हुन त यता राम्रै कमाइ छ। बैङ्कमा आइटी इन्जिनियरको जागिर छ। नेपालीमा हिसाब गर्ने हो भने उता वर्षमा हुने कमाइ यता महिनामा छ। घर-गाडी ठुलो कुरै भएन। कता खाने, के खाने? कता घुम्न जाने? त्यो पनि सामान्य नै हो।
तर पनि खुसी हुन गाह्रो छ। महिना सकिएपछि सबै विलासिताको बिल आउन थाल्छ। घरको बिल, गाडीको बिल, घुम्न गएको बिल, खाएको बिल।
जसरी राम्रो कमाइ छ त्यसरी नै राम्रै खर्च पनि। नेपालीमा हिसाब गर्ने हो भने उता वर्षमा हुने खर्च यता महिनामा।
सामान्य जीवन त चलेको छ। तर खै त कमाएको पैसा? यसको उत्तर आफैलाई थाहा छैन। जसरी आउँछ त्यसरी नै जान्छ।
हेर्दा अमेरिकामा आइटीको काम गरेको छ। महिनामा यति कमाउँछ होला। वर्षमा यति। महँगो गाडी चढेको छ। कहिले कहाँ पुगेको छ। कैले कता। लुगा पनि चिटिक्क छ। चट्ट हेर्दा जिन्दगी दामी छ।
यता विलासिताको उपयोग गर्न गाह्रो छैन। सामान्य मानिस पनि यसको उपयोग गरिरहेका छन्। महँगो ठाउँमा पुगेर खाएका छन्।
जब महिना सुरु हुन्छ अनि सुरु हुन्छ महिनाभर उपयोग गरेका विलासिताको असुली। जति धेरै कमाइ त्यति धेरै खर्च। अनि त्यति धेरै असुली।
मानिस न हो। जे छ त्यसमा सन्तुष्टि हुन कहाँ सक्छ र? नेपाल हुँदा विदेशको मोह। विदेश आएपछि नेपाली मोह।
पैसा नहुँदा पैसाको मोह। पैसा कमाउन थालेपछि पैसा कमाउने सजिलो बाटोको मोह।
कहिलेकाहीँ त लाग्छ यति धेरै दुख केका लागि? दुख नै नगरी पैसा कमाउने ठाउँ कहाँ होला? बसिबसी पैसा कमाउन पाए?
अनि यसो हेरेँ नेपाली नेताको जीवनशैली। त्यस्तो व्यवसाय त नेपालमै छ त। राजनीतिक व्यवसाय।
यता यति दुख गरेर राम्रै कमाउँदा पनि महिनाको सुरुमा आउने बिलको चाङले मनै कटक्क हुन्छ। उता दुखै नगरी रोपनीका रोपनी कम्पाउन्ड भित्रका ती महल कसरी ठडिएका होलान्? करोडौँ करोड पर्ने ती गाडी कसरी गुडेका होलान्?
अनि त्यो देखेर यता यसरी पैसा कमाउन पनि अल्छी लागेर आउन थाल्यो। दुखै नगरी करोडका करोड पैसा कमाउने ठाउँ नेपालमा हुँदाहुँदै किन विदेशमा आएर यसरी दुख गरिएको होला भनेर पछुतो पनि लाग्न थाल्यो।
आजकल त मैले एउटा संकल्प गर्न थालेको छु। यता केही गर्न नसके नेपाल फर्किएर राजनीति गर्ने। जुन ट्रेन्ड नेपालमा राम्रै बिकेको पनि छँदै छ।
किन फर्किस् भन्दा देशको मायाले भनेपछि जनताको मन पनि जितियो। राजनीतिमा पनि बिकियो।
यता २० वर्षसम्म पनि जीवन यसरी नै चल्ने हो। यसो १-२ वर्ष नेपाल गएर दुख गरियो भने त कसो नजमिएला?
यता जे गरेर जसरी फर्किए नि नेपालमा गफैले बिक्ने हो। यता २० वर्षमा कमाइने पैसा उता दुई वर्षमा कमाइन्छ भने किन छोड्ने त्यति राम्रो अवसर? आखिर यता पनि अवसरको खोजीमै आएको त हो।
फाइदामूलक व्यवसाय खोज्ने नै हो भने नेपालको राजनीतिक बजार जस्तो संसारमै सायदै छ। आफ्नै देशमा त्यति राम्रो व्यवसाय हुँदाहुँदै विदेश हानिने हामी नेपाली पनि उस्तै।
अझै पनि केही बिग्रिसकेको छैन। विदेश आएर राजनीतिक योग्यता बढाइएकै छ। पहिला पहिला ढुङ्गामुडा हानेर योग्यता बढाए जस्तै। विदेशबाट फर्किएको भनेपछि हेर्ने नजर पनि छुट्टै।
विदेश बसेपछि नेपाल बस्नेहरू सोझा जस्तो देखिने। सबैलाई आफ्नो बसमा पार्न सकिन्छ जस्तो आत्मबल आउने। विदेशमा यति कमाइ त्यागेर नेपाल फर्किएको भनेपछि सबै आफ्नै पछाडि लाग्छन् जस्तो लाग्ने।
नेपालीहरू भावनामा बहकिहाल्छन्। त्यही भावनात्मक कमजोरीको फाइदा उठाउँदै उक्त फाइदामूलक व्यवसायमा होमिने योजना बनाउँदै गर्दा राम्रै होला जस्तो लागिरहेको छ।
मैले त मेरो राजनीतिक योजना पनि तयार पारी सकेँ। आफू राजनीतिमा आएपछि सबैलाई विदेश जान प्रेरित गर्ने। विदेश गएर केही वर्ष बसेपछि पुनः नेपाल फर्कन लगाउने। त्यसपछि मैले जस्तै विदेश छोडेर फर्किएको भनेर राजनीति गर्न लगाउने। अनि त सबै मालामाल।
यही नै हो नेपालीलाई समृद्ध बनाउने एक मात्र सूत्र।
आफ्नै देशमा रहेको यति राम्रो फाइदामूलक व्यवसायको उपयोग त गर्नु नै पर्यो।