ऊ त्यति बेला विदेश भ्रमणमा थियो
जति बेला उसले देखेको थियो
सम्भ्रान्तहरूको टल्कने चिहान।
फ्याट्टै उसको मुखबाट फुत्किएको थियो
ओहो! यस्तो पो त देश...
ओहो! यस्तो पो त चिहान...
हाम्रोमा किन यस्तो छैन हँ?
देशको गरिमाको चिन्ताले
त्यसपछि ऊ रातभर निदाउन सकेन।
देख्न त उसले चिहान मात्र देखेको थिएन
उसले देखेकै हो
पानी, बत्ती, बाटो
सामुदायिक स्कुल, अस्पताल
रेल, पानीजहाज
उसले ती सब हेरेर पनि मुख त बाएकै हो।
उसले देश प्रेमीहरू पनि देख्यो
भ्रष्टाचार नभएको पनि देख्यो
त्यति बेला पनि
उसले ताली त बजाएकै हो।
तर ऊ सामान्य शासक थिएन
ऊ त दार्शनिक थियो
उसले सोच्यो,
जगत् त पूरा अनित्य हो
यी एक क्षणका खुसीका लागि यत्रो दुःख?
यी त मूर्ख मान्छे रहेछन्
शाश्वत त मृत्यु पो हो।
उसले देश फर्किएदेखि
मृत्युमा लगानी गरेको छ
उसलाई थाहा छ
सानो एउटा चिहान त रुखले पनि छेकिदिन्छ
संसारले चिन्ने एउटा गतिलो चिहान पनि नभएको देश त के देश?
ठुलो चिहान बनाउन
उसले देशै भरिका लासहरू बटुल्यो
थाप्यो जमिन, आकाश, जलमार्गहरूमा एम्बुस
ती सब लासहरू उसले त्यही एउटै चिहानमा पुर्यो
जहाँ उसले पुरेको थियो आफ्ना अन्धभक्तहरूको गिदी
आज उसले चाङ थपेको छ त्यसमा
भुइँमान्छेका आशा
स-साना रहर
कलिला सपना
केही आम जिन्दगीका खुसीहरूको
उसले सोचेजस्तै तयार हुँदै छ
एउटा बडेमानको चिहान
ऊ अब हरेक बिहानको घाममा
चिहान तिर फर्किएर हाँसिरहन्छ
किनकि
अब झट्टै आउँदै छ
चिहान बाहिर सजाउन
उसले मगाएको
ठिक उसको दाँतजस्तै टल्किने
सेतो सङ्गमर्मर।