एउटा नयाँ ग्रह पृथ्वी जस्तै फेला परेको थियो। जसको नाम ‘बेबी अर्थ’ राखियो। मिल्की वे ग्यालेक्सीकै सम्मुख हुनाले त्यहाँ पुग्न सम्भव थियो।
यसको लागि वैज्ञानिकहरूको रकेट लन्चको तयारी लगभग अन्तिम चरणमा पुगिसकेको थियो। रकेट ठुलो आवाज निकाल्दै आकाश उधिन्न खोजे जसरी अग्लियो, चराको आकृतिमा बद्लियो। जमिनबाट तालीको गडगडाहट मधुर हुँदै गयो।
मानव इतिहासकै सबैभन्दा ठुलो पल आजको हुनेछ। विज्ञानले आज यस्तो फड्को मारेको छ जुन सम्भव भयो भने केही समयमा नै पृथ्वीका मानिस बसाइ सरेर त्यस ग्रहमा पुग्नेछन्। यो मानव जगत्, विज्ञान जगतको लागि ऐतिहासिक क्षण भएता पनि चालक दलमध्ये सुजल झनै बढी एक्साइटेड थियो।
रकेटले पृथ्वीको गुरुत्वलाई छेडिसकेका छन् र प्रवेश गर्दैछन् त्यो नव ग्रहतर्फ। वैज्ञानिकहरू क्यामरामा रकेट गइरहेको फुटेज हेर्दै आनन्द मनाइरहेका थिए।
‘वि आर अबाउट टु ल्यान्ड बेबी अर्थ’ सुजलले सिग्नल पठायो।
ल्यान्डिङका नाममा पृथ्वीका वैज्ञानिकले हातको वाइन चियर्स गरे।
केही समयमा सिग्नल टुट्यो। वैज्ञानिक सबैका आँखा क्यामरातर्फ मोडियो, उनीहरूको मन आत्तिइसकेको थियो। क्याप्टेन सुजलसँग कुराकानी गर्ने कोसिस कोसिस मात्र रह्यो। आजसम्मको मेहनत आकाशमै खस्यो, हातमा रहेका ग्लास भुइँमा खसे।
***
रकेट दुर्घटनामा चालक दल सदस्य सुजल हुत्तिएर जमिनमा पछारिन्छ। उठेर आफ्नो वरिपरि हेर्छ। आफूसँग आएका चार जनाकै जलेर मृत्यु भइसकेको थियो। ऊ दौडिँदै जलिरहेको रकेटतर्फ पुग्छ, आफ्ना साथीहरू खोज्छ। उनीहरूको शरीरको एक अंश पनि बाँकी थिएन। आँखाबाट तप्प आँसु झर्छ।
ऊ रकेटबाट टाढिन्छ। ऊ निकै भाग्यमानी त थियो, त्यत्रो ठुलो घटना हुँदासमेत केही भएन। तर अभागी पनि थियो, आफ्नो भन्ने कोही रहेन।
आकाशले आफ्नो गर्भबाट एउटा सन्तान जन्मायो। जन्म एक पटक मात्र नहुने रहेछ, पृथ्वीमा हुर्किएको सुजल नयाँ ग्रहमा फेरि जन्मियो। सानैमा जन्मिँदा खान जानेको थिएन, खाना थियो, खुवाउने मान्छे थिए। आज खान जानेको छ तर खानेकुरा थिएन।
हिजो केही होस थिएन, केवल जन्म थियो। आज सबै होस थियो तर केही चेत थिएन।
पृथ्वीमा धेरै कुरा बुझेको सुजल नयाँ ग्रहमा अनविज्ञ भयो ठ्याक्कै जन्मिँदा जस्तै।
सुजलसँग अब न फर्किने उपाय थियो, न जिउँदै छु है भनेर सिग्नल पठाउने कुनै संयन्त्र। ऊ एक्लो थियो, अग्लिएका मान्छे एक्लै भए जस्तै।
उसले चारैतिर नियाल्यो। मरुभूमि जस्तो ठाउँ, पर-पर पृथ्वीमा जस्तै जङ्गल, निलो आकाश, मन्द बगिरहेको हावा, हावालाई अक्सिजन मास्क बिना सजिलै नाकभित्र छिराउन सकिने।
आकाशले सन्ध्याको आगमनको रातो दीप बालेर सूचना दियो।
ऊ उठ्यो र केही पर हिँड्यो। फेरि सोच्यो बस्ने व्यवस्था त गर्नै पर्छ, अघि नै जलेको रकेटतर्फ फर्कियो। मरुभूमिमा त्यहाँका केही सामान बटुलेर सुत्न मिल्ने जस्तो टेन्ट तयार पार्यो।
भोकले पेट कटक्क गरे पनि आजको रात यसरी नै बिताउनु पर्ने हुन्थ्यो उसलाई। रातमा केही नहोस्, नयाँ आकाशतर्फ हेरेर पुरानै भगवान् कल्पियो। झिलिक्क आकाश चम्कियो मानौँ उसले आफ्नो सन्तान हुर्काउने जिम्मा लिइसक्यो।
चिसो बढ्न लाग्यो, सुजल लुगलुग काँप्यो। आज दिउँसोको घटनाले फेरि बिथोलिन लाग्यो।
चार जना आएका थिए उनीहरू। ल्यान्डिङ गर्ने बेलामा अनुभव खुसीले उफ्रिएको थियो, रिम हातले ‘एस वि डिड इट’को इशारा गर्दै थियो, सरिमा सुजलसँग बोल्दै थिई।
‘सुजल, तिमी यहाँबाट फर्किएपछि के गर्छौ?’ सरिमाले सोधेकी थिई।
‘अर्को ग्रहमा जाने तयारी अनि तिमी?’ सुजलले सोधेको थियो।
‘म यो ग्रहको अनुभव बारेमा सारा संसारलाई सुनाउने छु। अनि शान्तसँग एउटा आनन्दको रिटायर्ड जीवन बिताउने छु,’ उसले हाँस्दै भनेकी थिई।
त्यही बेला आकाशमा केहीसँग ठोक्किएको रकेट जल्न सुरु गरिहाल्यो। के भयो भन्न नपाउँदै पड्किहाल्यो। खै! कसरी ऊ चाहिँ बाँच्यो, साथीहरू त धेरै बेर छटपटिन पनि पाएनन्। सम्झेर सुजल छटपटियो। सरिमा यो ग्रहको कहानी सुनाएर नयाँ जीवनमा उदाउन चाहन्थी तर ऊ यही अस्ताइसकेकी।
सुजललाई पृथ्वीमा आफ्ना साथीहरूसँग बिताएका दिन सम्झेरै आँखामा एक रति निद्रा छैन। सहर छिरेकालाई गाउँको याद आए जस्तै, बिदेसिएकोलाई देशको सम्झना भए जस्तै, ऊ आकासिएको भएर होला सिङ्गो पृथ्वीप्रतिको माया लागेर आएको थियो। ओहो! कस्तो अविच्छिन्न माया पूरै ग्रहको। यो अनुभव सुजलले त गर्न पायो।
सुजल फेरि सम्झिन्छ साथीहरूसँग गरेको ट्रेनिङका रमाइला पलहरू। उनीहरूले फरक-फरक देशबाट यो ग्रहमा आउनका लागि एप्लाई गरेका थिए। फाइनल छनौटपछि एउटै ठाउँमा राखेर परिचय गराइएको थियो। हात मिलाउँदै सरिमाले सुरुमा सुजलसँग परिचय गरेकी थिई। क्रमशः रिम र अनुभवसँग चिनजान भएको थियो।
ट्रेनिङ हलको माथि रुफ टपमा रहेको क्याफेमा बसेर उनीहरू आकाशतर्फ हेर्दै सपना बुन्थे। अनेक विषयमा छलफल गर्थे। कहिलेकाहीँ एलियनको वास्तविक आकृतिको कल्पना हुन्थ्यो। कहिले त्यही हराइयो भने कसरी बाँच्ने भन्ने विषयमा विचार विमर्श चल्थ्यो। कहिले सबै छोडेर एक अर्काका कमजोरीमा खिल्ली उडाउँथे।
अनुभव र रिम सुजल र सरिमालाई सुन्दर जोडी भन्दै जिस्काउन छाड्दैन थिए।
कहिलेकाहीँ ऊ आफैले पनि सरिमासँग जीवनभरको साथको अपेक्षा गरिरहन्थ्यो। यो उडानपछि अर्को उडान भर्नुपूर्व ऊ सरिमालाई भन्ने सोचमा पनि थियो, सरिमा आऊ ग्रहबाट टाढा रहेर अब जीवनको सँगै उडान भरौँ।
सायद त्यो सुन्दा सरिमा लजाउँदी हो या खुसीले मुस्कुराउँदी हो। ऊ आफै मुस्कुराउँछ।
***
विगत सम्झेर मुस्कुराएको सुजल, वर्तमानमा फर्किँदा निचरियो। मुटु भक्क फुलेर आयो। मन चरक्क गर्यो। तत्काल उसले देख्यो पर कतै बत्ती बले जस्तो।
उसलाई लाग्यो अप्टिकल इलुजन हो। मरुभूमिले आफ्नो विचित्रको कला यसरी त देखाइरहन्छ। आँखा मिच्यो।
बत्तीको आकारसँगै वेग बद्लियो। आकाशको बाटो हुँदै कोही आउँदै थियो। आकाश बिजुलीले पूरै रङ्गियो।
‘कतै एलियन त होइनन्?’ सुजलले मनमनै सोच्यो र आत्तियो।
उसले बारेको टेन्ट सहजै देखिन्थ्यो तसर्थ ऊ सजिलै उनीहरूको हात लाग्न सक्थ्यो। बत्ती नजिकै आयो। एकैछिनमा ठुला-ठुला यन्त्रहरू आएर बिसाए। विस्फोट भएको रकेटलाई आफूमाथि चढाए।
सुजल भाग्न खोज्यो। तत्काल कसैले सुजलको हात समात्यो अनि आफ्नो भाषामा केही बोल्यो। हेर्दा मान्छे जस्तै देखिने भए पनि मान्छेको जस्तो हुबहु जीउडाल नभएका। अग्ला, मोटा, टाउकोमा सिङ उम्रिए जस्तो विचित्रका एलियन थिए। उनीहरू केही बोल्दै थिए।
सुजलले उनीहरू बोलेको बुझ्न सक्दैनथ्यो। अगाडि एउटा कार थियो। औँला त्यतैतर्फ तेर्सिएकोले कारमा बस्न अनुरोध होला भन्ने अनुमान गर्यो र सरासर उक्त कारतर्फ तेर्सियो।
कारको ढोका आफै खुल्यो र लाग्यो।
अटो पाइलट कारका पङ्खा निस्किए। एकैछिनको हावाको उडानपछि कारले एउटा इन्डिकेटर दियो। जङ्गल पूरै उध्रियो र विचित्रको सहर देखियो। त्यस सहरको बिल्डिङहरू चुम्बकीय शक्तिले आकाशमा उडिरहेका भए पनि लस्करै राखिएको पुस्तक जस्तै व्यवस्थित थिए।
कारहरू आफ्नै बाटोमा पङ्खा फिँजाएर फैलिरहेका थिए। अघि उसले देखेको जङ्गल र मरुभूमि त नयाँ मान्छेलाई झुक्काउन बनाइएको इलुजन ल्यान्ड रहेछ। लुकेको सहर विकासको चरम अवस्थामा देखिन्थ्यो। सुजलसँगै अरू कारहरू सँगसँगै आइसकेका थिए।
जमिनमा उत्रिएको उक्त कार एउटा भव्य महलमा प्रवेश गर्यो। बिहानको प्रहर हुँदै थियो। हातमा चिप लिएको एलियनले चिप एउटा पोलमा घुसार्यो, बडेमानको गेट खुल्यो। त्यहाँबाट उसलाई खाने, सुत्ने रूपमा पुर्याइयो।
सुजलको अगाडि उसले पृथ्वीमा खाने जस्तै खानेकुरा आइपुग्यो।
‘वेलकम टु आवर भिन्टेज प्लानेट मिस्टर सुजल, वि आर भेरी ग्ल्याड टु वेलकम यु हियर’ कोठाभित्र भित्ताबाट आवाज आयो। भित्ता बोलेको पहिलो पटक सुजलले सुन्यो।
उसले बुझ्यो ग्रहको नाम भिन्टेज रहेछ। ऊ चुपचाप खाना खान लाग्यो।
‘यु सिम्स भेरि टायर्ड, टेक अ रेस्ट मिस्टर सुजल। दियर विल बि अ मिटिङ इन दिस नुन,’ भित्ताले पुनः बोल्यो।
एकातिर पृथ्वीबाट टाढिएको चिन्ता, साथीहरू गुमाएको पिर अनि यो अनौठो ठाउँ, एलियनहरू र बोल्ने भित्ताहरू। सुजल सबैलाई बिर्सने कोसिस गरेर केही समय निदाउँछ।
***
एउटा ठुलो हलमा सुजललाई भित्ताका आवाजले डोहोर्यायो। हलभित्र पुग्दा सुजल झन् दङ्ग पर्यो। त्यहाँ विचित्रका एलियनहरू बसेका थिए। उनीहरू सबैलाई आफ्नो बाहेक अर्को आकृति विचित्र नै लागिरहेको थियो।
केही समयमा भिन्टेज ग्रहका प्रमुख त्यहाँ उपस्थित भए।
उनको हातमा अत्याधुनिक ल्यापटप र त्यसैमा जोडिएको माइक्रो फोन थियो। उनले आफू पछाडि केही सेटिङ गर्न लगाए। ठुलो पर्दामा १०० ओटा ग्रहहरू देखिए। जहाँ पृथ्वी पनि देखियो। सबैको कानमा हेडफोन जोडियो।
प्रमुखले सुजहरू बसेतर्फ रिमोट चलाए। उनीहरूको खुट्टा मुनिको भुइँ च्यातिँदै गयो, सिसामुनि सारा ब्रह्माण्ड छर्लङ्ग देखियो। उनीहरू हावामा तुर्लुङ्ग झुन्डिए जस्तो भए। सबै जना आत्तिन थाले। त्यो देखेर प्रमुखले पुनः भुइँलाई यथावत् अवस्थामा ल्याएर बोल्न थाले-
‘तपाईंहरू सबैलाई भिन्टेज ग्रहमा स्वागत छ। यो ब्रह्माण्डको सय ओटा ग्रहबाट तपाईंहरू आउनु भएको छ। तपाईंहरूले लगाउनु भएको हेडफोनमा तपाईंहरूकै बोलीचालीको भाषा इन्स्टल गरिएको छ। आउनुहोस् म तपाईंहरूको आफ्नो आफ्नो ग्रहबाट यहाँसम्मको यात्रा पर्दामा देखाउँछु।’
यति भनेर उनी अर्को छेउमा पुगे। पर्दा खुल्यो र सबै जना आफ्नो ग्रहबाट यहाँसम्म आएको दृश्य देखियो। जहाँ जानी जानी सबैको रकेटमा केही आएर ठोक्किएको थियो। सबै रकेटबाट एक-एक जनालाई तानेर बचाइएको थियो भने बाँकीलाई जल्न छोडिएको थियो।
सुजलको मन आफ्नो साथीहरू जलेको पुनः देख्दा भक्कानिएर आउँछ। उसलाई यो ग्रहका मानिससँग रिस पनि उठ्छ। बदला लिने अठोट गर्छ तर ऊ केही गर्न असमर्थ थियो।
मनमनै कुँडिए पनि सम्हाल्यो।
सुजल लगायत सबै एलियनहरू भिन्टेज ग्रहमा आएको, आफू बाँचेको र अरू जलेको सबै दृश्य सकियो। प्रमुखले फेरि बोल्न सुरु गरे।
‘हाम्रो अस्तित्व त्यति बेलाको हो, जब तपाईंहरूको ग्रह छुट्टिएको सूर्य पनि जन्मिसकेको थिएन। हाम्रा इतिहासका गल्ती जस्तै तपाईँहरू पनि उही गल्ती दोहोर्याउँदै हुनुहुन्छ। यो ब्रह्माण्ड खोतल्न, नयाँ-नयाँ ग्रहमा छेडछाड गर्न बन्द गर्नुहोस्। सक्नुहुन्छ भने यन्त्रवत बन्न नखोज्नुहोस्। हामीले ब्रह्माण्डका सारा ग्रह उनीहरूकै आकाशमा नियाल्यौँ तर अन्ततः के पायौँ? शून्यता। हामीले बुझ्यौ खोजको पनि अन्त्य हुने रहेछ र त्यो क्युरिसिटीको अन्त्य नै सबैभन्दा पीडादायक हुँदो रहेछ।
खरबभन्दा बढी वर्षदेखि सारा ब्रह्माण्डका सत्य सोधखोज गरेर बुझेपछि हामीले नयाँ बाटो रोज्यौँ। नयाँ ढङ्गले सोच्यौँ। जहाँ छौँ, जस्तो छौँ, त्यसैलाई प्रेम गर्ने। जीवनको सारलाई यन्त्रबिना बुझ्ने कोसिस गर्ने। किनकि असीमित खोज अन्ततः रित्तोपन र दुःख मात्र बोकेर आउने रहेछ।
नआत्तिनुहोस् हामी न त तपाईँलाई बन्धक बनाउँछौँ, न शत्रु मान्छौँ। तर एउटा मात्र अनुरोध छ; ब्रह्माण्डमा अनावश्यक छेडछाड बन्द गर्नुहोस्। जति अग्लिए पनि, जति फैलिए पनि, अन्त्य धर्तीमै हुने रहेछ। अन्त्य शून्य हुन्छ। शून्यको प्राप्तिपछि बल्ल आफ्नो माया लाग्ने रहेछ। अहिले हामीलाई पछुतो छ, आफैलाई बिर्सेर ब्रह्माण्ड पहिचान गर्न हिँडेकोमा। हामी चाहन्छौँ त्यही बाटो हिँडेर फेरि कसैले दुःख नपाओस्।
यो हाम्रो पहिलो र अन्तिम आग्रह हो। यदि अस्वीकार गर्नुभयो भने ब्रह्माण्डका पुराना यात्रीको नाताले हामी आफ्ना भयानक अनुभवहरू प्रयोग गर्न बाध्य हुनेछौँ। आज तपाईंहरूले केही साथी गुमाउनु भएको छ, भोलि तपाईंको कारणले सिङ्गो ग्रह गुम्न सक्छ।
अब आफ्नो घर फर्किने तयारी गर्नुहोस्, तपाईंहरूको रकेट पुनर्निर्माण भइसकेको छ।’
‘हामी तपाईंका शत्रु होइनौ र तपाईंहरू शान्ति चाहनुहुन्छ भने हाम्रा साथीहरू किन मार्नुभयो?’
सुजल आक्रोशित भएर प्रश्न गर्छ। अरूले होमा हो मिलाउँछन्।
‘समयले सबैको कुराको जवाफ दिनेछ। अहिले तपाईंहरू जिउँदै हुनुहुन्छ यसैमा खुसी हुनुहोस्,’ प्रमुखले मुसुक्क हाँसेर जवाफ दिन्छ र बाहिरिन्छ। अन्य एलियन आएर उनीहरूलाई आफ्नो आफ्नो ग्रहतर्फ पठाउने तयारी गर्छन्।
***
साथीहरूको सम्झनाले भारी मन बोकेर सुजल धर्तीको आकाशतर्फ झर्दै थियो। एकाएक आकाशमा टल्किएको उज्यालोको पृथ्वीका वैज्ञानिकहरूले सिग्नलका पाए। त्यो उज्यालो झन् नजिक आयो र पृथ्वीमा अवतरण गर्यो।
सैनिकहरू चारैतिर घेरिए, कौतुहलता नजरले भीड बढ्दै गयो। सुजल रकेटबाट निस्कनासाथ सैनिकहरूको नियन्त्रणमा पर्यो, उसलाई सिधै वैज्ञानिक जेलमा पुर्याइयो जहाँ अरू ग्रहबाट आएका एलियनहरू पनि कैद थिए।
सुजललाई देखेर कैदी एलियनहरू झस्किए, केही अनुहार त भिन्टेजमा अन्य ग्रहबाट आएका एलियनहरूसँग मिल्थे। क्षणभरमै उसले उनीहरूको ग्रह चिनिहाल्यो।
भोलिपल्ट कडा निगरानीमा सुजललाई सोधपुछ कक्षमा लगियो।
सोधपुछ कक्षतर्फ लैजाँदा बाटोमा विज्ञान सङ्ग्रहालय भएर लगियो। सुजलले सङ्ग्रहालयका भित्तामा नजर डुलायो। आफ्नो र साथीहरूको फोटोमा माला चढाइएको थियो। छेउको पात्रोमा मिति देखिन्थ्यो। त्यसै क्षण ऊ चकित भयो, आकासिएर झरेको त सय वर्ष पो भइसकेछ!
भिन्टेज ग्रहको प्रविधिले गर्दा उसमा बुढेसकालको चिन्ह देखिएन यद्यपि समय रेखाको कारण पृथ्वीमा फर्किँदा सय वर्ष कटिसकेको थियो।
पृथ्वीमा अब उसले चिनेका र उसलाई चिनेका कोही बाँकी थिएनन्। प्रकृति रूपान्तरण भइसकेको थियो, मानिसका प्रवृत्ति फेरिएका थिए। एक शताब्दी अघिको सपना आजको यथार्थ थियो। तर सुजलले भिन्टेज ग्रह देखिसकेको थियो जहाँ विज्ञानले सबै उपलब्धि पार गरेर अन्त्यको शून्यतामा थियो।
अकाट्य भनेको आफैसँगको प्रेम र शान्ति मात्रै रहेछ भन्ने बुझिसकेको थियो। त्यसैले पृथ्वीका नवीनतम आविष्कार उसलाई अब निरर्थक लाग्थे। यी सबै क्षणिक सनक मात्र थिए। अब ऊ बस् शान्त हुन चाहन्थ्यो र सकेसम्म सबैलाई शान्त गराउन।
उसमा यस्तो परिवर्तन आइसकेको थियो मानौँ सगरमाथाको शिरबाट संसार चियाएपछि कुनै अन्य साना डाँडामा चढिरहन लोभ नभए जस्तो।
भित्तामा झुन्डाएको फोटो देखेपछि उसलाई चारै जनाको फेरि याद आयो। अझै बढी सरिमाको, सायद बाँचेको भए नयाँ जीवन यहाँबाट सुरु गर्थे होलान् उनीहरू।
सुजलले देख्यो पृथ्वीका मानवलाई आकाशसँग झनै मोह बढेको रहेछ। देश देशमा कसले धेरै रकेट नयाँ-नयाँ ग्रहमा पठाउने होडबाजी नै चलेको थियो।
एलियनको पछाडि कुदेको संसार सुजललाई पनि सोही रूपमा हेर्दै थियो। सोधपुछ कक्षमा उसले सारा कुरा बेलिबिस्तार लगाएर भन्यो। आफूसँग भएको भिडिओ प्रमाण देखायो। जुन फर्किने बेलामा भिन्टेज ग्रहको प्रमुखले सबैलाई भिडिओ रेकर्ड दिँदै भनेको थियो- यो नै तपाईंहरू आफ्नो ग्रहमा बाँच्ने हतियार हुनेछ।
सुजलका सबै कुरा सुनिसकेपछि र उसले देखाएका भिडिओ देखिसकेपछि वैज्ञानिकहरू आत्तिन थाले। उनीहरूले ‘मिसन बेबी अर्थ’ सुरु गर्दै थिए। यहीँ बेलामा एस्टरोइड्स पृथ्वीतर्फ आउँदै गरेको जानकारी उनीहरूसँग थियो। जसको निदान अहिलेसम्म पत्ता लागिसकेको थिएन। बल्ल उनीहरूले यसको कारण र समाधान बुझे।
त्यसै रात विश्वका महत्त्वपूर्ण मिडियाहरूबाट समाचार बज्यो- ‘सय वर्षपछि जिउँदै फर्किए, मिसन बेबी अर्थका चालक दलका सदस्य क्याप्टेन सुजल।’
त्यसको भोलिपल्टै अर्को समाचारले चर्चा बटुल्यो- ‘मिसन बेबी अर्थ सधैँको लागि बन्द गरिएको छ, वैज्ञानिकहरूले अब आकाश छोडेर पृथ्वी भित्रकै जमिनमा खोजी सुरु गर्नेछन्।’
‘मान्छे किन पाइरहेको कुरामा चित्त बुझाएर शान्त बस्न नसक्ने होला?’ सुजल मनमनै सोच्छ।
***
करिब ५ वर्षपछि एउटा रकेट पृथ्वीमा ल्यान्ड गर्छ। तीन जना टाउकोमा सिङ उम्रेका एलियन रकेटबाट निस्कन्छन्। आकाशमा काम गर्न छाडिसकेका वैज्ञानिकलाई यो घटना रहस्यमय लाग्छ।
सैनिकले उनीहरू तीनै जनालाई समातेर लैजान्छन्।
सोधपुछ सुरु हुन्छ। उनीहरू ती तीनै जना सरिमा, रिम र अनुभव हुन्छन् जो एक सय पाँच वर्ष पहिले मिसन बेबी अर्थमा भिन्टेज ग्रहमा इलुजन ल्यान्डमा जलेका थिए। वास्तवमा उनीहरूको जलन पनि इलुजन नै थियो।
उनीहरूमाथि एक्स्पेरिमेन्ट गरेर आफू जस्तै बनाएर समय रेखाले उनीहरूको उमेर र पृथ्वीको उमेरमा प्रभाव नपर्ने बनाएर भिन्टेज ग्रहले पृथ्वीमा फिर्ता पठाइएको थियो।
उनीहरू अब पृथ्वीका लागि भिन्टेज ग्रहका दूत थिए। जसले हर हालतमा मान्छेहरूलाई शान्त रहन प्रेरित गर्थे। आफ्नै संसारमा रमाउन सुरु गरिसकेको सुजललाई एउटा मेल आउँछ।
‘वि आर ब्याक, लेट्स मिट एट सेम रुफ टप क्याफे।’
मेलसँगै तीन जनाको सेल्फी आउँछ।
सुजल खुसीले बसेको ठाउँबाट जुरुक्क उठ्छ, सरिमालाई सम्झिएर मुस्कुराउँछ।