रहरको चोकमा
विश्वासको कपभरि
आऊ एक कप चिया पिऊँ
राखेर मनभरि
राखेर
गाढा प्रेमको पत्ती
हल्का तिम्रो मुस्कानको गुलियोपन मिसाएर
आऊ एक कप चिया पिऊँ एकछिन यही बिसाएर
घाम लागोस्, हिउँ परोस्
भोक लागोस्, थकान होस्
झन् मज्जा हुन्थ्यो यार सिमसिमे झरी परोस्
गाढा पत्तीको चिया कप भरि भरि होस्
चिया चोकको सानो घुम्तीमा
एउटा सिलौटको सानो चियादानी
सानो एउटा स्टोभको आवाजसँगै
भक्-भक् उम्लिरहेको छ चिया
अघिल्लो बेन्च
त्यहाँ नबसौँ!
त्यहाँ देशको राजनीतिक गफ गर्ने
एक हुल बस्छ
दोस्रो बेन्च
त्यहाँ पनि नबसौँ
त्यहाँ बुढ्यौलीको एक हुल
बाघगोट्टी खेल्दै चियाको सुर्की लिन मन पराउँछ
आऊ उ... त्यहाँ कु...नामा बसौँ
त्यहाँ पनि ठाउँ छ
त्यहाँ कुनामा बसेर चिया पिउँदा
बेग्लै आनन्द आउँछ।
गाढा प्रेमको पत्ती
र हल्का मुस्कानको गुलियोपन
हल्ला ल्वाङ, हल्का सुकुमेलको सुगन्ध बोक्दै
चियाको सुगन्ध माथि काँधसम्म आइपुग्छ
र शिर बिसाउन खोज्छ
हामीले अघिल्ला दुई बेन्च छाडे जस्तै
उसले पनि मन गर्दैन मेरो कुममा शिर बसाउन
तिम्रो शिर मेरो कुममा बिसाइरहेको देखेपछि।
उसलाई कुना मन पर्दैन र घुमिरहन्छ हाम्रै वरिपरि
बिलाइदिन्छ त्यही क्षणभरि
यो सानो ठाउँ सानो छैन
यो सानो चियाको कप सानो छैन
यहाँ अटाइरहेका छन्
देश विदेशका घटना र विचार
देशको राजनीति
सायद यही ठाउँमा गरिन्छ
नेतालाई सबैभन्दा बढी गाली
यहीबाट बजाइन्छ
आस लागेको नेतालाई ताली
यही साटिन्छ प्रेमको आभास
तिमी एक गाँस प्रेम मलाई दिनु
म एक गाँस तिमीलाई दिउँला
त्यही चोपी खाउँला प्रेममा चियासँग
त्यही घुली जाउँला प्रेममा चियाभित्र
घुलिजाउँला पत्तीमा चिनी जस्तै
बिलाइजाउँला एक अर्कामा
जसरी एक अर्कामा बिलाएका छन्
चिनी चियापत्ती र दूध!
दिदी चिया छ?
फेरि एक कप चियासँगै
तिम्रो शिर मेरै कुममा बिसाई राख्छ
आहा! मन्द मन्द
तिम्रो सानो आवाजसँग
कति आनन्दको समय लाग्छ
यहाँ थकान, तनाव र एक्लोपन भाग्छ
यहाँ
उत्साह, जोस र जाँगर जाग्छ!
चियाको अम्मली त म होइन
र पनि
तिमीसँगै हुँदा अम्मली जस्तै भइदिन्छु
थाहा छैन
नसा तिम्रो लागेको हो या चियाको!
चियापत्ती गाढा नै मन पर्छ
किनकि प्रेम चियापत्ती जस्तै लाग्छ
चियापत्ती प्रेम जस्तै
जब जब दूधमा पत्ती मज्जाले चिनी ठिक्क लाग्छ
चिया उत्कृष्ट लाग्छ
तिम्रो मुस्कान चिनी जस्तै लाग्छ
ठिक्क उत्कृष्ट लाग्छ
नहुँदा एक्लो लाग्छ
खल्लो लाग्छ
धेर हुँदा भद्दा लाग्छ।
तिमीले सोध्थ्यौ नि
कतिन्जेल कुर्छौ मलाई?
तिमीलाई म त्यतिन्जेल कुर्छु
त्यतिन्जेलसम्म साथ दिन सक्छु
जबसम्म तिमीले
विश्वासको कपभित्रको चियाबाट
प्रेमको पत्ती र मुस्कानको गुलियोपन
भिन्दा भिन्दै छुट्टाउन सक्दिनौ
स्वाद चियाको होस्, चिनी र पत्ती नछुट्टियोस्
आभास प्रेमको होस्, तिमी र म नछुट्टियोस्!
माया, तिमीले सुन्यौ या सुनिनौ
अघि काँधसम्म आएको
चियाको सुगन्ध सहितको बाफले भन्दै थ्यो
प्रेम तब मिठो हुन्छ
जब तिमी र म एकअर्कामा घुलिदिन्छौ
छुट्टाउनै नसकिने गरी
मिठो... चियामा चिनी र पत्ती जस्तै।