श्रद्धा गरेर सम्झी सम्झी
आफ्ना भन्नेलाई
केही त यसो चिनो लग्दिऊँ भनी
यो मनले ठान्नेलाई
गिफ्ट लिएर गयो
खोली खुसी हुन्न खै
मान्छेलाई गिफ्ट लगेर काम छैन
धाइ धाइ किन्न गई
महत्त्व दिँदैन रत्ती
उल्टै खोट लगाइरहन्छ
वास्तै नगरे झैँ गरी
छेउमै फ्यात्त फ्याँकिदिन्छ
जस्तो गिफ्ट लग्यो
त्योभन्दा उत्तमको अपेक्षा गर्छ
मान्छेलाई गिफ्ट लगेर काम छैन
मनकारी भई गरेर खर्च
ओल्टाइ पल्टाइ हेर्छ
पुरानो हो कि भनी
सामानलाई हेपेर नाक खुम्च्याउँछ
स्तर रहित तुच्छ झैँ ठानी
अर्काले दिने गिफ्ट त
जस्तो भए नि स्वीकार गर्नुपर्ने
मान्छेलाई गिफ्ट लगेर काम छैन
बिनसित्ती अपजस खप्नु पर्ने
यति प्रेमपूर्वक लगेको गिफ्टको
जब सम्मान हुँदैन
सम्झना स्वरूप दिएको भन्ने
उसको ज्ञानमा आउँदैन
व्यर्थ रहेछ गिफ्टले झन्
भई रहेको सम्बन्ध बिगार्ने
मान्छेलाई गिफ्ट लगेर काम छैन
आ! भो अब त्यो दुःख नगर्ने।