जब मेरो डिग्रीको सर्टिफिकेटको मूल्य
चटपटे हाल्ने कागजको जति पनि हुन्न
जब मभित्र उम्लिरहेको जोसको नदीले
बग्नलाई कुनै बाटो पाउँदैन
जब मैले गरेको श्रमको मूल्यले
पेटभरि खाने आँटो आउँदैन
जब मभित्र फुल्दै गरेको बौद्धिकता
नाराबाजी र चाकडीको तापले मुर्झाउँछ
जब मैले कल्पना गरेको मेरो भविष्य
उज्यालो घाम नउदाउँदै अस्ताउँछ
जब मसँग बाँकी रहँदैनन्
चाकडीमा पुज्नुपर्ने पाउहरू
दयाको भिख माग्न पुग्नुपर्ने ठाउँहरू
अब तिमी नै भन न सरकार
म विदेश किन नजाऊँ?
गर्छु भनी सोच्थेँ यही देशमा नै केही
जिन्दगीमा सबभन्दा ठुलो भूल भयो त्यही
जुन दिन मभन्दा कम योग्य मान्छे
भनसुनकै आधारमा बन्यो अब्बल
जुन दिन देखेँ इमान बेच्नेहरूकै
चारैतिर चर्चा, प्रगति र चहलपहल
जुन दिन भेटेँ राष्ट्रलाई असली योगदान दिनेहरू
छटपटाइरहेको अस्पताल शय्यामा
जुन दिन देखेँ न्याय, कानुन, लज्जा
खुल्लमखुल्ला बिक्री भइरहेको रुपैयाँमा
त्यही दिन लाग्यो यो देश मेरो हैन
मजस्तो लप्पनछप्पन नजान्ने
ठुलाठालुहरूलाई चिन्दै नचिन्ने
पार्टीको होइन, देशको झन्डा ओढ्ने
सायद कसैको पनि होइन यो देश।
मेरा पितापुर्खाले नरककै जिन्दगी बाँचे
म पनि जसोतसो दुख लुकाउँदै हाँसे
तर म चाहन्न मेरा सन्तानहरू
एक छाक खाना नपाएर मलाई गाली गरुन्
एक सरो राम्रो वस्त्र लाउन नपाएर मलाई आँखा तरुन्
ज्ञानको उज्यालो घामबाट सदैव वञ्चित रहुन्
उमेरभन्दा ठुलो कामको भारीले सधैँ थकित रहुन्
मैले नपाउँला सुखको सास फेर्न
तर मेरा सन्ततिको ओठमा दुखले कहिल्यै बास नगरोस्
मै हौँला बरु रगतपच्छे
तर मेरा मुटुका टुक्राहरूलाई अभावको काँडाले कहिल्यै नकोतरोस्।
धेरै त के भन्नु र खै
देशको माटोले पेट भरिन्न रहिछ
राष्ट्रभक्तिले ऋण तिरिन्न रहिछ
झन्डाको मुनि बसेर आङ ढाकिन्न रहिछ
गुराँसको सुन्दरतामा गरिबी नफुल्दो रहिछ
हिमालको अग्लाइमा आमाको ओखती नभेटिँदो रहिछ
मनभरि देशको माया बोकेर
मन मुटु यतै कतै छोडेर
आज यो तन उड्दै छ विदेश सिँगार्न
तिमी नै भन्देऊ न साथी
मैले जाति गरेँ कि नजाति?