एक मुहार सधैँ झ्यालमा अडिरहन्छ। तर म यत्ति पक्कै बुझ्छु कि त्यो झ्यालमा सायद उहाँ आफ्ना बाँचेका वर्षहरूभन्दा बाँच्न बाँकी वर्षहरूको कल्पना गर्दै आफ्नो समय गुजार्दै हुनुहुन्छ। उहाँलाई पक्कै पनि थाहा छ, आफ्ना बाँच्न बाँकी शेष वर्षहरू निकै कम छन्। मुहारमा भएको दाह्रीले सेतो वस्त्र धारण गरेको स्पष्ट देखिन्छ उहाँको।
म उहाँको मानसपटलमा बाधा नपुर्याउने उद्देश्यले आफ्ना ओठका झ्यालहरू खुल्न दिन्न। नत्र यी झ्यालहरूले उहाँले आफ्ना लागि छुट्ट्याएको समय सारिणी सीमामा विरोध मच्चाउँछन्।
उहाँ सधैँ मस्तमौला आदमी हुनुहुन्छ। मैले केही चिज बिगारे भने पनि उहाँ दार्शनिक विचार पोखिहाल्न हुन्छ। भन्नुहुन्छ ‘यहाँ हाम्रो हातमा के चिज छ र हामी सपार्न सक्छौ?’
उहाँका ओठमा श्री कृष्णको झैँ मुस्कान सधैँ यथावत् रहिरहन्छ। हातमा जहिले कुनै न कुनै पुस्तक देखिरहन्छु। पुस्तक प्रेमी हुनुहुन्छ मेरा हजुरबा।
त्यो झ्यालले पनि हजुरबाको अडेस सधैँ प्रेम स्वरूप झेलिरहेको हुन्छ। ऊ पनि मेरा हजुरबाले पल्टाउने हरेक पाना पढिरहन्छ सायद। मैले सोधे त्यो झ्यालले मेरा हजुरबाका अन्तर्मनका पीडाहरू बताउन सक्छ कि सक्दैन? म सोचिरहन्छु।
कहिलेकाहीँ म हजुरबाको कोठामा छिर्छु। उहाँको कोठा पूरै पुस्तकले भरिएको हुन्छ। सिरानमुनि पुस्तक, टेबलमा पुस्तक, दराजमा पुस्तक, र्याकमा पुस्तक, बाकसमा पुस्तक। अरू त अरू सुत्दा पनि छातीमा किताब टाँसेर सुत्नुहुन्छ। हजुरबाको किताबसँग छुट्टै किसिमको प्रेम छ।
हामी एकान्तमा हुँदा हजुरबाले मेरो कपाल मुसार्दै जहिले भन्नुहुन्छ- ‘मलाई तेरी हजुरआमापछि सबैभन्दा प्रिय लाग्ने भनेका त यी पुस्तकहरू हुन् बा।’
त्यो समय उहाँको अनुहार मलिन हुन्छ। आँखा रसाएको देख्छु। हजुरआमाले छोडेर गएपछि हजुरबा प्रायः एक्लै कोठामा घण्टौँ समय गुजार्नु हुन्छ। उहाँको कोठामा प्रवेश गर्नुपूर्व म जहिले ढोकामा ढकढक गर्छु र उहाँको स्वीकृति लिइसकेपछि मात्र भित्र छिर्छु। म उहाँको कोठामा बिहानको दश बजेअघि र साँझको झिसमिसे उज्यालो भएपछि मात्र जाने गर्छु।
हजुरबा भन्नुहुन्छ- ‘दिउँसोको समयमा मलाई डिस्टर्ब नगरिदे है रामु।’
म उहाँको वचनलाई नतोडी सधैँ पालना गरिरहन्छु। घरमा हजुरबा मेरो सबैभन्दा नजिकको सारथि हुनुहुन्छ। हजुरबा र म शनिवार बिहानीपख सधैँ चेस खेल्छौँ। हजुरबा आफूले चेस हारे सधैँ मलाई आफ्ना एक-दुई मिठा कविता सुनाउनुहुन्छ। म कविता श्रवण गरिरहन्छु। उहाँका कविताले मेरो मन चङ्गा हुन्छ र म अर्को एक अर्को एक भनेर बालहठ कसिरहन्छु। अन्त्यमा जित मेरै हुन्छ र हजुरबा फेरि कविता वाचन गर्न कसिनु हुन्छ।
हजुरबा र मलाई बेलायत बोलाउन बा-आमा जहिले ढिपी कस्नु हुन्छ। तर हामीलाई भने आफ्नै माटो, आफ्नै घर, आफ्नै वातावरण र परिवेश मन पर्छ। बाले बढी नै ढिपी कसे हजुरबा भन्नुहुन्छ- 'म मर्दा मलाई मेरै देशको घाट चाहिन्छ।'
अनि बा केही बोल्नुहुन्न। उहाँहरू हामीलाई भेट्न दुई-तीन वर्षमा आइराख्नु हुन्छ। अरू दिन प्रविधिले सधैँ जोडेकै हुन्छ। एक ठाउँबाट सात समुद्रपारि पनि सेकेन्डमा सम्पर्क गर्न सकिन्छ। जमाना भुइँबाट धुरीसम्म उठ्न समय नै नलाग्ने रहेछ। उहिलेको समयमा चिठीबाट महिनौँ, वर्षौँपछि खबर आदानप्रदान हुन्थ्यो। कहिले कहिले त निज सामु खबर पुग्दासम्म उक्त व्यक्तिको पठाउने व्यक्ति सामु मान्छे मरेको खबर आइसक्थ्यो।
कहिलेकाहीँ हजुरबा भन्नुहुन्थ्यो- ‘हाम्रो समयमा नुन लिन जान पनि हामी एक दिन हिँडेर पुग्थ्यौँ।' अचेल घरमै हावाको गतिझैँ दौडिने सवारी साधन छन्। जुनसुकै ठाउँमा जुनसुकै समयमा पुग्न सकिन्छ।
एक दिन हजुरबा सुतेको समयमा मैले उहाँको छातीमा टाँसिएको हरिवंश राय बच्चनको 'मधुशाला' पुस्तक सुटुक्क तानेँ। गाता पल्टाए पहिलो पृष्ठमा लेखकको तस्बिर छापिएको थियो र तल लेखिएको थियो-
‘मिट्टीका तन, मस्तीका मन।
क्षणभर जीवन, मेरा परिचय।’
मलाई त्यो शब्दले झकझकायो। त्यो पुस्तक मैले हजुरबाको साइडमा राखेँ र आफ्नो कोठामा पसेँ। त्यसको पूर्ण विस्तार मैले पछि हजुरबाका मुखबाट सुनेँ। मलाई त्यो शब्दले अति नै छोयो, साथै हरिवंश राय बच्चनका बारेमा समेत केही बुझ्न पाइयो। उहाँ भारतका महाकवि हुनुहुँदो रहेछ।
हजुरबा दिनमा सातदेखि आठ घण्टा दैनिक आफ्नो गुफामा (हजुरबाले आफ्नो कोठालाई भन्ने नाम) किताब पढ्दै, केही रचना गर्दै समय गुजार्नु हुन्छ। उहाँ भन्नुहुन्थ्यो ‘पुस्तक नै प्रेम, प्रेम नै पुस्तक।’ म सहजै टाउको हल्लाउन बाध्य हुन्थेँ।
कलेजको बेन्चमा बसेर पढेको बाहेक घर आएर किताब नसमात्ने केटो म, अचेल हजुरबासँगको सामीप्यताले मलाई पुस्तक प्रेमीको खाडलमा धकेलिसकेको छ। घरमा बाँकीको समय अचेल पुस्तक पढ्नमा खर्चिने गरेको छु।
पुस्तकप्रतिको सामीप्यताले मलाई अहिले आफूभित्रको अर्को एकलाई चिन्न सिकाएको छ। किताब पढ्दा कहीँ कतैबाट आवाज आए साह्रै माथा तात्दो रहेछ। मलाई अचेल साह्रै झोक चल्छ जब पल्ला घरमा काइँला अङ्कलको छोरा चिच्याउँछ। सायद यस्तै मोबाइलमा साथीहरूसँग गेम खेल्दा हल्ला गर्ने भएर होला हजुरबा मलाई आफ्नो माथिल्लो फ्लोरमा आएर डिस्टर्ब नगरिदे भनिराख्ने।
अचेल हजुरबा झैँ घण्टौँ पुस्तक पढिरहने भएर होला हजुरबा मलाई माथिल्लो फ्लोरको मेरो कोठामा बसेर पढ् भन्नुहुन्छ। अचेल घरमा हामी तीन जनाको सङ्गम खुब मिलेको छ। पुस्तक, हजुरबा अनि म।
हजुरबा र म साँझको समयमा साहित्य, दर्शनशास्त्रको बारेमा गफ चुट्छौँ। म प्रश्न ओइरिने काम गर्छु, हजुरबा प्रमाणित उत्तर दिनुहुन्छ। जहाँ म तर्क गर्ने कुनै खाली ठाउँ भेट्दिनँ, क्षमता राख्दिनँ र सबै स्वीकार गर्छु।
एक दिन साँझको समय थियो, लगभग एघार बजिसकेको थियो। हजुरबा आकाशतर्फ हेर्दै कसैसँग बात मार्दै हुनुहुन्थ्यो। म झ्यालबाट लुकेर उहाँलाई हेरिरहेको थिएँ। केही बेर बात मारेर उहाँ मौन हुनुभयो। म कोठाबाहिर गएर हजुरबाको नजिकै गएँ।
उहाँले हत्तपत्त आँखाको आँसु पुछ्नु भयो र मुहार उत्तरतर्फ फर्काउनु भयो। मैले हजुरबाको हात समातेर कोठामा लिएर आएँ। यसअघि मैले हजुरबालाई यस्तो अवस्थामा कहिल्यै देखेको थिइनँ। मैले रुनुको कारण सोधे। उहाँले केही उत्तर दिनुभएन।
‘हजुरबा भन्नु न’ मैले उहाँको हात समातेर बालहठ कसेँ।
उहाँले लामो सास फेर्नुभयो र मेरो अनुहारतिर मुख फर्काइ भन्न थाल्नुभयो, ‘आजकै दिन तेरी हजुरआमाले यो संसारबाट विश्राम लिएकी थिई। यो दिन मैले कसरी बिर्सनु बा! उसले छोडेर गएको पनि तिस वर्ष भइसक्यो। यो तिस वर्ष मलाई पूरै सतियुगका सोह्र लाख वर्ष एक्लै बिताएझैँ भएँ। तँलाई थाहा होला म सधैँ बिहान तुलसीको मठमा पानी हाल्छु। मर्न लाग्दा ऊ बेला पानी खान नपाएर मरेकी थिई तुलसी। त्यसै कारण बिहान जहिल्यै आफूले पानी खानुपूर्व तुलसीमा पानी हाल्छु। अनि अब त पानी खाएर अघाई होली भन्ने लाग्छ। छोडेर जानेहरूको यादमा कति पर्खनु पर्ने रहेछ खै? पर्खिँदा पर्खिँदा यो बुढो रुखले बोक्रा फेरिसक्यो। रमेश र बुहारी पनि दश वर्ष भइसक्यो विदेश बसेको। म एकासी वर्षको ढल्न लाएको रुख भइसकेँ। कहिले मेरो पनि तुलसीसँगै जाने दिन आउला? यस्तै सोच्दै कहीँ कतै चन्द्रमामा तुलसी भेटिन्छे कि, केही बोल्छे कि भनेर बरबराउँदै थिएँ। अरू केही हैन बा!’
‘सुत् तँ किन यति अबेरसम्म नसुती बसेको?’ हजुरबाले मेरो टाउको मुसार्दै भन्नुभयो।
हजुरबाका कुरा सुन्ने क्रममा मेरा आँसुले कतिखेर गाला चुमेँ पत्तै भएन।
‘धत्! किन रोएको तँ?’ हजुरबाले दाहिने हातले मेरा आँसु पुछ्दै भन्नुभयो।
हजुरबा फेरि आफै बोल्न थाल्नु भयो, ‘यो मृत्युको दुस्मन त जन्म हो। मान्छेले जन्म लिइसकेपछि मर्नु निश्चित छ। मान्छेले आफू जन्मँदाको पहिलो श्वास र मर्दाको अन्तिम श्वास बिचमा जे जति क्रियाकलाप गर्छ ती सब खेल हुन्, क्षणभङ्गुर छन् र हुन्। कहिलेकाहीँ शङ्कराचार्यको एक कुरा मलाई मन पर्दैन, उहाँ भन्नुहुन्छ- ब्रह्म सत्य, जगत् मिथ्या। म यो कुरा स्विकार्न सक्दिनँ। यहाँ सत्य छ त प्रस्ट जगत् मात्र बाँकीको सब मिथ्या लाग्छ।
'यावज्जीवेत्, सुखं जीवेत्' यो चार्वाकको श्लोक भने मलाई मन पर्छ’ हजुरबाका यस्ता मिठा वाणी सुन्न पाउनु नै मेरा लागि सौभाग्य हो लाग्छ। सायद कुनै न कुनै जन्ममा मैले राम्रो काम गरेँ हुँला जुन आज मैले हजुरबा जस्तो विद्वान र असल सारथि पाएको छु।
‘हजुरबा आजदेखि हजुरसँगै सुत्छु नि म है?’ मैले उहाँलाई पानी दिँदै भनेँ।
‘हस्’ हजुरबाले बिना आलोचना मेरो कुरा स्विकार्नु भयो। म यसै चङ्गा भएर हजुरबासँगै सुतेँ।
एकाबिहानै मेरो साथी प्रकाशको फोन आयो- ‘ओइ राम कहाँ छस् तँ? म तेरो घर आउँदै छु है।’
उसले हतार हतारमा भन्यो।
‘म घरमै छु,’ मैले जवाफ फर्काएँ। उसले फोन काट्यो।
फोन काटेको पन्ध्र मिनेटमा ऊ मेरो घर आइपुग्यो। म हजुरबाका लागि दूध हालेको चिया बनाउँदै थिए। ऊ किचेनमै आयो।
‘म ग्रिन टी खान्छु है’ उसले आफू चिया नपिएरै आएको जनायो।
‘खाने भए आफै बनाएर खा है, मेट्रियल छँदै छ सबै, मेरो हातको तँलाई मन पर्दैन होला नि,’ मैले टी-ब्याग र एक कप तातोपानी अघि सार्दै भनेँ। ऊ जहिल्यै मैले बनाएको कुनै न कुनै कुरामा केही न केही दोष लाइछोड्छ। त्यसैले मैले एकाबिहानै ऊसँग जिस्किन खोजेँ।
‘तैँले बनाएर दिनुपर्छ भनेको छु र, म आफै बनाएर खान्छु, खै उता जा,’ उसले दाहिने कुमले मलाई घोच्दै भन्यो।
प्रकाश मेरो सुख दुःखको साथी हो। मलाई केही समस्या पर्दा जहिले हाजिर हुन तयार हुन्छ। हामी एक अर्काको भेट भएकै छिन जिस्किन थालिहाल्छौँ। जिस्किँदा जिस्किँदै दुवै दुई/चार गाली पनि दिन्छौँ एक अर्कालाई ठेस नपुग्ने गरी। मलाई लाग्छ, यदि मिल्ने साथीहरूमा दुई चार गाली भएन भने त्यो मित्रता कस्तो मित्रता।
‘म हजुरबालाई चिया दिएर आउँछु है’ मैले चियाको कप समात्दै भनेँ। हजुरबालाई चिया दिएर आइसक्दा ऊ किचेनमा थिएन। पछि माथिल्लो फ्लोरमा जाँदा उसलाई हजुरबा र पुस्तकसँग भेटेँ।
प्रकाश हजुरबासँग गफ मार्दै रहेछ। ऊ पनि हजुरबाका मधुर वाणीबाट प्रभावित छ। केही छिनमा हजुरबाले प्रकाशसँग बात टुङ्ग्याई रुमबाट नुहाउन निस्किनु भयो।
प्रकाशले मेरो कानमा आएर सुटुक्क भन्यो- ‘राम, तँलाई सबैभन्दा प्रिय के लाग्छ?’
मैले बुलेट ट्रेनको गतिमा भनेँ, ‘हजुरबा र पुस्तक।’