मिठो सम्झना बा
न्यानो मायासहित
धेरै दिनु है आशीर्वाद
जीवनमा दिएको साथभन्दा
अधुरो नहोस्
हजुरको जिन्दगी जस्तै
बा साथमा भएपछि
हाम्रो गाउँमा शान बेग्लै
गाउँमा पढेको एउटै मान्छे
ओहो! बाको त सम्मान बेग्लै
कथा जस्तै लाग्ने कहानी
बाको बदमासीका
कहिले भूत बनेर तर्साएको
कहिले भगवान् बनेर चर्चा पाएको
गाउँमा मेरा बालाई नमान्ने को थियो
मेरा बाले नजान्ने के थियो
ओहो!
गाउँ थर्किने बाको नाम
गाउँ चिनाउने बाको नाम
कोही तर्सिने बाको नाम
सधैँ याद आउने बाको नाम
सम्झनामा बा
बाको काँध, बाको काख
बाको साहस, बाको स्वाग
बाको काम, बाको नाम
बाको योग्यता
बाको आत्मसम्मान
निडर र स्वाभिमानी
बाको पहिचान
बा भन्नुहुन्थ्यो
भनसुन त कसैलाई गर्नै हुन्न
सोर्स फोर्सको शरणमा पर्नै हुन्न
आफैँ योग्य र क्षमतावान् हुनुपर्छ
मेहनती, परिश्रमी, बुद्धिमान हुनुपर्छ
मेरा बा
भ्रष्टाचारीलाई कालो मोसो दल्न सक्ने
एक्लै पनि सिस्टम बदल्न सक्ने
छिट्टै देख्नुपर्यो बाको जीवनमा
काल आएको
तर कहिल्यै देख्नुपरेन बाको जोसमा
बुढेसकाल आएको
मेरा बा
कृषि र पर्यटन जोड्न खोज्ने मान्छे
धर्म र विज्ञान निचोर्न खोज्ने मान्छे
बाले गर्न नसक्ने केही थिएन
तर बाले गर्न नपाएको धेरै रह्यो
अधुरो, अपुरो
सपना, चाहना
गाउँको रूप बदल्ने चाहना
कृषि पर्यटनको स्वरूप बदल्ने चाहना
सम्झनामा बा
स्वाभिमान र सफल बन्न सिकाउने बा
खुसीका हरेक पल सम्झनामा आउने बा
बाको जस्तै जोस बोकेर
बाले देखाएको बाटोमा चल्न सकूँ
बेथितिको प्रणाली बदल्न सकूँ
यो देशको माटो
मेरा बाले परिश्रम फलाएको माटो
मेरा बा बिलाएको माटो
बाको सपनाअनुसार
यही देशमा बसेर
एउटा परिवेश बनाउन सकूँ
म यो देश बनाउन सकूँ।