कविता
हो हजुर हो साँच्चै नै हो
हो आजभोलि यहाँ यस्तै चलन चल्या छ
ती चलन हेर्दै लाचारमा दिन ढल्या छ।
हो हजुर पाउन त पाएँ साँच्चै धेरै नै पाएँ
आशैआशको रात र पीडैपीडाको दिन पाएँ।
हो हजुर हो
पाए त पाए टन्नै पाए जे, जो तिनैले पाए
बेथिति र कुसंस्कार हेर्न नि:शुल्क समय पाए।
हो हजुर हो साँच्चै नै हो
हजुर हजुर, ज्यूँ ज्यूँ गर्नेले लाभको माला पाए,
स्वाभिमान र इमानदारले अपमानको पोको पाए।
हो हजुर हो
गुट गुट बनाई संगठित हुनेले राजै राज पाए
निष्ठापूर्व आफ्नो काम गर्नेले बेसरी लात पाए।
हो हजुर हो साँच्चै नै हो
काम नगरी चाप्लुसी गर्नेले ठूलै अवसर पाए
परिश्रमी अनि मेहनतीले खाडीको भिसा पाए।
हो हजुर हो
चोरीठगी र गैरकानुनी काम गर्नेले सम्मान पाए
लोभमा नपरी काम गर्नेले बिदाइको अबिर पाए।
हो हजुर हो साँच्चै नै हो
बलात्कारी अनि हत्याराले संरक्षणको ओत पाए
गरिब अनि पीडितले धम्की र लोभमा जेल पाए।
हो हजुर हो
गफैगफमा आफ्ना र बाठोले अवार्ड र लड्डु पाए
वास्तविकले अपमान निराश र आँसुको भारी पाए।
हो हजुर हो साँच्चै नै हो
धन, शक्ति अनि बल हुने धनाढ्यले इज्जत पाए
सामाजिक सुधारकले तिरस्कारको कोसेली पाए।
हो हजुर हो
धन पैसा र सम्पत्ति फिजाउन सक्नेले प्यार पाए
हृदयिक साँचो माया गर्नेले केबल दिन मात्र पाए।
हो हजुर हो साँच्चै नै हो
हो आजभोलि यहाँ यस्तै चलन चल्या छ
ती चलन हेर्दै लाचारमा दिन ढल्या छ।