ओहो!
यो घनिभूत संसारको जीवन चक्रमा
एउटा मानव भन्ने प्राणीको
देहबाट मात्र यो सुरु हुने रहेछ
अदृश्य, अनन्त नकारात्मक शक्ति
जसको न कुनै औषधी न कुनै औषधालय
तर पनि सजिलै पाइन्छन् ईर्ष्यालु
अवयवहरू यत्र, तत्र, सर्वत्र।
केही गर्न आफ्नै बलबुतामा
दौडिरहेको एउटा मानवलाई
जब प्रहार गरिन्छन् ईर्ष्यालु
शब्दका हतियार
तब प्रहार गर्नेलाई लाग्दो हो
अब मैले मेरो मनको आगो
शान्त पार्न आजको दाउ
त्यो सिधा व्यक्ति उपर सही निशानामा पुर्याए
जसले उसको मनोबल कमजोर हुन्छ
तर विडम्बना ईर्ष्यालु व्यक्तिले जिब्रोबाट
विष ओकलेपश्चात् त्यो उत्तर नदिई
ओसिएको आँखा लिएर फर्किएको
मानवमा झनै शक्ति सञ्चय भएको हुन्छ
र आउने समयको
बहाव यस्तो भइदिन्छ कि
ईर्ष्या ओकल्ने कुनै दिन ठिक
आफ्नै ठाउँमा पुगेको हुन्छ
त्यहाँ प्रश्न उत्तर बेगरको अन्तिम
नतिजा हासिल हुन्छ
दैवको लीला वा ब्रह्माण्डको तराजु
कहाँबाट बनेको छ कुन्नि
यो न्याय प्रणाली
जहाँ
जीवनभरि अरूलाई लाचार र निरीह बनाउन
सिपालु ईर्ष्यालु आज स्वयंले बनाएको
माखेजालोमा अल्झिएर लडेको
खबर फैलिरहेको छ।
तर यो निरीह विष तत्त्व ईर्ष्या त्यस अवस्थामा
लाचार बनिदिन्छ
जुन आफूले मान्नु पर्ने वा आफ्नो मस्तिष्कले
बौद्धिक वर्गमा राखेको
कुनै वर्ग वा मनबाट अत्यन्त सत्कार गरिएको
स्थानमा रहेको निकटतम वा आफन्त कुनै
अर्को मानवबाट बिना कारण प्राप्त हुन्छ
त्यस्तै संसारले पुजेको स्थान
गुरुकै दर्जामा रहेको प्राणीबाट ओकलिन्छ
त्यो ईर्ष्या व्यक्त गर्नेलाई भन्दा
महसुस गर्नेलाई
लज्जास्पद भइदिन्छ
किनकि
असफलता वा बेखुसीको कुनै एउटै
अप्ठ्यारो सिँढीमा नदेखिएको आकृति
एक्कासि सफल बिन्दुमा
आएर घृणित तरीकाले ईर्ष्याको राप
ओकलिरहेको हुन्छ
उसले सत्यमा असत्य देख्छ
उसले दुखमा नाटक देख्छ
उसले पीडामा मलहम लुकाउँछ
उसले हाँसोमा जलन देखाउँछ
उसले यथार्थका कहानीलाई
बनावटी कथा मानिदिन्छ
उसले प्रशंसक माझ
गएर खिल्ली उडाइरहेको हुन्छ
उसले तिक्त बोलीमार्फत
सफलताका बाटोमा हिलो छ्याप्न
हर प्रयत्न गरेको हुन्छ
तर अन्त्यमा ईर्ष्यालु आफ्नै
कर्मसँग हार खान्छ र
आउँछ सामुन्ने त्यो
वर्षौँ उसकै प्रहार खपेको
आकृति अगाडि अनि
भन्छ
म तपाईँको जीवनकाल देखिको
अनन्त र आत्मीय आफन्त एवं
प्रशंसक हुँ
तब धर्तीले घुटुक्क निल्दछिन्
एउटा झुटो आश्वासनको ज्वाला
शान्त मुद्रामा र जान्छ भूकम्प
नदेखिने र कम्पन शैलीमा
किनकि
ईर्ष्यालु पनि एक दिन
खरानी बन्नु छ धर्तीभित्र नै
तर उसका ध्वनिहरू गुन्जिन्छन्
अँध्यारो जमिनभित्र
र त्यो मौन, निरीह अनि
टिठलाग्दो प्राणीको
सफलताको ध्वनि गुन्जिन्छ
धर्तीको बाहिर
चट्टान फोरेर भए पनि
सकारात्मक किरण उदाउँछन्
सबैतिर
जसले आफ्नो समय र शब्दलाई
अन्यप्रति ईर्ष्या ओकल्नमा
व्यर्थ बनाएको थिएन
यसैले ईर्ष्याको आगो
निभाउन कुनै अर्को
मानव वा शास्त्रीय ज्ञान वा
अन्य केहीले सक्दैन
यसलाई त प्रकृति
स्वयंले आफ्नो भाषाबाट
परिभाषित
एवं दण्डित गरेको हुन्छिन्।