म लालीगुराँस
गुनासो छैन केही
फुल्नु मेरो धर्म हो
फुल्छु लेक बेसीमा
भुल्छु बेवारिसीमा
चिन्ता छैन
झरी जानुमा
सुकी जानुमा
तर
महामानव
वनमा छिरेपछि
कोपिला निमोठ्न थालेपछि
पछ्याउँदै आउने
वनचरी आउन छाडे
झुम्दै डालीमा बस्ने
मिठो धुन सुनाउने
चराहरू डराउन थाले
हराउन थाले
स्पर्शले नै काउकुती लाग्ने
ती पुतलीहरू
भाँच्छन्, लाछ्छन् हाँगा
गड्याम गुडुम
डरले धरमराउँछु
आत्तिन्छु
च्यात्छन् फूल
पिरोलिन्छु
रमाउँछन् तिनीहरू
मेटाइदिन्छन् फुल्ने धर्म
केही ऋतुको लागि
हुन्छन् खुसी
किन मानिस
सधैँ अरूको अस्तित्व मेटाई
आफू बलवान् हुन चाहन्छ
उसको चाहनाले
बहानाले
उसले त धर्म
भुल्यो भुल्यो
सक्कायो
सबै सबैको अस्तित्व पनि।