खुसी पिरको आहालमा डुबेर दुःखलाई सोध्छ
तिमी सन्चै त छौ नि?
रमिताको माझमा रमेर दुःखले भन्छ-
ठिकै छु तर सन्चो अलि बिसन्चो छ।
खुसीलाई यो खबरले खसखस बनाउँछ
दुःखलाई फेरि सोध्छ-
अनि बिसन्चो त तिम्रो यार हैन?
दुःखलाई थोरै खुसी मिल्छ र भन्छ
दुःखको सन्चोमा खुसी बिसन्चो लाग्ने रहेछ।
खुसीलाई अब पिर पर्यो
दुःखलाई कसरी खुसीको बिसन्चो भो?
खुसी प्रश्न नसोधिरहन सक्दैन, सोध्छ-
तिमी सन्चो कहिले हुन्छौ त?
दुःख खुसीतर्फ औँल्याउँदै भन्छ-
तिमी नै पिरको अहालमा डुबेका छौ
म बबुरो दुःख पो सन्चो हुनु परेको छ।
खुसी पिरको आहालमा अवाक् हुन्छ
दुःखलाई बिन्ती गर्न थाल्छ
लौन दुखी मित्र
मेरो आहालबाट उद्धार गरिदिनुस्!
दुःख बल्ल सन्चो मान्छ,
आखिर खुसीमा नि दुःखकै भरोसा छ।