पुस महिनाको जाडोसँगै बिहानी पखको सूर्यको किरणमा म चियाको चुस्कीसँगै हराइराखेको थिएँ। त्यतिकैमा फोनको घण्टी बज्यो। फोनमा हेरेँ, कसले यो बिहानीमा नै फोन गरेको रहेछ भनेर। फोनमा देखिँदै थियो- पुष्कर ईज कलिङ।
म अचम्ममा परेँ, यतिका दिनपछि मलाई पुष्करले कसरी सम्झियो! सुरुमा त फोन उठाऊँ कि नउठाऊँ भन्ने दोधारमा परेँ किनकि उसले कैयौँ महिनापछि मात्र मलाई फोन गरेको थियो। हुन त ऊ मेरो दुख सुखको साथी थियो। ऊ मेरो बचपनदेखिको साथी थियो। उसले मेरा हरेक दुःख, पीडा र अभावहरूमा साथ दिएको थियो। यति मात्र हो कि ऊ केही महिनाका लागि मेरो सम्पर्कबाट हराएको थियो।
मैले हतार हतार अन्तिमको घण्टीतिर फोन उठाएँ। उताबाट आवाज आयो, ‘हेलो उपासना, के छ खबर? मलाई बिर्सिएको त छैनौ?’
मैले मन्द मुस्कानका साथ भनेँ, ‘मेरो साथी तिमीलाई बिर्सिएर म बाँच्न सक्छु होला र? मलाई सबै ठिक छ, तिमीलाई कस्तो छ बरु भन, यतिका दिनसम्म कता हराएको थियौ?’
पुष्करले फेरि हतारमा भन्यो, ‘ल यो सबै कुरा छोड, पछि भेटेर गरौँला। तिम्रो गेटको तल हेर त को आएको छ?’
नभन्दै मैले घरको गेटको तल हेरेँ। निलो ज्याकेट, कालो पाइन्ट, सेतो जुत्ता लगाएको र हातमा केही सामान बोकेर पुष्कर उभिरहेको थियो।
उसले त मलाई सर्प्राइज दिएको रहेछ। उसलाई देख्ने बित्तिकै म हतार हतार गेट खोल्न गएँ। गेट खोल्ने बित्तिकै उसले मलाई अँगालो हाल्यो। केही बेरको अङ्गालोपछि हामी छतमा गयौँ। छतमा पुगिसकेपछि पुष्करले मेरो हात तान्दै मलाई ‘यो खुसीको मिठाई खाऊ’ भनेर दियो।
मैले केको खुसीयालीमा भनेर सोधेँ।
उसले कर गरेर भन्यो, ‘पहिला तिमी यो मिठाई खाऊ अनि मात्र भन्छु।’
मैले मिठाई खाएँ।
‘ल अब त भन केको मिठाई हो?’
‘भन्छु, मजाले भन्छु। तिमीलाई नै सुरुमा भन्छु भनेर हतार हतार गर्दै यहाँसम्म आएको हुँ। उपासना आज मेरो सपना साकार भएको छ। कैयौँ वर्षपछिको मेहनतको फल पाएको छु। मैले मेरो सपना पूरा गर्न मेरो रगत र पसिना एक गरेको छु। आज त्यसैको फल पाएको छु। उपासना म नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना सफल भएको छु।’
पुष्करले यति कुरा भनिसकेपछि मेरो मनमा खुसीका छालहरू छल्किन थाले। उसका शब्दहरूले मेरो हृदयमा नयाँ उत्साह भर्यो। ती पलहरूले मेरो जीवनको एउटा नयाँ अध्यायको थालनी गर्न चाहिरहेको थियो।
त्यतिकैमा मैले थप प्रश्न गरेँ, ‘पुष्कर, यतिका दिनसम्म तिमीले मलाई किन फोन नगरेको? तिमीलाई थाहा छ, मैले तिमीलाई कति खोजेँ। तिम्रा हरेक साथीलाई सोधेँ, तिम्रो कलेजमा गएँ, तर त्यहाँ पनि तिमी भेटिएनौ। तिम्रा सबै सामाजिक सञ्जालमा खोजेँ तर तिमी कतै थिएनौ। पुष्कर, तिमी किन यति निर्दयी भयौ? कम्तीमा मेरो अनुहार सम्झेर भए पनि केही थाहा दिनुपर्थ्यो। किन तिमीले यस्तो गर्यौ?’
मेरा प्रश्न र आवेगहरू सुनेपछि पुष्करले आँखाभरि आँसु पार्दै भन्यो, ‘उपासना, मान्छेलाई हरेक कुराले नयाँ पाठ सिकाउँदो रहेछ। अनि समयले मान्छेलाई कठोर र निर्दयी बनाउँदै रहेछ। मसँग पनि त्यस्तै भयो। जीवनमा धेरै कुरा नसोचेका भोग्नु पर्यो। एउटा कुरा सम्हाल्न खोज्दा अर्को कुरा बिग्रियो। सोचेको एक थिएँ, तर भोग्न पर्यो अर्को।
म गाउँको एउटा विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दै थिएँ। गाउँमा एक किसिमको विदेश जाने लहर चलेको थियो। हरेक घरबाट कम्तीमा एक जना त विदेश गएको हुन्थ्यो। त्यस लहरले मलाई पनि छोयो। मेरो एउटा ठुलो सपना थियो— कक्षा १२ पास गरेपछि जापान जाने।
कक्षा १२ पास गरिसकेपछि म काठमाडौँ आएँ। काठमाडौँमा त्यति बेला मेरो कोही थिएनन्। छ न त थिए आफन्तहरू तर हाम्रो बुबासँग राम्रो सम्बन्ध थिएन। त्यसैले उहाँहरूबाट सहयोगको आशा थिएन।
भनिन्छ नि, जसको कोही हुँदैन उसको भगवान् हुन्छ। मलाई पनि भगवान्ले एक जना साथीसँग भेटाइदिनु भयो। उहाँको नाम सरोज थियो। उहाँको आत्मीयताले मेरो जीवनमा नयाँ ऊर्जा थप्यो र हाम्रो सम्बन्ध झन् प्रगाढ बन्यो। सरोजजीले मलाई ऊर्जा दिलाउँदै भनेका थिए- पुष्करजी, काठमाडौँ आउनुहोस्। तपाईंलाई जापान पठाउने जिम्मा मेरो भयो।
उहाँका ती शब्दहरूले मेरो मनलाई ठुलो राहत दियो। सोही विश्वासका साथ म काठमाडौँतर्फ लागेँ। साथमा थिए ४ जोर कपडा, नयाँ मोबाइल र बिस हजार रुपैयाँ। काठमाडौँ पुगेपछि सरोजजीले मलाई जापनिज भाषा सिकाउने एउटा कन्सल्टेन्सीमा भर्ना गरिदिनु भयो। उहाँको यो सहयोगले मेरो सपना पूरा हुने बाटो खुलेको महसुस भयो।
मान्छेले जति सपना बुनेका हुन्छन्, ती सपनालाई साकार पार्न त्यति सजिलो हुँदो रहेनछ। तोकेको यात्रामा पुग्न कठिनाइहरूको सामना गर्नुपर्दो रहेछ। जिन्दगीको बाटो सिधा होइन, अनेकौँ चुनौती र संघर्षले भरिएको हुँदो रहेछ।
केही महिनापछि सरोज जागिरको सिलसिलामा काठमाडौँ छोडेर जानु पर्ने भयो। अब म काठमाडौँमा एक्लो थिएँ। तर पनि मैले जापनिज भाषा मेहनतका साथ पढ्दै थिएँ।
केही महिनापछि कन्सल्टेन्सीमार्फत मैले विद्यार्थी भिसा लगाउनुपर्ने भयो। त्यसका लागि मलाई पन्ध्र लाख रुपैयाँ जम्मा गर्नु पर्ने थियो। हाम्रो घरमा म एक्लो छोरो थिएँ र दुई बहिनीहरू थिए। हामी गरिब परिवारका थियौँ मात्रै किसानी काम गरेर घरको जीविका चलेको थियो।
हाम्रो घरको आर्थिक अवस्था निकै कमजोर थियो, त्यसैले यति ठुलो रकम जम्मा गर्नु हाम्रा लागि अत्यन्तै कठिन काम थियो। बुबाले दिनरात मेहनत गरेर खेतबारीमा काम गर्नु हुन्थ्यो। तर त्यति कमाइले हाम्रो दैनिक खर्च पनि मुस्किलले धान्न सक्थ्यो। यद्यपि, बुबाले जसोतसो रकम मिलाउनु भयो र थप रकममा बैंकको ब्याज र छिमेकीहरूको सहयोगमा मैले भनेजस्तो रकम जम्मा गर्न सफल भएँ।
समय बित्दै थियो। पैसा जम्मा गरेको पनि ४ महिना बितिसकेको थियो। म जापान जान पाउँछु या पाउँदिनँ भन्ने कुनै यकिन थिएन। बैंकको ब्याजले नै हामीलाई दिन प्रतिदिन च्याप्दै थियो। मलाई काठमाडौँमा जीवन धान्न नि गाह्रो हुँदै थियो। बुबाले मेरा लागि पैसा पठाउन नसक्ने अवस्थामा थियो। यी सबै कुरा हुँदै गर्दा मैले एउटा योजना बनाएँ, अब भिसा नआउन्जेल कतै काम गर्ने। त्यही योजनाअनुसार कामको सिलसिलामा विभिन्न ठाउँमा धाएँ तर कहीँ कतै पनि जागिर पाइनँ।
त्यति बेला थाहा पाएँ, यो देशमा हरेक ठाउँमा आफ्नो मान्छे चाहिँदो रहेछ। योग्यता र सिपले मात्र नहुँदो रहेछ। मन भारी भएर आयो। सोचेँ, अब मेरो जिन्दगीको यात्रा यही समाप्त भएको हो। तर म हार मान्ने पक्षमा थिइनँ। यस्ता चोट त मेरा लागि सामान्य नै हुँदै थियो।
एक दिन मैले फेसबुकमा एउटा जागिरको विज्ञापन देखेँ। त्यसका बारेमा जानकारी लिन सो कार्यालयसम्म पुगेँ। कार्यालयमा पुगेपछि मैले एक जना सरसँग कुरा गरेँ। उहाँले भन्नुभयो कि काम सेक्युरिटी गार्डको छ तर यसका लागि पहिला तालिम लिनु पर्ने छ। तालिम पूरा गरेपछि मात्रै काममा नियुक्ति दिइने कुरा उहाँले स्पष्ट पार्नुभयो।
तालिमका लागि पनि शुल्क तोकिएको रहेछ जसअनुसार मैले तालिमका लागि आठ हजार रुपैयाँ बुझाउनुपर्ने भयो। मैले जसोतसो गरेर आठ हजार रुपैयाँ जोहो गरे र तालिममा भर्ना भएँ।
करिब १५ दिनको तालिमपछि मैले सेक्युरिटी गार्डको रूपमा काम पाएँ। काम दैनिक सात घण्टाको थियो। हुन त मलाई थाहा थियो काम सानो-ठुलो हुन्न तर पनि सुरुसुरुमा कसैले मलाई चिन्ने हुन् कि भन्ने पनि लाज लाग्थ्यो। मैले सेक्युरिटीको काम गर्न थालेबाट परिवारबाहेक सबैसँग सम्पर्कविहीन भएँ।
समय बित्दै थियो। म लगातार काममा गइराखेको थिएँ। एक दिनको कुरा हो, म जे नहोस् भन्ने थियो त्यही भयो। म ड्युटीमा थिएँ। दिउँसो कन्सल्टेन्सीबाट फोन आयो- ‘सरी सर, हामीले जापानका लागि गरेको हजुरको भिसा अप्लाइ एसेप्ट भएन। हजुरको पैसा फिर्ता लग्न आउनु होला। त्यसमा हजुरको जम्मा पैसामा एक लाख जति काटिएर आउँछ।’
यति भनिसकेपछि मैले आफूलाई एउटा गहिरो खाडलमा गिरेको अनुभव गरेँ। मेरो अस्तित्व बरबाद भएको जस्तो लाग्यो, जसले गर्दा जीवनको निराशा र हारको स्वाद चाखेँ। जिन्दगीमा सोचेका सबै कुराहरू पूरा नहुँदा रहेछन्, एउटा गन्तव्यमा हिँडेको मान्छे अर्कै गन्तव्यमा पुग्दा रहेछ।
त्यति बेला मलाई साथ दिने कोही थिएन। म केबल एक्लो थिएँ। हुन त मान्छे संघर्षमा एक्लो हुन्छ, सफलतामा उसको पछाडि दुनियाँ हुन्छ। म जिन्दगीसँग हार्दा हार्दै कहाँसम्म पुग्छु भन्ने कुनै यकिन थिएन। तर पनि म जिन्दगीको लडाइँमा थिएँ।
मैले त्यस्तो अवस्थामा काम छोड्ने कुरो नै थिएन। दिउँसो गार्डको काम गर्थेँ भने राति मात्र फर्किन्थेँ। मेरो बिहानको समय खाली थियो। पछि मैले बिहानको समयमा कलेज भर्ना गरेँ। रहरै रहरका बिच जिन्दगी जसोतसो धकेलिँदै थियो। म ड्युटीमा हुँदा यो सिंगो संसारलाई हेर्थेँ। विभिन्न किसिमका मान्छेलाई देख्थेँ। त्यति बेला मलाई पनि रहर थियो नयाँ जुत्ता लगाउने, नयाँ ज्याकेट र पाइन्ट लगाउने। मलाई पनि रहर थियो मेरी आमालाई रातो पछ्यौरी किन्ने तर यहाँ चाहना मात्र भएर कहाँ हुँदो रहेछ र! त्यसका लागि त पैसा नै पैसा हुनु पर्ने रहेछ।
समय बित्दै जाँदा एउटा बिरामी जसरी एउटा अस्पतालको बेडमा आफ्नो अन्तिम साससँग लडिरहेको हुन्छ, त्यसरी नै म आफ्नो जिन्दगीसँग युद्ध लडिरहेको थिएँ। त्यसै क्रममा मैले स्नातक तह राम्रो अङ्कका साथ पास गरेँ। राम्रो अङ्क प्राप्त गरे पनि ममा कुनै हर्ष थिएन किनकि मेरो जिन्दगीको लक्ष्य र गन्तव्य कहाँ सम्मको हो भन्ने कुरामा कुनै निर्क्योल गरेको थिइनँ।
म पीडा र सङ्घर्षको कारागारमा रमाउँदै थिएँ। एक दिन एक जना दाइले मलाई भन्नुभयो, ‘भाइ, नेपाल प्रहरीको इन्स्पेक्टर पदमा भर्ना खुलेको छ। तिमी पढेलेखेका पनि छौ, त्यसमा एक चोटि प्रयास गर।’
अब जिन्दगीले कुन मोडमा लैजान्छ भन्ने कुनै यकिन थिएन। तर पनि म म्याराथन धावक जस्तो भागिरहेको थिएँ आफ्नै कर्मसँग। मैले कसैलाई केही नभनी एक चोटि प्रयास नै गरेर हेरौँ भनेर नेपाल प्रहरीको इन्स्पेक्टर पदमा भिड्ने निधो गरेँ। मलाई कुनै डर थिएन म विजय हुन्छु या पराजित हुन्छु भनेर। किनकि म जिन्दगीसँग पटक पटक हारेर यहाँसम्म आएको थिएँ।
सायद हुनसक्छ भगवानले त्यो मेरो अन्तिम परीक्षा लिन चाहे र त्यो परीक्षा मैले पास गर्न सफल भएँ। मैले पहिलो नम्बरमा उक्त पदमा नाम निकाल्न सफल भएँ।’
यति सुनिसकेपछि मेरा आँखाबाट आँसु थामिएन। आँसु बग्न थाले अनि मन भक्कानिएर आयो।
‘पुष्कर, म गलत रहेछु। तिमीप्रति सोचेका सबै सोचहरू गलत रहेछन्। तिमी महान् रहेछौ महान् पुष्कर। तिम्रो सङ्घर्ष र पीडालाई कसैले पनि जित्न सक्दैन। पुष्कर, तिम्रो संघर्ष र तिम्रा पीडाहरूमा त मैले सहयोग गर्न सकिनँ। तिमीलाई साथ सहयोग गर्न सकिनँ तर अबको यात्रा तिम्रो र मेरो हुनेछ। तिम्रा यात्रामा परेका अवरोधहरू, बाटोमा अल्झिएका काँडाहरू सबै म उखेलेर फाल्ने छु। तिमीलाई हरेक साथ र सहयोग दिनेछु। तिम्रो कठिनाइहरूमा जिन्दगीभर ग्रेट वाल जसरी उभिइरहने छु। तिमीलाई हरेक साथ र सहयोग दिइरहनेछु।’
अन्तिममा पुष्करले यति मात्र भन्यो, ‘म यही दिनको पर्खाइमा थिएँ उपासना। तिमी आजबाट मेरी हौ।’