विद्याकी देवी सरस्वतीको
मन्दिर दुवैतिर छ
सामुदायिक अनि
निजी शिक्षालयमा
तर दुवैमा हुने व्यवहार र दैनिकीमा
आकाश र जमिनको अन्तर छ।
एउटाको ढोका खुल्छ
गरिब बच्चाको निमित्त
जहाँ धनको होइन
साक्षात् विद्याकी देवीको
आराधना गरिन्छ
जहाँ चुँडिएको
चप्पलमा
भोको पेटमा
खोला नाला र खहरेदेखि
तुइन हुँदै घाँस र दाउराको
भारीसँगै पुराना किताबका
पाना बोकेर असङ्ख्य थकाइ
मेटाउन
एक हुल निरीह बालकहरू
देशका कर्णधार
वास्तविक जीवनका लडाकु
अँध्यारोमा नआत्तिईकन
उज्यालो भविष्य खोजी गर्ने
कलिला मुनाहरू
आशाका किरण लिएर
पाइला चाल्दछन्
जसको फुटेको ओठबाट
निस्केको मुस्कान
सूर्य किरण जस्तै निश्चल छ
जसको ठेला उठेको हातबाट
लेखेको अक्षर
थाकेका पाइलाबाट टेकेको धर्ती
आँसु लुकाएर
हेर्न कोसिस गरेका आँखा
भोको पेटसँग सम्झौता गरेर
उभिएका पैताला
थाकेको तर नहारेको
हृदयबाट पदार्पण हुने
धर्ती साँच्चै कति सुन्दर छन्।
सिधै अगाडि हिमाल अनि
हिमाल जस्तै अटल र साहसी
जागरूक, उत्सुक र
मर्यादित ती कलिला
कोपिला रुपी बालबालिकाको
चिरबिर आवाजले
विद्याकी देवीको मन्दिर सजिएको छ।
अर्को तिर छन्
हातले ताते ताते गराई
खाना, नाना र छाना सजाई
गमलामा राखेर
हुर्काएका कलिला
कमजोर डाँठ भएका
सानो जरा र पात भएका
देख्दै गुडिया जस्ता
अनजान, मायालु
चिल्लो रोडमा हात समाई
स्कुलको बससम्म पुर्याएर पाले दाइको
सहारामा सिटसम्म पुग्ने
ब्यागमा मिठो खाजा
राम्रा कपि, किताब
पानीका बोतल
टलक्क टल्केका जुत्ता र
पोसाकमा रहेका
निजी विद्यालयका
कोपिलाहरू
स्कुल गेटबाट भव्य स्वागत गरिन्छन्
पढाउने शिक्षकलाई
भन्दा बढी सम्मान साथ
भित्र्याइन्छन् कक्षा कोठासम्म
बिस्तारै पुर्याइदिन्छिन्
आया दिदीले
कोमल हात समाई
मानौँ ती सुन्दर बाकसबाट निकालिएका
गुडिया हुन्
जसलाई छुँदा समेट दाग लाग्दछ
जसलाई चर्को आवाजमा बोल्दा
ज्वरो फुट्दछ
अर्को दृश्य देखिन्छ
निजी विद्यालयमा अध्यापन
गराइरहेका शिक्षक वर्गको
जहाँ पुरुषभन्दा महिलाको
सङ्ख्या धेरै हुन्छ
साना कक्षातिर
पेट दुखेर टोलाएकी शिक्षिका
झसंग हुन्छिन्
सञ्चालक साहुको
जुत्ताको आवाजमा
यदाकदा उनीभन्दा कम पढेका
सञ्चालक वा उनका श्रीमतीको
स्यान्डल बज्छ
ढोका अगाडि
पुलुक्क हेर्न खोज्दा
म्याडम अर्को कक्षातिर
पुगिसकेकी हुन्छिन्
बिरामी कमजोर
गुरुमाको ओठ तालु सुक्छ
भाडा तिर्ने दिन
रित्तिन आँटेको चामलको बोरा
घरबेटीको घुरेको आँखा
रित्तिन आँटेको ग्यासको सिलिन्डर
अनि गाउँमा आमाको
फाट्न आँटेको फरिया
बुबाको आशाले पर्खिएको अनुहार
भाइ बहिनीका
रहरमा आफ्नो दायित्व
सम्झेर उनी बच्चालाई हल्ला
नगर्न आग्रह गर्छिन् तर
उनलाई सास रोकिए जस्तो त तब लाग्छ
जब त्यो सञ्चालकको
पत्नीले छुट्टी हुने बेला
हाँसो फिर्ता गर्दिनन्
दिउँसो नमस्ते गर्न बाहिर निस्किँदा
उनी पर पुगिसकेको
त्यो समयले
भोलि उनका श्रीमान्
निजी विद्यालयको साहु
त्यो हाकिमको
कानमा पुगेर
रातो आँखाले
कुनै अभिभावकमार्फत
गुनासो भएको पत्र
अवश्य आइपुग्नेछ
उनी समक्ष
फेरि सुन्न पर्नेछ
तपाईंको योग्यता पुगेन
शिक्षिकाले थरर आवाजमा हजुर भन्न
नपाई अर्को आवाज सुनिन्छ-
तपाईं धेर बिरामी हुनु भयो यो वर्ष
गयल धेरै छ
परीक्षा बिदा नि लिनु भएछ
प्रशासनमा कम्प्लेन आएको छ
कि तपाईं तलब बढाउने
कुरा नि गर्न जानु भाथ्यो रे
ए साँच्ची तपाईंको
बच्चा नर्सरी क्लासमा धेरै रुन्छ रे
राम्रो पढेको छु भन्नु हुन्छ रे
सर! सर! पुरानो कर्मचारीको
सुविधा भन्नु भाथ्यो अस्तिन
भाषण
अभिभावक दिवसको दिन
भन्दै पूरा आवाज
उनले निकाल्न नपाई अर्को
चिच्याउँछ-
पढेको भए अन्त गरेर देखाउनु
यहाँ किन बसिराको?
हामी यो देशको समुदायको
ठुलो मान्छे हौँ
गुणस्तरीय शिक्षामार्फत
जो समाजसेवा गरिराछौँ
हामी नभए सरकारी स्कुलले
निकालेको रिजल्ट हेर्नुस्
देशको शिक्षा क्षेत्र के हुन्छ
बुझ्नु भाछ?
निरीह शिक्षिका
हजारौँ प्रश्नले आफैँलाई
सोध्दै हृदयको
क्रन्दन लुकाएर उभिन्छिन्
हामीलाई प्रतिप्रश्न गर्ने तपाईंको
हैसियत के हो?
अर्को आवाज आउँछ-
बजारमा तपाईं जतिको पढेका
टन्न मानिस छन्
म्याम वि आर सरी!
कोठामा पुगेर गम्छिन्
तेस्रो जीवन भरीको ज्ञान सिकाउने मेरो
गुरुहरूले
यो हैसियतको
पाठ सिकाउन भुल्नु भएछ
पक्कै कमजोरी मेरै हो
म गरिब देशको
मेहनती विद्यार्थी जहाँको
आगनमा रहेको
विद्याकी देवीको मूर्ति पनि
शिक्षाको उद्देश्यमा भएको
आकाश र जमिनको
फरक हेरेर
मौन बसेकी रहिछन्।