छिनछिन
जहाजहरू उडिरहन्छन्
पलपल
जहाजहरू गुडिरहन्छन्
एक लामो सास जति फुर्सद छैन एयरपोर्टलाई
जीवन
एयरपोर्ट
जहाज
गुडेकोभन्दा उडेको सुहाउँदो रहेछ
तर जहाज उडेको भन्दा
नउडेको सुरक्षित लाग्दो रहेछ
भनूँ
एयरपोर्टकै एक कुनामा बस्दा जोखिम हुँदैन रहेछ जहाजलाई
संयोग
या
वियोग
एउटा जहाज एयरपोर्टमा
नचली बसिरहेछ लामो समय
कहीँ पुग्नु छैन उसलाई
ऊ 'कम्फर्ट जोन'मा छ
जहाज बिग्रेको छ
तर
नउड्नु जहाजकै विरुद्ध हुनु हो
जहाज आफै आफ्नो विरुद्ध नउड्नु हुँदैन
जहाज आफ्नै विरुद्ध नचल्नु हुँदैन
जोखिम नहुनु
जहाजका लागि
झन् ठुलो जोखिम रहेछ
जस्तो बन्द आँखामा सास फेर्नु र
बाँच्नु मात्र
जस्तो बाँच्नु र स्वचालित सास फेर्नु मात्र
ऊ हेरिरहेछ
जहाजहरूको आकाशको उडान
ती थुप्रै जहाजहरूको आउने जाने क्रम
एउटा
धर्ती कम्पन गर्दै भर्खर अर्को देशतिर गयो
अर्को
आकाश छिचोल्दै तल्लो भूगोल नापेर आयो
एउटा अर्को
अर्को लोकका लागि तयारी गरिरहेछ
मान्छेहरू चढिरहेछन्
मान्छेहरू झरिरहेछन्
चलिरहेछन्
एयरपोर्टको टुप्पोमा घडी चलिरहेछ
घडीमा समय चलिरहेछ
समयमा घडी चलिरहेछ
तर त्यो कुनामा
सजिलो बसेको त्यो जहाज
किन असुरक्षित लागिरहेछ
जीवनको गतिबाट
किन अलग भइरहेछ
अग्लो टुप्पोमा दौडिरहेको घडीबाट
म
फगत आकाश छुन
कतै
बिग्रेको सुरक्षित जहाजमा बसिरहेको त छैन?