'ए बा! मलाई एउटा बाइक किन्नु पर्यो। साथीहरू सबै आ-आफ्नै बाइकमा चढेर आउँछ, जान्छ कलेजमा। म चाहिँ जहिले पनि कति हिँड्नु हो नेपाल यातायातको बसमा। हो के बा! साँच्चै भनेको! लाज भैसक्यो। साथीहरूले क्या हेयको दृष्टिले हेर्छन् मलाई। कुन दिनदेखि हामीसँग नबोल,नहिँड भन्न बेर लाम्दैनन् तिनीहरूले मलाई।'
छोराको खोलाजस्तै सलललल बगेको कुराले धन सिंको चित्तदेखि पित्त, तनदेखि मनसम्म बगाएर लग्यो। खुद आफ्नो निजी गरिबीको दर्दनाक जीवन दैनिकीलाई आफ्नो निरिह हैसियतको तालसम्म पुग्ने गरी।
'छोरा! के भनेको त्यस्तो? थाहा छ त तिमीलाई हाम्रो अवस्था। थाहा छ त तिमीलाई बाइक किन्न कति रूपैयाँ चाहिन्छ भनेर। थाहा छ तिमीलाई मेरो कमाइको बारेमा,' बाको कुरा सुनेर छोरा हितेस बोले।
'अरू कुरा केही थाहा छैन। मलाई बाइक चहियो। चाहियो भने पछि चाहियो। के कसरी मेरो माग पूरा गर्ने/नगर्ने त्यो तिम्रो कुरा हो। होइन भने...।'
मुरमुरिएर के के भन्दै फन्केर निस्के डेराबाट हितेस केही नभनी कसैलाई।
छोराको यस्तो भयंकर राकस रूप कहिल्यै देखेको थिएन पहिले। पहिले-पहिले सानोतिनो कुराको माग गर्थ्यो। सकिन्जेल पूरा गरिदिन्थे माग छोराको। यो पटक यस्तो खालको अप्रत्यासित रूप देखेर धन सिं खुब रोए मनमनै कसैले नदेख्ने गरी।
धन सिं मन ननिको मान्दै बरण्डामा आएर ढले बिछ्याइराखेको पुरानो सुकुलमा। काममा जान जाँगर चल्दै चलेन। जीवन साथी तुलसा भने निस्किसकेकी थिई कामको लागि। ऊ पनि जानुपर्ने थियो काममा तर गएन। विरक्तलाग्दो आफ्नो अवस्था देखेर प्रश्न गरे अनेक आफैले आफ्नो भाग्यलाई। जीवनलाई। आफूलाई जन्माइदिएको बितिसकेका बा-आमालाई।
प्रश्नहरू आउँथे अनि उत्तरबिना नै फर्केर जान्थे। धुमधुमती एक्लै बरण्डामा टोलाएर केही ठम्याउन नसकिने अनन्त निलो आकाश हेर्दाहेर्दै उनी विस्मृत हुँदै गएको विगततर्फ डुल्न पुग्यो, कल्पनाको नाउँमा चढेर।
धन सिं आधा शताब्दी अगाडि उता पूर्व एक नम्बर भनिने पहाडी गाउँमा जन्मेको। राम्रो थियो गाउँ। बसाइँ गाउँमा भए पनि खेतीपाती सबै बेंसीमा हुन्थ्यो। सुन्दर बनाउँदै बेंसीको बीचबाट बग्थ्यो लेउती खोला। लेउती खोला हिउँदमा सुक्लाझैं गरेर सुस्केरा हालेर बग्थ्यो। बर्खामा उनको फूर्ति उधुँमको हुन्थ्यो। बेग्लै हुन्थ्यो। आफूले आफैलाई ठूलो शक्तिशाली ठान्थ्यो। कुनैकुनै सालमा त बाढी र पहिरो बनेर बौलाउँथ्यो।
ठ्याक्कै ठम्याउन नसकेको एउटा सालको बर्खाको लेउती खोला बौलाएर गरिखाने खेतबारी बगाएकोले धन सिं सुन्दर गाउँको सुकुम्बासी बनेको थियो। गाउँमा बनिबुतो गरेर खान हम्मे-हम्मे हुन्थ्यो। त्यसैले धन सिं निकै वर्ष अगाडि सहरको शरणमा परेको थियो। आफूजस्तै घरबार नभएको मान्छेको लहैलहैमा लागेर बागमती किनाराको खाली जमिन ओगटेर बस्दै आएकोले उनी सुकुम्बासी बनेको थियो। उनको बिहेबारी घरमै भएको भए पनि छोरा हितेसको जन्म चाहिँ यतै अर्थात सहरको शरणपश्चात् भएको थियो।
हितेस माथिको एउटी दिदी पनि थिइन् हेमा। हेमा आफू खुसीले भागेकी थिइन् सँगै पढ्ने केटोसँग। उनीहरू आफू खुसीले चुनेको जीवनसँग खुसी नै थियो।
धन सिं र तुलसाले रातोदिन खटेर आफूहरूले पढ्न नपाए पनि छोरालाई राम्रो शिक्षा दिने सोचले गर्दा सधैं खट्ने गर्थ्यो। छोरा हितेसलाई सकिनसकी सामुदायिक विद्यालयमा राम्रो पढाइ हुन्न भनेर प्राइभेट अंग्रेजी स्कुलमा राखेर पढाएको थियो। धन सिं र तुलसाले गरेको मेहनतले राम्रो रंग लिँदै थियो। हितेसले शिक्षामा फुलाउँदै गरेको उन्नति र प्रगति पथको कारणले। निकै भावुक थियो हितेस उमेरले सानै भए पनि। बा-आमाको दैनिकीप्रति जानकार थियो ऊ। बा-आमाले आफूप्रति खर्चेको रगत पसिनाको सम्मान गर्थ्यो ऊ।
बागमतीमा कति पानी बगे, कति ढल जे जति बगे समय सँगै बगे। त्यहीँ बगेको समयसँगै बगे हितेस पनि। बगाएको बहाबले हितेस तन्नेरी भए। स्कुल स्थरको पढाइ सक्काएर कलेजमा प्रस्थान लगत्तै सीमित घेरामा रहेको उनी धेरै साथीसंगीसँग घुलमिल हुन थाले।
विस्तारै फैलिन थाले। विस्तारै फैलिँदै गएको साथी र संगीको संगतले होला हितेसमा बिस्तारै परिवर्तनको रंग छाउन थालेको। एकाएक धन सिंले युटर्न मारे। छोराको ठाउँमा आफूलाई राखी हेरे। आफ्नो ठाउँमा छोरालाई।
छोराको कुरा पनि ठिकै हो। समय अनुसार त बग्नु नै पर्यो। बिचरा उनको के दोष। दोष त मेरो हो, मैले पूरा गर्नुपर्ने माग पूरा गर्न नसक्नु, कस्तो लाच्छी बाउ म!
जाबो एउटो छोराको एउटा मागसम्म पूरा गर्न नसक्ने म।
अरू अरू बाउहरूले अरू अरू छोराहरूलाई कति-कति, के-के माग पूरा गरेको देखेकै हो। तर मैले! छोराले एउटा बाइकको कुरा गर्दा दिउँसो नै आकाशमा तिरमिरे तीन तारा उदाएको देख्न पुग्यो। धिक्कार छ मलाई।
दिनभर केही नगरी के-के कुरा मनभरी खेलाउँदा खेलाउँदै साँझ परेको पत्तै भएन धन सिंलाई।
एक्कासि टहराको ढोकामा ढकढक आवाज आएपछि ऊ झसंङ्ग भए अनि ढोका खोल्न पुग्यो।
ढोकामा अरू कोही नभएर उनकै जीवनसाथी तुलसा थिइन्।
तुलसाले सोधिन्- आज त तपाईं चाँडै आउनु भएछ नि कामबाट।
धन सिं बोले- हँ! म आज काममा गइनँ, जानै मन लागेन।
तुलसा अलि अत्तालिएर बोले- किन नजानु भएको काममा?
धन सिंले भन्यो- त्यत्तिकै जान मन लागेन। कहिलेकाहीँ त अल्छी लाग्दो रहेछ हो हितेसकी आमा।
तुलसा बोलिन्- तपाईं त्यस्तो मान्छे होइन। चिनेको छु मैले राम्रैसँग तपाईंलाई। बरू भन्नु किन नजानु भएको काममा ? सञ्चो नभएर नजानु भएको हो?
धन सिंले भने- होइन!
'नभए किन नजानु भएको त? तपाईं यसरी कामै हापेर बस्ने मान्छे होइन। भन्नु हितेसको बा कुरा के हो?'
जीवन साथीको र्याखर्याखले बोल्न बाध्य भए धन सिं।
'तुलसा हाम्रो छोरा कति ज्ञानी छ है। हाम्रो सुखदुःख उनलाई राम्रोसँग थाहा छ। कति राम्रो विचारहरू बाँडफाँट गर्छ है हामीलाई। खासमा हामी दुईको सपना पनि त हो ऊ।'
धन सिंको कुराहरू सुन्दै बोलिन् तुलसा।
'अखिर कुरा चाहिँ के हो? जुन कुराले तपाईं चिन्तित हुनुहुन्छ?'
धन सिंले एकै सासमा भन्यो।
'तुलसा हिराको टुक्रा जस्तो हाम्रो छोराले आज बिहान तिमी काममा निस्की सकेपछि एकाएक जंगेर मसँग मेरो औकातभन्दा निकै माथिको कुराको माग गर्यो। उनको माग समयअनुसार ठिकै हो। उनको कुरा मनासिब नै हो। तर हाम्रो दयनीय अवस्थाको निम्ति त्यो कुरा धेरै ठूलो हो।'
तुलसा अलि झोक्किएर बोलिन्।
'कति कुरा घुमाउन जानेको। सिधै भन खास कुरा के हो?'
धन सिं पनि झोक्केर बोल्यो- तिम्रो छोरालाई बाइक चाहियो रे! लु आफै भन? छ हामीसँग त्यति धेरै पैसा, जुन पैसाले उनको निम्ति बाइक किन्न सकूँ।
धन सिंको कुरा सुनेर तुलसा अवाक् भइन्। के बोल्ने, के नबोल्ने अन्यौलमा परिन्। बोल्नलाई शब्द नै भेटिएन।
बागमतीको किनारको सुकुम्बासी बस्तीको बसाइँ। ब्लकले बनाएको सानो दुई कोठाको छाप्रो, छाप्रोको छानामा छाएको जस्तपाता खिया लागेर नयाँ फेर्न नसकेको त वर्षौं भएको सत्य उनकै अगाडि छ सप्रमाण।
अनि एक्कासि छोराको बिचल्ली पार्ने विचित्रको मागले दम्पतीको कोखा छेड्ने गरी चोट दिलायो।
तुलसाले सोधिन् धन सिंलाई।
'अनि खोइ त हितेस आको छैन अझै?'
'छैन! बिहानै गएको फर्केको छैन अहिलेसम्म। कहाँ गएको हो। केही भनेर गको पनि होइन। बस् एक्कासि बाइक किन्नुपर्यो भन्दै निस्केको।'
तुलसा साँझको खानाको निम्ति भान्सा कोठातिर लागिन्। धन सिं कोठामा नै टोलाएर बसिरहेका थिए।
साँझ ढल्केर रात पर्दै थियो। एकाएक धन सिंको छाप्रोमा आइपुग्ने गल्लीमा कल्याङ्ग-मल्याङ्ग आवाज गुञ्जिन थाल्यो। आवाजसँगै हितेसको आगमन भयो।
बिचित्रको अवस्था बोकेर। स्वर लरबरेको थियो। गोडाको चाल साबिकको जस्तो थिएन। बिल्कुल फरक थियो पहिलाको भन्दा।
'ओ बा! के भयो मैले बिहान गरेको कुरा? खोइ आमा?' लडखडाएर जुत्तासँगै खाटमा पल्टेर नानाभाती बोल्न थाल्यो।
'म तिमीहरूको एक्लो छोरा। जाबो एउटा छोराको माग पूरा गर्न नसक्ने कस्तो खालको बा-आमा तिमीहरू।'
छोराको आवाजले आमा पनि आइन् उहीँ कोठामा। आमाले छोराको नजिक गएर नियालिन्। छोराको यस्तो अनियन्त्रित हविगत देखेर मदिरापान गरेर आएको प्रष्ट भयो।
'वाह! छोरा धन्यवाद तिमीलाई। धेरै राम्रो कर्म गरेर आएछौ। अब त ठूलो भएछौ। तिमीलाई हाम्रो होइन मदिराको साथ चाहिने भएछ।'
उता धन सिं कुनामा बसेर आँखा झिमिक्क नगरीकन छोराको बहादुरी नियाल्दैछ। उनी बोलेन छोरासँग, बोल्ने कोसिस पनि गरेन। यसरी पहिले कहिल्यै देखेको थिएन छोराको यस्तो अनैतिक अनौठो रूप।
सम्झे आफूले गरेको मेहनत। तुलना गरिहेरे छोराको हविगत र छोरामाथि देख्दै आएको सपनाहरू।
उता श्रीमती रूँदै छोरालाई सम्झाउँदै छे। छोरा नसाको तालमा नसोचेको बकवास कुराहरू गर्दैछ।
'हेर बा! मैले तिमीलाई अरू-अरू साथीले जसरी बा-आमासँग पटक पटक ठूला-ठूला कुरा मागेको छैन। तीन आँखे एप्पलको मोबाइल, होलिडे टुरको निम्ति धेरै रकम, बजारमा आएको नयाँ-नयाँको ब्राण्डेड लत्ताकपडा। पहिलो पटक राखेको माग हो। साथीहरूको अगाडि मलाई पनि उनीहरू जस्तै बनेर हिँड्न मन लाग्यो। ए बा! के मन लाग्नु भनेको अपराध हो र?'
छोरा के-के बोल्दा-बोल्दै निदायो। बुढाले बुढी, बुढीले बुढाको मुख हेरिरहे। केही बोलेनन्। दुबैको आँखामा आँसु भरेको थियो।
रात छिप्पिँदै गयो। खाना पाकिसकेको भए पनि खान मन लागेन दुबैलाई।
'तुलसा कस्तो रहेछ है हाम्रो भाग्य?'
तुलसा बोलिन्- खै कस्तो-कस्तो।
'के होला है यो भाग्य भन्ने कुरा पनि?'
'इमानदार साथ मेहनत गरे राम्रो हुन्छ भन्थ्यो। खैत हामीले जति इमानदार भएर दु:ख गरे हुने त केही होइन रहेछ। कति धेरै सपनाहरू सजायको थियौं छोरामाथि। आज छोराले हाम्रो सपनाहरूलाई हत्या गर्यो। पहिले त त्यस्तो थिएन। कसरी बदलाव आयो ऊमाथि। कसलाई बनाऊँ दोषी। तपाईंलाई? कि मै हुँ दोषी जसले उनलाई जन्मायो।'
धन सिंले भन्यो- त्यस्तो नभन दोष र दोषीभन्दा पनि ऊ जे हुन जन्मेको हो। त्यही भै छाड्छ। हामीले बाटो देखाउने हो, हिँड्ने ऊ आफै हो।
कुराहरू गर्दागर्दै रात निकै बितिसकेको थियो। सुत्न लाग्दै गर्दा एकाएक आकाश गर्जिन थाल्यो। गडाङ्ग-गुडुङ्ग गरेर। केहीबेरमै पानी पर्न थाल्यो। पानीको आवाजले जस्तापातामा ठोकेर झनै ठूलो हुँदै थियो कर्कस ध्वनि।
कर्कस ध्वनिले आउन लागेको निद्रालाई टाढा पुर्याउन सहयोग गर्यो।
एउटा कोठामा छोरा हितेस अर्ध चेतमा मस्त निदाइरहेको छ। अर्को कोठामा धन सिं र तुलसा निदाइरहेका छैनन्। पर्खिरहेका छन् निन्द्रालाई। तर निद्रा फिटिक्कै आउँदैन। उनीहरूको छेउछाउसम्म।
रातभर मुसुलधारे पानी परिरह्यो। निद्राबिना नै कटायो त्यो रात। अनिँदो रात, अनगिन्ती कल्पनाको नदीमा डुबुल्की मार्दै उत्रँदै गरेको भयंकर रात।
अनुमानको खेतमा रोपेको सफलताका बालीरूपी सपनाहरू निर्घात निर्मम मृत्युवरण गर्दै गरेको टिठलाग्दो यथार्थको समीक्षा गर्न बाध्य बनाएको कालो रात।
उज्यालो भयो। उज्यालोसँगै उठे सारा जगत। बागमतीले रूप फेरेको थियो रातभरीको झरीको कारण। झरीसँगै ह्वात्तै बढेको शक्तिसँगै बगाएर लग्दै थियो सारा काठमाडौंबासीको लाज।
बागमतीको बाढी वारपार भएको थियो।
झण्डै-झण्डै सुकुम्बासी बस्तीको सुन्दर बस्तीलाई खोला बनाएन।
बस्ती खोलामा परिवर्तन नभए पनि बस्तीमा बस्दै आएको बालकदेखि वृद्धसम्मको होसहवास बग्दै थियो टाढाटाढासम्म पुग्ने गरी बागमतीसँगै।
धन सिं र तुलसा ब्युँझिन परेन। किनभने ब्युँझिनु पर्नेगरी निदाएको भए पो! र पनि ब्युँझेको स्वाङ गर्दै उठे। आधा-उधि भिजेको ओछ्यान उठाए। सानै भए पनि छाप्रोको आँगनमा सानो तुलसीको मठ बनाएको थियो। त्यहीँ मठमा जहिले पुजा गर्थ्यो।
तर आज आँगनमा तुलसीको मठ थिएन। मठ बागमतीको बाढीसँगै गंगा जीलाई भेट्न बगेको थियो टाढा पुग्ने गरी। तुलसालाई के गरौं के भयो। जहिले आँगनमा गर्ने पूजालाई कोठाको भित्तामा झुन्डिएर राखेको देउताको फोटोमा सीमित गरिन्।
अनि हिजो बेलुकीदेखि अलसतलस भएर सुतेको छोरालाई उठाउन छोराको कोठामा गएर छोरालाई उठाइन्।
छोरा उठ्यो।
आमाले हिजो बेलुकीको हरकत पूरा सुनाइन् छोरालाई।
'छोरा के हो पारा तिम्रो? कसको कुरा सुनेर उम्लेको यसरी? मान्छेले घोडा चढ्यो भन्दैमा, धुरी चढ्ने हो र छोरा?'
आमाको अनेक प्रश्नले छोरा उरेन्ठ्याउलो केटोले अरिङ्गालको गोलामा हान्दा बिच्किने अरिङ्गाल जसरी बिच्के।
हिजो जसरी बालाई प्रश्नमाथि प्रश्न तेर्स्याएको थियो त्यसरी नै आमालाई पनि प्रश्न गरे।
'हो आमा! मलाई मैले भनेको कुरा चाहियो। जसरी हुन्छ।'
छोराको यस्तो हर्कत देखेर आमा खुब रोइन् मनमनै।
छोराको यस्तो अडबांङ्गे कुराले बा र आमाको मनलाई चिरा चिरा पारे। मनभरी थियो रहर, चाहना, इच्छा, धेरैधेरै।
तर ती कुराहरू पूरा गर्न चाहिने भने जति जेथा थिएन। त्यही भएर छोराको माग पूरा हुन सकेन। छोरालाई लाख बुझाउने कोसिस गरे। कोसिसहरू थला परे। यसरी दिनप्रतिदिन छोराको आनीबानीमा फरक हुँदै आयो। बा- आमाको कुराले छोएन छोरालाई।
विस्तारै-विस्तारै छोरा बस्ने गरी आउन छाडे छाप्रामा। अन्तै कतै बा-आमाले नचिनेका अज्ञात ठाउँमा बस्न थाल्यो। कसरी बस्यो, कोसँग बस्यो, ती कुरा पटकपटक सोधपुछ गर्दा पनी भन्दै भनेन बा-आमालाई।
ज्ञानी छोरा अज्ञानी बनेर अज्ञात बाटोको यात्रामा लाग्यो। बुढा हुँदै गरेको बा-आमाको बुढा कुरा झिँजो मान्दै छोरा हितेस टाढा टाढा हुँदै गयो।
धन सिं बिस्मातको बुटामा अल्झिरहेको छ।
'मसँग छोराले मागेको कुरा पूरा गर्ने ल्याकत भएको भए, पुरानो हुँदै गएको मसँग नयाँ जोस र जाँगरले ओतप्रोत मेरो छोरा मैसँग हुन्थ्यो।'
धन सिं र तुलसा डुब्नै लागेको डाँडाको घामजस्तै उमेरमा पुगिसकेका छन्। धेरै हेरे छोरा फर्केर आउँछ कि भनेर गोरेटो। तर कहिल्यै आएन छोरा। बेला-बेलामा छोरी आउँछिन्। माइती घर सम्झेर अनि छोरीले जाऔं हामी सँगै। उतै गएर सुखदुःख बाँडेर जीवन कटाउला भन्छिन्। छोरीको कुरालाई अस्वीकार गर्छन् दुबै जोई-पोईले नदेखिने स्वाभिमानलाई बहाना बनाउँदै।
बकवास विकासप्रेमी नेताको भाषणमा बाँचिरहेका छन् हराभरा बागमती। यथार्थमा बागमती दुरूस्तै उस्तै छन् जस्तो पहिला थियो। बागमती बगेर टाढा पुग्यो। तर किनारा उहीँ छ। अनि बागमती किनाराको सुकुम्बासी बस्ती। साथमा बस्तीभित्रको छोराछोरीको रहर, सपनाहरूको साथ बा-आमाको बिलौना।