भाग-२
साइँली दिदी हाँस्दै बोल्छिन्, 'आ किन नछेक्नु छेक्ने हो दुवाली! एक दिन बाँध बाँध्न लाग्छ। भोलि लोग्ने मान्छे जति खोलामा बाँध बाँध्नु। हामी आइमाई केटाकेटी जति विष र स्याउला खोज्न कोरङतिर जान्छौं। माछालाई लठ्याउने विष मात्र हाल्नुपर्छ। माछा मोर्ने विष हाल्नुहुन्न। भुत्याहा दहमा छ महिना भयो एउटा माछा छैन। माछाका भुरा मर्ने विष हाल्न दिनुहुँदैन थियो दहमा। मात्तिएका केटाहरू कसैलाई टेर्दैनन्। माछालाई मात्र लठ्याउने विष कोरङ्को सिरानतिर पाइन्छ।
टाढा छ भनेर भयो र? हामी जान्छौं विष खोज्न। दुई वटा दह त छ नि। ठूलो पानी सुकेपछि खाल्टाखुल्टीमा जमेको पानी त ओप्छिएर माछा मार्नुपर्छ। सबैतिर विष हाल्नु पनि हुँदैन। ठूलो दहमा मात्र हो हाल्ने। अल्छी गर्ने होइन। त्यो भङ्गालका मान्छेले हो खेलाँची गरेको। खोला भए पो हामी छौं। खोला र माछा नभए खान्थे ठूलो भाग!
काउछेतिरको जङ्गलबाट ल्याएका रे त्यो कडा विष। त्यो विष खोलामा हाल्न दिनुहुँदैन थियो। अबदेखि खोलामा विष हाल्दा निगरानी गर्नुपर्छ। नत्र खोलामा माछा सकिन्छन्। भुरा बाँचे पो ती पछि बढ्छन्। कडा विष निषेध गर्न एउटा टोली बनाउनुपर्छ है पूर्वेली मामा।'
काइँली दिदी पुनः बोल्छिन्, 'केटाकेटीहरूलाई पनि लैजाउँला स्याउला ओसार्छन्। माछा भाग केटाकेटीलाई पनि लगाउनु पर्छ नि।'
पूर्वेली कान्छा बिँडी तान्दै भन्छन्, 'दु:ख गरेसी केटाकेटीलाई पनि सरोबरी माछा भाग लगाउँला क्या ! कति कराएकी यो सञ्जेकी आमा। लु लु पक्का भयो। भोलि सबेरै भात खाने अनि खोलातिर जाने। अहिले दुवाली नछेके अब बर्खा आउँछ फेरि असोज नभै सकिँदैन। त्यही ढढिया र खोङा थापेको भर त हो। पोहोर असार साउनमा चारवटा खोङा नै बगायो खोलाले। बाढी कतिखेर आउँछ थाहा हुँदैन। जेठको महिना ठिक्क छ दुवाली थुन्न।'
दुवाली थुन्ने योजनाले आशा उमङ्गित भएकी छ। घाम चुरेको डाँडामा ओर्लिएपछि सबै जना घरतिर आए। ठूलो कुलोमा सबैले खलमल नुहाए। जति काम गरे पनि सबैजना खुसी छन्। सबै जाँगरिला छन्। आशा साँझ बत्ती बालेर आमासँग बिरेन्चीमा बसेर रेडियो सुन्न थाली। उसको मनमा भाँती भाँती कुरा खेल्छन् 'भोलि त स्कुल जान्छु। पर्सि माछा मार्ने दिन त म पनि कुनै हालतमा स्कुल जान्नँ। म पनि दुवालीमा जान्छु। सबै साथी दुवालीमा जान्छन्।' उसले मनमनै योजना बनाई। उसलाई राति मरिगए निद्रा लागेन।
बिहान सबेरै उठेर स्कुल गई तर उसको मनभरि दुवाली र माछा मात्र नाच्न आए, पढाएको भूस भयो। उसका आँखाले पाले दाइलाई मात्र खोज्दैछन्। कान घण्टीतिर छ। छुट्टी भयो। कुद्दैकुद्दै घर आई। खाजा खाएर सोझै पिन्चीको घर गई। खोल्मा घरमा विष र सेउला थुपारेको रहेछ। आशा दङ्ग परी र आनन्दले सुती।
भोलिपल्ट सबेरै आमाले उसलाई उठाउन आउनुभयो। स्कुल बिहानको थियो, 'उठ् नानी स्कुल जान बेर हुन्छ, बाटामा दुध बेच्ने मान्छेहरू हिँडी सके ल उठ्।'
आशा निन्द्रामै आमालाई भन्छे, 'आमा ! आज म स्कुल जान्नँ के ! मलाई एकदम भुँडी दुखेको छ।' आमाको अगाडि निकै छट्पट गरी।
आशाले आमाको अगाडि राम्रो नाटक गरी। बिचरी आमाले पत्याउनुभयो। केहीबेर पीडाले चट्पटाएको जस्तो गरी। आमाले जुवानो र बिरे नून ल्याएर तातो पानीसँग आशालाई खान दिनुभयो। तातो पानीसँग औषधि खाएपछि आशा केहीबेर निदाएको जस्तो गरी। खाना खाएर आमा भिमान बजारतिर काम छ भन्दै जानुभयो। आमा बजार गएपछि, आशालाई के चाहियो र फिलिली कुदी खोलातिर।
उसका साथीहरू बालुवा बोक्दै थिए ठूलो ठूलो ढक्कीमा, आशाले पनि स्टिलको गहिरो बाटा बोकेकी थिई। उसले त्यही बाटामा बालुवा ओसार्न थाली। दोहोरी गाउँदै दुवाली छेक्न थाले। सबैको सामूहिक प्रयासले गर्दा निकै चाँडो खोला थुनियो पानीको सतह घट्यो। पानी थुनेको ठाउँको पुछारमा ढडिया र खोङ्गा लहरै थापेको छ। हेर्दाहेर्दै पानी सुकेको ठाउँमा गुहिरा, बागा, पोठिया माछाहरू बुरूकबुरूक उफ्रिन थाले। रने दाइ, साइँला दाइ, पूर्वेली दाइ सबै मिलेर ठूला ठूला बाम माछा पनि समाते।
दहमा पूर्वेली कान्छाले माछा नमर्ने तर बेहोस् मात्र हुने विष पिँधेर हाले। पोठिया माछाहरू पानी माथि माथि हुरूरू आए। केटाकेटीहरू धमाधम माछा बटुल्न थाले। ढाकीका ढाकी माछा पाखामा थुपारेका छन्। बडो रमाइलो छ वातावरण। त्यहीबेला सञ्जे नराम्रोसँग चिच्यायो। सबै जना सञ्जे भएको ठाउँमा गए। ऊ रूँदै थियो।
'ए पूर्वेली बाजे हौ मेरो खुट्टाको औँलामा यामानको गंगटाले च्यापेको छ मरेनी हौ आमा!' सञ्जेको कष्टपूर्ण स्वरले सबैजना दहतिर ओइरिए। नभन्दै उसको खुट्टाको कान्छी औंलामा गंगटाले नराम्रोसँग च्यापेको रहेछ। पूर्वेली कान्छाले गंगटा समातेर भने, 'यस सिमाटोक्नेलाई भरे सिलौटामा नून र लसुन हालेर लसलसी पिसेर जिरे खुर्सानीले झ्वाइँय झानेर खान्छु मेरो नातिलाई चेप्दो पो रहेछ तँलाई बजिया!'
गंगटाले दुइटै ढ्यापु फ्याँ पारेर फिँजाएको थियो। आशाको पनि सात्तो गयो। ऊ पनि नजिकै गएर पूर्वेली कान्छालाई हेर्दैथिई। जामाले बालुवा सोहोरेर बोकेको थाहै पाइन। हावाले जामा हल्लाउँदा बालुवा उडेर कान्छा दाइको आँखामा परेछ। कान्छा दाइले आँखा चिम्म गर्दा गंगटाको ढ्यापुबाट हात खुस्केर गंगटाले कान्छा दाइकै औँला करप्प चेपिदियो। त्यसपछि त कान्छा दाइ रन्किए, 'यो बाहुनी काठीलाई दुवालीमा नआऊ भनेको टेर्ने होइन। पख अब यो गंगटाले तिम्रो नाक च्यापिदिन्छु , बाहुनी काठीको नाक सानो छैन गंगटा पनि अघाओस् न।'
पूर्वेली कान्छा गंगटा लिएर आशाको पछि पछि दौडिए। ऊ रूँदै रूँदै घरतिर लागी।
सिनेमाको दृश्य फेरियो। माछा भाग लगाउन थाले। आशा खोलाको डिलमा बसेर दुवालेहरूलाई कुरिरहेकी छ। उसको माछाको भाग पनि ठूलै छ। पूर्वेली कान्छाले ल्याइदिएका छन् स्टिलको बाटाभरि। आशालाई बेलबेटी कुलामा बसिरहेको देखेर माया लागेछ क्यारे कान्छा दाइलाई अनि मायालु पाराले बोलाए, 'ए नानी त यहीँ बसिरहेकी? झन् डर देखाएर घर जालिन् भनेको त। घाममा धेरै खेल्नु हुँदैन भनेर र पो मैले कान्छी नानीलाई गंगटा देखाएको त माछा त म घरै ल्याइदिहाल्छु नि। लु हिँड जाऊँ।'
कान्छा दाइले त्यति भनेपछि आशा पनि बाटाभरिको माछा लिएर घर गई।
गाउँमा सबै जना मिलेर बसेका छन्। सानो सानो कुरामा पनि रमाएका छन्। सबैले सबैलाई सकेको सहयोग गरेका छन्। बिहानै घ्वाइँ घ्वाइँ पारे घोङ्गी पखाल्दै गरेको दृश्य देखाएर सिनेमाको दृश्य फेरिन्छ।
सिनेमाको पर्दामा एकैचोटि बीस वर्ष पछिको गाउँ देखियो। वर्षौं पछिको समयमा त्यो गाउँ उजाड देखियो। ती पात्र सबै बूढा भइसकेका छन्। घरको पिँढीमा बसेका छन् अशक्त भएर। अब त्यो गाउँ गाउँ जस्तो देखिँदैन। न सहर न गाऊँ जस्तो देखिन्छ त्यो सुन्दर ठाउँ।
खोला खोला जस्तो छैन। खोलामा न माछा छन् न पानी नै छ। माछाको त के कुरा अलि ठूला ढुङ्गा कतै छैन। ढुङ्गा र बालुवाविहीन छ खोला। बाढी पसेर खेत बगाएर खोलाले आफ्नो आकार चाहिँ निकै फैल्याएको छ। नयाँ नयाँ मान्छेहरू देखिन्छन् पर्दामा। बिजुली बत्ती आएको छ अचेल गाउँमा। गाउँका केटाहरूको माछा मार्ने योजना छ। तीन चार जना केटाहरू हिँडे खोलातिर। त्यो परिवेशमा आशा कतै छैन। उसको पहिचान र अस्तित्व कतै छैन। अब हेर्न नसक्ने भएको छ विशृङ्खलित गाउँको अनुहार।
गाउँको उजाडिएको रूप विवर्ण छ। मन खिन्न भएको छ सबै बूढापाकाको। गाउँमा अचेल कसैले खोङा बुन्दैनन्, न अचेल ढडिया नै देखिन्छ। आधुनिक तरिकाले माछा मार्न थालेछन् युवाहरू। प्रौढ आशा सिनेमाको पर्दामा अझ एकाग्र हुन्छे। आम्मामा! कति उत्ताउला केटाहरू जन्मेछन् गाउँमा आशालाई रिस उठ्छ। गाउँका केटाहरू खोलामा पुग्छन्। जालीनेरको दहमा नजिकैको बिजुलीको पोलबाट एउटा तार ल्याएर झ्वाम्म फालिदिन्छन्। निमेषभरमा माछाहरू पानी माथि तैरिन्छन्। पूर्वेली दाइ बूढो भएछन्। ती केटाहरूलाई भन्दैछन्, 'यसरी माछा मार्न हुँदैन केटा हो। करेन्टले त माछाका भुराहरू जम्मै मर्छन् अनि अलिदिन पछि के खान्छौ? साना साना माछा खोलामा भएपो खोलाको सौन्दर्य रहिरहन्थ्यो।'
कान्छा दाइको कुरा कसैले सुनेनन्। ती केटाहरूले नजिकै दहमा बम पनि पड्काए। पूर्वेली कान्छा अँध्यारो अनुहार लिएर घर फर्किए। मनमनै भन्छन् 'विनाश काले विपरीत बुद्धि।'
पर्दामा अर्को समय नाच्न थाल्छ। ती नै केटाहरू ठूला भएर ढुङ्गा र बालुवाको व्यापारमा लागेका छन्। निरन्तर खोलाको दोहन भएपछि खोलाबाट जम्मै माछा हराए। युगयुगदेखि ढुङ्गा र बालुवा बोकेर बलियो भएर हिँडेको खोलाको दोहन नराम्रोसँग भयो। अनियन्त्रित रूपमा ढुङ्गा र बालुवा झिकेपछि खोला कमजोर भई निकै खुकुलो हुँदैगयो। वर्षायाममा थामिनसक्नु भयो खोलालाई आफ्नो भार। खोला छेउको माटो फसफस खोलामा झर्न थाल्यो। खोला अस्मेल भएर गाउँ नजिकै पस्न थाल्यो। भात खाने खेत पानी पानी भयो। हाहाकार भयो वातावरण। गाउँ नै बगाउने अवस्थामा खोला उर्लियो। ती मुठ्ठीभर लालची पात्रले गर्दा गाउँको अवस्था निकै दयनीय देखियो। खोला गाउँमा पस्दै गर्दा सबैजना शिखरको डाँडातिर सकेको पोकोपन्तुरो बोकेर हिँड्न लागेका गाउँलेको ताँती देखियो।
प्रौढ आशालाई भाउन्न हुन्छ आफ्नो गाउँ सम्झेर। ऊ सोच्छे के मेरो गाउँ अचेल यस्तै भएको छ त? अचानक आशाकी कान्छी छोरी बोल्छे, 'मामू के गरिरा हजुर?' आशा भन्छे, 'नानी! आज एउटा राम्रो सिनेमा हेरेँ तँलाई कथा सुनाउँछु ल ... ।'
हतारिँदै छोरी भन्छे, 'के त्यही आशाको खोङ्गा? ए मामू लौन कतिचोटि सुन्नु हजुरको त्यो कथा। साँच्चै हजुरको गाउँ छैन अब जे छ हजुरको मनमा मात्र छ। समयमा प्रकृतिमाथि दया गरेको भए प्रकृतिले पनि मान्छेको रक्षा गर्ने थियो। अब त हजुरको गाउँमा खोला मात्र छ, न माझी छन् न खोङा छ। धेरै नसोच्नू अब।'
आशा भन्छे, 'उ: हेर त टिभीमा मैले भनेको कथा होइन के साँच्चै सिनेमा पनि मेरो जीवन जस्तै रहेछ।'
छोरी छक्क पर्छे। टिभी बन्द छ। घरमा बत्ती नभएको आज दुई दिन भइसक्यो। छोरी डराउँदै आशालाई सोध्छे, 'घरमा बत्ती छैन त मामू। अनि टिभी नै नखोली कुन सिनेमा हेरिस्यो हजुरले?' छोरीको कुरा सुनेर आशा झसङ्ग हुन्छे। खाटबाट जुरूक्क उठ्छे। लामो श्वास फेर्छे अनि आफ्नै मनको गहिरो पर्दाबाट फुत्त बाहिर निस्किन्छे। बाढीले सम्पूर्ण गाउँ बगाएपछि आशाको मन यस्तै उस्तै भावमा हराएको छ।
ओइ, तँलाई हाम्रो आमाले जन्माएको होइन नि! [भाग-१]
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)