भान्सामा तरकारी काट्दै थिएँ। मोबाइलमा टिरिङ टिरिङ गर्दै घण्टी बज्यो। त्यस दिनको मेरो हतारो पनि बिर्सी नसक्नु थियो। वैदेशिक रोजगारीको करिब दुई वर्षे अवधि व्यतीत गरेर नेपाल फर्केपछि घरका धेरै कुरा मिलाउनु पर्ने देखेकी थिएँ।
कौसीमा रोपेका फूलहरू त थिएनन् नै अझ गमला पनि एक छेउमा असरल्लै परेका थिए। भान्सा कोठामा थाल बटुका राख्ने भित्ते दराजको एक भाग कुच्चिएको थियो। ढोका पनि राम्ररी नलाग्ने। आँगनको छेउछेउमा झार उम्रिएका थिए।
मैले मनमनै सोच्दै थिएँ, 'हैन यी छोरा मान्छेको चाहिँ जस्तोमा पनि सहजै निर्वाह गर्न सक्ने जात रहेछ कि के हो? हामीलाई मात्र किन जताततै बिग्रिएको देख्नु पर्ने?' यस्तै सोचेर एक मनले बेचैनीमा थिएँ। घरमा आफ्नो उपस्थितिको महत्त्व रहेको देखिएको थियो। सँगसँगै अर्को मनले त्यो स्थापित भएको जस्तो लागेर खुसी पनि हुँदै थिएँ।
लाग्छ, यो घरको पनि चेतना हुन्थ्यो भने मलाई विमानस्थलसम्म नै पुगेर पर्खी बस्ने थियो। मेरो आगमनसँगै अङ्कमाल गरेर सुमसुम्याउने थियो होला। अनि ऊ भावुक हुँदै मेरो अनुपस्थितिमा तड्पिएको व्यथा सुनाउने थियो होला। त्यति बेला म पनि उस्तै भइसकेकी हुँदी हुँ।
फोनको घण्टी बजेको देखेर मोबाइलमा यसो हेरेँ। चिनेको नम्बर होइन। हतार हतार हात पुछेर फोन उठाएँ।
'दिदी नमस्कार!' अलिक दबेको नारी स्वर सुनियो।
'नमस्ते दिदी भनेपछि बहिनी भन्नै पर्यो तर मैले त चिनिनँ नि,' मैले जवाफ फर्काएँ।
उनले भनिन्, 'दिदी, हजुरले मलाई चिन्नु हुन्न। तर म चाहिँ हजुरलाई चिन्छु।'
‘ए कसरी नि? कतै हाम्रो भेटघाट पनि भएको थियो कि?’ मैले जिज्ञासा राखेँ।
'अहिले सम्पर्क मात्र गरेकी हुँ। कुनै दिन भेटेरै कुरा गर्नु छ दिदी,' उनले भाका राख्दै बिदा मागिन्।
म तिनी को होलिन्, किन मलाई सम्पर्क गरेर पछि भेट्ने भाका राख्दै बिदा भइन्? भनेर गम्न पुगेँ। तर रङ नम्बर पनि त हुन सक्छ। उनले न आफ्नो नाम भनिन्, न मेरो नाम सोधिन्। यस्तै सोचेर मैले त्यो सन्दर्भमा सोच्न छाडिदिएँ।
एक दिन बेलुका कुनै कामले साथीलाई भेट्न म घरबाहिर गएकी थिएँ। फर्किन केही ढिला हुने भयो। मेलै श्रीमानलाई केही ढिला हुने खबर पठाएँ। उनले हुन्छ भने।
परदेशमा सँगै काम गरेर सँगै फर्किएकी साथीसँग हामी हिमालयन जाभामा कफी पिउन थाल्यौँ। कफीको चुस्कीसँगै जिन्दगीका अनेक घुम्तीहरूका कुरा भए। परदेशमा अस्तित्व रक्षाका लागि हामीले अघोषित सञ्जाल बनाएका थियौँ। कसैलाई कुनै अप्ठ्यारो परेमा त्यस घरमा घण्टी दिने। त्यसपछि अरू साथीले दूतावासको कर्मचारीले सम्पर्क गरेको जस्तो भावमा घर मालिकलाई फोन गर्ने र समस्या समाधान गर्ने तरिका अपनाएका थियौँ। त्यसले हामीलाई सुरक्षित हुन बलियो आधार दिएको थियो। घरेलु कामदारका लागि अनेक बाटो भएर विदेश पुगेका हामी सबैको दूतावासमा न अभिलेख हुने र न त्यहाँबाट सोधखोज भइरहने।
दुख गरेर कमाउँदै घरमा पैसा पठाउँदाको क्षणले एउटा विजय भाव पैदा हुन्थ्यो। अझ त्यसले किनिदिएका नयाँ कपडा लगाएर नानी बाबुहरू खुसी हुँदै उफ्रिएका तस्बिरहरू देख्दा कम्ती सन्तुष्ट हुन्न थियो त्यस बेला।
हामी यस्तै विगतका कुराहरू सम्झिँदै भावुक पनि बन्दै थियौँ। कफी शपको भित्री टेबलमा मेरो ध्यान गएछ। चिने चिने जस्तो लाग्यो। मैले नियालेर हेर्ने प्रयत्न गरेँ। म केही झस्किएँ। किनकि त्यहाँ मेरा पति थिए र उनको साथमा एक जना अधबैँसे युवती मात्र थिई। उनीहरू बिचमा पर्न मन लागेन।
मनमा हल्का चिसो पस्यो। तर यसलाई ठुलो विषय बनाउनु पनि त भएन। मैले उतातिर बेवास्ता गर्न प्रयत्न गरेँ। कफी त अघि नै पिइसकेका थियौँ। अब थप गफ लम्ब्याउने मन भएन।
'ल अब चाहिँ हामी चाँडै निस्कनु पर्छ' भन्दै उठ्ने तयारीमा लागेँ। उनी पनि सँगै उठिन् र हामी आ-आफ्नो बाटो लाग्यौँ।
त्यस दिन मेरा पति अलिक ढिलै घर आए। उनले कपडा फेरिसकेपछि 'आज मजस्तै ढिला भएछ नि त। किन?' भनेर सोधेँ।
'आज सहकारी कार्यालयमा त्यसै बैठक लम्बियो। बैठक सकिना साथ सिधै घर आउँदै छु तर ढिला भइहाल्यो,' उनले भने। उनको यो कुराले मलाई अघि कफी पिउँदा देखेको दृश्यको याद गरायो।
मैले 'ए' मात्र भनेँ।
त्यस दिन बेलुका मौका मिलाएर उनको मोबाइलमा सम्पर्क सूची हेर्न मन लाग्यो। यसभन्दा पहिले त्यसरी हेर्ने मन लागेको थिएन। यस्तो घटना भएको पनि थिएन।
खाना खाइसकेपछि हामी पलङमा पल्टियौँ। उनी शौचालय जान उठे। म मौका पर्खिरहेकै थिएँ। उनको सम्पर्क सूची हेर्ने अवसर मिल्यो। तीन/चार पटक सम्पर्क भएका दुई चार वटा नम्बर टिपेर गोजीमा हालेँ।
भोलिपल्ट उनी घर बाहिर निस्किए। मैले टिपेका ती नम्बरहरू फेरि हेरेँ। अस्ति फोन गरेर भेट्ने वाचा गर्ने बहिनीको नम्बर पनि हेक्का गरेकै थिएँ। 'ए साँची त्यो नम्बरसँग यी नम्बरहरू मध्ये कुनै मिल्छ कि?' मैले आफैँलाई प्रश्न गर्न पुगेछु।
झट्ट हेर्ने आँट नै आएन। तर हेर्नु पर्ने नै थियो। मैले एक-एक गर्दै भिडाएर हेरेँ। म अङ्क जुधाउँदै थिएँ। अनौठो संयोग भयो। उनै बहिनीको फोन आयो। मैले फोन उठाएँ तर चिनेको जस्तो चाहिँ गरिनँ।
उनले 'म अस्ति नै फोन गर्ने बहिनी हुँ दिदी' भनिन्। अनि भेटेर कुरा गर्न प्रस्ताव गरिन्। मैले टिपेका फोन नम्बरको सूचीमा उनको पनि नम्बर पनि रहेछ। हिजो तीन पटक सम्पर्क भएको रहेछ। मेरा पतिसँग राम्रै चिनजान रहेछ क्यारे भन्ने समेत विचार गरेँ। अनि सहजै स्वीकार गरेँ।
हामीले नजिकै रहेको शङ्ख पार्कमा भेट्ने सल्लाह गर्यौँ। प्रत्यक्ष चिनजान नभएका हामी। अस्तिदेखि नै किन भेट्न चाहेको होला कुनै अनुमान छैन मलाई। नभेटी नहुने र कुरा नगरी नहुने के परेछ बिचरालाई भन्दै म जिज्ञासु बनेकी थिएँ।
हल्का नीलो रङको कुर्ता सलवारमा सजिएकी केही दुब्ली तर उज्यालो मोहडा लिएकी उनी पर्खिरहेकी थिइन्। मलाई देख्नासाथ उनी हच्किँदै नजिक आइन् र अभिवादन गरिन्।
'ए, तिमी नै हो मलाई सम्पर्क गर्ने?' भनेर सोधेँ। उनले मुन्टो हल्लाएर स्वीकार गरिन्। हामी अलिक एकान्तको बिसौनीमा बस्यौँ। त्यसपछि भएको संवादको सार यस्तो थियो।
१४ वर्ष पहिले प्रेम विवाह गरेकी उनी अहिले एक सन्तानकी आमा रहिछन्। उनीहरू बिचमा करिब पाँच सात वर्षसम्म सम्बन्ध राम्रो रहेछ। छोरी जन्मिएको समयदेखि बिस्तारै मनोमालिन्य बढ्दै गएछ। घर झगडा हुन थालेछ। पति-पत्नी बिचको झगडामा फसेको परिवार कहाँ पो राम्रो भएको हुन्छ र? यसपछि उनीहरूको जीवनको दैनिकी फेरिँदै जान्छ। दन्त बझानबाट उनीहरू हात छाड्ने र प्रतिकार गरागर गर्ने अवस्थामा पुगेका हुन्छन्।
दैनिक हातमुख जोर्दै छोरी हुर्काउन समेत धौ धौ हुन्छ। भेट हुनासाथ झगडा मात्र पर्छ। बरु नभेटेकै राम्रो जस्तो लाग्न थालेछ दुवैलाई। उनी दिन बिराएर मात्र घर आउन थाल्छन्। अनि क्रमशः सम्पर्क टुट्दै जान्छ। प्रेम विवाह गरेकोले माइतीसँग पनि सम्बन्ध बिग्रिएको थियो। त्यसपछि बाँच्नका लागि उनले गर्नु परेको सङ्घर्ष र भोग्नु परेको पीडाको सागर गहिरो रहेछ।
मलाई दया लागेर आयो। मेरा पतिसँग भने दुई वर्ष पहिले मात्र भेट भएको रहेछ। यो समय म रोजगारीका लागि विदेश उडेपछिको हो जस्तो लाग्यो।
यस्तै कुराकानी गर्दा गर्दै दुई घण्टा बितेछ। त्यसपछि हामी पछि पनि भेटघाट गर्दै गरौँला भन्दै छुट्यौँ।
दुई वर्ष भइसकेको चिनजान तर मलाई चाहिँ थाहा नै नभएको प्रसङ्गले चिमोटे जस्तो भयो। बेलुकाको खानापछि उनीसँग यस विषयमा कुरा गर्न मन लाग्यो। अर्को मनले होस है के कुरा गर्नु जस्तो लाग्यो। तर मैले आज भेट भएकी बहिनीको प्रसंग उठाएँ। उनले खासै असहज नमानी झन्डै दुई वर्षदेखि चिनजान भएको कुरा गरे।
मैले निकै दुख पाएकी रहिछन् बिचराले भनेँ। उनले यस विषयमा धेरै कुरा गर्न चाहेनन्। सामान्य कुरा भयो र यत्तिमै हाम्रो कुराकानी सकियो।
मैले चाख दिएका अरू विषयमा सोधिखोजी गर्ने उनले यस विषयमा खास वास्तै गरेनन्। तर्किन खोजे जस्तो गरिरहे। 'कतै चिनजानसँगै? अनि पछि विवाद र अहिले समस्या वा बेवास्ता यस्तै केही' थोरै आशंकाको बिउ रोपियो।
मलाई मान्छेको स्वभाव पढ्न आउँछ। अझ २० वर्षभन्दा बढी समय अन्तरङ्ग सङ्गत गरेका मान्छेको विशेषता चिन्न त झन् बढी आउने नै भयो नि। यस विषयमा त्रिकोणात्मक परीक्षण गर्न मन लाग्यो।
म विदेश गएपछि उनको दैनिकी फेरिनु स्वाभाविकै थियो। जिम्मेवारी थपिएको थियो। घरका काममा बढी समय दिनु पर्ने।
‘तिमी बाहिर गएपछि तिम्रा घर मालिक त यता आउनै छाडे नि’ आफन्तका यस्ता प्रतिक्रिया सुनिन्थे। म 'घरको दायित्व बढेर समय कम भएको हुनुपर्छ' भनेर जवाफ दिन्थेँ।
'अँ होला होला, होला' भन्ने जवाफमा केही भन्न वा कुनै कुरा लुकाएको जस्तो भाव नदेखिएका होइनन्। मैले वास्ता गरेकै थिइनँ।
एक दिन मेरा अर्का आफन्तले 'तिमी बाहिर हुँदा तिम्रा पति केही बहकिएको जस्तो लागेको थियो। अब त तिमी घरमा आयौँ। स्थिति सम्हालिएला भन्ने सोचेको तर खासै सुधार देखिएन नि।'
म असमञ्जसमा परेँ। तर घरभित्रको कुरा बाहिर गर्नु उचित लागेन। यस विषयमा खासै चासो नदिए झैँ गरेर बिदा भएँ।
अर्को दिन अर्का शुभेच्छुकले घुर्की र आक्रोश दुवै पोखे, 'तिमी परिस्थितिलाई विचार गरेर अघि बढ है। इमानदार र सोझी छौ भन्दैमा तिमीमाथि कसैले अन्याय गर्न पाइन्न नि।'
मेरो घरायसी जीवनको प्रारम्भदेखि नै हामीसँग सहज सम्बन्ध नभएका अर्का छिमेकीले मौका परेर मेरा पतिको तिरस्कार गरे। 'आफ्नो घरमा त सन्तुष्ट हुन नसक्नेले बाहिर ठुला कुरा गर्ने?' भन्दै उनी झम्टिए।
अरूका टिप्पणीले त खासै प्रभाव परेको थिएन। तर सधैँ हाम्रो विरोधमा रमाउने व्यक्तिले हाम्रो परिवारमा प्रत्यक्ष अनुभव नगरिएको विषय ल्याएर कुरा काटेको चाहिँ पटक्कै मन परेन। तर पनि यति बेला म लाचार बनेकी थिएँ।
यी हरेक घटना र क्रिया प्रतिक्रियाले मलाई थोरै सचेत पनि बनाउँदै ल्याएको थियो। तर यस विषयमा उनीसँग सोझै कुरा गरेर पति पत्नी बिचको सुसम्बन्धमा स्पष्टीकरणको तगारो जोड्न मन लागेन। मलाई लाग्छ सम्बन्धमा स्पष्टीकरण र अग्नि परीक्षा दुवै उचित होइनन्। यो त आदर्श मान्यता मात्र न हो।
मलाई उनको स्वाभिमान गिर्दै आएको जस्तो लागेर चिन्ता थपिन थाल्यो। तर पनि आपसमा सधैँ उनी चुप, म पनि चुप। यो मौनता, यो सन्नाटा कति समय लम्बिन सक्ला?
म पारस्परिक विश्वासमा तलमाथि हुन नदिन प्रयत्नशील थिएँ। तर बिस्तारै खच्कँदै आएको विश्वासले हाम्रो सम्बन्धमा केही चिसोपन थपे जस्तो लाग्थ्यो। म पनि त मान्छे हुँ नि। अझ म उनीसँग एकै रथको अर्को पाङ्ग्रा पो हुँ त।
उनको बारेमा भइरहेका नकारात्मक चर्चामा जोडिएको पात्रको पहिचान गर्नु पहिलो काम थियो। मैले कफी पिएका दिनको घटना सम्झिएँ। बेलुका बैठक हुनाले ढिला भएको र सोझै घर आएको भन्ने जवाफ र अनि फोन सम्पर्क र अरूका टिप्पणीहरू मनमा खेल्न थाले।
एक पटक फोन गर्ने बहिनीसँग भेटेर कुरा गर्न मन लाग्यो। घरैमा बोलाएँ।
'आहा! आँगन त कति सफा भएछ। गमलामा यति धेरै फूलहरू कसरी सजाउन भ्याउनु हुन्छ दिदी?' उनको अप्रत्याशित प्रश्नले मेरो संशय बढायो। उनी यसभन्दा पहिले पनि यहाँ आएकी रहिछन् भन्ने पक्का भयो।
उनलाई सोधेँ, 'तिमी यति माया लाग्दी रहिछौ त। किन घर बिग्रिएको हो त? '
उनको जवाफ थियो, 'मलाई अरूसँग बोलेको देख्दा नि झगडा गर्ने उहाँको बानी नै सम्बन्ध बिग्रने मूल कारण हो।'
यसले मलाई पनि झसङ्ग बनायो। कतै म पनि त्यसै गरिरहेकी त छैन?
कुरै कुरामा मैले विदेशबाट पठाएको रकमको केही अंश उनले पनि पाउने गरेको थाहा पाएँ। उनको नाबालक छोरी र जीवन धान्न परेका अप्ठ्यारोमा मेरो श्रमको हिस्सा पुगेको कुराले एक मनमा सन्तुष्टि बढायो। अर्को मनले आफ्नो श्रमको मूल्य त्यहाँसम्म पुग्ने माध्यम, तरिका र समयले मलाई पोल्न थाल्यो।
हुर्किँदै गरेका सन्तति सम्झिएँ। मैले आफन्त सम्झिएँ। चिनेका मान्छेलाई मित्र, सामान्य र शत्रुका अलग अलग पङ्क्तिमा राखेँ।
मेरो श्रम उनीमाथि पोखिने तर मलाई थाहा नहुने। सोधी खोजी नै गर्दा पनि यो विषय चर्चामा नपर्ने। अर्थात् लुकाएर दिएको मेरो पसिनासँगै मेरो हकको माया पनि बगिरहेको देख्न थालेँ।
एक दिन मौका मिलाएर दुवैसँग संयुक्त भेटघाट गर्न मन लाग्यो। हामीबिच कसरी कुराकानी हुन्छ र त्यहाँ के हुन्छ भन्ने थाहा थिएन। त्यसले कस्तो नतिजा दिन्छ भन्ने पनि कुनै पूर्वानुमान थिएन मलाई।
नानीबाबुहरू आज साथीभाइ मिलेर वनभोज गर्न गएका थिए। उही कफी पसलमा हामी तीनै जना भेट्यौँ। दुवैलाई अलग अलग खबर भएकाले तीन जना सँगै भेटिने कल्पना गरेका थिएनन् नै।
दुवै छक्क परे अनि असजिलो मान्दै अकमक्क परे। 'ल बसौँ' भन्दै मैले तीन कप कफी मगाएँ। हामी तीन जना टेबलको वरिपरि बसेर पनि कुराको थालनी हुन सकेकै थिएन।
करिब आधा कफी पिएका थियौँ होला हामीले। दुवै जनाको हाउभाउ देखेर पनि हुनसक्छ, एक्कासि कस्तो शक्ति चढ्यो मलाई थाहा भएन।
म एकाएक बोल्न थालेँ।
'म घरबाहिर हुँदा तिमीले मेरा पतिलाई माया दिएर गुण लगाएकी रहिछौ। धेरै खुसी लाग्यो। मैले चुकाएको श्रमको केही अंश तिमीले पनि पाइछौ। त्यो पनि मलाई राम्रै लाग्यो। तर त्यो मसँगको सम्पर्कबाट भएको भए कति उत्तम हुने थियो?'
त्यसपछि मेरा पतितर्फ आँखा जुधाएर भनेँ, 'म परिवारकै लागि बाहिरिएर तिम्रो साथबाट टाढा नहुँदा केही समय मात्र पनि मेरा लागि धैर्य गर्न सकेनौँ हैन? मसँग कुरा लुकाएर राख्ने तिम्रो बानी पनि मलाई ठिक लागेन।'
यति भनी सक्दा मेरो शरीरमा कम्पन भइरहेको थियो।
अन्तिममा दुवैलाई भनेँ, 'अब तिमी दुवै जनालाई यो कर्ममा स्थायित्व थपिदिन चाहन्छु' भन्दै मैले दुवैको हात समाएँ। उनीहरू अचम्म मानिरहेका थिए। उनीहरूको हातमाथि हात राखिदिएँ।
यति बेला सम्ममा कफीको बाँकी आधा चुस्की पनि सेलाइसकेको थियो सायद। सन्तुष्टिको सास फेर्दै 'ल बहिनी, तिमीलाई मेरो पति नै उपहार दिएँ' भनेर आँसु पुछ्दै त्यहाँबाट म बाहिरिएँ।