‘तिमी हाँसो, म अश्रुको झरना
तिमी गति, म स्थिर नीति
तिमी सजीव, म निर्वाक रीति।
तिमी आगो, म निसास्सिएको खरानी
तिमी जीवन, म अधुरो कहानी
तिमी आशा, म निराशा
तिमी जित, म पराजयको भाषा।
तिमी स्वप्न, म भत्किएको कल्पना
तिमी चाहना, म अधुरो कल्पना
तिमी संगीत, म मौनको पीडा
तिमी हाँसो, म रुँदाको पीडा।
तिमी प्रेम, म तिम्रै किनार
तिमी सफल, म हारेको संसार
तिमी सुर, म बिसुर
तिमी उज्यालो, म छाया
तिमी अस्तित्व, म भुलभुलैया
तिमी जित, म पराजय
तिमी अनन्त, म सीमित
तिमी सजीव, म मौन...’
विनोद आफ्नै प्रेमिकाको तारिफ गर्दै यत्रो लामो कविता लेखेको थियो। शब्दहरूमा उसले आफ्ना भावनाका आँधीहरू पोखेको थियो। प्रेमको अनुराग, एकोहोरोपनको वेदना र आफ्नो भावनात्मक सन्ध्याका प्रतिबिम्ब— सबै उसले कवितामा उनेको थियो।
ऊ मलाई त्यो कविता सुनाउँदै थियो, मेरो प्रतिक्रिया खोज्दै।
‘कस्तो लाग्यो?’ उसले सोध्यो।
‘अद्भुत छ,’ मैले सहजै भनिदिएँ।
उसले हल्का मुस्कान हँसाएर भन्यो, ‘तर जसका लागि लेखिएको हो, उसैलाई सुनाउन सक्दिनँ।’
म थाहा पाउँथेँ— विनोद एकतर्फी प्रेमी हो। सम्झनालाई प्रेम गर्छ तर कहिल्यै भन्न सक्दैन। उसका लागि सम्झना कुनै सपना जस्तै थिई— नजिक भएर पनि टाढा, आफ्नो भएर पनि पराइ!
‘किन भनिन्न?’ मैले सोधेँ।
‘यदि उसले अस्वीकार गरिन् भने?’ ऊ निधार खुम्च्याउँदै बोल्यो, ‘यदि हाम्रो सम्बन्ध बिग्रियो भने? यदि हाम्रा बाटाहरू कहिल्यै उस्तै हुन सकेनन् भने?’
मैले सास फेरेँ। विनोद जस्तो मान्छे प्रेमलाई मनभित्र थुनेर राख्ने खालको थियो। ऊ कल्पनामा प्रेम गरिरहेको थियो तर वास्तविकतामा अभिव्यक्ति दिन डराउँथ्यो।
‘तिमीलाई लाग्दैन, प्रेम भन्न नपाएर नै हराएको प्रेम झन् पीडादायक हुन्छ?’ मैले भनेँ।
ऊ केही बोल्न सकेन। उसका आँखा कतै टोलाइरहेका थिए— सायद सम्झनाको उपस्थितिमा, सायद सम्झनाको अनुपस्थितिमा!
‘तिमीले जसरी हुन्छ हिम्मत गरेर सम्झनालाई मनको कुरा भन,’ मैले दृढ स्वरमा भनेँ।
‘नत्र सम्झना अरू कसैकी भइसक्लिन् अनि मात्र आत्मग्लानिमै बाँच्नुपर्नेछ। जीवनभर अनुत्तरित प्रेमको बोझ बोक्नुपर्नेछ, अधुरो प्रेमको पीडाले तिमीलाई कहिल्यै छोड्नेछैन।’
विनोद मौन रह्यो। ऊ टोलाइरहेको थियो, उसको मनभित्र कुनै युद्ध चलिरहेको थियो— के म साँच्चै भन्न सक्छु? के ऊ बुझ्लिन्? के यदि अस्वीकार गरिन् भने म अझ धेरै टुट्नेछु?
तर मलाई थाहा थियो, सबैभन्दा ठुलो पीडा अस्वीकार हुनु होइन, भन्नै नसक्नु हो!
विनोद मसँग उपाय माग्दै थियो। ऊ अनिश्चित थियो, द्विविधामा थियो। मसँगै बसेर ऊ प्रेमको सम्भावित उत्तर खोजिरहेको थियो।
‘अब तिमीलाई एउटा मात्र उपाय छ,’ मैले भनेँ, ‘प्रेम पत्र लेख। एउटा सानो तर गहिरो भावना मिसिएको प्रेम पत्र।’
विनोद अलमलियो।
‘तिमी नै लेखिदेऊ न,’ उसले बिन्ती गर्यो।
म मुस्काएँ।
‘तिमी जसरी गहकिलो कविता लेख्न सक्छौ, त्यसरी नै प्रेम पत्र लेख्न किन नसक्ने? पत्र लेख अनि मलाई देखाऊ। म कस्तो लाग्छ भनेर भन्छु। कसरी सम्झनासम्म पुर्याउने, त्यो उपाय पनि निकाल्छु।’
त्यस रात विनोदले सम्झनाका लागि प्रेम पत्र लेख्दै बितायो, क्यार! बिहान उसको आँखाको वरिपरि कालो घेरा परिसकेको थियो। उसले रातभरि सुत्न सकेनछ!
‘यदि सम्झनाले प्रेम स्विकारिन् भने, कति भाग्यमानी ठहरिउली है?’ म सोच्दै थिएँ। ‘यति गहिरो प्रेम गर्ने प्रेमी पाउने अवसर सायदै सबैलाई मिल्छ।’
विनोदले काँपिएको हातले मलाई प्रेम पत्र थमायो। म पढ्न थालेँ।
विनोदको प्रेम पत्र
प्रिय सम्झना,
प्रेम मेरो लागि जटिल विषय हो तर तिम्रो लागि म प्रेममा विज्ञ बन्न चाहन्छु।
जबदेखि तिमीलाई देखेँ, मेरो मनमा अरू कुनै आकृति बसेन। तिमी हाँस्दा संसार उज्यालो जस्तो लाग्छ, तिमी मौन हुँदा हावा रोकिएझैँ लाग्छ।
तिमी त्यो सागर हौ जहाँ म बारम्बार डुब्न चाहन्छु र तिमी त्यो आकाश हौ, जसलाई हेर्दै म अघाउँदिनँ।
मलाई थाहा छैन, प्रेम शब्दमा कसरी लेखिन्छ। तर म यति भन्न सक्छु— यदि प्रेमको कुनै नाम दिन सकिन्छ भने, मेरो लागि त्यो ‘सम्झना’ नै हो।
तिम्रो उत्तर पर्खिरहने छु।
तिम्रो— विनोद।
मैले सम्पूर्ण पत्र पढेँ।
पत्र त सानो थियो तर गहिरो थियो। यति सानो पत्र लेख्न उसलाई रातभर किन लाग्यो? तर म मौन रहेँ, प्रश्न गरिनँ।
‘भावनात्मक छ, गहिरो अर्थ दिन सक्छ। तिम्रो मनको कुरा सम्झनाले बुझ्न सक्छे,’ मैले भनेँ।
विनोद गम्भीर मुद्रामा सोच्न थाल्यो। ‘तर... कसरी पठाउने?’
म एक छिन मौन भएँ अनि उपाय निकालेँ। छिमेकी भाइलाई बोलाएँ, थोरै पैसाको लोभ देखाएँ र चिठी सम्झनाको हातमा थमाइदिन अनुरोध गरेँ।
विनोद टोलाएर हेरिरहेको थ्यो— अब सम्झनाले के उत्तर दिने छे?
छिमेकी भाइ चिठी दिएर फर्कियो। हामी दुवै आतुर थियौँ— सम्झनाले के भनिन् होला? विनोद झन् व्यग्र थियो। हामीले एकैसाथ सोध्यौँ, ‘दिदीले चिठी लिनुभयो? के भनिन् त?’
भाइले छोटो उत्तर दियो, ‘दिदीले लिनुभयो तर केही बोल्नुभएन।’
हामी दुई एकाएक मौन भयौँ। विनोदको हात काँपिरहेका थिए।
के सम्झनाले चिठी पढिन् होला?
के उनले विनोदको प्रेम स्वीकार गरिन् त?
यी प्रश्नहरूले हाम्रो मनभरि हलचल मच्चाइरहेका थिए।
मलाई लाग्यो— विनोदले पत्र निकै राम्रो लेखेको थियो। भावना गहिरा थिए। तर के ती भावना सम्झनाले बुझ्न सकिन् त?
त्यो रात विनोद सायद एक छिन पनि निदाएन। म पनि उसको बारेमा सोचिरहेँ। भोलिपल्ट बिहान सबेरै विनोदको फोन आयो।
‘जति सक्दो चाँडो हाम्रो घरमा आइज।’
उसको आवाज भारी थियो, अस्वाभाविक लाग्ने गरी।
म हतारिँदै विनोदको घर पुगेँ। त्यहाँ पुगेपछि देखेको दृश्यले म छाँगाबाट खसेझैँ भएँ— चार जना प्रहरी विनोदलाई घेरेर उभिएका थिए।
म अचम्म परेँ, हतारिँदै सोधेँ, ‘के भयो? किन विनोदलाई पक्राउ गर्दै हुनुहुन्छ?’
मेरो मुटु एकाएक भारी भयो। उसको अनुहार निस्तेज देखिन्थ्यो, आँखामा भय थियो, अँध्यारोमा हराएको मान्छेझैँ। विनोदले मलाई टोलाएर हेर्यो तर बोल्न सकेन।
‘किन समात्नु भएको?’ मैले जुरुक्क उठेर प्रहरीतर्फ सोधेँ।
प्रहरी अधिकारीले गम्भीर स्वरमा भने, ‘सम्झनाको मृत्यु भएको छ। उनको कोठामा एउटा चिठी भेटिएको छ— विनोदको नाम लेखिएको चिठी। प्रहरी अनुसन्धानअनुसार, यो आत्महत्याको पछाडि विनोदकै संलग्नता हुनसक्छ।’
‘के!’ मेरो मुखबाट अनायास निस्कियो।
मैले विनोदतर्फ हेरेँ। ऊ अकमकिएको थियो। अनुहार सेतो भइसकेको थियो। सायद ऊ आफैँलाई पनि विश्वास लागिरहेको थिएन, मायाको एउटा पत्रले यस्तो गर्ला भन्ने!
‘तर म निर्दोष छु!’ विनोदको स्वर काँप्यो, ‘मैले केवल आफ्नो भावना व्यक्त गरेको थिएँ। प्रेम व्यक्त गर्नु अपराध हो?’
तर प्रहरीले सुन्दै सुनेन। प्रमाणको नाममा चिठी थियो, छिमेकी भाइको बयान थियो अनि एउटा अधुरो आत्महत्या— यसले विनोदलाई अपराधी बनाइसकेको थियो।
त्यसअघि नै विनोदका घरभित्रै अर्को आँधी उठिसकेको थियो। उसको बुबाको अनुहार रातो थियो, आँखाबाट आगो निस्केझैँ।
‘तँलाई प्रेम नै गर्न मन थियो भने किन यस्तो गरेर हाम्रो इज्जत ध्वस्त पारिस्?’ बुबाले गर्जँदै भने।
आमाले भुइँमा पछारिँदै रुँदै भनिन्, ‘हामीलाई तेरो यो हरकतको कारण थाहा थिएन, विनोद! के हामीले तँलाई यस्तो दिनका लागि जन्माएका थियौँ?’
छिमेकीहरू झ्यालढोका खोल्दै कानेखुसी गर्न थाले—
‘बिनोदले पक्का नै सम्झनालाई धोका दिएको थियो!’
‘त्यसैले त केटीले सहन नसकेर आत्महत्या गरिन्।’
‘यस्तो माया गर्ने मान्छे पनि हुन्छ र?’
तर म जान्थेँ— विनोद निर्दोष थियो!
तर यो कथा केवल विनोदको प्रेम पत्रसम्म सीमित थिएन। सम्झनाको मृत्यु केवल एउटा चिठीको कारण थिएन।
सम्झनाको बारेमा कुरा फैलिन थालेपछि कतिपयले फुसफुसाउन थाले—
‘उसले पहिल्यै कसैलाई प्रेम गर्थी रे!’
‘तर केटाले धोका दिएपछि ऊ टुटेकी थिई।’
‘सायद त्यो दिन विनोदको चिठी उसले पढ्न पाएकी भए...!’
तर कुनै पनि कुरा ठोस प्रमाण थिएनन्। केवल अनुमान, केवल हल्ला।
तर यी कुराहरू सुनेर मेरो मनमा शंका उठ्न थाल्यो—
के विनोदले केवल गलत समयमा प्रेम व्यक्त गर्यो?
के यदि सम्झनाले त्यो चिठी पढेकी भए, ऊ बाँच्न सक्थी?
के यदि विनोदको प्रेम केही घण्टा पहिला पुगेको भए, ऊ आत्महत्या रोक्न सक्थ्यो?
तर अब ढिलो भइसकेको थियो। सम्झना गइसकेकी थिई।
विनोद प्रहरीको गाडीभित्र बस्दै थियो। मैले उसलाई अन्तिम पटक हेरेँ। उसका आँखा भरिएका थिए तर आँसु झरेन।
उसले बिस्तारै भन्यो, ‘म अपराधी होइन, तर म निर्दोष पनि छैन। मैले कुनै गल्ती गरिनँ तर मैले सम्झनालाई बचाउन सकिनँ। योभन्दा ठुलो सजाय के हुनसक्छ?’
प्रहरीको गाडी बिस्तारै अघि बढ्यो।
मैले आकाशतर्फ हेरेँ। सूर्य लुक्न लागेको थियो। उज्यालो झिमिक्क झिमिक्क गर्दै थियो।
सायद यो प्रेमको अस्त थियो।
सायद यो प्रेमको अधुरो उत्तर थियो।
सायद यो अनुत्तरित प्रेम थियो।
विनोदको जीवन एक अनकन्टार पीडामा परिणत भएको थियो। प्रहरीको गाडीले उसलाई जाँदै थियो तर उसको मनको शान्ति भने हराइसकेको थियो। आत्मग्लानि र शोकले उसको मुटु भरिएको थियो। उसले सम्झनालाई बचाउन नसकेको अपराध बोधले उसको आत्मा काँचो बनाएको थियो। तर अझै पनि एउटा प्रश्न उसको मनमा अनवरत घुमिरहेको थियो— के उसले भनेको प्रेम वास्तविक प्रेम थियो या केवल आफ्नै हृदयको भ्रम?
जेलको कोठामा विनोदलाई उसको मनको संघर्ष र पश्चात्तापले सुत्न दिएन। उसको यादले उसलाई सुत्न नदिएजस्तै, सम्झनाको हत्याले उसलाई अनवरत चिरिँदै थियो। विनोदलाई थाहा थियो— सम्झनाले आफ्ना जीवनका सबै रङहरू देख्या थिई तर उसले प्रेमको साँचो अर्थ कहिल्यै पाउन सकिन।
विनोदको आफ्नै परिवार पनि उसको साथमा थिएन। उसका बाबु र आमा जो पहिले एक असाधारण परिवारको प्रतीक थिए, अहिले उसको नामबाट कुण्ठित र अपमानित भएको महसुस गर्दै थिए। समाजले पनि उसको माथि प्रश्न उठाइरहेको थियो।
तर के यो विनोदको दोष थियो? के उसले सही समयमा प्रेमको शब्दहरू नभनेर ठुलो भूल गर्यो?
कति रातहरू विनोदले सोच्ने प्रयास गरेको थियो— के उसले सही कार्य गरेको थियो? के उसले आफ्नो प्रेमलाई सही तरिकामा व्यक्त गरेको भए, घटनाहरू अर्को रूपमा घट्न सक्थे?
तर उसले सधैँ एकै उत्तर प्राप्त गर्थ्यो- ‘त्यो जवाफ अब अनुत्तरित नै रहनेछ।’
तर एउटा कुरा भने स्पष्ट थियो— सम्झनाको मृत्यु केवल विनोदको गल्तीको कारण थिएन। यसमा समाजको धारणा, समयको असफलता र प्रेमको कमी थिए। उसलाई अब थाहा थियो कि अनुत्तरित प्रेमको पीडाले उसको आत्मालाई सदासर्वदा ध्वस्त बनाइराख्नेछ।
साँचो प्रेम एक अदृश्य कष्ट हो जसलाई बाँच्न वा महसुस गर्न सकिँदैन, यदि समय र परिस्थितिसँगै नजोडिन।
सम्झनाको मृत्युपछि विनोदको जीवन अझै कठिन र बुझ्न नसकिने बन्यो। जस्तो कि उसको अस्तित्वको उद्देश्य नै नष्ट भएको थियो। अब त्यो प्रेमको पत्र र त्यसमा लुकेको सम्पूर्ण भावनाहरू एक अज्ञेय प्रश्नको रूपमा बाँकी रहे।
अन्ततः जेलको धरातलमा एक शान्ति आइरह्यो। कुनै खालका भावनाहरू छैन, केवल भूतकालका गहिरो घाउहरू थिए। उसका आँसुहरू न झरिरहेको थियो, न त कुनै आवाज निकाल्ने अवस्था थियो।
सम्झनाको जीवन एक अधुरो कथा बन्यो र विनोदको प्रेम पनि अधुरो रही गयो।
‘कसैले भनेका थिए— तिमीलाई बिना साँचो प्रेमको जीवन बिताउनु पर्नेछ।’
तर अब विनोदले महसुस गरिरहेको थियो— प्रेमको गहिराइ मापन गर्न सकिने कुरा होइन। यो केवल संवेदनशीलता र संवेदनामा लुकेको छ जसलाई शब्दहरूले मात्र व्यक्त गर्न सक्दैनन्।
विनोद अब यो बुझ्न थालिसकेको थियो— प्रेमको अन्तिम घेरामा, ऊ र सम्झना मात्र एक अर्कालाई सम्झन सक्थे तर कहिल्यै शब्दहरूले त्यो गहिराइलाई बुझाउन सक्ने थिएनन्।
पाँच वर्षको जेल जीवनपछि विनोदको अनुहारमा कुनै चमक थिएन। उसले कपाल काटेर चुपचाप अगाडि हिँडिरहेको थियो। जेलमा व्यतीत भएका ती कठोर समयहरूले उसको शारीरिक र मानसिक अवस्था दुवैलाई कमजोर बनाइसकेका थिए। आत्मग्लानि र पछुतोको बोझले उसको मनको शान्ति चुँडिएको थियो।
उसलाई थाहा थियो कि उसको गल्तीले मात्र आफूलाई होइन, सम्झनालाई पनि चिरिदिएको छ। एउटा अनकन्ट्रोल शून्यता उसको हृदयमा गहिरिएर बसेको थियो, जसलाई आत्मग्लानिले भरिरहेको थियो।
मलाई राम्रोसँग याद छ, म जब अदालतको कोठामा थिएँ विनोदको आँखामा एउटा अनन्त उदासी र असमर्थता थियो जसमा यो आभास भइरहेको थियो कि उसले आफूलाई जिम्मेवार ठानिरहेको छ। समाजका मानिसहरूको प्रतिक्रिया चकित पार्ने खालको थियो। के उसले जवाफ दिने मौका पाएको थियो? के उसको आत्मगौरव र इज्जत बचाउन सकिन्थ्यो?
तर यो पनि साँचो थियो। मलाई थाहा थियो कि मैले विनोदलाई प्रेम पत्र लेख्नका लागि जुन सुझाव दिएको थिएँ, त्यसले उसको जीवनलाई एक कष्टपूर्ण घडीमा परिणत गरेको थियो। मैले कहिल्यै चाहनु भएन कि उसले यस्ता कडा निर्णयहरू लिओस्। अब म चुपचाप आफ्नै दोषी महसुस गर्दै थिएँ।
पाँच वर्षपछि विनोद जेलबाट मुक्त भयो। उसले घर फर्कन चाहेन। घरको आँगन, परिवारको साथ र पुराना सम्झनाहरू थिए जसले उसको मुटुमा चिच्याइरहेका थिए। तर उसले ती सबैबाट आफूलाई टाढा राख्न चाहेको थियो। आत्मग्लानिको भारले उसको मानसिक शान्ति चुँडिएको थियो।
‘केही समयदेखि म यही सोच्दै छु,’ उसले मलाई भनेको थियो, ‘यदि मैले त्यो प्रेम पत्र लेखिनँ भने के ती घटनाहरू यस्तो तरिकाले परिणत हुन्थे? के सम्झना अझै जिउँदै हुन्थिन्?’
विनोदको मनमा यस्ता अनगिन्ती प्रश्नहरू थिए जसको जवाफ म टाढा देख्न सकिनँ। सायद उसले जीवनमा सुधार पाउन सक्थ्यो, यदि मैले उसलाई केही गर्न भनेको भए। तर अब त्यो सब ढिलो भइसकेको थियो।
एक दिन म क्याफेमा बसिरहेको थिएँ, एउटा व्यक्तिले सोधेको थियो, ‘तपाईं लेखक हो भने, के त्यो मित्रको कथा हो तपाईंले लेखेको?’
विनोदको बारेमा प्रश्न गरेपछि मैले गहिरो श्वास लिएको थिएँ।
‘हो, त्यो विनोदको कथा हो,’ मैले भनेँ, ‘तर उसले प्रेममा धोका खाएको छ। उसलाई लागेको प्रेमको आघातले जीवनलाई एक नयाँ दिशा दिन सक्दैन।’
मैले आफ्नो आवाजलाई थाम्दै भनेँ, ‘केही समयमा विनोदको जीवनको परिभाषा बदलियो। सम्झनाको कथा उसलाई जीवनको अन्धकारतिर तानेर लग्यो। अब उसले प्रेमको साँचो स्वरूप बुझ्न पाएको छैन। र म भने आफूलाई दोषी ठानिरहेको छु कि मैले उनलाई प्रेम पत्र लेख्न भनी भनेको थिएँ।’
त्यसपछि मैले गहिरो श्वास तान्दै भनेँ, ‘जहाँ प्रेम धोका खाएको छ, त्यहाँ दुःख र पछुतो मात्र बाँकी रहन्छ। प्रेमको सही उत्तर कहिल्यै फेला नपार्ने अवस्थामा म र विनोद अब जीवनका थप पाटोहरू खोजिरहेका छौँ।’
यो सम्झना मसँग एकदम गहिरो रूपमा जडिएको छ र अब म यी घटनाहरूलाई भुल्न सक्दिनँ। म जस्तो व्यक्तिका लागि सन्देश छ कि प्रेम कहिल्यै सहज हुँदैन। प्रेमका सही अर्थको बुझाइका लागि कहिल्यै केही असम्भावित पीडामा खस्नु पर्छ। तर तबसम्म धेरै समय ढिलो भइसकेको हुन्छ।