घडीले मध्यरातको घोषणा गरेपछि म आदिम पुरानो ढुंगे पुलको किनारमा उभिरहेको थिएँ। पूर्ण चन्द्रमा आकाशभरि फैलिरहेको थियो। त्यो चाँदनी रातको प्रकाशले संसारलाई स्वप्निल बनाइरहेको थियो।
पुलको तल बग्ने खोलाले नीरव रातलाई आफ्नो भित्री गीति कथा सुनाइरहेको जस्तो लाग्थ्यो। बगरका छेउछाउका रूखहरूले आफ्ना पातहरूमार्फत सुस्केरा दिँदै त्यो गुप्त गीति कथामा साथ दिइरहेका थिए।
म किन त्यो प्राचीन पुलको किनारमा त्यति राति उभिरहेको थिएँ भन्ने जिज्ञासा कसैले राख्छ भने, मसँग उसको जिज्ञासा मेटाउनको लागि कुनै तर्क वा विश्वासिलो तयारी धारणा थिएन, अझैसम्म पनि छैन। म अरू कुनै ठाउँहरूमा पनि जान सक्थेँ। किन त्यही ठाउँमा पुगेँ? कसरी पुगेको थिएँ? यो पनि मैले पत्ता लगाउन सकिरहेको छैन। यद्यपि मेरो आँखाले त्यतिखेर खिचिरहेको त्यो मध्यरातको दृश्यात्मक खिचाइ कुनै आकस्मिक भने थिएन।
कुनै अपरिचित बलले मलाई त्यो ठाउँमा लगेको पनि होइन। यद्यपि त्यो अदृश्य भने थियो— अज्ञात आवाज। तर त्यो अपरिचित भने होइन, त्यो आवाज मैले वर्षौँ अघि सहरको अनकन्टार गल्लीमा सुनेको थिएँ। त्यही आवाज जसले अहिले मनको गहिराइबाट मलाई यस रात, पुरानो पुल, खोला र किनारसँग जोडिरहेको छ।
पुलमा सिँढीहरू थिए। सिँढीबाट तल ओर्लिएर म तल नै हेरिरहेको थिएँ। मैले समयको अव्यक्त छायालाई महसुस गरेँ कि जस्तो लाग्थ्यो। महसुस पनि कस्तो— जीवन र मृत्युको बिचमा झुन्डिरहेको कुनै आँसु र हाँसोको क्षण जस्तो थियो।
मन्द मन्द निकै कोमल बतास चलिरहेको थियो। त्यो बतास पहिला पनि कुनै दोबाटोमा थकाइ मार्न बस्दा मैले महसुस गरेको थिएँ तर त्यतिखेर असामान्य लागिरहेको थियो। मानौँ कि त्यो बतास केवल सास फेर्नको लागि नभई कुनै रहस्य बताउनको लागि चलिरहेको थियो। बतासको स्पर्शले मेरो छालामा छोएर मेरो चेतनालाई चेतावनी दिइरहेको थियो कि शरीरका स्नायुहरू अझै जीवित छन्।
त्यसपछि त्यो आयो, एक मधुरो आवाज। संगीतलाई मात खुवाउने आवाज आएको थियो। मैले मेरो वरपर आँखा दौडाएँ तर केही पनि देखिनँ। यद्यपि म निश्चित थिएँ कि उक्त आवाज स्रोतविहीन भने होइन। आवाज कुनै निश्चित स्थानबाट मात्रै पनि आइरहेको थिएन। चारै दिशाको हरेक स्थानबाट उक्त आवाज आइरहेको थियो।
‘तिमीले पनि यो कोमलता र मधुरता सुन्दै छौ?’
अचानक गुन्जिएको त्यो आवाजले मेरो मुटु झसंग बनाएको थियो। धेरै वर्षपछि त्यो रात्रिकालीन समयमा एउटा शान्त, गहिरो स्वरले मलाई झस्काएको थियो। मैले फर्केर हेर्दा पुलको टाढा किनारमा एउटा आकृति उभिएको थियो।
चन्द्रमाको मधुरो प्रकाशमा मैले उसलाई अस्पष्ट देखेँ— हावामा फरफराइरहेको उसको घाँटीको मफलर, छोटो कपाल, मैले अस्पष्ट देखे पनि प्रस्टसँग ठम्याउन सकिन्थ्यो। गहिरा र उदास आँखाहरू जसले दृष्टिकोणको आकर्षक पहिरन लगाएका थिए। कता-कता लाग्थ्यो पारिजातको पात्र बरी हो।
बरीले जसरी चुरोट नतानेको र रङिन पहिरनले मलाई होइन भन्ने पनि लागिरहेको थियो। मेरो आँखामा अनिद्राको चिप्रा थियो, हुनसक्छ त्यसैले ऊ महिला हो कि पुरुष भन्ने पनि ठम्याउन सकिनँ। तथापि आवाजबाट आकलन गर्न सकिन्थ्यो।
‘हो, सुन्दै छु,’ मैले झिनो स्वरमा भनेँ, ‘यो के हो?’
उक्त आकृति बिस्तारै अघि बढ्दै म उभिएको ठाउँमा आइपुग्यो। मैले परबाट हेर्दा उसलाई पुरुष भन्ठानेको थिएँ। मैले यो बारेमा भन्दा ऊ बेस्मारी हाँसेकी थिई। उसको अनुहार गहिरो थियो। आँखाहरूले युगौँ अघिको अनुभव बोकेको प्रस्ट देखिन्थ्यो।
‘यो देख्न नसकिनेहरूको संगीत हो,’ उसले थप्दै भनी, ‘यो सुनिनु तिम्रो लागि सौभाग्य हो।’
उसको आवाज भूतकालको कुनै बिर्सिएको गीतजस्तो थियो।
‘सौभाग्य? अनि तिम्रो लागि नि?’ मैले जिज्ञासापूर्वक सोधेँ।
उसले हल्का मुस्कुराएर भनी- ‘सबैलाई यस्तो हुँदैन। अधिकांश मानिसले जीवनभर यस्तो किसिमको आवाजहरू सुन्न सक्दैनन्। तर तिमी फरक छौ। त्यसैले तिमी यहाँ छौ र यो आवाज महसुस गरिरहेको छौ। त्यसैले यो मेरो लागि पनि सौभाग्य हो।’
‘खै म बुझ्दिनँ,’ मैले भनेँ, ‘म त के खोज्दै छु भन्ने पनि मलाई थाहा छैन।’
‘तर तिमीलाई थाहा छ,’ उसले भनी।
उसका ध्वनिहरू निकै गहिरा तर सान्त्वनादायी थिए।
ऊ भन्दै थिई— ‘तिमीले सधैँ केही खोज्यौ; केही अदृश्य, केही अपरिभाषित।’
मैले मौन सहमति जनाएँ।
ऊ बोल्दै थिई, ‘तिमीले सुन्दै गरेको आवाज हृदयको संगीत हो। तिमीले गुमाएका क्षणहरूको प्रतिध्वनि हो। यो तिम्रै हृदयको गहिराइमा लुकेको उत्तर हो। जुन शब्दमा होइन, अनुभूतिमा निहित छ।’
म चुपचाप उभिएर उसलाई सुन्दै थिएँ। उसले मलाई प्रेमका प्राचीन कथा सुनाई र त्यस कथाको बारेमा मेरो धारणा जान्न खोजी। तर मेरो मनमा आँधी चलिरहेको थियो। जीवन र प्रेमको गहिराइमा डुबुल्की मारिरहेको थिएँ।
मैले भनेँ— ‘प्रेम खोज्नु र गर्नु भनेको कुनै पूर्णता खोज्नु होइन। प्रेम गर्नु त अधूरो र अपूर्णता स्विकार्नु हो। तर यो प्रश्नवाचक नभए पनि यो फगत प्रश्न मात्रै हो। उत्तर त म पाउन सक्दिनँ।’
उसले भनी, ‘तिम्रा सबै उत्तरहरू समयसँगै आउनेछन्। तर कहिलेकाहीँ प्रश्न नै सबैभन्दा ठुलो वरदान हुन्छ। हरेक प्रश्नले जीवनलाई नयाँ आकार दिन्छ। उत्तरको भोकमा प्रश्न नमार्नू।’
मलाई अचम्म लागेर सोधेँ– ‘मैले मनमनै सोचेको कुरा कसरी थाहा पायौ?’
उसले भनी– ‘म पुलभन्दा माथिको डाँडामा उभिएर उत्तरतिरको चम्किलो तारा पत्ता लगाउन खोज्दै थिएँ। तर म पनि यही पुलमा आउन चाहन्थेँ। यहाँ आउन कसैलाई मन लाग्दैन र आजसम्म पनि कोही आएको थिएन। यो यस्तो कुरूप ठाउँ मन पराएर तपाईं आउनुभएछ। यो पुललाई मन पराउने तपाईं र म मात्रै रहेछौँ। त्यसैले आफू जस्तै लागेर तपाईंको नजिक आएकी हुँ। तिमीलाई तपाईं पो भनेछु?’ ऊ एक्लै हाँसी।
मैले भनेँ– ‘केही छैन। भन्नुहोस्।’
उसले हाँस्दै भनी- ‘ल बराबर भयो।’
मैले पनि उसलाई यस्तै केही किस्सा सुनाएँ। तर मेरा किस्साहरू उसका सामु फिक्का भएका थिए। त्यसैले मैले केवल सुनिरहेँ। ऊ बोल्दै थिई।
‘म तपाईंलाई धेरै पहिलादेखि चिन्छु। भलै तपाईंले बिर्सनु भयो मलाई। तर केही गलत छैन। अबका नोभेम्बरहरूमा पछाडि फर्केर नहेर्नुस्। केवल कैयौँ नोभेम्बर बितेर जानेछन् तर तिनीहरूले तिम्रो ख्याल गर्नेछैनन्। ओहो फेरि अचानक तिमी भनेँ!’
मैले भनेँ– ‘केही छैन। भन्दै गर।’
उसले हाँस्दै भनी– ‘ल बराबर भयो’
‘जसले तिमीसँग कफी खाए र उठेर गए तिनीहरू मूर्ख हुन्।’
त्यसपछि एक छिन सन्नाटा छाएको थियो। सन्नाटालाई उसैले भंग गरेको थिई- ‘अँ साँचै तिम्रो सेतो सर्ट र कालो जिन्स यो क्षितिजसँग मेल खाइरहेको छ। मैले पत्ता लगाउन खोजिरहेको चम्किलो तारालाई मैले बिर्सिदिएँ।’
उद्देश्य परिवर्तन किन? मैले मुसुक्क हाँसेर भनेँ– ‘अनि मेरो सर्ट र जिन्स मन पराएकोमा धन्यवाद।’
‘हाँस्न पनि जानेको छौ?’ उसले हाँस्दै भनी।
भन्दै थिई– ‘जहाँ पर्खाल खडा हुन्छ त्यहाँ उद्देश्य हुन्छ पर्खाल नाघ्नको लागि। म अहिले स्वतन्त्र महसुस गरिरहेकी छु। यसरी निर्विरोध मध्यरातमा कुनै पुरुषसँग हिँडिरहेकी छु तर पनि मलाई आज पुरुषको सत्तासँग डर लागिरहेको छैन। मेरो उद्देश्य नडराउनु थियो। त्यो तारामा पुग्न पाए डर हुने थिएन भन्ने लागेको थियो। त्यसैले त्यसलाई खोजिरहेकी थिएँ। आज म यसरी तिम्रो समीपमा हिँड्दा पनि डराएकी छैन। मैले फेरि दोहोराएँ कि मेरो उद्देश्य नडराउनु थियो। अब मैले तारा खोज्ने धपेडी किन गरिराख्नु? होइन र?’
ऊ मेरो अनुहारमा हेरेर हाँसिरहेकी थिई। उसलाई लाग्यो सायद मैले उसको कुरा बुझ्न सकिरहेको छैन।
‘बरु तपाईं एउटा गीत लेख्नुस् न ताराहरूको बारेमा।’
‘किन?’ मैले सोधेँ।
त्यसो गर्दा मैले भनेका कुराहरू तपाईंले बुझ्नुहुनेछ सायद। मैले मौन स्वीकृति दिएर पछाडि फर्किएँ।
उसले सोधी– ‘तिम्रो नाम सोध्न बिर्सिएकी थिएँ।’
मैले ऊतिर नफर्किएर नै जवाफ दिएँ- ‘मेरो त कुनै परिचय छैन। अनि तिम्रो नाम?’
उसले भनी– ‘भावुक। परिचय छैन भने तिम्रो नाम पनि आजदेखि भावुक नै हो भन्ने सम्झिएँ।’
मैले भनेँ– ‘मेरो त गन्तव्य पनि छैन। यहाँ के खोज्न आएको थिएँ अझसम्म पनि थाहा छैन। अँ बरु तिम्रो अनुरोधमा मैले ताराहरूको बारेमा गीत सोचेँ। सुन्ने हो?’
आवाज आएन। म पछाडि फर्किएँ, ऊ त्यहाँ थिइन। ऊ अचानक कहाँ विलीन भई? मैले दायाँ बायाँ हेरेँ तर कतै पनि ऊ त्यहाँ थिइन। पुल फेरि निस्तब्ध भयो, रात फेरि मौन।
तर त्यो संगीत, त्यो गुनगुनाहट, मेरो भित्री संसारमा प्रतिध्वनित भइरहेको थियो।
त्यो गीत गुनगुनाउँदै म बिस्तारै त्यहाँबाट हिँड्न थालेँ। जाँदाजाँदै मैले पछाडि फर्केर पुल हेरेँ। समय र प्रकाशको जादुले त्यो ठाउँलाई अझ गहिरो बनाएको थियो।
मैले महसुस गरेँ— समयले कहिल्यै पूर्ण उत्तर दिँदैन। यसले सधैँ केही प्रश्नहरू छोडिदिन्छ जसले हाम्रो आत्मालाई जागृत राख्छ।
सुख र दुःख प्रेम र जीवन नदीका दुई किनारजस्ता हुन्, कहिलेकाहीँ संगम हुने र कहिलेकाहीँ टाढा। यो थिमलाई गीत बनाएर गीतको अन्तिम अन्तरामा राख्ने सोचेर मैले पुल पार गरिसकेको थिएँ।
र त्यो पुल? त्यो फगत एउटा बाटो थियो। यात्रा महत्त्वपूर्ण उत्तर हो।
यद्यपि त्यस समयदेखि त्यो रातले मलाई कहिल्यै पूर्ण रूपमा छोडेन। र प्रश्नहरू? तिनीहरू मेरो साथै रहिरहे— आफ्नै छायाझैँ।