प्रिय मेरो मन,
तिम्रो प्रेमालयमा सुटुक्क आउन मन छ
जसरी मनले मुटुलाई धड्कनको आभास दिन्छ।
अङ्कुरणको तयारीमा रहेको
कोपिला जस्तो तिम्रो मनको तौल कति छ
त्यति मात्र बुझ्न मन छ
भन आफ्नो स्वरूप उजागर गर्न कति समय लिन्छ?
तिमीलाई थाहा छ,
फूलले सुवासको सर्त राख्दैन
केबल समयमै फक्रिएर सुवास दिन्छ
त्यसरी नै प्रेमको प्रसून बनाउन मन छ।
खोइ थाहा छैन मलाई
तिम्रो सौन्दर्यले कति बेला मन पुलकित हुन्छ
मडारिएको आकाश पनि पहिलो पटक
ऐनाझैँ खुलेको महसुस हुन्छ।
तिमीले भनिदिनु पर्नेछ
एउटा सिङ्गो पहाडमा फराकिलो राजमार्ग बनाउन
कति समय लाग्ला
अब पृथ्वी उचालेर विजय उत्सव मनाउनु छ।
म तयार छु, तिमी तयार हुनू
हाम्रो प्रसन्नता र निराशा दुवै नाप्नको लागि
हुन्छ मात्र भन
पूर्णिमाको जून जस्तो धप्प बोलिरहने
तिम्रो मुहारमा प्रदीप्त थप्न मन छ।
हाम्रा यादका सङ्गालोलाई
तिम्रो सन्दुकमा राख्न तयार छौ भने
मेरा अवचेतन मनमा विवेकलाई पनि
समुद्रको छालले जसरी परसम्म लैजाऊ
जीवन र मृत्युको बिचमा
हाम्रो जुनुन समात्न मन छ।
म कहिल्यै ओइलाउने छैन
तिम्रो सत्सङ्गमा
मलाई यस्तो महसुस हुनेछ
दिशा नजिकिनेछन् मार्ग छोटिनेछन्
अनि घामका किरण भित्तामा चढेर फर्किएर
अब जिन्दगीका हरेक पर्खालमा मार्ग बनाउन मन छ।