निकै वर्षपछि गाउँ फर्किएको-
आमा पनि बित्नुभयो
बाबु पनि बित्नुभयो
मितबाबु पनि बित्नुभयो
झाँक्री बाबै पनि बित्नुभयो
जन्तरे गुरुबा पनि बित्नुभयो
त्यसैले होला मेरो गाउँ पूर्ण रूपले बिकेछ आज!
भट्टराई जेठो मास्टर थियो नि आमा
तपाईँले साह्रै विश्वास गर्नुहुन्थ्यो
त्यो पनि त बिकेछ आमा
साह्रै सस्तोमा!
खत्री कान्छो त कस्तो अटल हुन्थ्यो सिद्धान्तमा
सरकारी पेन्सन खाँदै छ रे हिजोआज
भुँडी पनि निकै बढेको रहेछ
त्यो पनि त पूर्ण बिकेछ आमा।
खोलाघरे कान्छो सिद्धान्तमा लड्ने केटो
आज सभापतिको घुम्ने चौकीमा बस्दो रहेछ
कठै! त्यो पनि त बिकेछ आमा
फिटिक्कै नबोल्ने भएछ भ्रष्टाचारको विरोधमा।
गोदार कान्छो एक अब्बल व्यक्तित्व
सधैँ सत्यको बाटोमा चल्ने
असत्यलाई छि छि गर्ने
छक्क पर्नु! त्यो पनि त बिकेछ आमा
साह्रै सस्तो भाउमा
मात्र सयकडा दसको कमिसनमा।
अन्तरे र कान्छो त झन् स्पष्टवादी थिए
कहिले झुटो नबोल्ने सानोमा
सबै कुरा सत्य बोल्थ्यो
ती त खर्लप्पै झन् बिकेछन्, सर्वाङ्ग!
सोह्रै आना बिकेछन्।
काली दिदीले सबैलाई थरथर पार्दिइन्
चोर डाँका सबै डराउँदै उनीसँग
नेताहरू पनि डराउँथे उनीको सत्यतामा
उनी पनि त गुन्द्रुकको खाडलमा पसेझैँ सखाप बिकिछन्
सम्पूर्ण गाउँ नै पो बिकेछ आमा!
तिमीले दिएको सिद्धान्त बोकेर-
अब म कसरी कसरी जाऊँ त्यो गाउँमा।
सबै सखाप हुने गरी बिकेछन् आमा।
नबिकेको त त्यो हजुरबाले रोपेको
बर-पिपल मात्र रहेछन्
जल चढाउन छोडेछन् सबैले, सत्यको प्रहरीलाई
अब सायद सुकेर मर्छन् होला दुवै रुख।
कहिल्यै नबिक्ने त्यो खोलाघरे साइलोलाई
पानी हटक गरेका छन् रे गाउँमा
उसलाई कसैले किन्न सकेनछन्
त्यसैले ऊ अछुत भएर बसेको छ रे
सबैले पागल भएको भन्दा रहेछन्
पागल भइदिएर बसिरहेको छ ऊ गाउँमा
आधुनिकताको रमिता हेरेर।
हिजोआज म भाउ नभएको मान्छे भएको छु आमा
न कसैले किन्छन्, न कसैले हेर्छन्
हामी साह्रै सस्तो भएछौँ आमा
अब आकाश, हावा र धर्ती मात्रै
बिक्न बाँकी रहेछ गाउँमा
गाउँको शिव मन्दिरको छेउमा बस्नेत माइलो
सन्यास लिएर, साधु भएर,चिम्टा बोकेर
हुकार गर्न थालेको छ रे!
अब बिक्न दिन्न मेरो गाउँलाई भनेर
उसलाई पनि पागल साधु भनेर भन्छन् रे!!
तिम्रो छोरो अन्तरे पनि बिक्न बेर छैन
त्यसैले आमा
म गाउँ छोड्दै छु आज
बिक्नेको डरले।
तिमी बसेको स्वर्गमा कस्तो छ आमा
थाहा छैन मलाई
गाउँ सबै निर्धक्क भएर बिकेछ आमा
भोलि तिमीलाई तर्पन दिने दिन छ
त्यसैले खुब याद गर्दै छु, तिम्रो संस्कार सम्झेर।