एउटा मात्र छोरो हुनाले देशमै बसोस् भन्ने भित्री चाहाना हो। अवस्था खानै नपुग्ने पनि होइन। सामान्य छ।
जब माओवादीको विद्रोह सुरु भयो तब गाउँ अशान्त भयो। माओवादी भन्थे सेनाको सुराकी! सेना भन्थे माओवादीलाई किन खाना खुवाएको? सर्वसाधारणलाई गाह्रो भयो। दोहोरो चेपुवामा परेर सहर पस्ने मध्येको म पनि एक हुँ।
गाउँ खाली हुने क्रम त्यहीबाट सुरु भयो। सहर पसेको मानिस गाउँ फर्किएनन्। बरु बिदेसिए।
बिना इलम सहरमा बस्न गाह्रो हुँदो रहेछ। जागिरको खोजीमा लागेँ। भनसुनले काम गर्यो। सजिलै जागिर पाएँ। जति सजिलोसँग जागिर पाएँ त्यति सजिलो भएन टिक्न र बिक्न मलाई। वर्षौँ करार! विश्वविद्यालयमा सेवा आयोग नै नखुल्ने! खुले पनि पहुँचवाला मात्र स्थायी हुने! बेचैन भयो मन। जवानी र जोस अस्थायी/करार सेवामा बित्यो।
अहिले काठमाडौँमा सानोतिनो घर छ। अस्थायी भए नि जागिर छ। पहाडमा जग्गा जमिन बाँझै छ। गाउँमा खेती नै गरेर भए पनि खान पुग्छ। भयानक चिन्ता छैन। सानैदेखि छोरालाई देशमा बस्न प्रेरित गरेँ। आफू पनि विदेशको चक्करमा लागिनँ।
यता त्रिभुवन विश्वविद्यालयलाई राजनीतिले गिजोल्न छोडेन। बहुदलीय व्यवस्थापछि विश्वविद्यालय झन्-झन् ओरालो लाग्यो। ट्र्याकमा आउन नसक्दा कुशासनले जरो गाड्यो। राजनीति हाबी हुँदा नेता उत्पादन गर्ने कारखाना बन्यो। वास्तवमा विश्वविद्यालय विश्वविद्यालय जस्तो भएन।
शश्वविद्यालय अन्तर्गतकै आङ्गिक क्याम्पसमा लामो समय काम गर्दा दिक्क लाग्यो। विद्यार्थीलेका प्रतिनिधि बताउने काका र दाइहरूले आफ्नो स्वार्थ अनुसारको काम गर्न पहिला चाकडी गर्थे। नमाने धम्की दिन्थे। काम गर्न नियमले नमिल्ने तर पनि गलत काम गर्न बाध्य हुनु पर्ने!
मन भतभती पोल्थ्यो। जस्तो कि, परीक्षामा चोराउन सघाउनु पर्ने! नक्कली परिचय पत्र बनाइदिनु पर्ने! खेलकुद लगायत अतिरिक्त क्रियाकलापका अनियमित बिल पास गरिदिनु पर्ने! वाक्क लाग्यो। आफ्नै भविष्य नहुनेले अरूको भविष्य बनाई दिनु पर्ने! झोक चल्यो। रिसले जागिर छोडिदिएँ। लौ जा! अब धम्क्याऊ! अब दिक्क लगाऊ!
केही त गर्नै पर्छ। उद्यम गर्छु भनेर कम्मर कसेँ। उद्योग दर्ता गरेँ। बैंकबाट लाखौँको ऋण लिएर काम सुरु गरेँ। सुरुवात आशा लाग्दो भयो। उत्पादनले राम्रो प्रतिक्रिया पाउँदा हौसिएँ। कामदार र लगानी दुवै थपेँ। जागिरेबाट एकाएक उद्यमी बनेँ।
उद्योग चल्दै गर्दा मजदुरहरूले अनेक माग राख्न थाले। युनियन नै बनाएर एकपछि अर्को माग थप्दै गए। माग पूरा गरौँ उद्योग धराशायी हुने, नगरौँ उद्योग बन्द हुने। अप्ठ्यारोमा परेँ म! ट्रेड युनियनको दादागिरी त्यो हदसम्मको मलाई ज्ञात थिएन। त्यति मात्र होइन, चुनावको बेला नेताहरू चन्दा माग्न आए। थोर बहुत नदिई सुखै पाइनँ। दिएँ।
उता सरकारलाई नियमित कर तिर्नु पर्ने छँदै थियो। नतिरे २५% जरिवाना ठटाउने। बिस्तारै कारोबारमा मन्दी आयो। उधारोमा चल्न थाल्यो व्यापार/व्यवसाय। उधारो उठाउनै महाभारत! उल्टो मुद्दा मामिला गर्नु पर्ने अवस्था सिर्जना भयो। बैंकको किस्ता र ब्याज तिर्नै सकिनँ। महिनै पिच्छे बैंकको किचकिच थेग्न नसकेर मोबाइलको सिम नै परिवर्तन गरेँ।
कोरोना महामारीले व्यापार झन् थलियो। उद्योग चौपट भयो। मजदुरलाई तलब खुवाउन नसक्ने अवस्थामा पुगेँ। लगानीकर्ता होइन, बिचौलिया मोटाउँदा रहेछन्। लगानी पनि गर्नु नपर्ने। फाइदा मात्र लिने। जोखिम शून्य रहेछ बिचौलियालाई। उद्योगी भएपछि मात्र थाहा पाएँ यो कुरा।
बैंकले कालो सूचिमा राख्यो म र मेरो फर्मलाई। धितो लिलामीको प्रक्रियामा सुरु गर्यो। सरकारले उद्यमको वातावरण बनाएन। राहत परको कुरा! व्यापार-व्यवसाय थला पर्दा तनावमा पर्यो जिन्दगी।
उद्यम गर्ने वातावरण नै रहेनछ देशमा। सरकार कर असुल्न मात्र जान्दो रहेछ। ब्याज दरमा गिरावट आउँदा पनि बैंकमा पैसा थुप्रनुले उद्यमको वातावरण छैन भन्ने देखाउँछ। यो खराब सङ्केत हो। जोखिम लिन उद्यमीहरूले चाहेनन्। कमजोर उद्यम वातावरणको कारण अरू जस्तै म पनि डुबेँ।
देशमै केही गर्ने सोचले डुबायो मलाई। यो देश नेता-कार्यकर्ता र सरकारी कर्मचारीको रहेछ! यो देश टाठाबाठाको रहेछ। सोझा र इमानदारको होइन रहेछ! अहिले आएर बुझेँ। बुझ्न ढिला हुँदा महँगोमा परेँ म।
मेरो तनाव छोराले पनि चाल पायो। उमेरले ऊ पनि जवान थियो। स्नातक पास गर्यो उसले। मेरा साथी र आफन्तले सोध्छन्- छोरा के गर्छ? प्राइभेट कम्पनीमा काम गर्छ भन्छु। त्यसपछि त प्रश्नहरूको ओइरो लाग्छ ममाथि!
छोरो विदेश जान सकेन? किन नपठाएको? अङ्ग्रेजीमा कमजोर वा अरू केही कमजोरी छ? आदि आदि....।
सामाजिक बेइज्जतको डर भयो मलाई। विदेश नजाने जति असक्षम भन्ने मानक बन्यो समाजमा। हो जस्तो पनि लाग्न थाल्यो आजभोलि मलाई। देशमा जवान मान्छे देख्नै मुस्किल छ। देश नै विदेशतिर जाला जस्तो भयो। देश भनेको भूगोल र माटो मात्र होइन; मानिस पनि हो। बिदेसिने प्रवृत्ति हेर्दा कुनै दिन देश खोज्न विदेश जानु पर्ने हो कि? चिन्ता छ!
देशमा बस्न खोजेर मैले पनि गल्ती गरेछु छोरा। विगतदेखि अहिलेसम्मका गतिविधि घोत्लिँदा थाहा पाएँ मैले। तिमीले त्यो गल्ती नगर्नू! मलाई माफ गरिदेऊ! कक्षा १२ पछि तिम्रा मिल्ने साथी विदेश जाँदा सँगै जान अनुमति मागेका थियौ। मैले रोकेँ। तिमीलाई रोकेर ठुलो भूल गरेछु।
कुशासनले ग्रसित देशमा सुशासन खोज्नु मूर्खता रहेछ। पूरै परिवर्तन भएँ म। प्रश्न सोध्नेलाई मेरो छोरा पनि विदेश छ भन्न चाहन्छु अब। छोराछोरी विदेश हुनु ठुलो सामाजिक प्रतिष्ठा रहेछ! बल्ल चाल पाएँ। दुख पाए पनि केही छैन। दुख सहुँला। एक्लै बसुँला। एक्लै मरुँला बरु। विदेश जाने चाँजोपाँजो मिलाऊ छोरा!
मिल्यो भने मलाई तेल भिसामा बोलाउनु त्यता। विदेश घुमेका फोटा खिचेर पोस्ट गर्न मन छ मलाई पनि। विदेश गएछ फलानो भन्ने देखाउने चाहना छ। बाउ खराब रहेछ! छोरालाई विदेश पठाउन सकेन भन्ने दोषबाट उम्कन चाहन्छु म।
छोरो विदेश नगएको बारे मलाई पटक-पटक प्रश्न सोधेर दिक्क लगाउनेहरूलाई सानका साथ भन्न चाहन्छु- ‘मेरो छोरो पनि विदेश छ। म पनि विदेश गएर आएको।’
इज्जत जाला जस्तो भयो यो समाजमा मलाई। बिन्ती छ छोरा, छिटो विदेश जाऊ!
जवान छोराको विवाह गर्ने मन नभएको होइन, छ। छोराको विवाहको कुरा चलाउनै सकिनँ। केटाको विवाहको लागि जागिर अनिवार्य सर्त रहेछ! स्थायी जागिर पाउन कहाँ सजिलो छ र? अझ रमाइलो कुरा, देशको जागिरलाई भन्दा विदेश भएकोको केटोले पहिलो प्राथमिकता पाउँदो रहेछ। छोराले दुवै क्राइटेरिया पूरा गर्न सकेन। केटी पाउनै मुस्किल! देशमा बसेका केटाले बालै पाएन। विदेश, विवाह र जागिर अन्तर सम्बन्धित भएछन्। परिवर्तन भएछ समाज।
हुँदा-हुँदा युवा देशमा बस्यो भन्दा आश्चर्य मान्नु पर्ने दिन आए! कति अनौठो समाज! राज्य सञ्चालकलाई यो कुराले पोलेन। एकाएक युवा विहीन देशको मानचित्र मेरो अगाडि आयो। मैले गाउँ पूरै खाली देखेँ। सहरमा बुढापाका मात्र देखेँ। साँच्चिकै कस्तो देश बन्ला केही दशकपछि? कल्पनामा डुबेँ म।ब