ 'मिस्टर मंगलमान विक' अझै दिल्लीबाट सिकरकटेरी फिरेका थिएनन्।