अँ साँच्चै,
छोरा मान्छेले रुनु हुँदैन र?
दुःख बाँड्ने, खुसी साट्ने आँसु
के छोरी मान्छेले मात्र बगाउने हो?
सबैले भन्छन्,
छोरा मान्छेले आँसु झार्न हुन्न, मन दरो बनाउनुपर्छ
तर आँखाबाट आँसु के छोरी मान्छेको मात्र झर्छ र?
केटा भएर पनि रुने हो?
कन्या राशि
कस्तो केटी जस्तो
बच्चै हो
भन्दै जिस्काउने एक थरी जमात भएर
हो कि छोरा मान्छे रुन नसकेको!
के छोरा मान्छेभित्र गुम्सिएका भावना हुन्नन् र?
के उसको मनभित्र दबिएका पीडा हुन्नन् र?
छोरी मान्छे रुने ठाउँ माइती हो अरे!
छोरा मान्छेको माइती नै हुँदैन रे
त्यसैले छोरा मान्छे रुने ठाउँ नै हुँदैन हो?
माइती नै हुँदैन भनेर नरुने पो हो कि?
यदि ढुङ्गा माटोले बनेको घर छोरी मान्छेको माइती हो भने
छोरा मान्छेले पौरख भर्ने सारा धर्ती हो उसको माइती
हुर्किएको संस्कार अनि पाएको शिक्षा हो उसको माइती
कर्मथलो, इष्टमित्र, साथीभाइ हुन् उसका माइती
खुला आकाश, हैसियतको खर्पन
आरनमा बलेको आगोको भुङ्ग्रोमा
फलामको डल्लो तात्दा तातेको शरीर हो उसको माइती
त्यसैले के छोरा मान्छे रुन पाउन माइती नै जानुपर्ने हो र?
के छोरा मान्छे रुन क्लब नै खोल्नुपर्ने हो र?
हिजो उसको हालखबर सोध्नेले
आज जब हैसियत सोध्यो
आफन्त अनि साथीभाइले
सन्चो बिसन्चोभन्दा तलब सोधे
त्यति बेला उसलाई लाग्यो कि
आजकल पैसाको किनार भएर जब सम्बन्ध बग्न थाले
त्यति बेला उसका आँखाबाट आँसु बगेनन्, बग्दैनन् पनि
त्यसैले हो छोरा मान्छे रुन नसकेको!
उसलाई रट्टा हान्न लगाइयो
उसको दिमाग धोइयो
मन पखालियो कि छोरा मान्छेले रुनु हुँदैन
त्यसैले बग्न छोडेको होला
उसको आँखाबाट नुनिलो पानी!
ए छोरा मान्छे,
तिम्रा नि होलान् नि है मनमा पीडा
तिमी नि रुन्छौ होला नि है एकान्तमा
तिमीले नि पक्कै बोकेका छौ होला जिम्मेवारीको भारी
बिसाउने चौतारी त खोज्छ होला नि तिम्रो मनले नि
छटपटिन्छौ होला है एक्लै हुँदा
रिसाउँछौ होला आफैसँग
प्रश्न गर्छौ होला जिन्दगीसँग
तर जवाफ पाउँछौ कि पाउँदैनौ?
तिम्रो नि त मन हो पीडामा दुख्छ होला
अनायासै आँसुहरू खस्न खोज्छन् होला
त्यति बेला झसङ्ग याद आउँछ होला
कि छोरा मान्छे रुनु हुँदैन!
अनि आँखामा टिलपिल भई झर्नै लागेका आँसुहरू
कसैले देख्छन् होला कि भनेर लुकाउन खोज्छौ होला
त्यसैले बग्न छोडेको होला तिम्रो आँखाको नुनिलो पानी।
यतिका बाबजुद
तिमी कति बलियो भयौ कसैले देखेन
तिमी कति कमजोर भयौ कसैले सोधेन
हुन त छोरा मान्छेको मन ढुङ्गा हो भन्छन्
कति बेला लाग्छ, हो कि क्या हो
हो, हो छोरा मान्छेको मन ढुङ्गै हो
जुन ढुङ्गामा कुनै कुरा सजिलै लेखिँदैन
जब लेखिन्छ नि, कहिल्यै मेटिँदैन।