छ महिना अगाडिको एक दिन मेरो लागि एउटा अचम्मको दिन थियो। वर्षौँदेखि हराएको मेरी आमाको मुहारमा मन्द मुस्कान देखेँ मैले। मेरो लागि त्यो अनौठो दिन थियो किनकि आमाले सबै कुरा सेयर गर्ने गर्थिन् तर मुस्कानको रहस्य खोलेकी थिइनन्।
एक्ली सन्तान भएर पनि होला, आमा र म दिदी-बहिनी जस्तै थियौँ; सबै कुरा एक आपसमा खोल्थ्यौँ। आधुनिक भइन्छ कि भनेर एक/दुई पटक मम्मी पनि भन्ने प्रयास गरेँ मैले। तर न त आमाले रुचाइन् न मैले नै आत्मीयता महसुस गरेँ मम्मी भन्दा।
तिनै प्यारी आमाको वर्षौँ पछिको मुस्कानले मेरो मनमा थप कौतुहलता जाग्न थाल्यो। मनमनै सोच्न थालेँ- आमा किन मुस्कुराइन् होलिन् आज?
मलाई थाहा थियो आमाको खुसी मेटिएको दिन! म बुझ्ने भएपछि आमाले बेली बिस्तार लगाएकी थिइन्; बाबाले कुन दिन आमालाई छोडे भन्ने कुरा। बाबा व्यापारको सिलसिलामा सहर बस्न थालेपछि ठुलाबडाको संगतमा परेपछि कलिलैमा बिहे गरेकी मेरी आमा गाउँले र सोझी हुन थालेकी रहेछिन्। पछि बाले बजारतिर बाठी आमा भेटाएपछि आमालाई छोडेका थिए रे।
आमालाई छोडेका रहेछन्। मलाई त धोका दिएका थिए, झुक्क्याएका थिए अनि आफ्नो रगत हो भन्ने बिर्सेर मनैदेखि हेपेका थिए भविष्य अन्धकार बनाएर। अझ भनौँ अलपत्र पारेका थिए, आफू जिउँदो भईकन पनि टुहुरी बनाएर। आमाले मलाई लालन पालन गर्ने कुरा अप्ठ्यारो थियो, गाह्रो थियो। त्यही भएर छिमेककै जान्ने बुझ्नेहरू र आफन्तकै जोडबलमा बजारतिर एउटा जागिर लगाइदिएका थिए आमालाई, एउटा सपिङ सेन्टरमा।
डेराकै सही, आमा र म त्यही कोठे जिन्दगीमै मक्ख थियौँ। हाम्रो सानो संसारमा रमाएका थियौँ। मेरो किशोरावस्था उमेर सुरु भएपछि आमा मलाई निकै सम्झाउँथिन्। मैले के गरेँ भने बिग्रिन्छु, मलाई मान्छेले कस्ता-कस्ता नजरले हेर्छन्! म छोरी मान्छे भएर के-के गर्नु हुन्छ, के-के गर्नु हुँदैन, आमाले सबै सिकाएकी थिइन्।
मलाई सिकाउँदा तथा सम्झाउँदा आमाको मुहारमा खुसी र हाँसो देखे पनि मैले उहाँ खुलेर हाँसेको, मुस्कुराएको देखेको थिइनँ। त्यसैले त वर्षौँपछि आमाको मुहारमा देखिएको त्यो हाँसो मेरो लागि अनौठो परिघटना थियो।
मनमा धेरै आँट बटुलेर मैले एक दिन आमालाई खाना खाने बेलामा जिस्काएँ- ‘मुसुक्क मुस्कुराउन थालेकी छौ त आमा! के केही राम्रो कुरा भयो र जिन्दगीमा? कि कतै चिट्ठा पार्यो?’
आमा थोरै लजाएको देखेँ मैले त्यो दिन, टिनएजका केटाकेटी लजाए झैँ।
‘तँ पनि आमालाई जिस्काउने भइस् हैन?’ आमाले हाँस्दै झटारो फालिन्।
‘भन न त अनि, के लुकाउँछ्यौ मलाई! तिम्रो सुख होस् या दुःख जान्ने पहिलो हकदारमै त हुँ नि,’ मौकामा मैले पनि घुर्की देखाएँ आमालाई।
‘ल ल केही हतारो छैन। एक दिन भनौँला, पढाइमा ध्यान दे,’ आमाले अलिकति कुरो फुत्काउँछिन् झैँ गरिन्।
मेरो मनको खुल्दुली भने अरू बढ्दै थियो। त्यसैले मैले आमाको अनुपस्थितिमा मोबाइल चेक गर्न थालेँ। आमा बाथरुम छिरेको मौका पारेर उनको मोबाइलको मेसेन्जरमा छिरेँ तर केही भेटिनँ। अरू सबै सामाजिक सञ्जालहरू सरसर्ती केलाएँ तर केही देखिनँ। त्यसपछि रिसेन्ट डायल नम्बरहरू हेरेँ। एउटा नयाँ नम्बर देखेँ। मनको खुल्दुली मेटाउनका लागि केही नयाँ खुराक भेटिए जस्तो लाग्यो।
त्यसै बेला ह्वाट्सएपमा एउटा मेसेज आयो- ‘के छ हजुर?’
अब भने चुपचाप मैले केही थाहा नपाए जस्तो गरेर मोबाइल जस्ताको त्यस्तै राखिदिएँ। म थाहा नपाए झैँ आफ्नो कोठातिर गएँ।
मनमा एउटै जिज्ञासा थियो। अब कथा कसरी अघि बढ्छ भन्ने। अपरिचित एक लेखेको त्यो नामबाट कस्ता म्यासेज आउलान्? के-के होला? कसरी कुरा अगाडि बढ्ला? मेरो जिज्ञासा भने त्यसैमा केन्द्रित थियो। म भने अलमलमा थिएँ। आमालाई यो उमेरमा कसले पछ्यायो होला? कसले मन परायो होला?
कहिलेकाहीँ आफैँलाई प्रश्न गर्थेँ- तेरो खुबी भएन क्यारे, आमाले केटा साथी बनाइछन् त के बिग्रियो?
यो घटनाक्रमको एक दुई दिनपछि होला सायद आमा कामबाट ढिलो गरेर घरमा प्रवेश गरिन्। मैले सोधेकी थिइनँ तर आउन साथ उनले आफैँ स्पष्टीकरण दिन थालिन्- ‘आज काममा थोरै ढिला भयो। समान धेरै आएको रहेछ सपिङ सेन्टरमा, मिलाएर आउँदाखेरि ढिला भयो।’
आमाले भन्दै गइन्, म सुन्दै गएँ। आमाको अनुहारमा डर पनि थियो। तर त्योभन्दा बढी चमक थियो। अर्कै चमक, जुन चमक मैले आजसम्म देखेकी थिइनँ। बितेका दश वर्षमा ४२/४३ हिँड्दै गरेकी मेरी आमाको अनुहारमा यस्तो चमक मैले कहिल्यै देखेकी थिइनँ भन्दा पनि हुन्छ। अझ भनौँ बाबाको स्वार्थीपनाले भरिएको आमासँगको बिछोडपछि आमाको अनुहारमा भित्री मुस्कान थिएन, चमक थिएन। त्यो बनावटी र देखावटी श्रृंगारले नारी जातिलाई भित्री खुसी र आनन्द कहाँ दिँदो रहेछ र!
एक्ली आमाहरूलाई बाँच्न यो समाजमा कति गाह्रो छ त्यो मैले राम्रोसँग बुझेको छु। मनका चाहना, इच्छा र आकांक्षाहरू कसरी मारिरहेका छन् एक्ली आमाहरूले खै कसले पो अध्ययन गर्यो होला र यो विषयमा! अध्ययन नै गरेको भए पनि समाधानको रूपमा ती आमाहरूलाई खुलेर बाँच भन्ने सल्लाह दिन त सकिन्थ्यो होला नि। कतिले दिए पनि होलान्। तर यो समाजले न त्यस्तो खुलेर बाँच्न दिनेछ या त ‘बिचरा’ को ट्याग नै हटाइदिएको छ न त हटाउने नै छ युगौँ युगसम्म पनि।
अलिअलि उमेर चढ्दै गएपछि विपरीत लिङ्गी प्रतिको आकर्षण ममा पनि नभएको होइन तर बुवाले आमाप्रति गरेको व्यवहार र यो समाजको पुरुष जातिको पाखण्डीपन देख्दाखेरि यो समाजका पुरुषहरू सबै एकै हुन् जस्तो लाग्थ्यो र सबैप्रति घृणा जाग्थ्यो मेरो मनमा। तर स्नातक सुरु गर्दै गरेको मेरो मनमा अब एउटा सोधको विषय मनमा बसिसकेको थियो। त्यो के भने, मेरी आमाको मुहारमा मुस्कान कुन कुराले ल्यायो भनेर।
उपहारका सामान र अन्य धन सम्पत्तिका कुराले आमाको मुहारमा मुस्कान ल्याउँछ जस्तो मलाई कदापि लागेको छैन र लाग्दैन पनि। मेरो मनमा एउटा डर थियो, कतै आमाको मनमा खुसी ल्याउने कारण फेरि त्यही नयाँ नम्बर र पुरुष जाति त होइन भनेर।
मलाई यो पनि थाहा थियो एक/दुई जना पुरुषको व्यवहारले सिङ्गो पुरुष जातिलाई कलङ्कित बनाउने न मेरो ल्याकत छ न त यो कुरामा म सही नै छु र हुनेछु। तर पनि कुनै पनि विषय मनमा गढिसकेपछि त्यो निकाल्न निकै गाह्रो हुँदो रहेछ।
जे होस् मेरो मनले आफ्नै मनसँग एउटा सम्झौता गरिसकेको थियो, मेरी आमाको जीवनमा खुसी दिने विषय त्यही पुरुष जाति नै भए पनि मैले सहर्ष स्विकार्ने छु। किनकि मलाई वर्षौँदेखि गुमेको मेरी आमाको मुहारमा मुस्कान हेर्नु थियो, हराएको हाँसो हेर्नु थियो। आमाको अनुहार उज्यालो हेर्नुथ्यो, सके जीवन भरिलाई नसके थोरै समयलाई नै किन नहोस्। मैले एउटा निर्णय गरेँ- सकेसम्म आमाको खुसीको कारण पत्ता लगाउने नसके मरी नमेट्ने तर आमालाई खुसीले बाँच्न दिने।
आमाको र मेरो आ-आफ्नो कार्यतालिका थियो। म कलेज जान्थेँ। आमा मेरो लागि खाना बनाएर आफ्नो समयमा काममा जान्थिन्। साँझ मैले खाना बनाएर राख्थेँ, आमा आएर खान्थिन् अनि जुठो भाँडो गर्थिन्। यो हाम्रो मासिक अथवा वार्षिक तालिका जस्तै थियो। कहिलेकाहीँ बिदामा आमाछोरी सँगै घुम्न जान्थ्यौँ, फिल्म हेर्थ्यौँ अथवा किनमेलका लागि बाहिर जान्थ्यौँ।
म नहुँदा पल्लो कोठाकी आन्टी आमाकी दुःख साट्ने साथी बन्थिन्। हाँसी मजाकमा बिहे गर्न दबाब नि दिएको सुन्थेँ कहिलेकाहीँ उनले पनि। ती पनि जागिरे थिइन् त्यसैले आमासँगको भेट पातलै हुन्थ्यो। जे भए पनि पाँच/छ महिना यता भने यो तालिकामा केही गडबड भएको मैले पाएकी थिएँ तर मैले धेरै निधिखोजी गरिनँ। आमाको मुहारमा आएको थोरै मुस्कानका अगाडि यी सबै कुरा गौड थिए मेरा लागि।
कहिलेकाहीँ म सोचमग्न हुन्थेँ, कल्पिन्थेँ- के साँच्चै आमाले अर्को साथी खोजेकै होलिन् त? आमाको यो विद्रोह सफल होला त? यदि यो साँचो भए आफन्ती र शत्रुहरूको मुख टाल्ने जिम्मा कसलाई दिने होला? दिगो होला त आमाको यो सम्बन्ध? अनि मेरो बिहे पहिला होला कि आमाको? कतै नयाँ खोजेकी आमाले धोका दिएर मेरो डरले बाले नै ललाइफकाइ बाहिर त भेटेका हैनन् मेरी आमालाई?
अरू सबै कुरा भन्ने आमा किन मुख नफोरेकी होलिन् यो विषयमा? बिहेको उमेर हुँदै गरेकी छोरीसँग मेरो केटा साथी छ भनेर गर्व गर्न हाम्रो संस्कारले पनि त सिकाएन। जे होस् आफ्नै प्रश्नहरूको उत्तर आफैँ दिँदै मन बुझाउने चेष्टामा हुन्थेँ म।
साँझ पर्न थालेको थियो। आमा आज पनि अलि ढिला गरिन्। तरकारी लिएर पसलतिरबाट फर्किँदै थिएँ म। हामी बसेको घरभन्दा डेढ दुई सय मिटर वरै एउटा रातो रोकियो। म अचम्म परेँ, कारबाट त आमा पो ओर्लिन् त! आमा ओर्लिइन् र हतार हतार अघि बढिन्। म थाहा नपाए जस्तै पछि पछि गेटबाट छिरेँ।
बिर्सेर चाबी लिएरै गएछु मैले। आमा लामो र डराए जस्तो सास फेर्दै खुट्टाको बुढी औँलाले सिमेन्ट लगाएको भुइँ कोट्याएर बसेकी थिइन्। पक्कै मैले देखेँ भन्ठानेर होला, ठुलै अपराध गरे जस्तै आमाले मलाई झम्टेर रुन थालिन्। मैले थाहा नपाए झैँ गर्न त खोजेँ तर आमाले पत्याउने वाला थिइनन्।
‘वर्षौँदेखिको एक्लोपन बिर्साउन कोही नयाँ साथी बनाएर के अपराध गरेकी छ्यौ र रुन्छ्यौ?’ मैले सान्त्वना पोखेँ।
आमाले आँट गरेर बोलिन्- ‘गल्ती नै गरेको भए पनि गरेँ छोरी! तिम्रो हुर्केको जोबन र यो पाखण्डी समाज दुवैको ख्याल गरेर गुमेको हाँसो फिर्ता ल्याउन सकेछु भने धन्य हुनेछु। मलाई अपराधी करार नगर है!’
मैले सहमति जनाएर टाउको हल्लाएँ र मौकामा जिस्काई पनि हालेँ- ‘मेरो हुनेवाला बाको दर्शन कहिले गराउँछ्यौ त?’
आमा रुन्चे स्वरमा हाँस्दै कोठाको साँचो खोल्न थालिन्। भित्र छिरे पनि आमाले आज अलि असहज महसुस गरिन् सायद, अलिबेर खुलिनन् मसँग। आमनेसामने भएरै खाना खाने मन थियो तर सबै कुरा बुझेकी आमाले त्यो मौका नै दिइनन्। मेरै आडमा आएर खान बसिन्। कम बोलेरै फटाफट खान थालिन्।
मलाई भने डर लाग्न थाल्यो, कतै आमाले मलाइ दिएको माया घटाउने त हैनन्!
मैले मौका छोपेँ- ‘के ठुलै अपराध गरेको अपराधी भए झैँ गरेकी छौ र? क्रान्तिकारी आमा हौ के तिमी यो युग कि। किन मलिन भएकी छौ र? कि मलाई पुलिस सम्झियौ?’
आमा थोरै मुस्कुराइन् र थपिन्- ‘पुलिस भने नि न्यायाधीश भने पनि तँ नै त होस् नि मलाई सजाय अथवा न्याय दिने। अरू को नै छ र!’
यो पटक आमालाई बल पुग्ने गरेर मैले भनेँ- ‘घर परिवार समाजको के कुरा भो र! सिङ्गो संसार र ब्रह्माण्ड नै एकातर्फ भए पनि म एक्लै लड्ने छु आमा!’
यसपालि भने आमाले नुनिलो पानी थपिन् खाँदा खाँदैको थालमा, हर्ष मिसिएको नुनिलो पानी।