ओ मान्छे 
तिमी ब्युँझनु पर्छ
तिमी त बहादुर मान्छे 
मान्छेकै मुक्तिका लागि 
सैतानसँग जुझ्नु पर्छ। 
 
कसरी खोसिएका छन् सपनाहरू?
कसरी लुटिएका छन् निद्राहरू?
मनहरू बन्दकी राखेर 
कुन धरातलमा उभिएका थियौ हामीहरू?
हाम्रो मान्छेत्वको पहिचान खोइ?
हाम्रो सभ्यताको औचित्य खोइ?
हामीलाई 
हाम्रो आफ्नै भूगोल चाहिन्छ 
हामीलाई
हाम्रो आफ्नै सभ्यता चाहिन्छ 
साँचो अर्थमा 
ओ बहादुर मान्छे
हामीलाई मिठो सपना देख्न 
सुन्दर रात चाहिन्छ 
हामीलाई लामो यात्रा गर्न 
फराकिलो मूलबाटो चाहिन्छ।
 
आमाहरू पीडाले रोइरहनु भएको छ 
आमाहरूलाई हँसाउन 
हामीलाई पसिनको मोल चाहिन्छ 
हामी त नयाँ युग सिर्जना गर्ने मान्छे 
हामीलाई थुप्रै कोलम्बसहरू चाहिन्छ 
हामीलाई थुप्रै मार्कोपोलोहरू चाहिन्छ।
 
ओ बहादुर मान्छे
तिमी मुठ्ठी कसेर उठ
म मुठ्ठी कसेर उठ्छु
हामी त युद्ध लड्ने तयारीमा छौ 
हामी त विद्रोह गर्ने तयारीमा छौ 
सैतानहरू हो 
सावधान
मोर्चामा लामबद्ध भइसक्यौँ हामी त।