'साँच्चै केटीहरू के कुराले खुसी हुन्छन्।'
एउटाले फ्याट भनिदियो 'पैसाले।'
'पैसाले माया किन्नु सकिन्छ र?' मैले उसलाई प्रश्न गर्दै सोधेँ।
'२१ औं शताब्दी हो पैसा छ सब थोक छ।'
'बुवा आमा पनि' मैले प्रश्न गर्दै भनेँ।
'त्यो त नहोला' अर्का एक जनाले भने।
यो कुरा म किन भन्दै छु भने यस अर्थमा पनि म यो कुराको भागीदार हुँ।
बिहेको सिजन सुरू भयो। मंसिरमा बिहे गर्न नसक्नेहरूलाई यो महिना बरदान नै साबित हुन्छ। अब फेसबुक, इन्स्टाग्राम, टिकटक म्यारिजमय हुँदैछ। कोही भाग्ने तरखरमा छन् त कोही भगाउने तरखरमा।
कोही माग्ने तरखरमा, कोही प्रेमीको फोटो फेसबुकको स्टोरीमा हालेर आफू प्याक भएको जनाउ दिन चाहन्छन् त कोही आफ्नो प्रेमी भएको जनाउ दिन। यो दुनियाँ नै सोसल मिडियामय भएको छ भन्दा फरक नपर्ला।
कसैलाई जन्ती जान हतारो छ भने कसैलाई दौरा सुरूवाल, कोट पाइन्ट सिलाउन हतार छ। यो महिना सबभन्दा राम्रो व्यापार हुन्छ त त्यो हो, सिलाइवालाको।
अब महिना बिहेमय भएको छ। कसैलाई कसैको जन्ती जान, फोटो हाल्नु, कसैलाई कसैको बिहेमा राम्रा राम्रा केटाकेटी हेर्नू।
२२ वर्ष पुगेर २३ लागियो घरमा बिहेको कुरा चल्न थालिसकेको छ।
'बाबु कोही केटी छ भने भन भन है, अब पालो तेरै हो। छैन भने भन है खोज्नु पर्छ,' बाबाले खाना खाने बेलामा लगाउने एउटै रटान' २४ सै घन्टा फेसबुक चलाएर बस्छ होला नि लबसब परेको' आमाको सधैं आउने रेडिमेड जबाफ।
म भने एकटहले केही नबोली सधैं बसिरहन्थेँ। यो प्रसंग मंसिर लागेसँगै घरमा गुन्जिरह्यो। मानौं दसैंमा गुन्जिने मालश्री धुनजस्तै।
'बुढेसकाल लागिसक्यो यसो घरमा हात बटाउने मान्छे ल्याउँछ कि भन्यो यसले टेर्दैन,' आमाले खाना खाँदै गर्दा फेरि अर्को कुरा थपिदिनु भयो।
'भो आस नगर साबित्रा,' यसो बुवाले मुखमा खाना लाँदै भन्नुभो।
मंसिर लागेसँगै गाउँमा एउटै प्रश्न सबैबाट तेर्सिने गर्छ।
'बिहे कैले गर्ने, जन्ती नजानु खसी नखानु'.... यी र यस्तै यस्तै प्रश्नहरू बीचबाट कहिले उत्तर के हो खोजिएन। बस प्रश्न मात्र तेर्स्राइए।
विधिको बाध्यता केटी हेर्न जानु नै पर्ने भो। एक्लो जीवन कटाउन गाह्रो रै छ।
एकदिन ठूलो बाबालाई अघि सारेर केटी हेर्न जाने सुरसार भो। मनले नमाने पनि जानु नितान्त भो। जाँदिनँ भन्न नपाइने स्थिति भो। कुनै कुनै कुरामा आफ्नो जिद्दीभन्दा पनि परिवारको जिद्दीले जित्दो रै छ। परिवारको जिद्दीको अगाडि आफू निरीह बन्नु पर्दो रै छ।
आज साइत जुर्यो जाने भयौं। रिम्बिकमा खनालकी छोरी छे रे। सिल स्वभाव आनि बानी राम्रो छ भन्ने फुपूहरूले भन्नुभा रे मेरो लागि केटी सही छ रे। त्यो केटीसँग मेरो बिहे भो भने मैले दु:ख पाउँदिनँ रे! घरमा निर्णय भो कुरा अगाडि बढाउनु पर्छ। त्यहाँ भएन भने गान्तोकमा पौडेलकी छोरी छ रे, यहाँ भएन भने त्याँ कुरा मिल्छ भन्ने कुरा भो। हातमा टोपी लिएर हिँड्नु पर्छ कसो केटी नभेटिएला घरमा गाइँगुइँ कुरा चल्दै थियो। दिनहरू नजिकिँदै गए। केटी हेर्न जाने भन्ने कुरामा घनिभूत छ्लफल भो। कोको जाने, कसलाई लिएर जाने भन्ने चिनजान होस, सजिलो हुन्छ। मलाई सबभन्दा उत्सुकता थियो केटी माग्न जाँदा कसरी कुरा कोट्याउँछन् भन्ने।
नचाहँदा नचाहँदै एकोहोरो रूपमा सही मन मस्तिष्कमा स्मृति सहरहरूमा कथाका स्मृतिहरूले दिमागमा डेरा जमाउन थाल्यो।
'केटा यस्तो स्थितिमा केटी हेर्न' ठूलो बाले मलाई हेर्दै भन्नुभो।
'किन बा' मैले उत्सुक हुँदै सोधेँ।
'केटी पक्षले के भन्छन्!'
'के भन्छन्' मैले आँखी भौं च्यात्दै भनेँ।
'कस्तो केटो रैछ भन्दैन त'
'राम्रो बन्दिनको लागि जाने होर बा' मैले प्रश्नबाचक रूपमा सोधेँ।
'म जे छु त्यही रूपमा सही छु बा। मलाई बाहिरी रूपमा सजिएर कसैलाई बसमा पार्नु छैन बा।'
'दारी र कपाल त मिलाउन सक्छस् नि! तँलाई सैलुन नै बस भनेको हो त' ठूला बाले रिसाउँदै भन्नूभो।
बुबा र ठूलो बाको निमित्त भए पनि सैलुन गएर आफूलाई राम्रै बनाइदिएँ।
जे होस् म केटी हेर्न जाँदैछु।
तर बिहे गर्न चाहिँ होइन।
बा, ठूलोबा नाताले फुपूका ज्वाइँ पर्ने र म गरी चार जनाको जम्बो टाेली केटीको घरतिर प्रस्थान गर्ने निधो भो।
माघ ७ शुक्रबार
बा, म, ठूलो बा रिम्बिकतिर गयौं। बेलुका फुपूकोमा बास बसियो। ८ गते बिहान नै भेनालाई लिएर केटीको घरमा जाने निधो भो।
केटी पक्षलाई अघिल्लो दिन नै थाहा थियो। उसलाई हेर्न केटा आउँदै छ भनेर।
मनमा एक प्रकारको झन् झनाहटले पिरोलिरहेको थियो के बोल्ने? कसरी बोल्ने? कस्तो बोल्ने? कहाँबाट कुरा सुरूआत गर्ने भनेर? के भनेर सम्बोधन गर्ने भनेर? यी र यस्तै यस्तै कुराले दिमागमा जोड जोडले हिर्काइरह्यो। बिहान गाडी आयो। चढियो र लागियो नयाँ गन्तव्यतिर।
मन मनै धेरै कुरा खेलिरहे।
टक्क गएर एउटा घरको अगाडि गाडी रोकियो।
गाडीबाट झर्दै भेनाले हाँस्दै एक अधबैसे पुरूषलाई 'नमस्कार फूपा' भनेर सम्बोधन गर्नु भो। सँगै बा, ठूलो बाले पनि नमस्कार गर्नु भो। मैले पनि नबोली हात जोडी नमस्कार गरेँ। ती मान्छेले मलाई शिरदेखि पाउसम्म एक नजर लगाए। मलाई के बुझे ती मान्छेले 'आउनु न बाबु सम्म भन्न भ्याए'
बाटाे मुन्तिर घर, घर अगाडि आँगन, आँगनको अगाडि २ साइडमा ढकमक्क फूल रोपिएको हेर्दै हेरिरहुँ लाग्ने। ढलान गरी बनाइएको २ तल्ले पक्की घर। घरको दाहिने साइडमा तुलसीको मोठ घरभन्दा पनि फूलबारीले घरलाई सजाइएको थियो। म एकटहले आँखा घुमाइरहेको थिएँ। बहाना त आँखा डुलाउने थियो तर खोजी त उनकै थियो।
हामी चारै जनालाई बैठक कोठामा बस्न आग्रह गरियो। हामी गएर सोफामा बस्यौं। सोफामा बस्दा पनि सतर्क साथ बसेँ। मनमनै सम्झिँदै उसको र मेरो घरको तुलना गरेँ। आकाश पातलको फरक थियो। आँखा चारैतिर घुमे। भित्र अर्को कोठामा सायद किचन नै हुनुपर्छ। गुनगुन गरिरहेको आवाज सुनिरहेको थियो छोरी मान्छेहरूका। आँखा त्यता जान नसके पनि मन चाहिँ त्यहीँ थियो। कति बेला उनी आउलिन् र हेरूम्ला भन्ने थियो मनमा। बाबाहरू आफ्नो प्रकारका गफमा ब्यस्त हुनुहुन्थ्यो। म भने उनलाई देख्ने इन्तजारमा थिएँ। मनमा ढुक्कढुकी बढिरहेकाे थियो। सायद उनलाई पनि तस्तै भा थियो कि? सायद उनको बाबा हुनुपर्छ मलाइ बोलाइरहनु भएको रै छ। मैले सुनिनँ ठूलो बाबाले कोट्याउँदा मात्र चाल पाएँ।
'बाबु के गर्नुहुन्छ।' उहाँको अनुहारको भावले प्रष्ट भनिरहेको त्यो तिमी मेरो ज्वाइँ हौ भनेर।
'इन्जिनियरिङ गर्दै छु।' सामान्य भावमा भनेँ।
'कुन सेक्टर हो बाबु'
'मेकानिकल'
'ब्याचलर कि डिप्लोमा'
'डिप्लोमा'
'ए ए ए' उहाँले गरेको प्रश्न र मैले दिएको उत्तर यति मात्र हो। त्याँ कुरा भो कुरा सकारात्मक रूपमा गैराको छ। अब बिहे हुन्छ भन्ने साउथको फिल्मको कुनै दृश्य जस्तै बनिरहेका थिए एक एक घटनाका परिदृश्यहरू मेरो कथाका कहानी पनि कम थिएन ती फिल्मका कहानी भन्दा। रियल पनि रिल बनी आँखामा घुमिरहेको थियो। मानौं यो एउटा पटकथा हो। जुन पूर्वनिर्धारित छ। खस्याङ खुसुङ आवाज आइरहेको थियो। भ्रमका पर्दाहरू उत्रिने तरखरमा थिए। मानौँ कुनै दैवी शक्तिसँग साक्षात्कार हुन लागेझैँ। तर त्यस्तो भएन चिया लिएर अर्कै कोही आयो.... मन खिन्न भयो। कुरा अगाडि बढ्दै गयो। अब केटाकेटी बीच कुरा गफ गरून् न त भन्ने कुरा भयो। म मौन सुनिरहेको छु। एक प्रत्यक्षदर्शी झैं। प्रतिक्षाको घडी समाप्त भो फाइनल्ली मैले उनलाई देखेँ।
लामो सिल्की कपाल, गोल आँखा पातला ओठ दन्तेलरी जस्तै मिलेका दाँतहरू गोलो अनुहार पिंक कलरको कुर्ता सुरूवालमा रेड कलरको आउटर लगाएकी उनी साँच्चै अप्सरा भन्दा कम थिइनन्।
मैले जुन कुराको कल्पना गरेको थिए त्योभन्दा भिन्न पाएँ उनलाई। सायद त्यही थियो उनको सुन्दरता। लाग्थ्यो कहीँबाट टपक्क टिपेर ल्याएको कुनै सुन्दरीभन्दा कम थिइनन् ऊ।
आँखाको परेलामा आइब्रो ओठ, लामो नङ्ग नाकमा लगाएको फुली सबै कुराले सुहाएको थियो उनलाई। त्योभन्दा पनि ठूलो मदहोसी मुस्कान थियो उनको। आहा! कति मिठो मुस्कान, सम्झेँ यही मुस्कानले मलाई अब जीवनभरि साथ दिनेछ। यही मुस्कानको अगाडि मेरो जीवन कट्नेछ। सम्झेँ, धन्न म आएछु उनको घरमा नत्र यति राम्री आयुष्मतीलाई गुमाउने थिएँ। सम्झेँ चिरञ्जीवी म आयुष्मती उनी सम्झिँदा नै मन रोमाञ्चित भयो। बन्द कोठा कोठाभित्र उनी र म मात्र।
कोठामा सजाइएका कोठाका सामानहरू बेड दराज भित्तामा टाँसिएका परिवारका फोटा अनि फोटो जस्तै उनी पनि। कोठा मा मौनता छायो भित्तामा टाँसिएको भित्ते घडीको छ्याकछ्याक आवाज मात्र आइरहेको थियो। मौनतालाई तोड्दै उनले नै पहिला बोलिन्।
'फेसबुक चलाउनु हुन्न'
न मैले सिधा जबाफ दिन सकेँ। मेरो मुखबाट 'हल्का 'भन्ने शब्दमा निस्कियो। फेरि मौनता छायो उनले भुइँतिर हेर्दै लजाएको भावले फेरि भनिन् 'इन्स्टा, इमो, ह्वाट्सएप, ट्वीटर' ढुकढुकी २०० को गतिमा पार गरिसकेको थियो मेरो। सायद मैले सम्झे मलाई उनी यी एप्सहरूमा जोड्न चाहन्छिन्। जस्तो लाग्यो र भने 'चलाउँदिनँ'
'फेसबुक पनि' उसले मतिर हेर्दै आश्चर्यभावले हेरी। मा कसम। उनको त्यो हेराइले घायल बनायो मलाई ठाउँको ठाउँ। मुटु रोगीझैं भएँ म।
'कहिलेकाहीँ' हल्का लजाउँदै मैले भुइँतिर हेर्दै जबाफ दिएँ। ए भन्ने भावले मुन्टो हल्लाई उसले। पुलिक्क हेरी उसले। आँखा आँखा जुँधे झनकार भयो शरीरभरि। उसले मलाई इन्टरभ्यू दिन गएको मानिसझैँ सोधिरहिन्। पढाइ कति पुग्यो? घरमा कोको हुनुहुन्छ? पढाइ सकेर विदेश जाने कि नेपालमै बस्ने? .......बगेरा बगेरा। मानौँ ऊ इन्टरभ्यु लिँदै थिई। म दिँदै थिएँ। मानौँ कठघरामा उभ्याइएको अपराधी झैँ उनका सामु म उभिएर जीवनको इन्टरभ्यु दिँदै थिएँ। उसले मात्र सोधी मैले उसलाई केही सोध्न सकिनँ। बा। जबाफ मात्र दिन सकेँ।
'माइन्ड गर्नुहुन्न भन्ने एउटा कुरा भनूम्' उसले अलिक सिरियस हुँदै भनी उधो मुन्टो भएर कार्पेटतिर आँखा लगाउँदै 'सम्झे अब उसका हरेक कुरा मेरा हुन्।'
र भने 'किन माइन्ड गर्नु र!'
उसले अलिक असहज हुँदै भनी
'मेरो अरू नै कोही छ' उसले यसो भन्दा उनको अनुहार रातो पिरो भएको थियो। सायद उसलाई म मन परेन क्यारे बहाना बनाई। मलाई के भन्नु न के भन्नु भयो। गलासम्म आएर शब्द नै अवरूद्ध भएझैँ भए। भने 'इट्स ओके' दिमागले के भन्न चाहँदै थियो मनले अर्कै थोक भनिदियो। बसौँ कि उठौँको दोधारमा भएँ म। बस्नलाई मेरो गुरूरले दिएन। मेरो आत्मसम्मानले दिएन। म त्यहाँबाट उठेँ, उठेर ढोकातिर लागेँ पाइला अगाडि बढाउँदै गर्दा के भन्ने बाहिर म रिजेक्ट भएँ भन्नु ......कि अरू नै केही भन्नु भन्ने भयो। दिमाग बेजोडले घुमिरह्यो ऊ के भन्दै थिई सुने नसुने जसरी बाहिरेँ। के भन्नु मैले शब्द नै सुजेन जबरजस्ती गर्ने कुरा पनि भएन मैले बोल्ने शब्द नै भेटाइनँ। बाहिर सोध्दै हुनुहुन्थियो। ठूलो बाबाले 'के कुरा भयो भनेर'
'दुई तीन दिनपछि सोचेर जबाफ दिने रे भनिदिएँ'
दिमागमा त्यही सुझो। सबै दङ्ग थिए। लगभग बिहे फिक्स भो भनेर म भने भित्रभित्रै जलिरहेको थिएँ। जीवनमा कसैलाई पहिलोपटक हेरेँ। उहीबाट रिजेक्ट हुन पुगेँ। पीडा भनौँ कि संजोग भनौँ यसलाई मैले दिने नाम नै भेट्टाइनँ।
पछि भेनालाई भन्दै थिई रे 'कस्तो मान्छे रहेछ पाखे जस्तै अहिलेको जमानामा पनि लभ नपरेको केटालाई अलिकति सोसल मिडिया चला भन्दिनु भनेर। जिएफ बना। लाज लाग्दैन रे अहिलेको जमानामा केटी माग्न। केटालाई भन्दिनु फेसबुक अलि चला भनेर केटी पट्या भनेर बिहे गरोस्।'
लाग्यो गएर जबाफ दिऊँ। 'सामाजिक सञ्जाल नचलाउने जति सबै पाखे हुन् र तिमी जस्ती केटी त म जति पनि पाउँछु। जीवनसाथी खोज्नलाई सोसल मिडिया नै चलाउनुपर्छ? 'तर भनिनँ। आखिर उसले ऐना अगाडिको आकृति झैँ छर्लङ्ग पारेकी थिई मलाई।
क्या बात, म घरमा बिहेको फोर्स भो। न मनले बिहे गर्ने चाहना नै राख्यो आखिर भाग्यमा छ भने एकदिन कसो जीवनसंगिनी नभेटिएला र तर सोसल मिडिया नचलाउनु मेरो दोष हो र भन्ने चाहिँ मनमा आजसम्म लागिरहेको छ।