अभाव र प्रकोपले कोही नपरून् अभर
देशवासीले सुन्न पाउन सधैँ शुभ खबर
कसैप्रति विभेद नहोस् जाति धर्म नाममा
सुखी हुन गर्व गरुन् आफ्नो पेसा काममा
हनन नहोस् कसैको मौलिक अधिकार
योग्यता र सिपअनुसार पाइयोस् रोजगार
देश त यस्तो होस् न
भद्रजन जोकोही लालायित हुन् बस्न।
समाजमा मिलाप रहोस् घटुन् कैदी जेल
शान्ति छाओस् पौरखीको बढोस् चलखेल
चाहे राजा मन्त्री होस् चाहे जोगी पण्डित
अपराध गरेको भए हुनुपरोस् दण्डित
कतैबाट नआओस् विद्रोहको गन्ध
देशले खेप्नु नपरोस् हडताल र बन्द
देश त यस्तो होस् न
भद्रजन जोकोही लालायित हुन् बस्न।
सिङ्गो देश देखियोस् सजाइएको पार्क जस्तो
दुनियाँले तारिफ गरुन् नेपालमा विकास कस्तो
नमुना बनोस् सुशासन हरेक कार्य पारदर्शी
भरसक काम आजै होस नभनियोस् भोलिपर्सी
शासनको शैलीदेखि नागरिक दंग परुन्
नेतृत्वलाई भेटाउँदा हृदयले पूजा गरुन्
नयाँ पुस्ता आफ्नै देशमा भविष्य देखुन्
वर्तमानको गुणगान गाई इतिहास लेखुन्
देश त यस्तो होस् न
भद्रजन जोकोही लालायित हुन् बस्न।
जे बोलिन्छ त्यो गरियोस् बनोस् देउता बोली
त्यही बोली समृद्धिको मन्त्र बनोस् भोलि
देश समृद्ध बनाउने होस साझा स्वार्थ
काल्पनिक स्वर्ग यहीँ बनोस् चरितार्थ
नेपाली भएकोमा सबैले गरुन् गौरव
विश्वभरि फैलियोस् नेपालीको सौरभ
देश त यस्तो होस् न
भद्रजन जोकोही लालायित हुन् बस्न।