उषाको पहिलो किरणसँगै
वर्षौँ पहिले घर छेउको ताग्लो खोली
मनको आग्लो बन्द गरी
मुगलान पसेको एक मुगलानी
सोच्दै छ गरालो बन्द गर्न बिर्सिएछ क्यारे
गाउँ नै रित्तिएर मुगलान पस्ला
जस्तो भएको छ।
कोही त फर्किएलान् र
गरालो बन्द गर्लान्
भन्दै बाटैभरि ओछ्याइएका
नयनहरू सूर्यास्तसँगै
धुमिलिने गरेका छन्।
यदाकदा फर्किएकाहरू
पसिनाको मूल्य अन्तै चुकाई
थकित अनि विवश अनुहार मात्र
भित्रिएका छन्
केही जोर लुगामा बाहिरिएकाहरू
प्राण पखेरो अन्तै बिसाई
बाकस भित्र भरिएर फर्किएका छन्।
ताग्लो खोली सपनाको संसार
पछ्याउँदै मुग्लानिएकाहरूले
चट्टकै बिर्सिएछन्
ताग्लो भित्र बसिरहन
मनको अभाव भएको
तर
बस्नेहरूको गुनासै गुनासो छ
यहाँ कामकै अभाव भएको।
बाहिरिएको मन अमिलिएर
भतभती पोलेको छ
सपनामा पनि गाउँघर बोलिरहेको छ
बार्दली भत्किएको छ
पाली बनाउन बाँकी छ
बर्खामा भेल पस्छ
भल तर्काउन बाँकी छ
घरको छानो चुहिएको छ
छाउनै बाँकी छ
काल्ना पछाडि पहिरो गएको छ
रूख रोप्नै बाँकी छ
खेत बाँझै छ
खेतालाका खोजीमा
मन यसै भौँतारिइरहेको छ
खेतबारी पट्ट पट्ट फुटेका छ
पानी लगाउनै बाँकी छ
तैपनि कामको खोजीमा
ताग्लो खोली बाहिरिनेहरूको
लामै लर्को छ
हँसिया, कुटो, कोदालोमा
आरन लगाउनै बाँकी छ
चाडबाड आउँछ
लुगा सिलाउनै बाँकी छ
टुकीमा बाती सकिएको छ
बिजुलीको तार तान्नै बाँकी छ।
दसैँका जमरा सुकिसके
ताग्लातिर नजर डुलाइरहेका
बा-आमाको हातको टीका थाप्नै बाँकी छ
मखमली फुलिसके तर
दिदीले ताग्लामा तोरन नटाँगेको
ढोकामा ओखर नफोडेको
वर्षौँ भइसकेको छ
यति भन्दै गर्दा
आफ्नै काम बग्रेल्ती छोडेर
चाडबाडमा ताग्ला तिर
नजर ओछाएर बाटो कुरिरहने
आफन्तहरूलाई निरस र निराश बनाएर
यो पङ्क्तिकार पनि
मुगलान पसेको वर्षौँ भएको छ
फर्कने अत्तोपत्तो छैन
ताग्लाको गरालो खोलेर हिँडेको
मनको आग्लो पनि बन्द गर्न नसकी
सधैँ बाध्यता र विवशताको
रोइला रोइरहेको छ
मुगलानमा एउटा मुगलानी।